बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सङ्घर्षको कथा : ट्रक ड्राइभरदेखि ४ तारे होटलको मालिकसम्म

सोमबार, २२ माघ २०७४, १० : ५५
सोमबार, २२ माघ २०७४

एउटा सामान्य मानिसका लागि सपना देख्नु पनि ठूलो हुन्छ । तर, केही गर्नु पहिला सपना त देख्नैपर्यो ।

युवा उद्यमी देवानन्द अर्यालले पनि पहिला सपना देखे । पछि पूरा गरे, गरिरहेका छन् ।

सफलता प्राप्त गर्नु अगाडि उनले जीवनमा धेरै घुम्ती र मोड पार गरेका छन् ।

ट्रकको स्टेरिङ मोडियजस्तै उनको जीवन पनि उतार–चढावपूर्ण छ ।

ट्रक ड्राइभरले ठूलो सपना देख्यो, केही गर्न चाह्यो र निरन्तर लागिपर्यो भने जे पनि गर्न सक्छ भन्ने एक गतिलो उदाहरण बनेका छन्, युवा उद्यमी अर्याल ।

४० वर्षको उमेरमा आफ्नै मिहेनत र बलबुताबाट उनी अहिले ४ तारे होटलको मालिक बनेका छन् ।

८ वर्ष वैदेशिक रोजगारीको यात्रापछि स्वदेश फर्किएका उनले बाँकेको कोहलपुरमा हालसालै ५० करोड लगानीमा होटल सेन्ट्रल प्लाजा नामक ४ तारे होटल सुरु गरेका छन् ।

एक ट्रक ड्राइभरको असफलता
 

२०३४ साल पुस ४ गते चितवनको कैलास नगरमा जन्मिएका देवानन्द अर्यालको परिवारले  २०४१ सालमा चितवनबाट बाँके कोहलपुरमा बसाइँ सराइ गरेको थियो । उनका बुवा अवसरको खोजी गर्दै त्यहाँ पुगेका थिए ।

उनले कक्षा ४ देखि १० सम्म कोहलपुरको त्रिभुवन माविमा अध्ययन गरे ।  पढाइमा उनी कहिले पनि पहिलो पनि भएनन्, कहिल्यै फेल पनि भएनन् । कक्षा ८ पछि उनलाई आफू पढाइमा पछि परेको अनुभूति भयो ।

 एसएलसी दिने बेलामा उनी मामाघर चितवन आएर ट्युसन पढे । २०५१ सालमा दोस्रो श्रेणीमा एसएलसी उत्तीर्ण गरे । त्यसपछि उनले ५१ देखि ५४ सम्म चितवनकै बालकुमारी कलेजमा भर्ना भए तर नियमित क्याम्पस गएनन् । तर उत्कृष्ट १० जनाभित्र पर्नेगरी आईए पास भए अनि स्नातक तहका लागि भर्ना पनि भए ।  

उनको परिवार ट्रक व्यवसायमा थियो । ४२ सालदेखि उनका बुवाले ट्रक व्यवसाय सुरु गरेका थिए । त्यतिबेला कर्णाली पुल, भेरी र बबईको माथिल्लो पुल तथा तल्लो पुल निर्माण तथा सडक निमार्णको काम भइरहेको थियो ।

उनीहरूको ट्रकले पुल निर्माणका लागि आवश्यक नटबोल्टका साथै अन्य सामान ढुवानीको काम पाएको थियो । त्यो बेला मासिक १ देखि डेढ लाख कमाइ हुने गरेको थियो । त्यतिबेला उनीहरूको ३ वटा ट्रक र एउटा बस थियो ।

तर देवानन्दका बुवा राजनीतिक गतिविधिमा बढी व्यस्थ हुन्थे, जसले गर्दा उनले आफ्नो व्यवसायलाई त्यति ध्यान दिन भ्याउँदैनथे ।

सत्र अठार वर्षको उमेरमा देवानन्दले ट्रकको स्टेरिङ समाएर आफ्नो जीवनयात्रा सुरु गरे । ट्रक चलाएर उनले सोचेजस्तो खासै राम्रो भएन ।

उनले ट्रक बेचेर जिप किने । त्यतिबेला उनी क्याम्पस पनि पढ्दै थिए । इन्टर पनि पास भए । ट्रक बेचेपछि २०५४ देखि ५६ सालसम्म उनले २ वर्ष जिप चलाए । त्यो पनि राम्रो भएन ।
कामका लागि मान्छेको ढोका ढक्ढक्याउन जानुपर्ने भयो ।  

कोरिया सपना
गाडी चलाएर प्रगति हुने नदेखेपछि उनमा कोरिया जाने सोच आयो । त्यतिबेला अहिलेजस्तो कोरिया जान ईपीएस प्रणाली खुलेको थिएन । अलि गाह्रो र बढी पैसा खर्च गर्नुपर्ने थियो ।

त्यतिबेला लुम्बिनी ओभरसिजको नामबाट लाने गर्दथ्यो । त्यही मेनपावर कम्पनीबाट उनको एकजना साथी कोरिया गयो । उनले कोरिया कसरी जान सकिन्छ भनेर बुझे, त्यो म्यानपावरले लाने थाहा पाए । त्यतिबेला कोरिया जान साढे २ लाख लाग्दो रैछ । तर उनीसँग पैसा थिएन ।

उनले भने– ‘बुवा राजनीतिमा हुनुहुन्थ्यो, सोर्स–फोर्स लगाएर हुन्छ कि भनेर बुवालाई भनेँ । जे भए पनि मलाई कोरिया पठाउनुपर्यो बुवा भने । म्यानपावरमा गइयो तर ढोकामा अहिले तत्कालका लागि कोरियाको भिसा बन्द भएको भनेर लेखिएको रहेछ । अनि भित्र चाहिँ पासर्पोट समातिरहेको देखे । दोहोरो चरित्र रैछ त्यहाँ ।’

त्यति बेलाका श्रम राज्यमन्त्री सुरेन्द्र हमाल देवानन्दका बुवाका साथी थिए । उनका बुवाले मन्त्रीमार्फत भन्न लगाए तर पनि म्यानपावर कम्पनील टेरेन । पछि मन्त्रीले थर्काएपछि उसले सात महिना पछि पासपोर्ट समात्यो ।

उड्ने अघिल्लो रात वीरेन्द्रको हत्या
कोरिया जाने प्रयास गर्दा गर्दै उनको ९ महिना काठमाडौँमा बित्यो । साथमा भएको १ लाख पनि खाँदा बस्दा सिद्धियो । भिसा आयो तर उता जान पैसा थिएन ।

खोजखाज गरेर पैसा जम्मा पारे । कपडा किनेर समान प्याक गरेर उनी स्वयम्भुमा बसेको थिए । एउटा दुःखान्त संयोग पर्यो ।

२०५८ जेठ २० गते बिहान ८ बजे उनको कोरिया फ्लाइट थियो तर १९ गते बेलुका वीरेन्द्रको परिवारको हत्या भयो ।

उनको काकाको छोरा र दीपेन्द्रसँगै पढेको । उनकोमा सबैभन्दा पहिला फोन आएछ । भोलि देशमा कफ्र्यु लाग्ने होला, सडक, एयरपोर्ट सबै ठप्प हुने होला भन्ने चिन्ता भयो । उनले भने– ‘त्यो क्षण एकछिन म चिसो भएँ । भाग्यमा लेखेको भए गइएला, नभए जसो तसो गरिएला भन्ने सोचेर मन बुझाएँ । कफ्र्यु लाग्दैन, फ्लाइट सर्दैछ भन्ने सुनेँ । तर भोलि बिहान ८ बजे फोन आयो । कफ्र्यु नलाग्ने भयो ११ बजेको फ्लाइट २ बजेलाई सर्यो ।’

त्यस दिन एयरपोर्ट पुग्दा मात्र पनि उनले एउटा युद्ध जितेको अनुभव गरे । उनले भने– ‘जब मैले एयरर्पोट टेकेँ, मेरो जीवनमा अर्कै रक्तसञ्चार भएको जस्तो भयो । मेरा पाइलाहरू एकदमै उत्साहित भए । म अब एक स्टेप बढ्दैछु भन्ने भयो ।’

कोरियाली माटोको नयाँ सुवास
कोरिया पुग्नुअघि उनी जिरो लेभलमा थिए । कृषि विकास बैङ्कमा ऋण थियो, उनको जग्गा लिलाममा थियो । जब उनी कोरिया झरे, त्यहाँ उनले अर्कै माटोको गन्ध आएको महसुस गरे । नेपालको भन्दा त्यहाँको माटोको गन्ध फरक थियो ।

उनले नेपालबाट ठूलो मुक्ति पाएर आएजस्तो अनुभूति गरे र एउटा आत्मैदेखि सङ्कल्प गरे– ‘म जे गर्छु एकदम बेस्ट गर्छु ।’

काम दिने कम्पनीले एक दिन तालिममा राख्यो । भेडाबाख्रा हालेजस्तो सत्र अठार जनालाई एउटा गाडीमा हाल्यो तर इज्जतका साथ लिएर गयो ।

उनले ४ वर्ष टेन्ट बनाउने कम्पनीमा काम गरेँ । अर्को ४ वर्ष प्रिफ्याव प्यानल बनाउने कम्पनीमा काम गरँे । उनले भने– ‘मैले डिजाइन गरेर बनाएका टेन्टहरू अहिले पनि मार्केटमा राम्रो बिक्छ ।’

दुई वर्ष काम गरेर उनले बैङ्कको साढे पाँच लाख ऋण तिरे । २५ हजार बेसिक स्यालेरी थियो । त्यो ऋण तिर्दाको दिन पनि उनलाई एउटा अर्को युुद्ध जितेको जस्तो भयो ।

उनले भने– ‘त्यो दिन म स्वतन्त्र भएँ, दाम्लोमा बाँधेको मान्छेजस्तो थिएँ । अब मलाई ऋण छैन । मलाई अब कसैले कठालो समात्नेवाला छैन भन्ने लाग्यो ।’

उनले कोरियामा दुःख गरेर कमाए तर त्यसको फजुल खर्च गरेनन् । उनी भन्छन्– ‘कमाउनु मात्र पनि ठूलो कुरा हैन रहेछ, त्यसको व्यवस्थापन गर्नु पनि ठूलो कुरा रहेछ । मैले कमाएको पैसा मेरो बुवा आमाले व्यवस्थापन गरिदिनुभयो र म आज यहाँ आइपुगेँ । मैले कमाएर पठाएको पैसा जग्गामा हालिदिनुभयो । त्यतिबेला साढे सात लाखमा किनेको जग्गा म यहाँ आउँदा साढे ३ करोडमा बिक्री भयो । यहीँ बाँकेमा ।’

प्रिफ्याव कम्पनीमा सुरुमा कामदार भएर काम गरेका उनी फर्किंदा म्यानेजर भएका थिए । उनको काम गर्ने एउटै सिद्धान्त छ, राम्रो काम गर्ने, बफादार भएर काम गर्ने र आफ्नो कर्तव्य पूरा गर्ने ।  
उनी भन्छन्– ‘जहाँ जहाँ गएँ, मैले राम्रो गरेँ । काममा सबैलाई जितेँ मैले । बफादार भएर दिइएको पदको मैले जहिले पनि सदुपयोग गरेँ । मैले अधिकार पनि लिएँ र कर्तव्य पनि निभाएँ । म सम्मानका साथ बाँचे पनि । म फर्किने बेला पनि त्यो कम्पनीको साहुले तँ अझै पाँच वर्ष बसिदे भन्थे । दिनमा पाँच हजार उत्पादन हुने ठाउँमा मैले दैनिक ७ हजार उत्पादन हुने बनाइदिन्थेँ । मसँग ठग्ने भन्ने नियत नै थिएन । त्यो भएर उनले मलाई छोरा जसरी माया गर्थे ।’

शान्ति सम्झौताले खोल्यो घर फर्किने बाटो


कोरिया बस्दा पाएसम्म नेपालको समाचार हेर्ने गर्थें । जहिले पनि बम पड्केको छ, मान्छे मरेको छ, काटेको छ, भुटेको छ, अब देश त फर्किनै पाइँदैन कि जस्तो उनको मनमा पनि त्रास थियो । देशको अवस्थाले नेपालबाट बाआमा पनि यतै बोलाएर बस्नुपर्ने भन्नेसम्मको  अति विकराल अवस्था थियो ।

उनलाई हतियार बिसाउने कुरा र शान्ति सम्झौता भएपछि देशमा गरिखान पाइन्छ है भन्ने लाग्यो ।

उनले भने– ‘तर हरेक अँध्यारोमा पनि एउटा उज्यालो भने हुँदो रैछ । त्यो उज्यालो के थियो भने शान्ति सम्झौता । शान्ति सम्झौता हुने भयो भन्ने सुनेपछि त्यो दिन मलाई मेरो देश फर्कन पाउँछु भन्ने पहिलो आशा पलाएको थियो ।

त्यसपछि मेरो ५० प्रतिशत तनाव कम भयो । त्यही ६२÷६३ सालमा आन्दोलन सकिने बित्तिकै अब नेपालमै केही गर्नुपर्छ मैले कोहलपुरमा जग्गा किनेँ ।’
देशमा शान्ति प्रक्रिया सुरु भयो । संविधान सभाको चुनाव पनि भयो । अब देशमै गएर केही गर्छु भनेर देवानन्द २०६५ सालमा साहुलाई सोध्दै नसोधी टिकट काटेर स्वदेश फर्के । उनी नेपाल आएको तिन महिनापछि अफिसले बोनस स्यालरी पठाइदिएको थियो ।

उनले जान्छु भन्दा जान नदिने भएकोले सबै त्यागेर हिँडेको अनुभव सुनाए । 

उनी भन्छन्– ‘हिल्याउने बेलामा पो गह्रामा जाने, धान पसाउने बेलामा गएर त काम लागेन नि । म हिल्याउने बेलामा कारियाबाट हिँडेको हुँ । अब मेरो देशमा हिल्याउनुपर्छ, मैले केही गर्नुपर्छ भनेर आएको हुँ । हिजो दुबई गएर कोरियनहरूले हामीले भन्दा बढी दुःख गरे ।’

उनले थपे, ‘तेलमा सीधै डढेर मरे कति । तिनले कमाएर ल्याएर कोरिया बनेको हो । त्यहाँ हरेक ठाउँमा घरेलु उत्पादन छ, नट बोल्ट लगाएर भए पनि बुढाबुढी बसेका छन् । किनभने त्यहाँ काम गर्ने एउटा वातावरण छ । मलाई पनि मेरो देशमा १० जना, ५ जना, २ जनालाई भए पनि रोेजगार दिन सकौँ, आफ्नो भनेर गर्न सकौँ भन्ने लाग्यो र फर्की आएँ ।’

इन्टरनेटमा हेरेर जग्गा खरिद
इन्टरनेटमा गुगल अर्थ भर्खर सुरु भएको थियो । उनले इनटरनेटमा जीपीएस सिस्टमा हेरेर कोहलपुरको मध्य ठाउँ हेरे । उनले कोरियाबाटै घडेरी हेरेर किनेको थिए । आजभन्दा १२ वर्ष अगाडि उनले १८ लाख ५० हजारमा जग्गा किनेका थिए ।
अहिले त्यो जग्गा २ करोडभन्दा माथि पर्छ । सबैतिरबाट बीचमा पर्ने र मानिसहरूको बढी जमघट हुने क्षेत्र हेरेर आफूले जग्गा खरिद गरेको उनले बताए ।

यसरी सुरु भयो होटल सेन्ट्रल प्लाजा


बाँकेको कोहलपुरमा पूर्व–पश्चिम राजमार्गको छेउमा अहिले निकै आकर्षक ४ तारे होटेल खुलेको छ । होटल सेन्ट्रल प्लाजा ।

युवा उद्यमी देवानन्द अर्यालले ५० करोड लगानी गरेर थालेको यो कामबाट स्थानीयले पनि रोजगारी पाएका छन् भने विभिन्न जिल्लामा पुग्ने ट्रान्जिटका रूपमा रहेको कोहलपुरमा यात्रीहरूले सुविधासम्पन्न होटेलमा बस्न पाएका छन् ।  

२०६५ मा कोरियाबाट फर्किएपछि २०६६ साल साउनमा उनले पुरानो सेन्ट्रल प्लाजाको घर बनाउन सुरु गरेका थिए । ६ वटा कोठा र एक रेस्टुरेन्टबाट उनको होटेल सुरु भएको थियो ।  ‘नागरिक समाजका कृष्ण पहाडीले मलाई उत्प्रेरणा दिए । कोहलपुरमा एउटा पनि होटल थिएन ।’ उनले भने– ‘त्यो ठाउँको महत्व बुझाउँदै, राम्रोसँग मेन्टेन गरेर राम्रो होटेल बनाउन सुझाव दिए ।’  
त्यसपछि १० वटा कोठा थपेर १६ वटा बनाएर रेस्टुरेन्ट बिस्तार गरे । होटल कसरी चलाउने भन्ने उनलाई राम्रोसँग थाहा थिएन । कोरियामा केही समय त्याहाँको साथीसँग मिलेर होटलमा काम पनि गरेका थिए, तर त्यहाँ र यहाँको भूगोल, शैली सबै फरक छ । 

दोस्रो वर्षसम्म होटेल राम्रो चलेन । तेस्रो वर्षबाट होटल बिस्तारै स्थापित हुँदै गयो । खानाको गुणस्तरमा सुधार गरे, सुविधायुक्त कोठाको बन्दोबस्त गरे । १५ दिन चाइना घुमेर, होटलसम्बन्धी नयाँ ज्ञान बटुलेर नेपाल फर्केपछि उनले फेरि सातवटा कोठा थपे ।

उनले भने– ‘२३ वटा कोठा पुर्याएपछि होटेल राम्रोसँग चल्न थाल्यो । होटलमा ग्राहक धेरै भएर अर्कोकामा पठाउनुपर्ने अवस्था आयो । ग्राहक अरू होटलमा पठाउँदा आफ्नो व्यवसायमा पनि घाटा, उसले राम्रो गरे पनि नराम्रो गरे पनि मेरोबाट ग्राहक पनि भड्किने अवस्था देखियो । यसरी अरू होटलमा ग्राहक पठाएँ भने अर्कोपटक उनीहरू आउने छैनन् । अब होटल खोल्नुपर्यो भनेर त्यसको तयारीमा लागेँ ।’
सुरुमा ४० कोठाको होटेल बनाउँछु भनेर इन्जिनियर र कन्सल्टेन्सीसँग काम गरे । अध्ययन गर्दै जाँदा ४० कोठाको होटल चलाउनु र ७० कोठाको होटेल चलाउनुमा सञ्चालन खर्च १० प्रतिशतको फरक नपर्ने पाए । उनले भने– ‘मैले ८० वटा कोठाको होटल सुरु गरेँ र ४० वटा मात्रै गयो भने पनि म नाफामा जान सक्छु भन्ने सोचेँ ।

हरेक वर्ष मान्छेको आउजाउ बढिरहेको हुन्छ । अघिल्लो वर्ष ४ महिना पूरै रारा जानेहरूका कारण होटल चल्यो । रारा र खप्तडको बेस क्याम्प भनेकै नेपालगञ्ज हो । जहाँबाट प्याकेज ल्याए पनि बस्ने ठाउँ यही हो ।’
 

होटलको स्लोगन : फिल द डिफेरेन्स अर्थात अरूभन्दा फरक अनुभव गर
हालसालै सुरु भएको १ सय कोठा क्षमताको होटल सेन्ट्रल प्लाजाका लागि उनले ३५ करोडको मेरो परियोजना बनाएका थिए । तर भूकम्प र नाकाबन्दीले गर्दा अहिले ५० करोड हाराहारी खर्च भयो ।
उनले होटललाई अन्य होटलभन्दा हरेक कुरामा फरक गर्ने कोसिस गरेका छन् । सर्भिस, डिजाइनदेखि हरेक कुरामा फरक । त्यसैले उनको होटलको स्लोगन छ– फिल द डिफेरेन्स । उनको होटलमा काम गर्ने ८० जना कर्मचारीमध्ये अधिकांश सोही क्षेत्रका नयाँ युवाहरू छन् ।

उनीहरूलाई तालिम दिएर उनले रोजगारी दिएका छन् । भोलि उनीहरूले अन्यत्र गएर वा आफैले पनि केही गर्न सकून् भनेर नयाँ युवा पुस्तालाई अवसर दिएको उनी बताउँछन् ।  
उनले कोरियाबाट फर्केपछि आफूले सिकेको प्रिफ्याव कम्पनी सुरु गर्ने उद्देश्य बनाएका थिए । बैङ्कमा प्रोपोजल लिएर गएँ । उनले बैङ्कमा गएर ३० करोडको प्रिफ्याव उद्योगको योजनाका लागि २२ करोड ऋण मागे । 

उनले आफूसँग भएको सीप, प्रविधि र ज्ञानको बारेमा बताए । तीन चारवटा बैङ्कमा गए तर कसैले पनि पत्याएनन् ।

उनी भन्छन्– ‘प्रिफ्याव के हो भन्ने उनीहरूलाई थाहा नै थिएन । भूकम्पपछि यो बिल्डिङ बनाउने बेलामा यही होटलमा एकजना बैङ्करसँग भेट भयो । उनले २ वर्षअघि म बैङ्कमा गएको कुरा गरँे । उनले तपाईंले भूकम्प अगाडि जुन प्रिफ्यावको कुरा भन्नुभएको थियो, अहिले त्यही कुरा छ त ? भनेँ ।  मैले उहाँलाई यसको सम्भावनाबारे फेरि पनि बताएर काम गर्नेलाई उत्साह र सहयोग गर्न आग्रह गरेँ ।’

अबको नयाँ उद्देश्य : रारामा नयाँ होटेल


बाँके कोहलपुरमा होटेल सेन्ट्रल प्लाजाको सुरुवाती सफलतासँगै उनले मुगुको रारामा सुविधा सम्पन्न होटेल स्थापना गर्न परियोजना अघि बढाइरहेका छन् ।  उक्त परियोजनाका लागि उनी अहिले जुटिरहेका छन् । नेपालमा पर्यटन विकासका लागि अथाह सम्भावना भए पनि सरकारको नीति उपयुक्त नभएको उनी बताउँछन् ।

उनलाई नेपालमा पर्यटक भित्र्याउने नीति उपयुक्त नभएकोमा खल्लो लागेको छ । व्यापार व्यवसाय, कृषि क्षेत्रको विकास लागि सरकारको नीति उपयुक्त नभएको उनको उनी बताउँछन् ।
नेपालमा कति पर्यटक आउँछन् र नेपालबाट कति पर्यटन अरूतिर घुम्न जान्छन् भन्ने हिसाब हेर्ने हो भने आउनेभन्दा जाने ३ प्रतिशत बढी हुनु सरकारको नीति उपयुक्त नभएको उनको ठम्याइ छ ।

उनी भन्छन्– ‘बहुराष्ट्रिय कम्पनीहरूले उनीहरूको उत्पादन पनि यही बिक्री गरे, बाँकी रहेको पैसा पनि उनीहरूले नै लगे । यहाँ नेपाली चुसिएको थाहा छैन्, रेमिट्यान्स ल्याएको छ, त्यही पैसा बचेको छ, खाको छ, अलि–अलि गोजीमा भएको पैसा पनि थाइल्यान्ड, इन्डोनेसिया र मलेसियामा र अलि अलि हुनेखानेले युरोप भन्दै खर्च गरेका छन् ।’ 

नेपालमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि आवश्यक पूर्वाधारको व्यवस्था महत्वपूर्ण हुन्छ । रारा जाने बेस क्याम्प नेपालगञ्ज भएको, नेपाली तथा विदेशीको आकर्षणको केन्द्र भएकाले अब उनको लक्ष्य रारातर्फ सोझिएको छ ।

उपयुक्त सरकारी नीतिको खोजी
विदेशमा धेरै नेपालीले सिकेको सीप, ज्ञान र प्रविधिलाई सरकारले सदुपयोग गर्न नसकेकोमा उनको गुनासो छ ।

उनी भन्छन्– ‘आज यति धेरै मान्छेहरू विदेश गएको छन्, उनीहरूले जुन सीप ल्याएका छन्, त्यो सीपको सदुपयोग खै  ? सरकारले त्यसलाई प्रोमोसन गर्ने किसिमको योजना दिओस् न । म जस्तै  १० जनाले नयाँ सीप ल्याएको रैछ भने त्यसमा लगानी गर्न आँट गर्नुपर्छ सरकारले । तब न विकास हुन्छ, मैले जवान छँदा त्यहाँ पाखुरा बजार्ने अनि बुढेकालमा यहाँ आएर केही गर्न सक्छु ? भनेको अर्थ उमेर, समय हुँदै त्यो मान्छेलाई यहाँ ल्याउन सकियो भने अर्को पुस्तालाई त्यसले सिकाउँछ ।’

साँच्चै सरकारले विकास गर्न खोजेको हो भने कृषि क्षेत्रमा ३ प्रतिशतमा ऋण र व्यवसायलाई ७ देखि ८ प्रतिशतमा ऋण दिनुपर्ने उनी बताउँछन् । राष्ट्र बैङ्कले यो नीति ल्याउने हो भने देशमा आन्तरिक उत्पादन बढ्ने उनको आशा छ ।

नेपाल पछाडि पर्नुमा नेपालीहरू अल्छी भएको उनको ठम्याइ छ । विदेशमा नेपालीहरूले गर्ने मिहिनेत र स्वदेशमा काम गर्ने शैली देखेर उनी अचम्म मान्छन् ।

उनी भन्छन्– ‘उता ६ घण्टा सुतेर १८ घण्टा काम गर्न सक्ने, यता १८ घण्टा सुतेर ६ घण्टा काम गर्न नसक्ने पनि हुन्छ ? अब नेपाललाई साँच्चै विकास गर्ने हो भने डीभी र पीआर लाई रोक्नुपर्छ, स्कलरसिपमा अध्ययन गर्न गएकालाई सकेपछि फर्काउनुपर्छ । जसले जे गर्न सक्छ, त्यसले आफ्नो देशमा आएर त्यही गर्नुपर्छ । त्यसका लागि सबैभन्दा मुख्य अभिभावक भनेको सरकार हो, सरकारले सही नीतिहरू लागू गर्नुपर्यो ।’

भिडियाे हेर्नुहाेस् 

तल भिडियाे नदेखिए यहाँ क्लिक गर्नुहाेस्

प्रस्तुति  शम्भु दङ्गाल

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप