बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुर्खेत : द्वन्द्वपीडितका लागि रु बीस करोड ४० लाख राहत

शनिबार, १७ असार २०७४, ११ : ५६
शनिबार, १७ असार २०७४

सुर्खेत-यहाँका द्वन्द्वपीडितका लागि रु २० करोड ४० लाख ६४ हजार राहत वितरण गरिने भएको छ । 

शान्ति तथा पुनःनिर्माण मन्त्रालयले द्वन्द्वपीडितलाई पुनःस्थापना गर्ने लक्ष्यअनुसार दोस्रोचरणका लागि उक्त रकम वितरण गर्न लागेको हो । दशवर्षे जनयुद्धमा मृत्यु भएका, बेपत्ता पारिएका, अपहरण गरिएका, विस्थापित परिवारका हकदारका लागि राहत रकम वितरण गरिने स्थानीय शान्ति समितिले जनाएको छ । 

मृत्यु र बेपत्ता पारिएका पीडितमध्ये लगत सङ्कलन समितिको छनोटमा परेका ३३६ परिवारका लागि रु १४ करोड ८३ लाख ५० हजार राहत वितरण गरिनेछ । सरकारले मृत्यु र बेपत्ता परिवारका लागि रु १० लाख राहत पु¥याउने लक्ष्यअनुसार पहिलोचरणमा २८८ जनालाई राहत वितरण गरिएको थियो । 

यसैगरी विस्थापित परिवारका लागि रु चार करोड १० लाख वितरण गरिने छ । उक्त रकम पाँच सय पाँच विस्थापित परिवारले पाउने छन् । अपहरण पारिएका परिवारका लागि रु ३ लाख आएकोमा यस पटक १२ जनालाई वितरण गरिने भएको छ । 

स्थानीय शान्ति समितिका संयोजक मोहन थापाले अपहरणमा परेका परिवारका हकमा २५ हजार नबढ्ने गरी राहत वितरण गर्न मन्त्रालयबाट निर्देशन आएको जानकारी दिनुभयो । शान्ति समितिको तथ्याङ्कअनुसार जिल्लामा ८५२ जना अपहरणमा परेका द्वन्द्वपीडित छन् । 
द्वन्द्वका समयमा घाइते र अपाङ्ग भएका व्यक्तिका लागि जीवन निर्वाहमा मद्दत पुगोस् भन्ने उद्देश्यले ५१ प्रतिशत अपाङ्ग र घाइते परिवारलाई मासिक रुपमा रु ६ हजार २०० वितरण गरिँदै आएको संयोजक थापाले बताउनुभयो । 

जसका लागि रु १३ लाख ४९ हजार यस पटक वितरण गरिनेछ । उक्त रकम १६ जनाका लागि वितरण गरिँदै आएको उहाँले बताउनुभयो । संयोजक थापाकाअनुसार द्वन्द्वपीडितका लागि आएको राहत रकम असार मसान्तमा वितरण नभएमा फ्रिज हुनेछ । लगत समितिको छनोटमा परेका एक सय २३ जना द्वन्द्वपीडितले पहिलोचरणको राहत पाएका थिए । रासस 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप