शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चलचित्र ‘मायाले गर्दा’ प्रदर्शनको लागि तयार

बुधबार, २४ माघ २०७४, १२ : ०८
बुधबार, २४ माघ २०७४

 
काठमाडौं – भाषाभाषी चलचित्र बन्ने क्रम बढे पनि यसले व्यावसायिकता पाउन भने सकिरहेको छैन । भाषा प्रतिको मोह र कलाकारिता प्रतिको रहरकै कारण पनि भाषा भाषी चलचित्र बन्दै आएका छन् ।
भाषाभाषी चलचित्रमा गरिएको लगानी उठाउन सजिलो पनि छैन । व्यावसायिक रुपमा हलमा लगाउने अवस्था अझै सिर्जना भएको छैन । यद्यपि, भाषाभाषी चलचित्र बन्ने क्रम चाहिँ बढेकै छ ।
यसै क्रममा ह्याङ्लाको म्हेन्दो मिडिया हाउस र सक्सेस फिल्म प्रा.लि.को ब्यानरमा ‘मायासे लासी’ अर्थात मायाले गर्दा चलचित्र निर्माण भएको छ । डि.बी.मोक्तान निर्देशित मायासे लासीलाई भगवती मोक्तानले निर्माण गरेका हुन् । 
कार्यकारी निर्माता प्रेम लामा मोक्तान, सह–निर्माता माईली घिसिङ तथा निर्माण सहयोगी गणेश घिसिङ रहेका छन् । चलचित्रमा कुमार मोक्तान र सीता थिङको केन्द्रीय भूमिका रहेको छ । चलचित्रमा अमर लामा, माइली घिसिङ, मणिक लामा, अर्जुन लामा, चन्द्रलाल लामा, कोपिला लामालगायत कलाकार रहेका छन् ।
हाँस्य कलाकार गोकुल तामाङको जोडदार हाँस्य भूमिकाले चलचित्रलाई लोभलाग्दो बनाएको छ । १० वर्षे सशस्त्र सङ्घर्ष पछि भएको सेना समायोजनमा अयोग्य लडाकू भएर गाउँ फर्किएकी युवतीको सङ्घर्ष पूर्ण कथालाई चलचित्रले समेटेको छ ।
सामाजिक प्रेमकथामा आधारित चलचित्र तामाङ भाषामा भए पनि ३० प्रतिशत संवाद नेपाली भाषामा रहेको छ । यसैले यो चलचित्रलाई गैरतामाङ भाषीले पनि सजिलै बुझ्न सक्नेछन् ।
चलचित्रमा कुमार स्याङ्वाको गीत र विशाल कात्लानको सङ्गीत रहेको छ । चारवटा गीत रहेको सो चलचित्रमा सन्तोष लामा, विशाल कात्लान र जितु लोप्चनको स्वर रहेको छ । चलचित्रमा शंकर महर्जनको द्वन्द्व र सुनिल मोक्तानको कोरियोग्राफी रहेको छ । सो चलचित्रको विशेष प्रदर्शनी राष्ट्रिय नाचघर जमलमा माघ २७ गते गरिने छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप