केन्द्रीय संस्करण

सुकुम्बासी बस्तीको ‘घेरामा’ प्रदेशसभा

person access_timeमाघ २४, २०७४ chat_bubble_outline0

तेजेन्द्र के.सी.

बुटवल । प्रदेशसभा भवन ५ नम्बर प्रदेशको कार्यालयभन्दा करिब ५० मिटर दुरीमा यशोदा श्रेष्ठको चिया पसल छ ।

सानो  पसल छ । गमलामा २०–२५ वटा आलुसमोसा छन् । अर्को गमलामा उमालेको चाउमिन । चियाको कित्ली र केही आलुपकौडा छन् ।

पसल सञ्चालन गरेको घर निकै सानो छ । त्यो पनि उनको घर होइन । अर्काको घरमा भाडा तिरेर सञ्चालन गरको पसलमा आउने ग्राहक बस्नको निलो रङका ५–६ वटा कुर्सी छन् ।

पसलमा चिया खाजा बिक्री गरेर दैनिक गुजारा चलाउने श्रेष्ठलाई प्रदेशसभाको बैठकले माघ २१ गते ध्यान खिचेको थियो ।

श्रेष्ठ २१ गते अन्य दिनको भन्दा अलि फरक थिइन् । व्यापारभन्दा प्रदेशसभाको गेटतिर बेला–बेला जाने गर्थिन् । गेटमा बसेका सुरक्षाकर्मीलाई भित्र के भरहेको भन्दै सोध्ने गर्थिन् ।

चुनावमा नेताहरु जे भनेर भोट माग्न आएका थिए, त्यो कुरा पुरा हुन्छ कि हुँदैन ? यही प्रश्नसँग उनको चासो जोडिएको थियो ।

हालै प्रदेशसभा कार्यालय बनेको बुटवल उद्योग वाणिज्य सङ्घको कार्यालय नजिकै यस्तो चिया खाजा पसल सञ्चालन गरको ६ वर्ष भयो।

चिया पसलश्रेष्ठको आम्दानीको स्रोत र भुल्ने बाटो पनि बनेको छ । प्रदेशसभा बैठक बसेको बुटवल उद्योग वाणिज्यसङ्घको हलमा प्रायः ठूला कार्यक्रमहरू भइरहन्छन् ।

उनलाई त्यो मतलब थिएन ।यो प्रदेशसभालाई चासो दिनुको कारण थियो । उनले १५ वर्षदेखि बस्दै आएको सुकुम्बासी बस्तीबारे केही होला कि भन्ने आश नै थियो । 

सामान्य लेखपढ गर्न जानेकी श्रेष्ठको भनिन्– ‘हामीलाई लालपुर्जा दिने काम कसैले गरे हुनेथियो । तर यहाँ प्रदेशसभा बैठकले आज यस्तो केही गर्न नमिल्ने रहेछ ।’

उनलाई प्रदेशसभाको कार्यसूची के हुन्छ, थाहा थिएन । ‘मलाई के थाहा ?’ उनले मुसुस्क हाँस्दै रातोपाटीसँग भनिन् ।

‘नेताहरूलाई लालपुर्जा दिनुहोला भनेर जिताएको हो तर, पाउने कहिले टुङ्गो छैन ।’ उनले भनिन् ।

उनले बुटवलमा जन्मिएर विवाह नवलपरासीको कावासोतीमा गरिन् । ३६वर्षीय श्रेष्ठले विवाह गरे पनि श्रीमान्को घरमा नबसी श्रीमान्लाई बुटवल नै ल्याइन् ।

उनले श्रीमान्लाई  ससुरालीमा होइन, सुकुम्बासी बस्ती ल्याएर राखेको १५ वर्ष भयो ।

२०६१ साल बुटवल ५ सुन्दरनगरमा केही अगुवाले सुकुम्बासीको नयाँ बस्ती बसाले । त्यही बस्तीमाश्रीमानसहित त्रिपाल टाँगेर बसे । केही दिन त्रिपाल टागेपछि अलि व्यवस्थित बनाए ।

अहिले १५ वर्षपछि ७ हात चौडाइ १३ हात लम्बाइ रहेको जग्गामा दुई तले घर बनाउँदै छन् । घरको पिल्लर उठाइसकेका छन् । त्यही घरको लालपुर्जाको आस र चिन्ताको श्रेष्ठको हो ।  

उनको श्रीमान बसका चालक हुन् । बुटवल–कृष्णनगर रुटमा बस चलाउँछन् । छोरीहरू स्कुल जान्छन् । आफ्नो घर बनाउँदैगर्दा अर्कोको घरमा  चिया खाजा पसल चलाएकी हुन् । श्रीमान–श्रीमती जग्गाको पुर्जा  छिटो बनाउने आशामा छन् ।

ग्राहकलाई चिया पकाउन छाडेर बेलाबेला बुटवल उद्योग वाणिज्यसङ्घको गेटमा बसको सुरक्षाकर्मीसगँ भित्र के भइरेको छ भन्दै सोध्न पुग्थिन् । त्यो लालपुर्जा जोडिएको सोधाइ थियो उनको र मनमा केही आशा पनि ।

५ नम्बर प्रदेशको प्रदेशसभा बैठक बुटवल उपमहानगरपालिका–५ स्थित बुटवल उद्योग वाणिज्यसङ्घमा बस्दा बैठकको चलह पहल धेरैले चासोपूर्वक हेरेका थिए रउत्सुकतापूर्वकक पनि । सुकुम्बासी बस्तीकोे घेराबन्दीमा बसेको प्रदेश बैठकबाट धेरै सुकुम्बासीले आशा पनि लिएका थिए ।

पहिलो बैठकको चलह पहल बुटवलभरी नै थियो । चिल्ला गाडीमा नेताहरू ओहरदोहर गरेका थिए । प्रदेशका उच्च कर्मचारीहरू, प्रदेश प्रमुख, सुरक्षा निकायका उच्च तहका व्यक्तिहरू दौडधूप चलिरहेको

थियो । त्यसको चासो सबैलाई थियो । प्रायः आफ्नै दैनिकीमा रमाउने सुकुम्बासीलाई लालपुर्जाको  आशा र चिन्ता थियो।

यस्तैमध्ये अर्का पात्र सुन्दरनगर बस्ने ७२ वर्षका अनिल नेपाली हुन् ।

घरको मिस्त्री काम गर्ने नेपाली २०२५ सालमा  स्याङ्जा जिल्लाको सिरकोटबाट बुटवल आएका हुन् । उनी अहिलेसम्म बुटवलमा विभिन्न सुकुम्बासी बस्तीमा बसे ।

१५ वर्षदेखि सुन्दरनगर बस्तीमा सानो छाप्रो बनाएर बसेका नेपालीलाई बुटवलका सुकुम्बासी  प्रायः टोलहरू  बसेको अनुभव छ ।

बुटवल झरेको झन्डै ५० वर्ष यस्तै फरक फरक बस्तीमा बास बसेपनि लालपुर्जा अझै हात परेको छैन ।

पटक पटक बुटवलमा सुकुम्बासाी बस्ती बसाल्ने र हटाउने खेल हुन्छ । यस्ता सुकुम्बासी बस्तीमा सुरुमा बस्नेमध्ये नेपाली बुटवलमा कएक भुक्तभोगी हुन् ।

जब स्याङ्जाबाट बुटवल ०२५ सालमा आइपुगे । सुरुमा राजमार्ग चौराहमा सुकुम्बासी बस्तीमा बसे ।

५, ६ वर्षपछि उनीले फेरि इँटाभट्टी क्षेत्रमा पुगे । अनिदीपनगरमा पुगे । दीपनगरमा कति सालमा बसेको उनलाई याद छैन ।

दीपनगर बस्ती बसाल्ने हल्ला सुनेपछि साथीहरूसँगै पुगे । पाल टाँगेर बसे । उनी कम्बल ओडेर सुतेका थिए । ‘राति प्रहरीले आगो लगाउन थाल्यो ।सबै भागाभाग गरियो’, उनले विगत सुनाए, ‘केही साथीहरूलाई प्रहरीले समातेर लग्यो ।’

उनी केही साथीसहित बुटवल उपमहानगरपालिकाको हाट बजारको खुल्ला चौरमा सुतेर रात काटे ।

यस्ता सुखदुःख साटेका अनुभव मात्रै हाइन उनले अर्को  कथा पनि सुनाए । इँटाभटीको सुकुम्बासी बस्तीमा ३ वर्षसम्म कुरेर बसे । बुटवलमा काम गर्दा खर्च चल्न पनि कठिन भएपछि उनी भारतको नयाँ दिल्लीतिर लागे । जहाँ होटलमा ४ वर्ष जति काम गरेर बुटवल फर्किए ।

उनले आफू बसेको झुपडी खोजे । उनी बसेको झुपडीमा नयाँ दुई तले घर बनेको थियो । पाल्पाको एक नेवार समुदायका व्यक्तिले दुई तले घर बनाएर बसेको भेट्टाए । ‘मेरो झुपडीमा किन घर बनाएको भनेरसोध्दा उल्टो नेवारले थर्काए ।’ उनले भने ।

पछि थाहा पाए, साथीले झुपडी ३० हजारमा ती व्यक्तिलार्ई बेचेर खाइदिएको रहेछ । नेपाली अनि फेरि सुकुम्बासी बस्तीमा खोजीमा लागे ।    

सुन्दर नगर बसेको पनि १५ वर्ष भयो । सानो घर छ । छोराले निजी कम्पनीमा सानो काम गर्छ  ।उनले जिन्दगीमा जति ठाउँ दुःख गरेपनि यो ठाउँ नछोड्ने मनसायमा छन् ।

‘अब नेताहरू लालपुर्जा दिए, म कही जाँदिनँ’ उनले भने, ‘जिन्दगीभर कहाँ–कहाँ बसियो, अब यहाँ बसेको यत्रो वर्ष भयो यहीँ लालपुर्जा दिए कहीँ जाँदैन ।’  


 
के छ सुकुम्बासीको समस्या ?
 

प्रदेशसभा भवनको आसपासमा पर्ने सुन्दरनगरबाट बसपार्क, लुम्बिनी अञ्चल अस्पताल,नेपालगञ्ज रोड पुग्न पदैल १० मिनेट लाग्छ । घरघरमा विद्युत र पानी छ । सडक पुगेको छ । घर नजिकै विद्यालय छन् । काम  गर्नका लागि जहाँ जान पनि सहज छ। बच्चाहरू विद्यालय पठाउन पनि नजिक छ ।

तसर्थ यस्ता बस्तीमा बसोबास गरेकाहरू अन्यत्र जान चाहँदैनन् । अर्कोतिर जग्गाको कानुनी मान्यता नपाएपनि जग्गाको बजार मूल्य तीव्र रूपमा वृद्धि भइरहेको छ।

एक हात जग्गालाई १ लाखभन्दा बढीमा बिक्री गर्नेको सङ्ख्या थुपै छ।

बुटवलका थुपै ठाउँमा यस्तो सुगम सुकुम्बासी बस्ती छन्।ती ठाउँबाट पछि मूल्य पनि राम्रो पाउने भएपछि किनबेच खेल तीव्र छ ।  

बुटवल ११ देवीनगरको प्रगति नगरमा बस्ने सपना श्रेष्ठ भनिन्छन्– ‘यो प्रगतिनगरमा बस्नका लागि निकै राम्रो छ, यहाँको समाज पनि ठीक छ ।’

उनको खास घर कास्की जिल्लाको देउराली हो । बुटवलमा बसेको १५ वर्ष भयो । श्रेष्ठको प्रगति नगरमा दुई कोठा भएको निलो जस्ता पाताले छाएको चट्ट परेको घर छ ।

जहाँ श्रीमान् छोरासहित ३ जनाको परिवार बस्छ । हालै श्रीमान् रोजगारीका लागि दुबाई पुगेका छन् । छोरालाई देवीनगरमै रहेको इन्टर क्याचुल इङ्गलिस बोर्डिङ स्कुलमा पढाउँछिन् ।

केही वर्ष पहिले बुटवलको अर्को सुकुम्बासी बस्ती सृजनानगरमा घडेरी थियो । उक्त घडेरीलाई ५ लाख रूपयाँमा बिक्री गरिन् ।

उनले भनिन्– ‘पुरानो घडेरीलाई बिकक्री गरेर यहाँ १० लाखरूपियाँ किनेको हो । ऋण धन गरेर घर बनाएको राम्रै छ ।’

प्रगतिनगरका चन्द्रबहादुर गुरुङ देवीनगरको ५४ सालदेखि प्रगति नगरमा बसेको हुन् ।

उनको उमेर ८४ वर्ष पुगेको छ । समान्य हिँडडुल गर्न सक्ने गुरुङको इच्छा भने लालपुर्जा पाउने हो ।

चौरासी पूजा गरेर बसेका उनका छोराछोरी केही पनि छैन । थुपै्रवर्ष भारतको सिलाङमा मजदुरको काम गरे ।

स्याङ्जा जन्मेका गुरुङले बुटवल सुकुबासीमा बसेका छन्, यहाँ तिनाउ खोलामा ढुङ्गा गिटी कुट्ने गरेको थिए । अहिले काम गर्न सक्दैनन् । सम्पत्तिको नाम एउटा सुकुम्बासी  झुपडी छ ।

तीन कोठाको  झुपडीमा एक कोठामा आफू बसेका छन् । दुई कोठा भाडामा दिएका छन् । मासिक ४ हजार भाडाको रकम आउँछ । त्यो रकम र सरकारले दिने वृद्धाभत्ताले नै खर्च  चलाएका छन् ।

प्रगतिनगरको एफ सेक्टरको टोल विकास समितिका अध्यक्ष कैसाल खड्गीका अनुसार बुटवलमा २० हजार सुकुम्बासी बस्तीमा छन् । सुकुम्बासी अगुवाका अनुसार बुद्धनगरमा ४ हजार, सिर्जना नगरमा ५ सय, प्रगतिनगरमा १७ सय, हात्तीसुडमा ५ सय बिनापातेमा २ सय रहेको छन् ।

अस्थायी राजधानीपछि महँगियो

रूपन्देहीको देवदह खैरनीकी बेगम भण्डारी सुन्दर नगरमा भाडामा बसेको ६ वर्ष भयो । सुन्दरनगर प्रदेशसभा भवन अर्थात् बुटवल उद्योग वाणिज्यसङ्घको कार्यालयभन्दा १०० मिटर पर एकतले घरमा दुईवटा भाडा लिएर भण्डारी बसेकी छन् ।

२ महिना पहिले मासिक ३५ सय तिर्ने कोठमा अहिले प्रदेशको राजधानी बनेपछि घरधनीले भाडा ५ हजार पुर्याएका छन् ।

श्रीमान् सानो जागरी गर्छन् । छोराले मिस्त्री काम गछनर्् । तिन जनाको परिवार छ । अन्यत्र जान पनि उनलाई मन छैन । ‘सुकुम्बासी बस्ती भएपनि यहाँबाट जहाँ पनि सहज छ । सुविधा सबै छ । खानेपानी विद्युत छ । घरमै गाडी ल्याउन सकिन्छ । सबै हिसाबले पाएक परेको ठाउँ भएकाले कोठा पाउन पनि गाह्रो छ ।’ उनले भनिन् ।

प्रदेश राजधानी बनेपनि कोठाहरू महँगिए । भण्डारीले भनिन्– ‘यहाँ एक गए अर्को कोठा खोज्न आउँछन्, घरधनीले किन भाडा नबढाऊन् ?’ भण्डारी सुनाइन्, ‘अझै प्रदेश राजधानीपछि कति मान्छे थपिने हुन् ।’


बुटवलका अधिकांश स्थानमा बसेको सुम्बासी बस्तीर अन्य बस्ती छुट्याउन मुस्किल छ ।

उनीहरूको लालपुर्जा सोधीखोजी गरेपछि मात्र पत्ता लाग्ने हो । अर्कोतिर सुकुम्बासी बस्तीमा सानका साथ राता गाडी चढ्नेहरू पनि थुप्रै छन् ।

विभिन्न अवसरको खोजीका आउनेहरूले आफूलाई पायक पर्ने स्थानमा सुकुम्बासीको नाममा सार्वजनिक जग्गा हडप्छन् ।

सहरभित्रै खाली जग्गामा बस्नेहरू एकपछि अर्को गर्दै नगरपालिकाबाट सुविधाहरू लैजान्छन् । खानेपानी,विद्युत, सडक उनीहरूले लैजान्छन् ।

केही सडकमा नगरपालिका र सुकुम्बासी बस्तीको टोल  विकास समिति मिलेर साझेदारीमा विकासको काम गर्दै सुविधा पुर्याएका छन् ।सबै स्ुविधाका आधारमा घडेरीको किनबेच हुने गर्छ ।

बेलाबेलामा नगरपालिका तथा अन्य क्षेत्रबाट हुने लागत सङ्कलन हुन्छ । त्यस अवस्थामा  लालपुर्जा आजभोलिमा नै पाइन्छजस्तै गरी हल्ला जग्गा कारोबार गर्ने चलाइन्छन् । सुकुम्बासीको जग्गाको मूल्य थप वृद्धि गर्छन् ।
 
५ नम्बरमा सुकुम्बासीको चाप
प्रदेश नम्बर ५ मा तराईका जिल्लाहरूमा यस्तो सर्वाजनिक जग्गा बसोबास गर्नेहरूचाप नै छ । यो प्रदेशका १२ जिल्लामध्ये अधिकांश तराई जिल्लाहरू सुकुम्बासी बस्तीहरूको समस्या छ । अझ यो प्रदेशमा राजमार्ग क्षेत्रमा पर्ने अधिकांश स्थानमा सुकुम्बासीहरूको ठूलो समस्या छ । नवलपरासीको कावासोती,बर्दधाट रूपन्देहीको देवदह सैनामैना हुँदै कपिलबस्तु,दाङ, बाँकेको नेपालगञ्जसम्म लालपुर्जा नपाउने कथा उस्तैउस्तै छ ।

रूपन्देहीको बुटवल उपमहानगरपलिका खासगरी अवसरको खोजीमा आएका पछिल्ला दशकमा भरिएको बुटवल बहुमुखी क्यापसका पूर्वप्रमुख माधव पन्थीले बताउँछन् । ५ नम्बर प्रदेशको सुरुवात नवलपरासी जिल्लाको कावासोती, बर्दधाट हुँदै   नेपाल गञ्जसम्मको राजमार्ग व्यवस्थित राज्यले ध्यान दिनुपर्ने पन्थी भनाइ छ ।

रूपन्देहीको देवदह  सैनामैनामा बुटवलको भन्दा ठूलो समस्या छ । स्थानीय निर्वाचनमा प्रमुख ऐजेन्डा बनाएका  स्थानीय जनप्रतिधिहरूले आफ्नो वार्षिक योजना सुकुबासी समस्यालाई समाधान गर्नका लागि केही लागत सङ्कलन काम गरेरका छन् । प्रदेश र केन्द्र सभासदहरू पनि मूल मुद्दा बनाएको सुकुम्बासी समस्या समाधान गर्न के नीति ल्याउँछन् हेर्न अझै बाँकी छ ।
 
बुटवलको सुकुम्वासी समस्यामा दलहरु कसरी चुनाव लडेका थिए ? पढ्नुहोस्, यो सामाग्री

उम्मेदवारले हरेकपल्ट गर्छन् लालपुर्जा दिने वाचा, रूपन्देहीका सुकुम्बासीमा सधैँ निराशा

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ