शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पञ्चविरुद्ध समाचार लेख्दा राजकाज मुद्दा

शुक्रबार, २६ माघ २०७४, ११ : ४९
शुक्रबार, २६ माघ २०७४

दीपेन्द्र राई
 

‘फाइभ डब्लु वन् एचबारे थाहा थिएन,’ नेपाल पत्रकार महासंघ पूर्वउपसभापति सञ्जय सन्तोषी राईले अतीत सम्झे, ‘आफूले लेखेको समाचार प्रकाशित भएपछि पढ्दै जाँदा फाइभ डब्लु वन् एचबारे थाहा भयो ।’ 
संवत् २०४४ बाट पत्रकारिता थालेका राईले चुङमाङबाट धनकुटा बजार टेकेपछि लेखनदासको भूमिका निर्वाह गरे । लेखापढी गर्दै जाँदा उनी पत्रकारितातिर लागे । पत्रकारितामा आकर्षित हुनुको पृष्ठभूमि त्यत्तिकै रोचक छ । 
आनन्द सन्तोषी राई वकालत गर्थे । राईले मातृभूमि, नयाँ सन्देश, समीक्षालगायत पत्रिका घरमै ल्याएर पढ्थे । पढ्नेमात्रै नभएर मातृभूमिका लागि समाचारसमेत लेख्थे । उनले गाउँबाट बजार ल्याएका छोरा सञ्जयलाई धनकुटाको बीचबजार किरात पत्रिका पसल खोलिदिए । ‘पसलमा आएका सबै पत्रपत्रिकाको समाचार ध्यानपूर्वक पढ्थें,’ सञ्जयले सुनाए, ‘लेखनदासको भूमिका पनि निर्वाह गरेकै थिएँ । पत्रपत्रिकामा प्रकाशित समाचार पढेर र लेखनदासको भूमिकाले समाचार लेख्न सजिलो भयो ।’ 

पत्रिका पसल सञ्चालन, लेखनदास र पत्रकारको भूमिका सँगसँगै निर्वाह गर्न थालेका उनले धरानबाट प्रकाशित पूर्व टाइम्स साप्ताहिकबाट पत्रकारिता अभ्यास थाले । पत्रकार बन्ने रहर फुलाउन लागिपरे । विनापारिश्रमिक काम गर्न जाँगर चलाए । ‘त्यतिबेला पूर्व टाइम्स साप्ताहिक पढ्न चाहनेलाई वार्षिक ग्राहक बन्न एक सय रुपैयाँ लाग्थ्यो । चिनेजानेका व्यापारी ग्राहक बन्थे,’ उनले जानकारी गराए, ‘ग्राहक बनाएको पैसा आफैंले राख्न पाइन्थ्यो । तर, ग्राहक बनाएको पैसा हुलाकबाट समाचार सम्प्रेषण गर्दैमा सकिन्थ्यो ।’ 

झन्डै चार वर्ष धनकुटा समाचारदाताको भूमिका निर्वाह गरेपछि उनी काठमाडौंबाट प्रकाशित देशान्तर साप्ताहिकसँग जोडिए । प्रधानसम्पादक किशोर नेपाल थिए । सम्पर्क–सम्बन्ध फराकिलो बन्दै गयो । पत्रकारको धर्म भनेको लेख्नु हो । लेखिरहे । पञ्चायती व्यवस्थाले गरेको दमन, प्रशासनिक हस्तक्षेप, प्रधानपञ्चले गरेको अचाक्लीलगायत उनले लेखेका समाचार प्राथमिकतासाथ छापिन्थे । प्रकाशित भएपछि समाचारसँग सम्बन्धितले दुःख दिन्थे । तर पनि उनी आत्तिएनन् । समाचारसँग जोडिएकाले दिएको दुःखले उनलाई झन् जाँगरिलो बनायो । जिल्ला पञ्चायत सभापति, उपसभापति र सदस्यले भनेका नमान्ने र उनीहरूको पक्षमा नलाग्नेलाई राजकाज, हातहतियार तथा खरखजाना, वनलगायत झुटा मुद्दा लगाउँथे । उनले समाचारमार्फत भण्डाफोर गर्न कहिल्यै डराएनन् । 

समाचार प्रकाशित भएपछि उनलाई फकाउने र धम्क्याउने दुवै हुन्थे । कसैको लोभमा नपरेका उनले लेखेका समाचार समकालीन साथीभाइ र छद्म नामबाट विभिन्न पत्रपत्रिकामा प्रकाशित हुन्थे । ‘एउटै पत्रिकामा समाचार प्रकाशित भयो भने आफूमाथि मात्रै खनिन्थे,’ उनले भने, ‘विभिन्न पत्रपत्रिकामा विभिन्न नामबाट समाचार प्रकाशित हुँदा हस्तक्षेप कम हुन्थ्यो । विभिन्न पत्रपत्रिकामा समाचार प्रकाशित भए पनि मलाई तारो बनाउँथे ।’

देशान्तर साप्ताहिकबाट बाहिरिएकाले सुरुचि साप्ताहिक प्रकाशन सुरु गरे । उनले देशान्तर र सुरुचिमा समाचार लेख्थे । त्यतिबेला मासिक तलब १ हजार रुपैयाँ थियो । देशान्तर र सुरुचि छाडेर हिमालय टाइम्स दैनिकमा काम थाले । हिमालय टाइम्समा समाचारको आधारमा पारिश्रमिक निर्धारण गरिएको थियो । प्रकाशित एक समाचारको ३५ देखि ४० रुपैयाँ तोकिएको थियो । उनी दैनिक पत्रिकाबाट नेपाल टेलिभिजनतिर लागे ।

पत्रकार बन्ने रहर पूरा गरेका सञ्जय सन्तोषी राई ३० वर्षदेखि निरन्तर पत्रकारितामै छन् । रहर नै ‘करिअर’ बन्यो । ३० वर्षदेखि एउटै पेसामा रहनु भनेको सामान्य होइन । सबै–सबै छाडेर ०४९ देखि प्रकाशित जनविश्वास साप्ताहिकले निरन्तरता पाएकै छ । उनी प्रधानसम्पादक रहेको जनविश्वास साप्ताहिक धेरै पत्रकारले अभ्यास गर्ने माध्यम बनेकोमा उनी कम्ती खुसी छैनन् । हिजोआज पनि जिल्लाका संवाददातासहित २०–२१ जना जनविश्वास साप्ताहिकसँग जोडिएका छन् । 

लेखनदास हुँदै पत्रकारितामा आकर्षित उनले नेपाल पत्रकार महासंघ धनकुटा शाखाको चार कार्यकाल अध्यक्ष हुँदै केन्द्रीय उपसभापतिमा निर्वाचित भए । प्रेस काउन्सिल सदस्यको समेत भूमिका निर्वाह गरिसकेका छन् । 

धनकुटा जिल्ला प्रशासकको अनियमितता र पञ्चविरुद्ध समाचार लेखेको भन्दै उनी तीन–तीनपटक पक्राउ परेका थिए । शान्ति सुरक्षामा खलल पुर्याएको भन्दै तात्कालिक प्रमुख जिल्ला अधिकारीले जेल हाले । ०४६ चैत २६ को आन्दोलन सफल भएपछि उनी ०४७ वैशाख २ गते मोरङको विराटनगरबाट जेलमुक्त भए । 

पञ्चायतकालमा पत्रकारिता गर्न असजिलो भए पनि सजिलोजस्तै बनाएका पत्रकार राईको गत भदौमा सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौंमा मुटुको शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि उनी आराम गरिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप