केन्द्रीय संस्करण

यसरी ज्यान जान्छ मधेसमा कठ्याङ्ग्रिएर

person explore access_timeमाघ १८, २०७४ chat_bubble_outline0

मधेसका बस्तीहरूमा जाडो याम सुरु भएपछि दर्दनाक दृश्य देखापर्छन् । यस्तै दृश्य केही दिन अगाडि सप्तरी लगायतका मधेसका केही जिल्लामा देखियो । चिसोबाट बच्न कुनै विकल्प नभेटेर सप्तरीमा मात्र ३० जनाभन्दा बढीको ज्यान गयो । सप्तरीको प्रहरी प्रशासनले पनि १९ जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको पुष्टि गर्यो । मृत्यु हुनेहरूमा अधिकांश ५० वर्षभन्दा माथि उमेरका छन् । १३ हजारभन्दा बढी गरिब, अशक्त, वृद्ध, असहाय, अपाङ्ग, बालबालिका र विपन्नहरूले सरकारी तथा गैरसरकारी निकायबाट बल्याङ्केटलगायतका न्यानो कपडा पनि पाए । विपन्नहरूका लागि त्यो राहत दीर्घकालीन होइन । बर्सेनि हिउँदमा चिसोकै कारण तराईमा ज्यान गुमाउनेको लामो सूची छ । सरकार भने मूकदर्शक छ । यका लागि कुनै दीर्घकालीन योजना छैन, घटना घटेपछि राहात स्वरुप केही लत्ताकडा बाँड्ने बाहेक कुनै काम हुनेगरेको छैन ।

तराई मधेसमा ऐलानी जग्गामा घरटहरा बनाएर जीवन निर्वाह गर्न विवश डोम, मुसहरलगायतका दलित समुदायमा चिसोले कठ्याङ्ग्रिएर धेरै मर्ने गरेका छन् । यसपालि सम्पन्न समुदायका मान्छेहरू पनि चिसोले ज्यान गुमाएको तथ्याङ्कमा छ । तीमध्ये धेरैजसो वृद्धवृद्धा नै छन्, जो परिवारमा हेपिएका छन् । पीडितले परिवारमा पाउने राहत न्यानो बल्याङ्केट पनि ओढ्न ओछ्याउन पाउँदैनन् । घरमा रहेका पुराना दिने र नयाँ छोराछोरी, नातिनातिनी र बुहारीहरूले प्रयोग गर्ने, कि त अर्को वर्षका लागि लुकाएर राख्ने प्रवृत्ति पनि समाजमा छ । पीडितले नयाँ छिटै फोहोर गर्छन् भनेर पुराना कपडा प्रयोग गर्न लाउँछन् । यो दुखद् मनोविज्ञान समाजमा व्याप्त छन् । तथापि परिवारमा वृद्धहरू त्यो विभेदलाई खुल्ला र फराकिलो मनले स्वीकार्न विवश छन् । कतिपय गाउँमा टुहुरा बालबालिकाहरू जाडोमा परालको गुफा बनाएर जाडो टार्छन् । त्यो पनि राति जमिन्दारहरूको पराल चोरेर ल्याउने गर्छन् । धनीले थाहा पाए कुटाइ पनि खानुपर्छ । पराल पनि खोसेर लान्छन् । सामान्य समस्यामा पनि वापर प्रयोग गरेर प्रशासन धाउन लाउँछन् । समाजिक विभेदजन्य दुस्मनी साँध्छन् । अत्यधिक चिसो बढ्दा गाई वस्तुलाई पनि पाटको बोराले छोप्ने गर्छन् । पराल, कोइठा र दाउराको आगो सल्काएर घर न्यानो पार्छन् । यसरी जाडो खेप्छन् तराई मधेसका जनता ।

निरन्तर चिसोका कारण केही दिन अगाडि मात्र सप्तरी शम्भुनाथ नगरपालिका ६ का बासुदेव साहको निधन भयो । छोरा बासुदेवको मृत्यु भएको एक घण्टा नवित्दै बुबा सुवि साहको पनि चिसोले निधन भएको हृदयविदारक घटना दोहरियो । सुरुङ्गा नगरपालिका ३ का ६२ वर्षीया कलियादेवी सदा वाडा न ११ का ६५ वर्षीय दुर्गादेवी चौधरी, वाडा न १ का ५१ वर्षीय अम्बरबहादुर पुलामी मगर, खड्क नगरपालिका ८ का ७० वर्षीय मुसहरु चौधरी, वाडा न ७ का ४ वर्षीय प्रेमबहादुर माझी, अग्नि साइर कृष्णसावरण गाउँपालिका ४ का ६५ वर्षीय लखन ठाकुर, कञ्चनरूप नगरपालिका २ का ६० वर्षीय बेचन सेख, वाडा न ३ का ६२ वर्षीय कलियादेवी सदा, तिलाठी कोइलाडी गाउँपालिका ४ का ७१ वर्षीय नारायण मुखिया र श्यामदेवी सिंह, तिरहुत गाउँपालिका १ का ६० वर्षीय भुटनीदेवी यादव, वाडा न ४ का ५५ वर्षीय बुद्धिलाल मुखिया, सप्तकोशी नगरपालिका १ का ६२ वर्षीय अर्जुन पोखरेल, छिन्नमस्ता गाउँपालिका २ का ५२ वर्षीय सरोदेवी मुखिया र ७० वर्षीय सरस्वती देवी साह, हनुमान नगर कङ्कालनी नगरपालिका १ का ६५ वर्षीय शान्तिदेवी यादव, डाक्नेस्वरी नगरपालिका ८ का ७० वर्षीय शुभावती देवी सरदार, रूपनी गाउँपालिका १ का २ वर्षीय बालक शिवम् पासवानको चिसोका कारण मृत्यु भएको छ ।

लोकतान्त्रिक गणतन्त्र स्थापनादेखि फैलिएको राजनीतिक अस्थिरता र अराजकताले मुलुक हायलकायल भएको छ । राज्य व्यवस्थापन अत्यन्त कमजोर अवस्था छ । राज्यका लगानी पनि सही ढङ्गले सदुपयोग भएको छैन । जताततै भ्रष्टाचार मौलाएको छ । जनताको घरदैलोमा पुग्ने राहत पनि बीचमै हराउने प्रवृत्ति डरलाग्दो छ । अचेल पीडितभन्दा झन् पीडित  देखिएको छ । सबै सरकारी राहत पीडितको नामबाट पीडक पक्षले हत्याइरहेका छन् । त्यसको खोजी गर्ने पक्ष समाजमा कमजोर देखिन्छ ।
बाटो थाहा छैन, प्रशासनिक निकाय पनि हुनेखानेहरूकै वरिपरि छन्  । सप्तरी खड्क नगरपालिका ३ का मुक्ति रामका अनुसार सरकार र अन्य निकायले विपन्न दलितहरूका लागि दिने सेवा सुविधामा राजनीतिकरण छ । सेवा सुविधा पाउनुपर्नेले नपाउने, नपाउनुपर्नेले पाउने अवस्था छ । सम्पन्न परिवार भए पनि दलित र विपन्नको नाममा नेताको मान्छेले नै उपयोग गर्दै आएका छन् । 
सप्तरी सुरुङ्गा नगरपालिका ७ का शिवदर्शन पासवानका अनुसार पटक पटक मधेसमा चिसोले दलित समुदायका मान्छे मर्ने गरेका छन् । तर, राज्य र राजनीतिक दलको कुनै दीर्घकालीन योजना छैन । मुलुकको वैकल्पिक भोट बैङ्कका रूपमा रहेको दलित विपन्न समुदायलाई राजनीतिक दलले प्रयोग मात्र गरिरहेका छन् । समस्यामा साथ दिने कोही छैन । त्यसैले समाजमा गरिब धनीबीचको खाड्ल गहिरिँदो छ । यसका लागि राज्य र राजनीतिक स्तरबाटै सचेतनाको अभियान चलाउनुपर्ने बताए । देश सङ्घीयतामा गइसक्यो । यसको रक्षा र प्रयोग सही तरिकाबाट हुनु पर्छ । जनतालाई आपतविपत परेको बेला राज्य र राजनीतिक दलले विनाविभेद सहयोग गर्नुपर्छ । तराईमा चिसोले बर्सेनि मान्छे मर्ने गरेका छन् । त्यसलाई रोक्न र व्यवस्थापन गर्न राज्य एकलै सक्दैन । यसका लागि समाजिक स्तरबाटै जनचेतना जगाउनुपर्ने सप्तरी उद्योग वाणिज्य सङ्घका महासचिव अनन्तलाल साहले बताए ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...