केन्द्रीय संस्करण

ओली कमरेड ! भारतसँग सम्बन्ध सुधार गर्नैपर्छ

person access_timeमाघ १७, २०७४ chat_bubble_outline0


नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले दोस्रोपटक प्रधानमन्त्री बन्ने अवसर प्राप्त गर्नुभएको छ । अब निकट भविष्यमै उहाँले यो पद ग्रहण गर्ने पक्का छ । ओलीलाई प्रधानमन्त्री बन्नबाट कसैले रोक्न सक्ने पनि छैन । ओलीलाई अग्रिम शुभकामना छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिइसकेका छन् ।

भारतबाहेक अरु कसैबाट ओलीविरुद्ध अवरोध हुने कुनै सम्भावना छैन । त्यसैले ओली दोस्रोपटक नेपालको प्रधानमन्त्री बन्ने निश्चित छ । आपूm प्रधानमन्त्री बन्ने निश्चित भइरहेको स्वीकारोक्तिसँगै केपी ओलीले आपूm भारतसँग सहकार्य गर्न इच्छुक रहेको लिखित प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ओलीको यो प्रतिबद्धताले भारत सरकार पनि खुशी भएको देखिन्छ । भारतीय विदेश मन्त्रालयले पनि एक विज्ञप्ति नै जारी गरेर आफ्ना विदेशमन्त्री सुषमा स्वराजलाई नेपाल पठाउने तयारी गरेको छ । सुषमा स्वराजले नेपाल–भारतबीच साझा चासो, आपसी हित र सम्बन्धका विषयमा नेपालका राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्ने समेत विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । दुई देशबीचको लिखित प्रतिबद्धताले भारत र नेपालबीच सम्बन्ध सुधार हुने अपेक्षा गर्न सकिन्छ । तर, सम्बन्ध सुधार कस्तो हुने हो ? यो चासोको विषय हो । 

नेकपा (एमाले)का अध्यक्ष कमरेड केपी ओली नेपाली नेताहरूमध्येमा सर्वाधिक लोकप्रिय बन्नुभएको वर्तमान अवस्थाले ओलीप्रति केही आशा गर्नु स्वाभाविक हुन्छ । ओलीलाई व्यक्तिगत धन आर्जनको कुनै प्रलोभन छैन भनेर विश्वास गर्न सकिन्छ । ओलीले कसैका लागि धन आर्जन गरेर जम्मा गर्नु जरुरी छैन । ओली निःसन्तान हुनुहुन्छ । तर उहाँसँग तीन करोड नेपालीको अभिभावकत्वको गहन जिम्मेवारी आइपुगेको छ । त्यसैले ओलीलाई निःसन्तान भन्नु अन्याय हुनेछ । उहाँ तीन करोड सन्तान भएका नेता बनिसक्नुभएको छ । ओली स्वयंले आफ्नो यो हैसियत बुझ्न सक्नुभयो भने नेपाल र भारतबीचको सम्बन्ध पक्कै पनि नेपाली जनताले गर्व गर्न लायकको हुने आशा र अपेक्षा नगरिरहन सकिन्न । 

नेपाल र भारतबीचको सम्बन्ध राम्रो छैन भन्ने कुरा सर्वविदितै छ । भारतलाई नेपालले धेरै कुरा दिएको छ । दिएर मात्र भारत र नेपालको सम्बन्ध सुमधुर हुने भए धेरै सुमधुर हुने गरी दिएका छन् । कालापानी दिएको छ, पूर्व टिष्टादेखि पश्चिम काँगडासम्मको नेपाली भूभागलाई खुम्च्याएर मेचीदेखि महाकालीमा सीमित गरिएको छ, कोशी नदी दिइएको छ, गण्डकी नदी पनि दिइएको छ, महाकाली, माथिल्लो कर्णाली र अरुण तेस्रो नदी पनि भारतलाई हित हुने गरी दिइएकै छ । तै पनि भारत खुशी भएको देखिंदैन । भारतलाई दिएर मात्र खुशी हुन्छ भन्ने भ्रमबाट नेपाल मुक्त हुन जरुरी छ । भारतले लिपुलेकमाथि पनि हस्तक्षेप गरेको छ । त्यसमा पनि नेपाल मौन बसेकै छ । वीरगञ्जमा भर्खरै ५० बिगाह जमिन भारततिर पर्ने गरी पिलर खडा गरिएको छ । भारत खुशी हुने सीमा कहाँ हो ? बुझ्न कठिन छ । भारतको चाहना बमोजिम तराई क्षेत्रलाई अलग बनाएर सघीयता कायम गरिएको छ, तै पनि भारतको चित्त अझै बुझेको छैन । 

केपी ओली पहिलोपटक प्रधानमन्त्री बनेका बेला नेपालविरुद्धको भारतीय नाकाबन्दी र नेपालको संविधानसभाबाट जारी भएको संविधानविरुद्ध भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रचारबाजी पछिल्ला कटूतापूर्ण सम्बन्धका उदाहरणहरू हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी व्यक्तिगत रूपमा मोदी मात्र नभएर भारतकै प्रतिनिधि पात्रका रूपमा जिम्मेवार हैसियतमा रहेका व्यक्ति हुन् । उनले भारतीय हितका लागि कुरा गर्नु र काम गर्नु स्वाभाविक हो । परन्तु छिमेकी देशका विरुद्ध अन्तर्राष्ट्रियजगत्मा प्रस्तुत हुनु वास्तवमै शोभनीय कार्य थिएन र होइन पनि । मोदीबाट यस्तो काम निर्लज्जताका साथ भयो । केपी ओलीले राष्ट्रको हितमा दह्रो अडान लिनुभयो । त्यही अडानले ओलीलाई लोकप्रिय नेता बनायो भने नेकपा (एमाले)लाई त्यसको लाभ चुनावमा प्राप्त भयो । राष्ट्रियताको प्रश्नमा कुनै पनि नेताले अडान लिन सक्ने हो भने जनताबाट सम्मानित हुन्छ भन्ने उदाहरण ओलीको व्यक्तित्व बनेको छ । 

नेपाल र भारतबीच बिग्रिएको सम्बन्धलाई सुधार गर्नु आवश्यक छ । त्यसका लागि खुला सिमाना रहेको छिमेकी देशसँग सर्वप्रथम आवागमनलाई व्यवस्थित गरिनु आवश्यक हुन्छ । नेपालमा जनसंख्या वृद्धिको चापलाई रोक्नका लागि परिवार नियोजनको नीतिले फेल खाइरहेको छ । भारतबाट बढाइने नेपालको जनसंख्या नियन्त्रण गर्नु जरुरी छ । जनसंख्या वृद्धिलाई रोक्न सकिएन भने नेपाल र भारतबीचको सम्बन्ध सुधार गर्छु भन्ने परिकल्पना साकार हुने छैन । नेपालमा जनसंख्या वृद्धिको कारण खुला सिमाना र अव्यवस्थित आवागमन नै हो । त्यसपछि नेपाली भूमि अतिक्रमणका घटनाहरूमा नियन्त्रण दोस्रो आवश्यक शर्त हो, भारतसँग सम्बन्ध सुधारका लागि ।

भारतले नेपालको जनसंख्या बढाइरहेको छ भने नेपाली भूभाग अतिक्रमण गरेर अर्काे शत्रुतापूर्ण काम गरिरहेको छ । सीमा सुरक्षाका लागि आवाज उठाउने नेपालीलाई भारतीय सुरक्षाकर्मीबाट गोली चलाएर मार्नेसम्मका घटनाहरू केपी ओलीले पक्कै पनि स्मरण गर्नुहुने नै छ । सीमा अतिक्रमण गर्नु छिमेकीको सद्भाव मान्न सकिन्न ।

आवागमन नियन्त्रण र सिमानाको रक्षासँगै अर्काे महत्वपूर्ण प्रश्न हो, नेपालको जलसम्पदाको समुचित सदुपयोग । नेपालको जलसम्पदाबाट भारत लाभान्वित हुन सक्दछ । नेपालको जलसम्पदाको उपयोगका लागि भारतसँग सहकार्य आवश्यक छ । उत्पादन हुने विद्युत् र बग्ने पानीको उपयोगका सवालमा नेपालप्रति सद्भावपूर्ण भावना बनाएर भारतपक्ष प्रस्तुत हुने हो भने नेपाल र भारतबीचको सम्बन्ध अवश्य पनि सुमधुर बन्न सक्दछ । परन्तु जलसम्पदाको उपयोगमा भारत सरकारको गिद्देदृष्टि र नेपाल सरकारबाट हालसम्म भइआएका लम्पसारवादी प्रवृत्तिका कारणबाट नेपाल अत्यन्त अपमानित ढंगले ठगिएको छ । नेपाललाई ठग्ने परम्परामा भारत निर्लज्ज छ भने भारतभन्दा नेपालका नेताहरू झनै निर्लज्ज भइरहेका छन् । स्वयं केपी ओलीलाई महाकाली सन्धिका सवालमा पक्कै पनि आपूm निर्लज्ज बनेको महसुस भइरहेको हुनुपर्दछ हालका दिनहरूमा !

नेपाल र भारतबीचको सम्बन्ध मित्रतापूर्ण बनाउने वा दासतापूर्ण स्वीकार्ने ? यो महत्वपूर्ण प्रश्न हो । विगतमा नेपाल र भारतबीच भएका सन्धि सम्झौताहरू असमान र अपमानजनक छन् । सन् १९५० मा नेपाल–भारतबीच भएको सन्धि पुनरावलोकनको प्रयास भइरहेको प्रचार व्यापक रूपमा गरिएको छ । यही सन्धिको धारा ८ मा तत्कालीन भारतका बृटिश शासकहरूसँग नेपालका तत्कालीन शासकहरूले गरेका सन्धि सम्झौताहरू सबै खारेज गरिएको उल्लेख छ । यो धारा ८ ले बृटिश सरकार र नेपाल सरकारबीच भएको सन् १८१६ को सुगौली सन्धि स्वतः खारेज भएको स्पष्ट हुन्छ । सुगौली सन्धिबाट नेपालले गुमाएको भूभाग नेपालले पाउनुपर्ने स्पष्ट छ ।

भारतीय स्वतन्त्रता लडाइँमा नेपालका नेताहरूले पनि जेल जीवन भोगेका थिए । भारतको स्वतन्त्रताका लागि मात्र नभएर नेपाली भूभागको स्वतन्त्रताका लागि पनि नेपाली नेताहरूको जेल यात्रा भएको हो भन्ने कुरा भारत पक्षलाई बुझाउन आवश्यक छ । केपी ओलीले नेपाल र भारतबीच सम्बन्ध सुधारको चाहना राख्ने हो भने सबैभन्दा पहिले सुगौली सन्धिबाट गुमेको नेपाली भूभाग फिर्ता लिन कूटनीतिक पहल थालनी गर्नुपर्दछ । यो पंक्तिकारले ५ वर्ष अघि भारतको राजधानी नयाँदिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयमा ३० जना नेपाली पत्रकारहरूको स्वागतमा भारत सरकार पक्षबाटै आयोजित एक कार्यक्रममा सुगौली सन्धिबाट नै नेपाल र भारतबीच सम्बन्ध बिग्रिएको विचार प्रस्तुत गरेको थियो ।

त्यसको प्रतिवाद भारत पक्षका कुनै पनि विद्वान् वक्ताले गरेका थिएनन् । उनीहरूले छिमेकी देशहरूसँग भारतको सम्बन्ध राम्रो हुन नसक्नुमा भारत सरकारको नै कमजोरी रहेको विचार प्रस्तुत गरेका थिए । त्यसैले नेपालका तर्पmबाट केपी ओलीले भारतसमक्ष नेपालको हितमा आफ्ना विचार राख्न हिच्किचाउनुपर्ने वा कुनै हीनताबोध महसुस गर्नुपर्ने कारण छैन । ओलीलाई प्रधानमन्त्री बन्ने अवसर भारतले जुराएको होइन । यो अवसर नेपाली जनताको विश्वासबाट प्राप्त भएको हो । आगे कमरेड ओलीलाई चेतना भया !
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ