बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

वाम सरकारको सहकार्यमा आफ्ना प्रतिबद्धता पूरा गर्छु : उपाध्यक्ष भिक्षु मेत्तैया

आइतबार, २१ माघ २०७४, ११ : २९
आइतबार, २१ माघ २०७४

नेपालको राष्ट्रिय गौरवको रूपमा रहेको बुद्धको जन्मस्थल लुम्बिनी विश्व सम्पदासूचीमा सूचीकृत प्रमुख पर्यटकीय स्थल हो । लुम्बिनीलाई आकर्षक र व्यवस्थित बनाउन ‘स्मार्ट सिटी तथा ‘विश्व शान्ति सहर’को रूपमा विकास गर्ने योजना राज्यको छ । त्यसै सन्दर्भमा हालै मात्र नेपाली काँग्रेस नेतृत्वको शेरबहादुर देउवा सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेका भिक्षु मेत्तैयासँग रातोपाटीका लागि पत्रकार बिन्दुकुमार चौहानले गरेको कुराकानी । 

उपाध्यक्षज्यू वन्दना !
मङ्गल होस् ।

यतिबेला लुम्बिनी विकास कोषको गतिविधि कसरी अगाडि बढिरहेको छ ?
मैले लुम्बिनी विकास कोषको जिम्मेवारी सम्हालेको केही महिना मात्र भएको छ । सर्वप्रथम मैले लुम्बिनीको अवस्था नियालेर हेर्दा जताततै फोहोरका डुङ्गुरहरू फेला पारेपछि मेरो चित्त निकै दुखेको छ । मैले ‘भगवान बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वमा चिनाउन हातेमालो गरौँ’, ‘सफा लुम्बिनी, उज्यालो लुम्बिनी अभियान सफल पारौँ’ भन्ने मूल नाराका साथ प्रत्येक शनिबार लुम्बिनी विकास कोषका कर्मचारी, स्थानीय युवा क्लब, महिला समूह तथा प्रहरीसहितको सहभागितामा टोली बनाएर बृहत् सरसफाइका योजनाहरू अघि बढाएको छु ।

लुम्बिनीलाई कस्तो बनाउने सोच छ ?
महामानव बुद्धजन्मस्थल लुम्बिनी नेपालको मात्र नभई विश्वकै बौद्धमार्गीहरूका लागि आध्यात्मिक ठाउँ हो । कतिसम्म भने लुम्बिनीका नागरिकलाई समेत बुद्धसरह निवासी भनेर कतिपय देशहरूमा सम्मान गरिएको छ । त्यसै हुनाले लुम्बिनीलाई विश्वसामु पञ्चशीलको आधारमा अगाडि बढाउने मेरो सोच छ ।

लुम्बिनीलाई पञ्चशीलका रूपमा विकास गर्ने आधार के–के देख्नुभएको छ ?
लुम्बिनीलाई जुनसुकै रूपमा व्याख्या गरे पनि मेरो बुझाइमा यहाँ मानिसहरू वास्तवमा बुद्धको शान्तिको उपदेशलाई व्यावहारिक रूपमा अङ्गीकार गरिरहेको तथ्यले प्रमाणित गरिसकेको छ । यहाँ जुनसुकै धर्म, साम्प्रदायका नागरिक भए पनि एकअर्कालाई सम्मानपूर्वक ग्रहण गरी मित्रवत् भावना बोकेर मिलेर बसेको पाइन्छ ।
त्यही भावनालाई टेकेर लुम्बिनीलाई पञ्चशीलका रूपमा विकास गर्न खोजिएको हो । जसले गर्दा विश्वभरिका शान्तिगामी मानिस लुम्बिनी आई गाउँ–गाउँबाट मानवताको पाठ सिकेर आआफनो देशमा बुद्ध शिक्षा र पञ्चशीललाई लागू गर्न प्रेरणा लिनेछन् भन्ने मेरो विश्वसा छ ।

लुम्बिनीवासीसँगै लुम्बिनी विकास कोषका पदाधिकारी तथा कर्मचारीहरूमा पञ्चशीलको भावना कसरी जागृत गराउनु हुन्छ ?
अहिलेसम्म लुम्बिनी विकास कोषका पदाधिकारी र कर्मचारी जे–जस्ता भए पनि अब प्रत्येक पदाधिकारी, कर्मचारीहरूले पञ्चशीलको पालना गर्नु मैले आवश्यक ठान्दछु । बुद्धशिक्षा अनुरूप नै लुम्बिनी विकास कोषका सम्पूर्ण गतिविधि अगाडि बढ्न थालेपछि त लुम्बिनी विकास कोषको गुरुयोजना स्वतस्फूर्त ढङ्गबाट पूरा गर्न कोसेढुङ्गा सावित हुनेछ ।

तपाईं सबैभन्दा कम उमेरमा उपाध्यक्ष पदमा नियुक्त हुनुभयो तर पुरानै ढर्रामा रुमल्लिएका कोषका पदाधिकारी र कर्मचारीलाई पञ्चशीलको सूत्रमा बाँधेर अगाडि बढ्न सजिलो होला ?
सबभन्दा पहिला म लुम्बिनीवासी भएको नाताले उमेर सानो भए पनि गृहस्थ जीवन त्यागेर मानव कल्याणकै लागि भिक्षु जीवन धारण गरेको हुँ । यस क्रममा मैले अन्य देशमा समेत गई यस विषयमा ज्ञान, सीप र दक्षता हासिल गरेको छु । त्यसै आधारमा लुम्बिनी विकास कोषका कर्मचारी र पदाधिकारी मात्र नभई समग्र लुम्बिनीलाई अल्पकालीन र दीर्घकालीन योजनामार्फत पञ्चशीलको आधारमा डो¥याउने अनुभव मभित्र छ । तसर्थ इमानदारी साथ हामी सबैले पञ्चशीललाई गृहण गरी दैनिक जीवन सार्थक बनाउनु आग्रहसमेत गर्दछु ।

फरक प्रसङ्गमा लुम्बिनी पर्यटन प्रवद्र्धनबारे तपाईंका केही धारणा छन् कि ?
नेपाल चिनिएको लुम्बिनी र सागरमाथाले नै हो । सर्वप्रथम प्रत्येक लुम्बिनीबासी बुद्धजस्तै पञ्चशीलको पालना गर्न थालेपछि त स्वतः विश्वका बौद्ध अनुयायी पर्यटकहरू लुम्बिनीबासीको घर–घरमा गई पञ्चशीलको पाठ सिक्न थालेसँगै स्वतः पर्यटन प्रवद्र्धन भइहाल्छ । तथापि अहिले पनि पर्यटकहरू भारत हुँदै आउने गरेका छन्, जब कि बुद्धको जन्म लुम्बिनीमा नै भएको हो । बुद्धको चारधाम यात्रा शुभारम्भ गर्नुपर्ने हुन्छ, त्यसका लागि नेपाल सरकार र सरोकारवालाले ध्यान पुर्याउन जरुरी देखिन्छ ।

अनि लुम्बिनी विकास कोषको दश वर्षीय गुरुयोजना चार दशक हुन लाग्दा अधुरै रहेको हुँदा यसलाई पूरा गर्न तपाईंको योजना के छ ?
अहिलेसम्म लुम्बिनी गुरुयोजना पूरा नहुनुको पछाडि थुप्र्र्रै कारण छन् । त्यसलाई कोट्याएर साध्य छैन । अगामी बन्ने स्थिर वाम नेतृत्वको सरकारसँग पूर्ण सहकार्य गरेर पाँच वर्षभित्रै आफ्ना प्रतिबद्धता पूरा गर्ने विश्वास जाहेर गर्न चाहन्छुु ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?
बुद्धले सिकाएको पञ्चशीलको पालना गरी अन्तर्राष्ट्रिय जगतमा बुद्धजस्तै पहिचान गराउन जरुरी छ भन्न चाहन्छु । किनभने शान्तिको खोजीका लागि लुम्बिनी आउने विश्वका बौद्ध अनुयायीहरू लुम्बिनी क्षेत्रभरी प्रत्यक्ष रूपमा शान्तिको अनुभूति प्राप्त गरी आआफ्नो मुलुक फर्किएर बुद्धको शान्ति सन्देश फैलाउँदै विश्व शान्ति अभियानको शुभारम्भको केन्द्रविन्दु लुम्बिनी नै बनोस् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप