बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

बाकु डायरी : मुस्लिम राष्ट्रमा ‘ॐ’ को जप (फोटोफिचर)

मङ्गलबार, २३ माघ २०७४, १२ : ००
मङ्गलबार, २३ माघ २०७४

विधान श्रेष्ठ/एसके यादव

ॐ सरस्वत्यैनमः, ॐ सरस्वत्यैनमः । 

नेपालका मठ मन्दिरहरुमा यो मन्त्रको उच्चारण हुनु कुनै नौलो कुरा होइन । तर, ९७ प्रतिशत मुस्लिम धर्मावलम्बी रहेको अजरबैजानमा यो मन्त्रको उच्चारण सुन्दा भने धेरैलाई अनौठो लाग्न सक्छ । 

अजरबैजानको राजधानी बाकुको सुराखानीमा अवस्थित एक मन्दिरमा २४ सै घण्टा यो मन्त्र उच्चारण भइरहन्छ । पूर्वी यूरोप र एशियाको मध्ये भागमा रहेको अजरबैजान मुस्लिम बाहुल्य भएको देश हो । तर, आश्चर्यको कुरा आर्य सम्भयताको विकास त्यहीँबाट भएको बताइन्छ ।
 
सुराखानीमा एउटा तीन सय वर्ष पूरानो मन्दिर रहेको छ जहाँ वर्षौँदेखि अखण्ड ज्योति प्रज्वललित रहेको छ । 

मन्दिरमा यही ज्वाला बलिरहेको कारणले नै त्यसलाई ‘टेम्पल अफ फायर’को नामले चिनिन्छ । यो मन्दिर अजरबैजान पुग्ने पर्यटकहरुको आकर्षणको केन्द्र बनेको छ ।

१७ र १८ औँ शताब्दीमा बनेको यो मन्दिरलाई बाकु अतेस्गाह भनेर पनि चिनिन्छ । निकै पूरानो यो मन्दिरलाई संरक्षण गर्नका लागी पुरातात्विक विभागले पुरानै शैलीमा पुनर्निर्माण गरेको छ । 

सबभन्दा महत्वपूर्ण कुरा के हो भने मन्दिरको प्रवेशद्वारमै एउटा शिलालेख राखिएको छ । जसमा ईश्वी संवत १८०२ उल्लेख गरिएको छ । त्यसको पहिलो पहिलो पंक्तिमा नै श्री गणेशाय नमः उल्लेख गरिएको छ भने दोस्रो पंक्तिमा ज्वालालाई उच्चारण गरिएको छ । मन्दिरभित्र यस्ता थुप्रै शिलालेखहरु छन् जसमा संस्कृति भाषामा लेखिएका छन् । 

जानकारहरुका अनुसार बाकु शहर पहिले सिल्क रोड अन्तरगत पथ्र्यो । त्यही क्रममा भारतका जोरोआस्ट्रियन्सहरु यहाँ आएर मन्दिरको निर्माण गरे । यसलाई हिन्दु सिख र जोरोआस्ट्रियनहरुले प्राथनाका लागि प्रयोग गर्थे र व्यवसायका क्रममा मन्दिर वरीपरी रहेको कोठाहरुमा रात बिताउने गर्थे । मन्दिरमा राखिएको ऐतिहासिक दस्तावेज अनुसार सैयौँ वर्ष पहिले जब व्यपारीहरु त्यो बाटो भएर जाँदा त्यो ज्वालालाई देखेर पूजा गर्न थाले । पछि उनीहरुले मन्दिर नै बनाए । व्यपारीहरु त्यहाँबाट आउँदा–जाँदा पूजा पाठ गर्नुको साथै त्यही मन्दिरको वरिपरि निर्माण गरिएको कोठामा विश्राम पनि गर्थे ।

ईरानका पारसीहरु पनि यो मन्दिरमा पुजा गर्न आउँथे । इरानीहरुले नै त्यो मन्दिरलाई आतेशगाह भन्न थालिएको हो । आतेशको अर्थ ज्वाला र गाहको अर्थ बास हो । इरानीहरुले यसलाई पारसी मन्दिर पनि भन्थे । मन्दिरको टुप्पोमा पहिला एउटा त्रिशुल हुन्थ्यो जो अहिले छैन । त्यही त्रिशुलका कारण त्यो मन्दिरलाई हिन्दुस्थलको रुपमा परिचय गराइएको छ । 

यो ऐतिहासिक मन्दिर भएका हुनाले त्यसलाई पुनः संरचना गर्दा पनि पुरानैशैलीमा निर्माण गरिएको छ । र, अहिले यसलाई संग्राहलयका रुपमा प्रयोग गरिन्छ । 

मन्दिरको चारैतिर कोठाहरु छन् । यी कोठा पुरानो गुफा जस्तै देखिन्छन् । पहिले ती कोठाहरुमा व्यापारीहरु रात बिताउने गर्थे ।

अहिले ती कोठाहरुमा मुत्र्तीहरु राखिएको छ । जसले ३ सय वर्षअघि त्यहाँ के के हुने गथ्र्यो भन्ने झल्काउँछ । 

चारैतिर पर्खालले घेरिएको संरचनाको बीचमा एउटा मन्दिर रहेको छ । त्यही मन्दिरमा ज्वाला निरन्तर बलिरहन्छ । शुरुमा यो ज्वाला प्राकृतिक ग्याँसबाट बल्ने गथ्र्यो । तर, सन् १९६९ मा त्यो निभेपछि अहिले तेलबाट यसलाई बालिएको छ । 

अर्को ज्वाला मन्दिर बाहिर रहेको छ । जसलाई अग्नीकुण्ड भनिन्छ । पहिले यो जमिनमा नै बल्थ्यो । तर, अहिले नयाँ संरचना निर्माण गरी फरक र आकर्षक बनाइएको छ । 

इतिहासकारका अनसार यो मन्दिरको निर्माण बुद्धदेव नामका व्यक्तिले शुरु गरेका हुन् । मन्दिरमा राखिएको एक शिलालेखमा उत्तमराज र शोभराज नाम गरेका व्यक्तिले पनि मन्दिर निर्माणमा महत्वपूर्ण सहयोग गरेको उल्लेख छ ।

मन्दिरलाई १९७५ मा संग्राहलयको रुप दिएपछि यो पर्यटकहरुका लागि राम्रो गन्तव्य बनेको छ । सन् २००७ मा अजरबैजानका राष्ट्रपतिले सो ठाउँलाई ऐतिहासिक आरक्षित क्षेत्रको रुपमा घोषणा गरेपछि यो मन्दिर पर्यटकहरुको आकर्षणको केन्द्र नै बनेको छ । 

त्यहाँ मुस्लिम देशलगायत भारत तथा नेपालका पर्यटकहरु विशेष रुपमा जाने गरेका छन् । तथ्याङ्क अनुसार त्यहाँ वार्षिक १५ देखि २० हजार पर्यटकहरु जाने गर्छ । 

सन् १८६० अघि सम्म मन्दिरमा पूजापाठ पनि हुने गथ्र्यो । तर, त्यहाँका पुजारी गएपछि पुनः फर्केर आएका छैनन् । अहिले सबै डिजिटल प्रविधिबाट मन्त्र उच्चारण भइरहेका छन् । 

कसरी पुग्न सकिन्छ बाकु शहर ?

आफै अजरबैजानको बाकु सहर जाने योजना बनाउँदा निकै महङ्गो पर्न सक्छ । तर, पछिल्लो समय नेपालको ट्राभल कम्पनीहरुले निकै सस्तोमा टुर प्याकेजहरु बनाएका छन् । कान्तिपुर होलिडेजबाट मात्र रु. ५९ हजार ९९९ मा चार रात र पाँच दिनका लागि बाकु शहर घुम्न सकिन्छ । यसमा पाँच तारे होटलमा बस्नेदेखि बाकु सहरमा पर्यटकीय स्थल घुमाउने योजना समावेश रहेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप