केन्द्रीय संस्करण

‘...काँग्रेस सिद्धिन पनि सक्छ’ (राजनीतिक विश्लेषक पुरञ्जन आचार्यको विश्लेषण)

person access_timeमाघ २२, २०७४ chat_bubble_outline0

काँग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको नेतृत्व कालमा पुरञ्जन आचार्यसहयोगी थिए ।

०५२ पछि आचार्य कोइरालाका सचिव भएर काम गरे ।

काँग्रेस गणतन्त्रका लागि तयार नहुँदै आचार्यसहितका केही काँग्रेस नेताले देशभर गणराज्य अभियान चलाएका थिए ।

काँग्रेसको पछिल्लो हारसँगै आचार्यले वर्तमान नेतृत्वप्रति कडा प्रतिक्रिया दिँदै आएका छन् ।

काँग्रेसलाई पुनर्ताजगी गर्न पाँच वर्षको समायावधि कम हुने उनको निष्कर्ष छ । पुरानो पुस्ताले स्वैच्छिक रूपमा बाटो नखोलिएदिए काँग्रेस सिद्धिने उनको तर्क छ ।
प्रस्तुत छ रातोपाटीका लागि लिलु डुम्रेले आचार्यसँग गरेको कुराकानी :  
 
काँग्रेसको स्वर्णिम काल
काँग्रेसको इतिहासको कुरा गर्दा कसरी दुई काँग्रेस एक भए भन्ने सन्दर्भमा नजाऔँ ।  विसं. २००६ मा काँग्रेसको स्थापना थयो । त्यसपछिको समयमा काँग्रेसको डाइनामिज्म एकपछि अर्को देखिएको थियो । बीपीको नेतृत्वमा काँग्रेस सुरु हुँदा शान्तिपूर्ण आन्दोलनको माध्यमबाट नेपालमा संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्रको लाइन देखिएको थियो । बीपीकालीन काँग्रेसको बडो विचित्रको फेज थियो ।
 
भारत महात्मा गान्धीको नेतृत्वमा अहिंसात्मक आन्दोलन चलेको थियो । त्यसले ब्रिटिस साम्राज्य ध्वस्त भएको थियो । तर, नेपालमा ३, ४ वर्षदेखि लिएको स्ट्यान्डलाई छोडेर सशस्त्र क्रान्ति सुरु गरिएको थियो । दक्षिण एसियाको राजनीतिमा अद्भूत प्रयोग नेपालमा हुँदै थियो । बीपी समाजवादी थिए, उनले अहिंसात्मकभन्दा पनि सशस्त्र क्रान्तिको वकालत गर्थे ।
 
००७ सालको क्रन्तिको बनौट  प्रवासकालीन आन्दोलनमा आधारित  थियो । ००७ सालको आन्दोलन नेपाली भूमिबाट उठेको आन्दोलन होइन । नेपाली भूमिमा त्यसको प्रयोग गरियो । बीपी, कृष्णप्रसाद भट्टराई विभिन्न कारणले भारतमा थिए । उनीहरू एकत्रित भए, जो नेपालबाट खेदिएका थिए ।
 
नेताहरूको नेपालसँगको तारतम्य सात सालपछि मात्रै जोडियो । नेपाल हेर्ने मौका सात सालपछि नै पाएको बीपीले पनि स्वीकार्नुभएको छ । २००७ देखि ०१५ सम्म सङ्क्रमणकालीन समय थियो । काँग्रेसमा वैचारिक रूपमा एकछत्र पकड बीपीको थियो । साङ्गठिन रूपमा कहिले मातृकाप्रसाद कोइराला त कहिले सुवर्ण शमशेर पदमा आए ।
 
बीपीको राप र तापका बीचमा उनले जे लाइन लिए, त्यो कार्यनीति हुने अवस्था थियो । उनको व्यक्तित्व राष्ट्रियसँगै अन्तर्राष्ट्रिय पनि थियो । जनतासँको संवादमा उनी अघि थिए । बीपीको ओजका कारण बीपी नै काँग्रेस, काँग्रेस नै बीपी भएको स्थिति थियो । यो अवधि झण्डै बीपीको देवहासनसम्मै चल्यो । ००७ सालअघिको बीपी युवा र क्रान्तिकारी ।
 
वैधानिक रूपमा सरकारमा पुग्न बाटोहरू बन्द थियो । राजसंस्था र काठमाडौँका एलिटहरूसँग टक्कर परिरहेको थियो । ००७ पछि  बीपीलाई प्रधानमन्त्री हुन आठ वर्ष लाग्यो । मातृकाप्रसाद कोइराला र टङ्कप्रसाद २०१५ अघि प्रधानमन्त्री भइसकेको थिए । काठमाडौँको सत्तामा बीपीलाई रोक्न खोजेको देखिन्छ ।
 
२०१५ मा दरबार र काठमाडौँका एलिटहरूको विश्वास विपरीत जनताले बीपीको बहुआयामिक छविलाई मन पराए । २०१२ को विरगन्ज महाधिवेशनबाट समाजवादको नीतिले काँग्रेसलाई किसानसँग, श्रमिक, गरिब तप्कालाई जोड्यो ।
 
नेपाली जनताको मुक्तिदाताको अनुहार बीपीमा देखिएको थियो । दलमा जमिनदार, सामान्तहरू पनि थिए, तर बीपीको छविको कारण उनीहरू पनि बीपीलाई अनुसरण गर्ने भए । ०१२ को अधिवेशनपछि ०१५ सम्म आइपुग्दा बीपी सरकारको नेतृत्वमा पुगे । बीपीका लागि त्यस समय उर्वरकाल मान्न सकिन्छ । दललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने, जनताको तल्लो तहसम्म सङ्गठन निर्माण गर्ने कार्यले उनको मूर्धन्य व्यक्तित्व त्यसै कालमा देखियो ।


 
राजकाजमा काम गर्न पाएको जम्मा १८ महिना हो । वैदेशिक नीति, राष्ट्रियता, भू राजनीति र  भूमि सुधारलगायतका क्षेत्रमा क्रान्तिकारी कार्य गरे । किसानलाई विम्बका रूपमा प्रयोग गरेर दश वर्षमा आफूसरह बनाउने अठोट लिए । विकास मोडेल आफूले नै बनाए ।
 
 राणाहरूका दरबारलाई राष्ट्रियकरण गर्नुपर्छ भनेकाले बबरमहल, सिंहदरबार, राष्ट्र बैङ्क भवन राष्ट्रियकरण भए । नेपालमा क्रान्ति र काम भएको थियो भने त्यो बीपीको कालमा मात्रै भएको थियो । बीपीको काल स्वर्णीम काल हो काँग्रेसका लागि । काँग्रेसले अहिलेसम्म त्यही ब्याज खाइरहेको छ । बीपीको आयाम अन्तर्राष्ट्रिय थियो । बीपीको केही कमजोरी पनि थिए । उनले इजरायललाई मान्यता दिएनन् । नेहरूसँग पनि टक्कर लिए ।
 
नेपाललाई आज जुन एक्स्क्लुसिभ डेमोक्रेसी बनाउने भनिन्छ, बीपीले त्यतिबेला नै समावेशी बनाएका थिए । बीपीसँग गणेशमान, योगेन्द्रमान शेरचन, भीमबहादुर तामाङ, देवानसिंह राई, महेन्द्रनारायण नीधि, परशुनारायण चौधरी र द्वारिकादेवी ठकुरानी थिए । नेपालको कालखण्डको त्यस समयलाई सुनौलो कालखण्ड भन्ने गरेको छु । ०१७ सम्म बीपीको सुनौलो जीवन थियो । उनी जेल परेपछि चाहिँ उनलाई साथ दिने धेरैले छोडे ।
 
इन्दिरा गान्धीलाई सद्भाव र शुभेच्छा चाहिन्छ, सहयोग चाहिँदैन भन्न सक्ने व्यक्ति बीपी हुन् । तर कम्युनिस्टहरूले काँग्रेसलाई प्रो इन्डियन भनी आरोप लगाए । पछि बोली फिर्ता पनि लिए । २०२५ देखि २०३३ सम्म बीपीले फेरि सशस्त्र क्रान्ति गरे ।
 
 सशस्त्र क्रान्ति दुई पटक भयो तर भारतमा रहेर । भारतमा बसेर गरिएको क्रान्ति सफलता उन्मुख भएन । ओखलढुङ्गा, जहाज अपहरण र राजा महेन्द्रमाथि बम प्रहार काण्ड त्यही अवधिमा हुन्छ । ०२५ पछि ०३३ सम्मका बीपीले गरेका प्रयासहरू परिणामका हिसाबले असफल रहे ।
 
हरेक जिल्लामा काँग्रेसका थोरै मान्छे थिए । ती थोरै व्यक्ति काँग्रेस जस्ता व्यक्ति थिए । उच्च नैतिक बल, अध्ययनशील, बीपीका विचारका आयाम बुझ्न सक्ने र मुलुक रूपान्तरणका लागि सेवाभावले लागेका काँग्रेस थिए । पेसा भावले लागेका थिएनन् ।
 
०३३ मा मेलमिलापको नीति लिएर पुनः नेपाल फर्के । बीपीको नीति राजासँग द्वन्द्व नबढाउने थियो । क्षति पनि बेहोरे, क्रान्तिकारी विचार पनि त्यागे । रक्तपातपूर्ण क्रान्ति होइन, राजासँग मिलेर नै राजनीतिक सुधार गर्नुपर्छ भन्ने पक्षमा देखिए ।
 
राष्ट्रियताको पक्षमा राजतन्त्रसँग सहकार्य गर्नुपर्छ भन्दै नेपाल फर्केका थिए । मुर्दा शान्ति जस्तो रहेको मुलुकमा बीपीको आगमन पछि राजनीतिक चहलपहल पुनः व्युँतियो । ०३६ मा जनमत सङ्ग्रह भयो । ०३६ को जगले ०४६ मा बहुदलीय व्यवस्था आयो । ०३६ बीपीको लागि राजनीतिको अन्तिम प्रयास थियो ।
 
सत्ता र लाभका लागि गुट
राजतन्त्र सामन्तवादको अवशेष हो पनि उनले भनेका थिए । ०२५ मा भारत जाने क्रममा संसारका राजतन्त्रले जनताको पक्षमा काम गर्दैनन् भनेका थिए । बरु ‘कोशीको बगरमा बसेर बालुवा निचोरे तेल निस्कन्छ तर नेपालको राजतन्त्रले प्रजातन्त्र दिन्छ भन्नु धोका हो’ भनेका थिए ।
 
०२५ मा बीपीले सशस्त्र क्रान्ति गर्छु भन्दै भारत पसे । कृष्णप्रसादले नेपालमै बसेर सत्याग्रह आन्दोलन गर्छु भन्दै जान मानेनन् । गुट त्यो समय पनि थियो तर उद्देश्य क्लियर थियो । माध्यम फरक भई मतैक्यता थिएन । कृष्णप्रसादको लाइनमै बीपी ०३३ मा आइपुगे । कार्यकर्ता पनि त्यो समूहमा विभाजित थिए । बीपीको व्यक्तित्वको अगाडि अन्य गुटको केही चल्ने थिएन ।  बीपीको लाइन मन नपराउने प्रशस्त थिए । तर केही गर्न सक्दैनथे ।
 
संसारमा चलेका वादहरूसँग बीपी असहमत थिए । ०३६ मा गणेशमानले वामपन्थीसँग सहकार्य गरी जानुपर्छ भन्थे । एउटा तानाशाहीसँग लडिरहेको बखत अर्को तानाशाहसँग सहकार्य गरी राजनीतिक आन्दोलनमा जान हुन्न भन्ने बीपीको मान्यता थियो । तर पछि परिस्थिति कस्तो निर्माण भयो भने सोभियत सङ्घ विघटन पश्चात संसारका कम्युनिस्टको रक्षात्मक अवस्था आयो ।
 
गणेशमानको निष्ठा, कृष्णप्रसादको नैतिकता गिरिजाप्रसादको क्रियशीलता । यी तीनवटा एकै ठाँउ भएभने काँग्रेस वाँच्छ है भनेका थिए । तर बीपी वितेर गए । तिनैबीच फरक फरक गुट निर्माण भयो । नेपालमा आन्दोलन गर्दा कम्युनिस्टहरूलाई कतिसम्म विश्वास गर्ने विषयले काँग्रेस गुटमा परिवर्तन हुन थाल्यो । नेतृत्व मात्रै बाँडिएन, तल्लो सङ्गठनसम्म गुट बाँडियो । गिरिजाले बीपीको लाइन  भनेकै म हुँ, वामपन्थीसँग सहकार्य हुँदैन भन्ने बाटो लिए ।
 
गणेशमानले गिरिजाको विपरीत क्रान्तिकारी बाटो लिए । उनले वामपन्थी र प्रजातन्त्रिक शक्ति मिलेर आन्दोलन गर्नुपर्छ अन्यथा निरङ्कुश शासन रहिरहन्छ भनी अडान लिए । गणेशमानको लाइनलाई भट्टराईले सहयोग गरे । गणेशमानले लिएको बाटो ठीक थियो वा बेठीक इतिहासको मूल्याङ्कन हुन बाँकी नै छ या गर्दैछ । तर परिवर्तन चाहिँ त्यसले ल्यायो । गणेशमान र कृष्णप्रसादको लाइनविरुद्ध गिरिजा भएपछि गुटको सुरुवात भयो । दुवैतर्फको लाइन वडा तहसम्म पुग्यो ।

राजतन्त्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आयो । कम्युनिस्टलाई हेर्ने दृष्टिकोणमा आजसम्म पनि अवस्था त्यही हो । राजासँग द्वन्द्व बढाउन हुन्न भन्ने गिरिजा र वामपन्थीसँग सहकार्य गर्नुपर्छ भन्ने दुई नेताको विवादले नै गुटको विकास भएको हो । माले, मसाले, मण्डले एकै हुन् भन्ने गिरिजाको भाषण अझै ताजै छ । बहुदलपछि यो जित राजाको पनि हो भने ।
 
बीपीको समयमा पनि गिरिजाको काँग्रेसमा निकै राम्रो प्रभाव थियो । कृष्णप्रसाद र गणेशमानमा निष्ठाको राजनीति थियो । सङ्गठनमा पकड थिएन । तर काठमाडौँमा गणेशमानको प्रभाव थियो । ०४६ को परिवर्तनसँगै समूह मौलाउनको मूल कम्युनिस्टसँगको सहकार्यको विषय हो ।
 
०२५ मा प्रवास गएर राजाका विरुद्ध आन्दोलन गर्ने उद्घोष गरेका बीपी र त्यसलाई अस्वीकार गर्दै नेपालमा सत्याग्रह आन्दोलन गर्ने कृष्णप्रसादको लाइनको मेल ०६२÷०६३ आन्दोलनमा गिरिजाप्रसादले गराए । राजाका विरुद्धमा जानु हँुदैन भन्ने मान्यता राख्ने गिरिजा वामपन्थीसँग मिलेर जनआन्दोलनमा गए । तर, ठीक विपरीत जनआन्दोलनका समयमा कृष्णप्रसाद भट्टराई राजतन्त्रको पक्षमा देखिए ।  बाह्रेबुँदे सम्झौतामा  पनि भट्टराईले समर्थन जनाएनन् । गणतन्त्र, सङ्घीयताको विपक्षमा उनी अडिग थिए ।
 
भट्राईको साथ दिने दलमा अरू पनि देखिए । लोकतन्त्र र राजतन्त्र नेपालमा सँगै जान नसक्ने निष्कर्षसहित  गरिजा रूपान्तरण भए । ००३ सालदेखि लिएको प्रयत्न खेर गएको जनाउँदै प्रजातन्त्रवादी र वामपन्थीसँगै जान सक्छन् भन्ने मान्यता विकास गरे । ०४६ मा गणेशमान र कृष्णप्रसादको सक्रियतामा कम्युनिस्टहरूसँग  कार्यगत एकता  भएको थियो । ०६२÷०६३ मा माओवादीसहित गरिजाको नेतृत्वमा भएको जनआन्दोलनलाई आत्मसाथ गर्ने क्रममा काँग्रेसमै विभेद देखियो । गरिजाले लिएको लाइन काँग्रेसको ग्राउन्डमा तयार थिएन । अझै छैन । केही काँग्रसीले अझै पचाउन सकेका छैनन् ।
 
गणराज्य अभियान लिएर हामी देशव्यापी रुपमा निस्किँदा गरिजाले अवरोध गरेनन् । तर, बेबी किङ पनि भनिरहे । उनमा एउटा बाध्यता थियो । कार्यबाहक सभापति भएका सुशील कोइराला त्यसको विरुद्धमा थिए । गणतन्त्रको विरुद्धमा सङ्गठित रूपमा लागे । गणतन्त्रका विरुद्धमा हस्ताक्षर अभियान देशव्यापी चलाए । तर, संविधान उनको समयमा पारित भयो । काँग्रेसमा यस्ता विरोधाभाष गतिविधि भइरहन्छ । वैचारिक रूपमै अनेक किसिमका उतारचढावले काँग्रेस अगाडि बढ्न सकिरहेको छैन । बाध्यताले काँग्रेस लतारिँदै अघि बढिरहेको छ ।
 
राजालाई हेर्ने र कम्युनिस्टलाई हेर्ने दुई दृष्टिकोणले काँग्रेसमा गुट सुरु भएको हो । एक फेज यस्तो आयो कोइराला काँग्रेस, काँग्रेस कोइराला । गिरिजा कोइरालालाई मात्रै काँग्रेस मान्ने कि अरू पनि काँग्रेस हुन् भन्ने अस्तित्वको लडाइँ पनि सुरु भयो । कोइराला विरोधी खेमाको नेतृत्व कृष्णप्रसाद भट्टराईले गरे । गणेशमानले सक्नुभएन । गिरिजा मार्का हराऔँ भन्दै ०५१ मा उम्मेद्वार नै उठाए ।
 
०५१ पछि वैचारिक छैन । व्यक्ति व्यक्ति बाँडिए । गणेशमानले बाहुनवादी पार्टी भयो भन्दै आरोप लगाए । राजदूत नियुक्ति गर्दा सातै जना बाहुन थिए । त्यसैलाई आधार बनाएर गणेशमानले आरोप लगाए । गिरिजाको गलत कार्य शैलीको विरोध सुरुमा गणेशमान हुँदै कृष्णप्रसादले गरे । गोदावरी सम्झौता त्यसैको परिणाम हो । किशुन जी र गिरिजाबीच कसलाई कुन पद दिने भागबन्डा गोदावरी बैठकपछि भएको हो ।
 
त्यसलगत्तै कृष्णप्रसादको नजिक हुन धेरै आए । कारण, अब अवसर पाइने भयो नि । गिरिजाको हनुमान हुँ भन्दै पनि आए । हिजोको झगडा सैद्धान्तिक, राजनीतिक दृष्टिकोण प्रमुख थियो । सैद्धान्तिकबाट ओर्लेर अब पार्टी सत्ता र सरकारको सत्ता प्राप्तका लागि समूहले विकसित रूप लियो । त्यसको असर सरकारमा देखिन थाल्यो ।
 
सरकारी निकायमा कुन समूहको नियुक्ति दिने गलत परम्परा सुरु भयो । गुटबाट फाइदा हुनेदेखि शेरबहादुरले गुटलाई संस्थागत गरे । राजनीतिक सिद्धान्त, निष्ठा  काँग्रेसमा खडेरी पर्दै गएपछि विचारप्रति निष्ठावान व्यक्तिहरूले काँग्रेस छोड्दै गए ।  गुटले गर्दा काँग्रेस राजनीतिक पार्टी जस्तो भएन । वैचारिक रूपमा त स्खलित भएको थियो नै । बीपीको फोटो झुन्ड्याउने पार्टी मात्रै बन्यो । उनको राजनीतिक अभियान, त्याग बुझ्नै सकेनन् ।


 
काँग्रेसले ठेक्कापट्टा दिन्छ भन्दै नेतृत्वलाई खुसी पार्ने काम भए । गुटलाई बचाउनका लागि काँग्रेस खण्डित गरियो । कमिसन एजेन्टले, दरबारले तिनका भरदारले, उच्च तहका कर्मचारीले गुट समात्न थाले ।
 
गुट हावी भएपछि देउवालाई फलिफाप भयो । पार्टी विभाजित गरी काँग्रेस प्रजातान्त्रिक २०५९ मा बनाए । २००३ बाट सुरु भएको काँग्रेसको इतिहासमा देउवाले भयानक दुघर्टना गराए । फुटपछि काँग्रेस जनताबाट विच्छेद हुँदै गयो । काँग्रेसको पतन ०५१ बाट भएको हो । जतिबेला एमाले प्रमुख दल बन्यो । ०५६ मा एमालेको फुट र कृष्णप्रसादलाई भावी प्रधानमन्त्री भन्दै चुनावी प्रचार गरिएकाले बहुमत ल्याएको हो । ०५६ को जित पनि नक्कली थियो ।
 
भट्टराई (फरक गुट)लाई प्रधानमन्त्री अघि सार्नु र र एमाले विभाजित कारण हो । जातीय रूप पनि काँग्रेस कमजोर भएको थियो । राजधानीमै काँग्रेसलाई जित्न कठिन थियो । संविधान सुशील कोइरालाको समयमा बने पनि समावेशी एजेन्डाहरू एमाले माओवादीका पारेका छन् ।
 
राजनीतिक रूपमा टुहुरो पारेको संविधान सुशीलको पालामा काँग्रेसले प्राप्त गरेको हो । दुई सिट जित्ने गरेको थियो । काँग्रेसमा व्यक्तिका आ–आफ्ना अहंकार पनि छन् । गुटलाई सेवा, संरक्षण दिनुपर्ने तथा पकड राख्नुपर्ने जबर्जस्त सोच छ । परिवारहरूको राष्ट्रिय सञ्जाल पार्टीमा छ ।  अहिले हेर्दा काँग्रेस राष्ट्रिय पार्टी होइन, परिवारको पार्टी जस्तो देखिएको छ ।
 
देउवाको प्रधानमन्त्री काँग्रेसका लागि दुर्भाग्य
०६४ मा पनि काँग्रेस हारेको हो तर यो अवस्थामा निराशा काँग्रेसजनमा थिएन । अभिभावकत्व गुमेको महसुस थिएन ।
आजको हार देउवाको पार्टी सभापति र सरकारमा गएपछिको परिणाम हो । पार्टीको ढाँचै नभएजस्तो छ । देउवालेले क्वालिटीको नेतृत्व दिन सक्दैनन् । उनी आरामदायी स्वभावका व्यक्ति हुन् । उनको समयमा सकेजति गरे तर २१औँ शताब्दीमा उनले गर्न सक्ने अवस्था छैन । अब काँग्रेसमा ठूलो परिवर्तन ल्याउनुपर्छ ।
 
प्रधानमन्त्री भइसकेपछि राजनीतिक निर्णय लिन सक्नुपथ्र्यो । भूराजनीति पनि बुझ्नुपथ्र्यो । सरकारमा राप्रपा छ । माओवादी थियो । एमालेसँग माओवादीको तालमेल सरकारमै हुँदा भएको थियो । देउवाले एक्सन लिन सकेनन् । रणनीतिक रूपमा पनि माओवादीलाई सँगै राख्न सकेनन् भने राप्रपासँगको गठबन्धन पनि काम लागेन । सरकारी तहबाट भएका अधिकांश निर्णय आलोचित भए ।
 
चुनाव हारिसकेपछि गरेका निर्णयहरू पनि अति विवादित छन् । अलोकतान्त्रिक छन् । काम चलाउ सरकारले दीर्घकालीन असर गर्ने निर्णय गर्नै पाइँदैन । भावी प्रधानमन्त्रीलाई सत्ता हस्तान्तरण बाहेक उनले अरू गर्नै हुँदैन । देउवाको गतिविधिले काँग्रेसलाई हराउने मात्रै काम गरेन भविष्यमा काँग्रेसलाई उठाउन पनि समस्या पारिदिएको छ । ६५ वर्ष पुगेकालाई भत्ता दिने निर्णय दूरगामी असर गर्न निर्णय हो । विपक्षीको बेन्चमा बस्ने काम गर्न मात्रै बाँकी छ काँग्रेसको लागि । काँग्रेस पुनर्जीवित हुने बाटो पनि रोकेका छन् ।
 
पार्टी सभापतिका रूपमा के भन्नु र ? न विधान पालन भएको छ, न पार्टी परिचालन भएको छ । भातृ सङ्गठनहरूको प्रभावकारिता देखिएको छैन । अर्को देउवाको दुर्गुण नेपालमा प्रदेशसभाको चुनाव हुँदैछ भन्ने देउवालाई अवगत नै थिएन । सातै प्रदेश पहिलो पटक अवसर गुम्यो । केन्द्रीय तहको नेता प्रदेशमा उतार्न सकेनन् । सङ्घीय ढाँचामा गइसकेपछि पनि एकात्मक ढाँचाको अनुसरण काँग्रेसले गर्यो । देउवालाई काँग्रेस हार्दैछ भनेर मैले पटक पटक भनेको पनि हुँ । चुनावका लागि न रणनीति थियो न अभियान न नारा ।

काँग्रेसलाई खिया लागेको छ
हारसँगै नयाँ विचार नयाँ नेतृत्वको अभियान सुरु हुनुपथ्र्यो । काँग्रेसको विचारमा खिया लागेको छ । वैचारिक आन्दोलन काँग्रेसमा हुनु जरुरी छ । अझ नयाँ विचार बोक्न सक्ने नयाँ सङ्गठन बन्छ कि बन्दैन अर्को चुनौती छ ।
 
नेपाली काँग्रेसको वर्तमान सङ्गठन राजनीतिक सङ्गठन होइन । डन, तस्कर, गुण्डा, धनवली, बाहुबली अवसरवादी र लोभीपापीहरूले आएर कब्जा गरेको सङ्गठन हो । राजनीतिक मापदण्ड अनुसार कार्यकर्ता उत्पादन गर्ने कि नगर्ने मुख्य विषय हो । यसैगरी चलाउने हो भने नयाँ किन चाहियो । शेरबहादुर र रामचन्द्रले काँग्रेसले गति लिन सक्दैनन् । इतिहासको भूमिका सफलतापूर्वक सम्पन्न गरे ।
 
सातैवटा प्रदेशको सम्भावना र चुनौतीका विषयमा एक दिन पनि छलफल भएको छैन । काँग्रेसलाई कसैले राम्रो बनाउन सक्छ भने पुरानो पुस्ताको त्यागले मात्रै सम्भव छ । पुरानो पुस्तासँग युवाहरूले विवाद  गर्नुपर्यो भने युवाहरूको ऊर्जा त्यसमै सकिन्छ ।
 
रातोपाटी मार्फत नै भन्न चाहन्छु, काँग्रेसको हितका लागि स्वेच्छिक रूपमा पहिलो पुस्ताले बाटो खाली गरिदिनु पर्छ । ०४६ पछि सरकार वा दलमा बसेर योगदान गर्नेहरूको पनि अब औचित्य सकियो । ओगटेर बस्नु त जागिर खान बसे जस्तो हो ।
 
अघिल्लो पुस्ताले भोलिको दिनमा योभन्दा राम्रो गर्नै सक्दैनन् । पुरानो पुस्ताले छोडेन भने दुई पुस्ताबीच द्वन्द्व हुन्छ । द्वन्द्व हुँदा काँग्रेसले पुनर्जीवन प्राप्त गर्न ५ होइन २५ वर्षमा पनि सक्दैन । गुट बनाउन, आफूलाई बचाउनका लागि शक्ति सकिन्छ । विश्व प्रकाशलाई ताने जसरी अरूलाई पनि तान्ने प्रयास पुरानो पुस्ताले गर्छ ।
 
अबको पाँच वर्षमा काँग्रेस पुनर्जीवित हुनै सक्दैन । दश वर्ष त तयारी गर्नुपर्छ । नेतृत्व, विचार र सङ्गठन नै बदल्नुपर्ने छ । काँग्रेसको कारणले होइन कि कम्युनिस्टको पतन भयो भने मात्रै काँग्रेसको अवसर रहन्छ । कम्युनिस्टलाई गुण लगाए भने आफू खराब भए पनि काँग्रेस अघि आउन सक्छ । वामपन्थीहरूको ५० प्रतिशतको मत आफूतिर ल्याउन काँग्रेसले पाँच वर्षमा शतप्रतिशत सक्दैन ।
 
काँग्रेसले दुईवटा काम गर्न सक्छ– पहिलो भगवानसँग पुकरा गर्ने, कम्युनिस्ट बिग्रिऊन् भन्ने । दोस्रो, दश वर्षमा पुनर्ताजगी हुनका लागि  नेतृत्व, विचार र सङ्गठन सबै नयाँ बनाई कम्मर कस्ने  भाग्यवाद वा कर्मवाद काँग्रेसको हातमा छ । प्रत्येक दिन ढिलो भइरहेको छ । विपक्षी दलको नेता जनतासँग जोडिन्छ । तर आजसम्म सातै प्रदेशको विपक्षी दलको नेताको टुङ्गो छैन । प्रदेश सभामा के हुन्छ, संसदमा कसरी उपस्थिति जनाउने भन्ने तालिम पनि दिएको छैन ।
 
अहिलेको सामाजिक परिवेश अनुसारको पार्टी हुन सकेन भने काँग्रेसलाई प्रतिकूल अवस्था अझै आउँछ । चीनमा कोमितङ भन्ने पार्टी काँग्रेस जस्तै थियो । ३० वर्ष शासन गरेको पार्टी माओत्सेतुङ नेतृत्वको जनयुद्धले सकियो । त्यो हुँदैन भन्न यहाँ सकिन्छ र ? भारतमा काँग्रेस स्वतन्त्रताको लडाइँ लड्यो । झण्डै ६० वर्ष एक छत्र शासन गर्यो ।
 
भाजपाले काँग्रेसलाई फ्याँकिदियो । यो चुनौती नेपालमा पनि छ । काँग्रेस पार्टी सकिन पनि सक्छ, ब्यँुतिन पनि सक्छ । सबै कुरा यी नेताहरूमा भर पर्छ । प्रजा परिषद सिद्धिन्छ भनेर कसैले कल्पना गरेको थिएन । ०१५ सालमा कम्युनिस्टको दुई सिट थियो, आज दुई तिहाइ पुग्न लाग्यो । सिद्धिन समय लाग्दैन, इतिहासले सिकाएको शिक्षा हो ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ