केन्द्रीय संस्करण

बुट पोलिसले राजनीति शुद्धीकरण हुन्छ ?

person access_timeमाघ २१, २०७४ chat_bubble_outline0

एकसाथ सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नराम्ररी पराजित भएपछि मुलुककै जेठो राजनीतिक दल नेपाली काँग्रेसभित्र अनेकखाले रोमाञ्चक दृश्य देखिन थालेका छन् । चुनाव हारेपछिको रनाहामा मलम लगाउन एकथरी युवाहरू बुढो पुस्ताविरुद्ध आक्रमक बन्दै अब नेतृत्व हस्तान्तरण गरेर आफ्नो पुस्तामा आउनुपर्ने दाबी गर्दैछन् भने अर्काथरी हारको दोष एकअर्कामाथि थोपर्न लागिपरेका छन् ।

चुनावलगत्तै युवा नेताहरूले आफ्नो पक्षको भेला आयोजना गर्ने, नेतृत्वको उछितो काढ्ने गरेर हारको पीडालाई शान्त गराउन खोजे । पछिल्लो पटक संस्थापनसँग असहमती राख्ने केही जिल्ला सभापतिको जमघटले काँग्रेस चलायमान हुन थालेको देखिन्छ । तर यो उपाय डा. राममनोहर लोहियाको ‘कार्यकर्ताले काम पाएनन् भने सडक बत्तिमा ढुङ्गा हान्न लगाउनु’ भन्ने भनाइसँग मिल्दोजुल्दो छ ।

यही मेसोमा हालै केही युवा काँग्रेसले काठमाडौँको बानेश्वरमा बटुवाका जुत्ता पालिस गरेको कुराले पनि चर्चा पायो । जुत्ता पालिस प्रकरणको अर्थ राजनीतिक भन्दा सस्तो प्रचारबाजीसँग निहित रहेको प्रष्ट देखियो । नेपाल–भारत जस्ता पछौटे देशमा अनेकखाले असन्तुष्टि पोख्ने माध्यमको रूपमा यस्ता घटना–परिघटना घट्ने गर्छन् ।

पञ्चायतकालमा नयाँ सडकमा एकाध माहिनामा यस्ता घटना भइरहन्थे । त्यसमा शैक्षिक बेरोजगारले रोजगारी मागेर जुत्ता पालिस गर्ने, साहित्यिक आदि अभियन्ताहरूले अभिव्यक्ति स्वतन्त्रता खोसिएको विरुद्ध लाक्षणिक सन्देश दिन यस्ता काम गर्ने गरेको देखिन्थ्यो । तर बटुवाको जुत्ता पालिस गरेर आफूले गरेको राजनीतिक दुष्कर्मको प्रायश्चित गरेको घटना भने यसअघि देखिएका थिएनन् । अर्काको जुत्ता पालिस गरेर राजनीतिक सुधारको अभियान चलाउनु आफैंमा हास्यास्पद मानिन्छ । युवा काँग्रेसले थालेको यो बुट पोलिस अभियान राज्यसत्ताविरुद्ध हो कि आफ्नै पार्टीको असन्तुष्टि पोख्ने कार्य ?  

आफ्नो धर्म–संस्कार अनुसार मन्दिर बाहिर जुत्ता राखेर भगवानको दर्शन गर्न जानेको जुत्ता पालिस गरेर प्रायश्चित गर्ने प्रचलन शिख जातिमा छ । पञ्जाबको स्वर्ण मन्दिर अगाडि त्यस्ता घटना बाक्लै हुने गर्छन् । भारतका पूर्वराष्ट्रपति ज्ञानी जैलसिंहले राष्ट्रपति पदमा बहाली भएकै बेला स्वर्ण मन्दिर अगाडि राखिएका भक्तजनका जुत्ता पालिस गरेको घटना त्यस बेला चर्चित नै थियो । तर त्यो राजनीतिक प्रचारबाजीको उद्देश्यले गरिएको थिएन । त्यो विशुद्ध धार्मिक भावनाबाट प्रेरित थियो । 

जुत्ता पालिस गरेर राजनीतिमा तह–तह बनेर रहेको विकृतिलाई हटाउन सम्भव छैन । अहिले नेपालको राजनीति भ्रष्टाचार, अनियमितता, अराजकता आदि विकृतिको केन्द्र बनेको छ । राजनीतिमा लाग्नेहरू सबैभन्दा अयोग्य र स्वार्थीको जमात छ । अन्यत्र बिक्न नसकेको जनशक्ति राजनीतिमा प्रवेश गर्ने र अनेक दुष्कर्म गरेर देश लुट्ने गरिएकाले नयाँ पुस्ता राजनीतिप्रति सकरात्मक बन्न सकेको छैन । नेपाली काँग्रेस, एमाले, माओवादी, मधेसवादी दल र राप्रपा मिलेर विगत पच्चीस वर्षमा मुलुकलाई कङ्गाल बनइसकेका छन् ।

ती पार्टीका नेताका आफन्त, नातागोेता र आसेपासे रातारात करोडपति, अर्बपति बनेका छन् । पार्टी चलाउने, सरकारका जाने र लाभका पद हासिल गर्ने सवालमा नेपालका साना–ठूला सबै दलभित्र एउटै प्रवृत्ति हाबी छ । हप्तावारी उठाउने, चोरी, डकैतीमा संलग्न, भ्रष्टाचार, ज्यान मुद्दा खेपेका, तस्कर, डन, बलात्कारीलाई पार्टीमा भित्र्याउने होडबाजी ठूला भनिएका दलहरूबीच नै चल्छ । बीसवटा मुद्दा लागेकालाई चुनावमा टिकट दिने र जिताउने काममा नेताहरू अहोरात्र खट्छन् । प्रायः पार्टीको नेतृत्वमा पनि अहिले ठेकदार, व्यापारी, तस्करहरूकै बोलवाला हुन थालेको छ ।

संसदीय र स्थानीय तहको चुनावमा नेताहरू टिकट नै बिक्री गरेर पार्टी चलाउँदै आएका छन् । अब त पार्टी नेताका आफन्त, श्रीमती र निकटस्थ दलालले करोडौँमा टिकट बिक्री गरेर अकूत सम्पत्ति थुपार्ने  अवस्थासमेत आइसकेको छ । राजनीतिले हुर्काएको यस्तो विकृति विस्तारित भएर अहिले फौजी, निजामती, शिक्षा, स्वास्थ्य क्षेत्रलाई पनि आक्रान्त पारेको छ । सिङ्गो देश अहिले डरलाग्दो विकृतिको केन्द्र बन्न पुगेको छ । यस्तो बेला कुनै पनि पार्टीभित्र सुधारका लागि अभियान थाल्ने प्रतिबद्धता जनाउने जमात जन्मनु खुशीको कुरा हो । मूलतः ठूला भनिएका तीन दल र मधेसी दल मात्र सुध्रिए भने देशले मुहार फेर्ने सम्भावना रहन्छ । तर अहिले ठूला भनिएका तीन दलभित्रै शुद्धीकरण प्रक्रिया जटिल बन्न पुगेको छ । सत्ता हत्याउने नाममा जस्तोसुकै दुष्कर्म पनि गर्न तयार हुने प्रवृत्तिले पार्टीहरूमा निष्ठा, इमानदारी र त्यागको भावना हराएर गएको छ । 

यी सबै विकृतिको डङ्गुर पन्छाउन सबभन्दा पहिले पार्टीभित्रै डोजर लगाउनुपर्ने अवस्था छ । त्यसो गर्दा अवसर गुम्छ कि, नेताको नजरमा परिँदैन कि वा कारवाही पो हुन्छ कि भन्ने त्रासबाटा मुक्त हुनुपर्छ । पार्टीभित्र नीति, सिद्धान्त र कार्यक्रमको वकालत गर्ने जमात अहिले समाप्त नै भएको छ । अब कठोर प्रयत्नबाट त्यस्तो जमात सिर्जना गर्ने आँट देखाउनुपर्छ । कष्टसाध्य प्रयासमा लाग्ने धैर्य भएको नेता वा टिमबाट त्यो कार्यको थालनी हुनुपर्छ । राजनीतिक जागरण बुट पोलिसबाट हुनै सक्दैन, त्यो त सस्तो लोकप्रियता आर्जन गर्ने र प्रचारमा आइरहने  उपाय मात्र हो । पार्टी बैठक, भेला, अधिवेशनमा हुने अनुचित निर्णयविरुद्ध उभिने, पार्टीभित्रै स्वच्छता, पारदर्शिता र न्यायको वकालत गर्ने, कुनै उपाय नलागे त्यस्ता घटना सार्वजनिक गर्ने हिम्मत जुटाउनु पर्छ । सरकारमा रहेको पार्टीले आफन्त, नातागोता, कार्यकर्ता, पाल्न जथाभावी गर्ने गरेका घटनालाई आँखा चिम्लेर जुत्ता पालिसको औचित्य सावित हुन सक्दैन । नियम कानुन मिच्ने, आफू अनुकूल व्याख्या गर्ने र अनेक लाभ हासिल गर्ने अवस्थालाई टुलुटुलु हेरेर बस्नेहरूबाट ठूल्ठूला कुरा बढी हुने गरेका छन् । ठूला कुराले मुलुक परिवर्तन हुन सक्दैन ।

राजनीतिलाई लाभ हाँसिल गर्ने, कमाउने र धनी हुने माध्यमका रूपमा बुझ्ने परम्परा हटाउन सडकमै आउनुपरे पनि आउने हो भने त्यसले दीर्घकालीन रूपमा राष्ट्रलाई हित गर्न सक्छ । राष्ट्र कङ्गाल बनिसक्यो, कमजोर बन्दै अस्तित्व नै गुमाउन थालिसक्यो । सार्वभौमसत्तामा बाहिरी तत्वले हस्तक्षेप गरेको कुरा चर्चा नै हुन छाडिसक्यो । यस्तो बेला चुनाव हारेको रनाहा शान्त पार्न अनेक ‘स्टन्ट’ गर्नुको अर्थ छैन । पार्टीभित्र पनि आफ्नो गुट कमजोर भयो ।

कमजोर गुटका कारण अवसरबाट वञ्चित बन्नुपर्ने भयो भन्ने पीडा राखेर काम गर्ने नेताको कमी छैन । त्यस्तो नेतृत्व जसले पार्टीलाई सिद्धान्तमा चलाउँछ, देशलाई कानुन, नियम, विधि र पद्धति अनुरूप सञ्चालन गर्न सक्छ । त्यस्तालाई साथ दिने र बलियो  बनाउने कामले राजनीति सङ्लिन सक्छ । अब नेतृत्व सुध्रिएन, स्वार्थकै शिकार बनिरह्यो भने पनि आफूलाई फाइदा हुने भए, गलत कुरालाई नै प्रश्रय दिइरह्यो र कार्यकर्ता त्यो कुरालाई बेवास्ता गर्दै प्रचारबाजीमा रमाइरहे भने हाम्रो अवस्था के हुन्छ ? कल्पना पनि गर्न सकिँदैन । 

यो अवस्थालाई बुझेका नेता–कार्यकर्ताले सुधारका राजनीतिक उपाय नै अबलम्बन गर्नुपर्छ । अब कसैलाई पनि सस्तो प्रचारबाजी गरेर सन्तुष्टि लिने कुरा हितकर हुँदैन । जुत्ता  पालिस गरेजति सहजै पार्टीलाई, मुलुकलाई र पद्धतिलाई सुधार्न कठिन छ । पञ्चायत फाल्ने, राजा फाल्ने तागत अब यो विकृति विसङ्गति हटाउन लगाउन सक्नुपर्छ । त्यसका लागि प्रष्ट विचार, निष्ठामा अडिग रहेर साहस र आँटका साथ अघि बढ्नुपर्छ । त्यसो गर्न सकिए स्वतः नेतामा स्थापित पनि हुन सकिन्छ । सस्तो प्रचारबाजीका उपायको आवश्यकता पनि रहँदैन ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X