केन्द्रीय संस्करण

बुबाको ‘डेथ सर्टिफिकेट’

person access_timeमाघ १६, २०७४ chat_bubble_outline0

एक बिहान समाचार कक्षमा पत्रपत्रिका सेग्मेन्ट भर्न कम्प्युटरको अगाडि मोबाइल फोन राखेर किर्बोडमा औँला घुमाइरहेको थिएँ । मोबाइलको रिङ बजेपछि टक्क रोकिएँ । ममीको फोन रहेछ ।
‘वरिपरि सबैको जोती सकेँ, तेरो बारी बाँझै छ । पोहोर कात्तिकमा यतिबेला गरामा गोरु लिइसक्थे....’

अरू कुनै शब्द निस्किएनन् । म सुन्न आतुर थिएँ । 

पोहोर कात्तिकमा यतिबेला गरामा गोरु लिइसक्थेँ । अनि यस कात्तिकमा ? 

यस कात्तिकमा बाउ मरेपछि कसले लग्दिने हो र ? आफै आएर जोत् । यही थियो ममीको आसय । भन्नु भएन, ममी निःशब्द हुनुभयो, सुँक्कसँुक्क गर्दै निचोरिनु भयो । मेरो आखाँ रसायो । वर्किङ टेबलमा बस्न सकिनँ । उठेर अर्को कोठाको दराजको ऐना अगाडि सोफामा बसेर आफ्नै परेलीहरू निआलेँ । त्यसपछि बाथरुम गएर मुख धोएँ ।

ममीका फोनहरू प्रायः यसैगरी कहिले एका बिहानै, कहिले मध्यरातमा, कहिले साथीसँग रामाइरहेको बेला त कहिले रिपोर्टिङको बेला मलाई छिचोल्न आइपुग्छन् । गत वैशाखमा बुवा बिरामी पर्दा पनि ममीको फोन यसैगरी आएको थियो । भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक र आसपासका क्षेत्रहरूको घुमघाम सकेर  फर्किएको साँझ अफिसको कम्प्युटरमा फेसबुक खोलिरहेको बेला ।

‘बुवालाई निक्कै गाह्रो छ । अब बाँच्दैनन् क्यारे । कसलाई बाउ भन्ने हो, सक्छस् भने लैजा, उपचार गर् ।’

फोन गरेर खबर सुनाउनुभयो । बुवासँग कुरा गर्छु भनेपछि ममीले फोन बुवाको कानमा लगाइदिनु भयो । बुवाको आवाजले कानेखुसी गरिरहेजस्तो सुनियो । राम्रोसँग बोल्न सकिरहनुभएको थिएन । ममीले आफैले फोन लिएर मधुरो स्वरमा ‘बोल्न सक्दैनन्’ भन्नुभयो । फोन काटी दिएँ । वचनले मलाई निकै घोच्योे ‘अब बाच्दैनन् क्यारे । कसलाई बाउ भन्ने हो, सक्छस् भने लैजा ।’ 

त्यसो नभने पनि त हुन्थ्योझैँ लाग्यो । एक छिनमा अफिसको ल्यान्डलाइनबाट भोलि नै घर हिँड्छु, नआत्तिनु भनेर आश्वासन दिएँ । वैशाख १२ गतेको भूकम्प अगाडिको कर्णाली क्षेत्रका केही जिल्लाहरूमा फैलिएको महामारीका बेला नै बुवालाई बिराम देखिएछ । तर त्यो महामारी र बुवाको बिराम बिल्कुल फरक थियो । मैले चिन्ता गर्छु भनेर गाह्रो छैन भनेर बिरामी भएको खबर गर्नुभएको थियो । मैले उति नै बेला काठमाडौँ आउन भनेको थिएँ । पैसा छैन होला भनेर बुवाममीले मलाई ढाँट्नु भएछ ।

घर जान्छु भनेपछि सम्पादकले ‘जानुस’ भनेर अफिसबाट बिदा दिए । अब आउने जाने गाडी भाडा चाहियो । यसको पनि माग राखेपछि ‘हेरौँला’ भने । भोलिपल्ट बिहान कर्णाली पारी पुगेर फर्किनलाई अफिसको घर्राबाट दुई हजार रुपियाँ र साथीहरूको सहानुभूतिसहित त्यो दिनको नाइट बस चढेँ । 

घर पुग्दाको साँझ वातावरण निकै सुनसान थियो । बुवा आगनमा सल्लाको खटियामा, ममी अम्बाको फेदीमा थडी बिछ्याएर लखतरान । म पुग्छु भन्ने थाहा भएर मलाई समेत खाना बसाउनुभएको रहेछ । भात डढेर बाहिरै बास्ना आइरहेको थियो । घर बाक्लो बस्तीभन्दा माथि पट्टीको एकान्तमा छ । वरपर छिमेकीलाई पनि सजिलै थाहा हुँदैन । म पनि थकित थिएँ । कर्णाली राजमार्गको बाटो त्यस्तै छ । कतै पिच, कतै ग्राभेल, कतै खाल्डाखुल्डी कर्णाली राजमार्गका विशेषताहरू हुन् । धुलाम्मे सडकमा पैँतालीस डिग्री नलच्की बसहरू गुड्दैनन् ।

समय लम्बिएपछि आफन्तले हेरचाह गरे । म अस्पताल परिसर धाउन छोडँे । ममीले प्रतीक्षा गर्न छोड्नु भयो । दाइका कारण बुवालाई छिटै घर लिन सकेनौँ । अस्पतालको शय्यामा मृत्युसँग युद्धरत हुनुहुन्थ्यो बुवा । हामी दर्शक बन्न सकिरहेका थिएनौँ तर नबनी पनि सुख थिएन् ।

बिरामले निकै च्यापेको भए पनि घरेलु उपचारका विकल्पहरू र पैसाको जोहो गरेर करिब एक हप्तापछि मात्रै काठमाडौँको लागि हिँडियोँ । नाइट बसको यात्रामा राम्रो सिट पाउन नसकेपछि गाडीको सेकेन्ड लास्ट सिटमा चित्त बुझायौँ । केही खान पनि नसक्ने, भित्रबाहिर पनि बलतलले गर्नुपर्ने । जटिल बिरामी भए पनि बुवालाई आरामदायी यात्रा गराउन सकिनँ । हुन त मैले बुवाममीको जीवनमा आराम कहिल्यै देखेको थिइन् । तर पनि मनमा गलानी हुँदो रहेछ ।

एकजना प्राध्यापकको सल्लाह र सहयोगमा ललितपुरस्थित दीक्षित थरका एकजना डक्टरको खोपीमा तीन दिन जति धायौँ । रोगको पत्तो लागेन । बिरामले बढी नै च्यापिरहेको थियो । छोडेर वीर अस्पतालको ट्रमा सेन्टरमा गयौँ । केही घण्टामै चेक जाँचका रिपोर्टहरू आउँदै थिए । सुरुमै आएको एक्सेरेको रिपोर्ट हेरेर डक्टरहरूले शङ्कालु तवरले एकअर्कामा आँखा जुधाए । टिमका एक जनाले नसुनिने गरी बोले, ‘ब्रेनट्युमर’ ।

सबै रिपोर्ट आएपछि रोगको टुङ्गो लाग्यो । ब्रेनट्युमर । हाम्रो जस्तो निम्नमध्यम वर्गको परिवारका लागि क्यान्सर, ब्रेनट्युमर, मिर्गौला वा यस्तै ठूला रोगको उपचार प्रायः काबु बाहिरको कुरा हो । यस्ता बिरामीका आफन्तलाई मेरो सल्लाह, जीवनका अन्तिम क्षणहरू आनन्दले बाच्न दिनुस् । उपचारको नाममा गरिने अप्रेसनले जीवन होइन पीडा मात्रै दिन्छ । अप्रेसनका नाममा डक्टर बिरामीलाई मात्रै छुरा प्रहार गर्दैन आफन्तको चिकित्सा विज्ञानको अज्ञानतामा समेत छुरा प्रहार गर्छ ।

सामान्य उपचार गरे पनि अप्रेसन नगरिदिन बुवाको निकै आग्रह थियो । सायद उहाँले जीवनसँग हार खाइसक्नु भएको थियो । डक्टरले ‘अप्रेसन गरे दुई वर्ष नत्र अनिश्चित’ भनेर जीवनको म्याद तोकेपछि निर्णय लिन निकै गाह्रो भयो । दाइले अप्रेसन गर्नुपर्ने मत राख्नु भयो तर आराम भएन ।

त्यसपछि करिब चार महिना बुवाले प्रहरी अस्पताल महाराजगञ्जको आईसीयूमा र ट्रमा सेन्टरको ओपीडीमा ओहोरदोहोर गरेरै बिताउनु पर्यो । हर–प्रहर ममीले फोन गरिरहनु हुन्थ्यो । बुवालाई निकै गाह्रो भएपछि ममीलाई पनि खबर गरियो । बुवाको घर जाने अन्तिम इच्छा र अप्रेसन नगरिदिन गरेको आग्रह दाइको मतका अघिल्तिर पूरा गर्न सकिएन । दूरीको हिसाबले करिब साढे सात सय किलोमिटर मात्रै टाढा भए पनि भौगोलिक बनावट र राज्यको सुविधाको हिसाबले कर्णाली पारिबाट काठमाडौँको पहुँचमा पुग्न त्यति सजिलो कहाँ छ र ? 

त्यसपछि प्रहरी अस्पतालको तेस्रो तलामा रहेको आईसीयु बाहिरको ओरालो भर्याङ मेरा लागि प्रतीक्षालय बन्यो । केवल बुवाको जीवनको प्रतीक्षा सिवाय भोक, निन्द्रा, थकान कुनै चिजले छोएन । ओरालो प्रतीक्षालयमा बसिरहँदा जब नर्सहरूले जालीवाला ढोका खोल्थे अनिष्ट सुन्नुपर्ने डरले मेरो मुटुको गति तुफानी हुन्थ्यो । आईसीयूमा बिरामीका आफन्तलाई निकै अप्ठ्यारो पर्दा मात्रै बोलाइन्छ । त्यो अनिष्टसँग डराएर म हरबखत नर्सहरूको आवाजबाट भाग्ने कोसिस गरिरहेको हुन्थेँ । 

ममी घरबारि र वस्तुभाउ एक्लै बहिनीको भरमा छोडेर बुवाको मुख हेर्न काठमाडाँै आउनुभयो । आईसीयू बाहिरको त्यो ओरालोमा त्यसपछिका सबै दिन ममीले नै प्रतीक्षा गर्नुभयो । त्रासको सिकार हुने जिम्मा ममीलाई नै सुम्पिएँ । म बाहिरको बाहिरै । बुवालाई अप्ठ्यारो परेपछि ममीले फोन गर्नु हुन्थ्यो । मलाई त्यो अप्ठ्यारो होइन, अनिष्टसँग डर लाग्थ्यो । म त्यो फोनबाट भाग्ने कोसिस गर्थेँ । 

समय लम्बिएपछि आफन्तले हेरचाह गरे । म अस्पताल परिसर धाउन छोडँे । ममीले प्रतीक्षा गर्न छोड्नु भयो । दाइका कारण बुवालाई छिटै घर लिन सकेनौँ । अस्पतालको शय्यामा मृत्युसँग युद्धरत हुनुहुन्थ्यो बुवा । हामी दर्शक बन्न सकिरहेका थिएनौँ तर नबनी पनि सुख थिएन् । समयको त्यही एउटा क्षण जीवनमा कहिल्यै कसैलाई नआई दिए हुन्थ्यो भन्ने लाग्थ्यो । तर आफैले त्यो समय गुजार्नु परिरहेको थियो । 

भदौको महिना । वर्षा याम । कहिले भारी वर्षा, कहिले चर्को घाम त कहिले सेतो कुहिरोले सामुन्नेको वस्तु पनि ठम्याउन गाह्रो ।

त्यही कुहिरो भित्र थियो बुवाको मृत्युसँगको विजय या पराजय । जीवन या मृत्यु ।  एक रातभर बेजोड हावाहुरीसहित झरी परिरह्यो । निदाउन पनि सकिरहेको थिएन । ममी कहाँ के गर्दै हुनुहुन्थ्यो बेखबर छुँ । कीर्तिपुरस्थित साथीको कोठामा कोल्टे फेरिरहेको म परिस्थितिको अगाडि निरिह बनिरहेको छुँ । 

ब्युँझिएर बिस्तारामा बसिरहेको बेला ममीको मोबाइलबाट फोन आयो । नौनाडी गलेर लल्याक्कलुलुक भएँ । फोन उठाउने आँट गर्नै सकिन । फोन कट्यो । साथीलाई केही भन्न सकिन । एक छिनमा कलब्याक गरेँ । दिज्युले फोन उठाई  ‘कहाँ छस् ? बुवालाई गाह्रो भयो । छिट्टै अस्पताल भेट्न आइजा ।’ मलिन स्वरमा बोली ।

थ्याङ्कस ड्याड् !

अनिष्ट खबर सुन्नु परेन । अप्ठ्यारो परेछ । अप्ठ्यारोे त सामान्य हो । जीवनभरी परिरहेको अप्ठ्यारोे न हो । बरु यो परिरहोस् । अनिष्ट सुन्नु नपर्दा निकै ठूलो युद्ध नै जिते जस्तो महसुस गरेँ । 

ममीको फोन । त्यो पनि प्रकृतिले रातभरी झङ्कार हालिरहेको बेला । म ममीको फोनले निकै आतङ्कित थिएँ । मलाई त्यो फोनसँग विश्वास थिएन । मलाई त्यो अस्पताल र डक्टर भन्ने जिनिससँग विश्वास थिएन ।

विश्वास थियो त केवल मेरा बुवाप्रति । जसले मलाई विश्वास गर्नु हुन्थ्यो । चार आना, आठाना समेत मेरै लागि खाई नखाई बचाएर राख्नु हुन्थ्यो । वर्ष दिनमा घर जाँदा दुई–चार हजार खर्च दिनुहुन्थ्यो । मैले हप्तौँ फोन नगर्दा आफै फोन गर्नु हुन्थ्यो । सान्त्वना दिनु हुन्थ्यो । आशा देखाउनु हुन्थ्यो । जीवन देखाउनु हुन्थ्यो । जसले आफ्नो आयुलाई उपचार नगर्न भन्नु भएको थियो । मलाई आफ्नै बुवाप्रति भारी विश्वास थियो ।

अस्पताल परिसर भरी काठमाडौँबासी आफन्तको भीड थियो । ममी हुनुहुन्थेन, बहिनी थिइन् । मलाई बहिनीको याद आयो । अघिल्लो दिन मात्रै बहिनीले बुवालाई भेट्न आउँछु भनेकी थिई । मैले प्रयास नगरेको पनि होइन । घरवार धान्नु परेर बहिनीले बुवाको अन्तिम पटक जिउँदो अनुहार हेर्नसमेत पाइन् । 

अस्पतालन पुगेर म सीधै बुवालाई भेट्न जान सकिनँ ।

ममीलाई नदेखेपछि कसैलाई सोधेँ । कोठामै भएको जवाफ आयो । मुटु झन् बेस्सरी काँप्न थाल्यो । के गर्ने के नगर्ने ? मेसो नपाएर दुगुर्दै अस्पतालको बरण्डामा पुगेँ ।

ममी खुट्टामा चप्पल नलगाएरै दुगरी रहेको देखेँ । अब सबै सामान्य हुन्छझैँ लाग्यो । मानौँ बुवा शय्याबाट उठ्नुहुन्छ जस्तो । कठिन र असहज परिस्थितिलाई सामान्ययीकण गर्नु ममीको परिचय हो । त्यसैले ममीप्रति पनि मलाई त्यति नै विश्वास छ, जति बुवाप्रति थियो ।

मेरो मनमा अचेल प्रश्न उठ्छ, तिनीहरूले बुवालाई जीवितै त्यसरी कहिले सिँगारे या सिँगारेनन् ?  गाउँको स्कुलको पक्षमा बोल्दा, खाने पानि ल्याउँदा, राजनीतिमै वडामा या गाविसमा अध्यक्ष र विद्यालय व्यवस्थापन आदिको चुनाव जित्दा । अहँ, मलाई केही घटनाहरू याद छन् । तर यसरी बुवालाई सिँगारेको भने याद छैन । मरेपछि पाउने आरधानको के अर्थ ?

मलाई भने फेरी आतङ्कित बनाउँदै हुनुहुन्थ्यो । ‘हेरिस त बुवाको अनुहार ? जाउँ हिँड । अब कहिले देख्नपाउने...’ बोल्नै नसकेर रोकिनु भयो । पाखुरामा समातेर रुँदै मलाई आईसीयूतिर तान्नुभयो । हामि प्रवेश गर्यौँ । बुवाको बेड चेन्ज भएछ । 

मेरो हात बुवाको छातीमा राखिदिएर ममी भक्कानिनु भयो । ‘भन, बुवा भन । अब कहिले भन्न पाउँछस् । नसुने पनि....।’ ममीले मुटुलाई झङ्कृत पारिदिनु भयो । न त बुवा भन्न सकेँ, न त नभनेर जीवनकै बुवा भन्ने अन्तिम अवसर गुमाउन सकेँ । भेन्टिलेटरमा कृत्रिम सास लिइरहेका बुवालाई नजिकैबाट डाको लाएँ । नर्सले सुन्नु हुन्न ब्रेनडेथ भइसक्यो भने पनि मैले भनेँ ।

सुन्नु भयो भएन त्यही आत्मालाई थाहा होला ।

ममी र म निकै अनियन्त्रित भएछौँ । नर्सहरूले बाहिर लगेपछि थाहा भयो । ममीलाई सम्हाल्ने कोसिस गरिरहेको देखेँ ।

एम्बुलेन्सको व्यवस्था भयो । भेन्टिलेटरबाट झिक्न मलगायत तीन जना आईसीयूमा गयौँ । डक्टरहरूले डिस्चार्ज पेपर तयार पार्दै थिए । हामीले बुवाको बेड चेन्ज गर्यौँ । बुवाले मेरो काखमा लामो शास लिनुभयो ।
प्रतीक्षाको समय मेरै आँखा अगाडि सकियो ।

बुवाको नाममा अस्पतालले एउटा मृत्युसँग हारेको पराजयको प्रमाणपत्र तयार पार्यो ।

ठूलो अङ्ग्रेजी अक्षरले त्यसमा ‘डेथ सर्टिफिकेट’ भनेर लेखिएको थियो ।

मृत्युसँग लडेर जीवन पाउन काठमाडौँ आएका बुवा पराजयको प्रमाणपत्र बोकेर कर्णाली पारी फर्किनुपर्ने भयो । डेथ सर्टिफिकेट पाएको बुवाको निर्जीव शरीरसँग गरिएको करिब २४ घण्टा लामो त्यो यात्रालाई सम्बोधन गर्ने कुनै शब्द मसँग छैन । बेलाबखत यात्रा गर्न ट्याक्सी चढ्दा र एम्बुलेन्सको साइरन बज्दा पनि त्यो घाउ बल्झिरहन्छ ।

कर्णाली राजमार्गको छेउबाट स्ट्ेचरमा मसान घाटको बाटो हुँदै घर पुर्याए गाउँलेले । त्यो दिन जलाउने या अर्को दिन ? निर्जीव शरीरमाथि परम्परा र संस्कारको चर्को बहस गरे गाउँलेले । 

घरको आगनमा ढिकीको छेउ नजिकै रातो आलो माटोले पोतेर बुवाको शरीरलाई सुताइयो । नयाँ पाइन्ट सट, हातमा घडी, आखाँमा चस्मा टाउकोमा पगडी । गाउँलेले निर्जीव भइसकेको शरीरलाई यसरी सिँगारे कि अब बुवा उठेर हिँड्नु हुन्छ झैँ लाग्थ्यो ।

मेरो मनमा अचेल प्रश्न उठ्छ, तिनीहरूले बुवालाई जीवितै त्यसरी कहिले सिँगारे या सिँगारेनन् ?  गाउँको स्कुलको पक्षमा बोल्दा, खाने पानि ल्याउँदा, राजनीतिमै वडामा या गाविसमा अध्यक्ष र विद्यालय व्यवस्थापन आदिको चुनाव जित्दा । अहँ, मलाई केही घटनाहरू याद छन् । तर यसरी बुवालाई सिँगारेको भने याद छैन । मरेपछि पाउने आरधानको के अर्थ ? मरेपछिको सम्मान मलाई अपमानझैँ लाग्यो । अझैँ बाजागाजासहित अन्त्येष्टि गर्ने भनेर करिब सयदेखि डेढ सयको हाराहारीमा गाउँभरिका दमाहाहरू समेत डाके ।

लस्करै आगनभरी त्रिपालमुनि सुतिरहेका आफन्तको छेउमा बुवाको निर्जीव शरीरलाई अगरबत्ति बालेर सुताइएको छ ।

राज्यको नजरमा सुदूर रहेको मेरो समाजको भ्रम त कति हो कति । घर व्यवहारले जेलिएर अन्तिम पटक बुवाको जीवित अनुहार देख्न नपाएकी छोरीलाई मरेको बुवाको अनुहारसमेत हेर्न दिँदैन । बहिनीले त्यसको जबरजस्त प्रतिवाद गरी । गाउँलेले ‘छुन हुँदैन रोक’ भने । मैले ‘कसैले रोक्न सक्दिनँ छोइदे’ भनेँ ।

म छेउमा टुहुरो बनेर चिहाइ रहेको छु ।

चलाउँछु, चल्नुहुन्न ।

बोल्छु, सुन्नुहुन्न ।

रुन्छु, फकाउनुहुन्न ।

आकाशतिर हेरेर परेलीबाट झरिरहेको आँशुलाई आँखा भित्रै रोक्ने प्रयास गर्छु । असफल हुन्छु । तर पनि कुनै हलचल छैन । सायद मेरो विश्वासले जित्न सकेन छ क्यारे । त्यहीँ घोप्टिरहन्छु । भावुक बन्दा मानिस यथार्थलाई बिर्सिंदो रहेछ । म त्यसैको शिकार भइरहेको थिएँ ।

अर्कोपट्टि छेउमा बालेको बडेमानको सल्लाको मुढोको वरिपरि चलिरहेको रमिता त्यो रातको सबैभन्दा अप्रिय दृश्य थियो । दमाहाहरू बजाउने र  नाचगान गर्ने । शोकमग्न परिवारको अगाडि लय हालेर कलदास दाइले हुडको नाचिरहेको थियो । राष्ट्रको लोकसंस्कृति पञ्चेबाजाको धुन मलाई त्यही रातदेखि मन पर्न छोड्यो । कडाले दमाहामा जति जोड जोडले प्रहार गर्थे, त्यति जोडले मेरो मुटुमा सङ्गीन तरङ्ग पैदा हुन्थ्यो ।
त्यो रात, त्यो बाजा, त्यो शोक । खुशीमा बज्ने पञ्जेबाजा दुःख पर्दासमेत प्रयोग हुनु राम्रो होइनझैँ लाग्यो ।

ब्राह्मणले चौध दिनसम्म गरुड पुराण वाचन गर्ने बेलामा ‘यमराजका दूत चण्ड र प्रचण्ड आएर घेरा हाल्छन्’ भन्दा मलाई त्यो रातको पञ्चेबाजाको धुन र ती मानिसहरूको झल्को आउँथ्यो । त्यो समाजको चलिआएको चलन थियो । संस्कृति थियो । न कोही दूत थियो न त कोही यमराज, जे थियो सब भ्रम थियो ।

राज्यको नजरमा सुदूर रहेको मेरो समाजको भ्रम त कति हो कति । घर व्यवहारले जेलिएर अन्तिम पटक बुवाको जीवित अनुहार देख्न नपाएकी छोरीलाई मरेको बुवाको अनुहारसमेत हेर्न दिँदैन । बहिनीले त्यसको जबरजस्त प्रतिवाद गरी । गाउँलेले ‘छुन हुँदैन रोक’ भने । मैले ‘कसैले रोक्न सक्दिनँ छोइदे’ भनेँ । बहिनीले रुँदै मलाई आएर झम्टी ‘मलाई बुवाको अनुहार देखा, आजसम्म किन घर ल्याइनस ?’ मृत्युको खबरले अचेत ऊ मलाई देखेर आक्रोशित बनी ‘बुवाले मलाई के भनेर गए ? बुवाले केही खाए कि खाएनन् दाजु ?’ चर्को स्वरमा सयौँ प्रश्न गरी ।
उसले सोधेका कुनै प्रश्नको उत्तर थिएन मसँग ।

लिएर बुवाको अनुहारको घुम्टो खोलेर देखाइदिएँ । बहिनी बेहोस भई । सबैले ममाथि आक्रमण गरे । चेलिबेटीहरूले अचेत बहिनीलाई कतै टाढा लिएर गएँ । म यथास्थानमा बुवाको मृत शरीर अगाडि निडर उभिरहेँ । एकछिन सन्नाटा छायो ।

करिब पचास साठी जना आफन्तले लुगा खोले । ममीका लुगा पनि बदलिदिए ।

सिन्दूर पखालिदिए । चुरा फुटाइदिए । गहना फुकाली दिए ।

कोरिबाटी गर्न कहिले नभ्याउने ममीलाई झन् उजाड बनाए । बुवाको मृत शरीरलाई सिँगारपटार गरे । काँग्रेसजनहरूले चिहानघाट लिने बाटोमै श्रद्धाञ्जलि सभाको आयोजना गरे । 

म बुवाको शवलाई चिहानमा जलाएर गोधुली साँझमा घर पुगेँ । 

दिदीबहिनी सबै अचेत थिए ।

ममीलाई अगाँलो हालेँ । ममीले धन्न सोध्नु भएन– ‘बुवालाई कसरी पठाइस ?’  भनेर ।

मानिसहरू पनि घर पुगेर कार्यक्रम गरिरहेका थिए । म परालमाथि पल्टिएर निदाएछु । परालको चाङमुनिबाट केहिले घोचेपछि निन्द्राबाट ब्युझिएँ । हेर्दा बुवाको उपचारको बिलको बण्डल रहेछ । त्यही रहेछ

बुवाले मृत्युसँग हारेको डक्टरी प्रमाण पत्र ।

डेथ सर्टिफिकेट ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X