केन्द्रीय संस्करण

मुख्यमन्त्रीमा दाबा दबाब र दबदबा

person access_timeमाघ १८, २०७४ chat_bubble_outline0

डा. बद्रीविशाल पोखरेल 

जनता भनेको विविधत जाति, भाषा, संस्कृति, रीति र प्रकृति र प्रतिभाको फूलबारी हो । यही कुरालाई नेपालको संविधानले स्वीकार गरेको देखिन्छ । संविधानले प्रस्तावनामा नै बहु जाति, भाषा, धर्म, संंस्कृति र भूगोलको विविधतालाई आत्मसात् गरेको छ र विविधताका बीचमा एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण र प्रवर्धन गर्ने महानतम उद्देश्य संविधानले राखेको देखिन्छ । संविधानले नै सबै खालको विभेदको अन्त्य गरी प्रतिभाका फूलहरूलाई राजकीय क्षेत्रमा समानुपातिक समावेशी सहभागितामूलक सिद्धान्तको किटानी गरेको छ । तर परिस्थितिमा आमूल परिवर्तन भए पनि केही नेपाली नेताहरूको मानसिकतामा पुरानै जड चेतनाले घर गरिरहेको देखिन्छ । 

 प्रदेश नं. १ अरू छ प्रदेशका तुलनामा भाषिक, सांस्कृतिक लगायत विशिष्ट विशेषतामा आधारित छ । यहाँको पहाड, मधेस र हिमाल पनि केही फरक नै रहेको छ । नेपालका सात प्रदेशमध्ये पनि एक नम्बर प्रदेश हरहिसाबले विचित्रको विविध मौलिकतामा आधारित प्रदेश हो । केन्द्रीकृत शासन प्रणालीमा सबै राजनीत, अर्थ, भाषा तथा सांस्कृति लगायत तमाम विषय, क्षेत्र, विधा, विचार, व्यक्ति र व्यक्तित्व निर्माण, व्यवस्थापन र परिचालनमा केन्द्रीय तथा निरङ्कुश पद्धति अपनाइन्थ्यो । सामन्ती मात्रै होइन, पुँजीवादी शासन प्रणालीभित्रको केन्द्रीकृत तथा एकात्मक सोच अब चल्दैन । पार्टीको कार्यकर्ता र नेताहरू विभिन्न जाति, जनजाति, भाषा र सांस्कृतिक समुदायका निम्न, निम्नमध्यम वर्गबाट आउन थालिसके र तिनले पार्टीको नेतृत्वमा विशेषता र क्षमतासहित आफ्नो स्थान बनाइसके र बनाउँदैछन् । काले राईहरू वेदमा विद्यावारिधि गरेर डा. स्वामी प्रपन्नाचार्यका रूपमा उदय भइसके । अब कसलाई सिनियर भन्ने ? ज्ञान, विशेषता र क्षमताको सिनियर भएर अग्रस्थानमा स्वतफूर्त पहुँच बनाउनु हो । जोरजबर्जस्तीले र उच्च पदीय अहंकारले मात्र सिनियर भइँदैन र यसैका आधारमा सिँढी चढिरहन मिल्दैन । 

 केन्द्रीकृत राजनीतिक शासन प्रणालीमा गुण, प्रतिभा र क्षमताको प्रतिस्पर्धात्मक पक्ष शून्य बराबर हुन्थ्यो । एक जात, धर्म, संस्कृति, समुदाय, विचार, मूल्य र मान्यतालाई केन्द्रीकृत शासनले स्थापित गथ्र्यो । सामन्तवादी मूल्य मान्यताका आधारलाई केन्द्रमा राखेर राणा, शाह वा अन्य पारिवारिक तथा घरानियाँ कथित उच्च जातिका आधारमा बौद्धिक वा भौतिक शोषण विगतको केन्द्रीकृत शासनको मूल परिचय थियो । अब वंश, अंश, आश र त्रासको भरमा शासन चल्न सक्तैन । २०६२, ०६३ को शान्तिपूर्ण जनक्रान्तिबाट सामन्ती केन्द्रीकृत शासन ढल्यो । त्यसैले अब एकल र एकात्मक सोचको जात, धर्म, संस्कृति, समुदाय, व्यक्ति र व्यक्तित्व विचार, कृतित्वले मात्र यस देशको समग्र र सग्लो परिचय दिन सक्तैन । अमुक जात, धर्म र संस्कृतिको एक नेताबाट मात्र देशको समग्र पहिचान धान्न सक्तैन ।

प्रदेश मुख्यमन्त्रीका दाबेदार भीम आचार्यले आफू मात्र मुख्यमन्त्रीको एक्लो अपरिवर्तनीय दाबेदार बताए । उनले मुख्यमन्त्रीका लागि दाबा गर्नेहरूले आफू सिनियर भएको हुँदा स्वतः मैैदान खाली गर्नु पर्ने अहंकारी दबदबा एक एफएम रेडियोबाट शङ्खघोष गरे । तर उनै आचार्यले सुनसरी जिल्लाको सचिव हुँदा धरान नगर पालिकाको चुनावमा पुराना परिपक्व तथा स्थापित नेता रामप्रसाद खनाल धरान नगर पालिकाको मेयर हुन योग्यतम हुँदा पनि पछि पारिए ।

आचार्यले त्यहाँको मेयर र उपमेयरमा निजी चाहनामा जातीय तथा सांस्कृतिक क्लस्टर हेर्नु पर्ने र कार्यकर्ताहरू समेट्ने भन्दै राई र मेयाङ्वोलाई टिकट दिलाए । मान्छेपिच्छे र समयअनुसार मापदण्ड फेरिनु हुँदैन । प्रदेश नम्बर एकको भाषिक सांस्कृतिक क्लस्टर अनुसारको योग्यता र क्षमताका आधारमा मुख्यमन्त्री हुनुपर्छ । हिजोको आजै कुरा फेरिरहन मिल्दैन । जातीय प्रतिभालाई वर्गीय वृहत् दायरामा राखेर उपयुक्त जिम्मेवारी र अवसर प्रदान गर्नुपर्छ । भन्नलाई प्रतिभाको फूलबारी भन्ने अनि राजनीति र राजकीय अवसर पाउने बेलामा उपयुक्त स्थानमा उपयुक्त प्रतिभालाई सिनियरका नाताले छेक्न खोजेर समावेशी र समानुपातिक सङ्घीयता हुन्छ ? एमाले पार्टी पोलिट ब्युरो सदस्य, पूर्वमन्त्री तथा पार्टीका प्रदेश समितिका उपप्रमुखसमेत रहेका शेरधन राई पनि मुख्य मन्त्रीका दाबेदार रहेका छन् ।

राईले आफ्नो योग्यतामा हालसम्म इमानदार रूपमा राजनीतिक र राजकीय नेतृत्व सम्हालेको प्रमुखताका साथ उठाएका छन् तर पार्टी प्रदेश प्रमुख तथा पूर्वनागरिक तथा संस्कृति मन्त्री भीम आचार्यले राईले जस्तो इमानदारिताको चर्चासम्म गरेका छैनन् । बरु अर्का दाबेदार एमाले पार्टी केन्द्रीय सदस्य जीवन घिमिरेले हालसम्म कुनै राजकीय नेतृत्वको अवसर नपाएको र इमानदार रूपमा हालसम्म क्रियाशील रहेको उल्लेख गरेका छन् । नेपाल पक्षीय भनेर चिनिएका घिमिरेलाई पार्टीका गुरुले नै योग्यता अनुसारको जिम्मेवारी दिने कुरामा बार हालेपछि लबिगत कित्तामा प्रवेश गर्न बाध्य पारिएको देखिन्छ । जबजअनुसार प्रशिक्षित र तदनुसारको कार्यशैलीको नेताले मात्र त्यस काँट र कित्ताका फलामे अनुशासनका योग्य उत्तराधिकार तयार पार्न सक्छ । त्यस विपरीत हुँदा लबी, लोभी, नाता र गोताका कित्तामा विभाजित गरेर पार्टीको पिँधैमा प्वाल पर्छ । 

 सच्चा सिनियरिटी र त्यसको मुख्य पहिचान इमान, जमान र कमाण्ड हो । कम्युनिस्ट पार्टीमा सिनियरिटी दर्शन, दृष्टिकोण र तदनुसारको कार्यशैलीमा हुन्छ । जननेता मदन भण्डारी उमेर र पदको सिनियरिटीबाट पार्टी महासचिव हुनु भएको होइन । दौरा फटाएका भरमा सिनियर हुने एउटा कुरा हो तर ज्येष्ठ उमेर नभए पनि ज्ञान, इमान, अनुभव र योग्यताका आधारमा जो कोही सिनियर हुन्छ । प्राप्त मौका, अवसर, विशेष जिम्मेवारी अनुसार इमानदार रूपमा पूरा गर्नु चाहिँ विशिष्ट महत्वको विषय हो । हालसम्म प्राप्त जिम्मेवारीलाई इमानदार र कुशल रूपमा बहन नगरी कसरी सिनियर भइन्छ । यस विषयमा आचार्यले आत्म मूल्याङ्कन गरेका छन् ? तर जन मूल्याङ्कन, कार्यकर्ताको मूल्याङ्कन र पार्टीकै पनि मूल्याङ्कनमा आचार्य अत्यन्त कमजोर देखिएका छन् ।

आचार्यले आफू पूर्वमन्त्री भएर र इमानदार रूपमा काम गरेको उल्लेख गर्न किन सकेका छैनन् ? शेरधन राईले भने आफू दृढ इच्छाशक्ति भएको इमानदार छवि भएको र यस प्रदेशको सांस्कृतिक भाषिक विविधता समेट्ने व्यक्ति भएको विषय सबल रूपमा उठान गरेका छन् । प्रसिद्ध संस्कृतिविद् प्रा.डा. जगमान गुरुङलाई केवल गुरुङका आँखाले मात्र हेर्न सुहाउँदैन तर काठो र कन्दने भनेर कथित उपल्ला जातिका भनिने समुदायलाई धारे हात लगाइरहन हुँदैन । आखिरमा पण्डित छविलाल पोखरेल नै यस्ता समग्र जाति जनजाति समुदायको बौद्धिक वैचारिक उत्थानमा समर्पित एक विम्ब हुन् । सप्तकोशीमा धेरै पानी बगिसक्यो अब पनि मानिस जातले ठूलो हुन्छ भन्न मिल्दैन ।

अब स्टालिन शैलीले होइन शालिन शैलीले मात्र मुलुक हाँक्न सकिन्छ । शेरधन राईले आफ्नो जिल्ला मात्र होइन पहाडी जिल्लाहरूमा स्थानीय, प्रदेश र सङ्घमा एमाले वा वाम वर्चस्व राख्न सफल भएको देखिन्छ भने यता आचार्यको जिल्ला र नगर र गाउँ नै एमाले पार्टी भारी पराजयको पीडामा छटपटाएको देखिन्छ । हावा नचली पात हल्लिँदैन । किन स्थानीय तह र प्रदेश सभासद्को टिकट प्रदान गर्दा पटक पटक आर्थिक विचलन अपचलन गरेको विवादित विषयमा १ नम्बर प्रदेश एमाले प्रमुखको नाम मात्र किन जोडिन्छ ? जबज अनुसार जनताको मन जितेर राजनीतिक र राजकीय नेतृत्व हासिल गर्नुपर्छ भन्ने कार्यशैलीबिना नेता हुन सकिन्न । नेता भनेको त मौरीको रानो जस्तो होस् न ।

अरिङ्गाल र बच्छिउँ जस्तो पनि कोही यो जमानामा नेता र अभिभावक हुन्छ ? यस्तै खालका विकर्षण र विजातीय गुणका कारण पार्टी कमजोर हुने हो र देशको विकास नहुनु हो । हिउँभन्दा चिसा, सुइराभन्दा तीखा, दर्सने ढुङ्गा साह्रा, फलाम भन्दा अह्ररा, आकासभन्दा अग्ला र पानीभन्दा पातला भएर जनमैत्री कार्यकर्ता मैत्री र विकास मैत्री भइन्छ ? अहिले जन्मिँदै राजा, काजी, जर्नेल र पण्डित हुने परिपाटीको अन्त्य भएको सबै वाम नेताहरूलाई बेलैमा थाहा होस् । प्रदेशका र प्रतिनिधि सभाका वाम सभासद्हरूमध्ये कतिले प्राप्त पदीय गरिमा, जिम्मेवारी र दायित्व कुशलतापूर्वक निर्वाह गर्छन् त्यो भने नहेरी भन्न सकिन्न । अब त प्रबुद्ध र प्रभावशाली तर जन सामान्यको सन्तान राष्ट्रपति भइसकेको अवस्था छ । यो शासन भनेको बहुभाषी तथा बहुसांस्कृतिक नेपाली प्रतिभाको समुचित परख गरेर पदासीन गर्ने र गराउने पद्धति हो । आउ मैदानमा मल्ल युद्ध गर, आआफ्ना प्रतिभा, क्षमता, इमान्दारिताका आधारमा प्रतिस्पर्धामा खरो उत्र । विगतका कामको मूल्याङ्कन गरेर हेरौँ, आत्म समीक्षा पनि गरौँ, राजनीतिक काम मात्र होइन राजकीय क्षेत्रमा पाएको र इमानसहित निर्वाह गरेको जिम्मेवारी हेरौँ । मान्छे इमानले जेठो र बाठो हुनुपर्छ, चेला चिनी हुन्छ त के गर्नु । सङ्घीय शासन प्रणाली भुइँतहका आम जनताको तह, तप्का, विचार र व्यक्तित्वको कदर गर्ने पद्धति हो ।

यस । प्रतिभा, क्षमता, योग्यता, इमानदारिताका आधारमा जसकसैले आफ्नो औकात बनाउन सक्छ । अब एकात्मक शासनमा जस्तो उच्च जात, नाक र नश्लका आधारमा कुनै पनि प्रतिभालाई कुनै पनि पार्टीले छेक्न र छोप्न सक्तैन । त्यसमा पनि कम्युनिस्ट पार्टीले विगतका सांस्कृतिक अवशेषलाई पूर्ण रूपमा परित्याग गर्नुपर्छ । प्रतिभाको फूलबारी मान्ने एमाले पार्टीले कुनै पनि नेता र कार्यकर्ताको प्रतिभाको उचित कदर गर्न जान्नुपर्छ । पार्टी नीति हात्तीको देखाउने दाँत होइन । माओवादी केन्द्रले एकात्मक सोचका सारा पर्खाल भत्काउनका लागि बलिदान गरेको हो । एक निश्चित दरबार र घरबारबाट ठाडो निर्देशनका आधारमा गरिने शाषन प्रणाली सङ्घीयता होइन । अब पार्टी नेता र कार्यकर्ताको पहिचान, पदोन्नति र पहुँच वंश, नश्ल, जात, कुल घरानका आधारमा गर्ने दिन पनि बिते ।

अहिले राजनीति र राजकीय क्षेत्रहरूमा पनि कथित उच्च जातिका मानिससित हरेक क्षेत्रमा दाँजिन सक्ने पुस्ता तयार भएको छ । एउटा दुईवटा मात्र विशेषता र क्षमताले अब पुग्दैन प्रतिस्पर्धाको दायरा अब ठूलो हुँदैछ । संविधानले पनि यस प्रतिस्पर्धालाई श्रेणीबद्ध गरेको छ तर सधैँ मात्र समावेशिताका आधारमा माथिल्लो तहमा पुगौँला भनेर हात बाँधेर बसेपछि परिएला । हरेक जाति जनजाति समुदायमा प्रतिस्पर्धी नेता र कार्यकर्ताको सङ्ख्यामा बढोत्तरी हुँदैछ । अब सिनियरिटीको पुरानो फलाको गरेर मात्र हुँदैन । सिनियरले प्रतिनिधि सभामा उठ्नु पथ्र्यो, त्यहाँ जितेर केन्द्रको प्रमुख मन्त्री हुनुपथ्र्यो । किन त्यसो गरिएन ? किन जुनियर पद, स्थान र मानमा भिड्न किन आउने ? यही हिसाबले कुरा गर्दा सिनियरले जहीँत्यहीँ दाबा, दबाब र दबदबा गर्दै जाने हो सामान्य किनारा पसल गरेर जसोतसो जीविका चलाउनेहरू त मर्ने भए नि ।
(सुनसरी निवासी लेखक वाम बुद्धिजीवी हुन् ।) 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ