शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

परमाणु बम बनाउनु अपराध हो भने सबभन्दा ठूलो अपराधी अमेरिका हो

बिहीबार, ११ माघ २०७४, १० : ४३
बिहीबार, ११ माघ २०७४

यो पृथ्वीमा पुँजीवाद र प्रजातन्त्रको प्राधिकार र स्वर्गजस्तै मानिने अमेरिका नामको एउटा देश छ । त्यसले खुल्ला रूपमा घोषणा गर्छ– ‘अमेरिका र अमेरिकी जनताको हितमा अमेरिकालाई जुनसुकै कदम चाल्ने अधिकार छ ।’ त्यो कुरा ठीक छ । तर त्यो अधिकार अरूलाई हुने कि नहुने ? आफू शिरदेखि पाउसम्म हतियारले सुसज्जित भएर रहने, त्यो अधिकार अरूलाई हुने  कि नहुने ? आफूले परमाणु बम बनाउने र प्रयोग गर्ने, त्यो अधिकार अरूलाई हुने कि नहुने ? आफूले सबैभन्दा बढी अस्त्र थुपार्ने, त्यो अधिकार अरूलाई हुने कि नहुने ?

तर अमेरिका नामको देशलाई अरूको अधिकार स्वीकार्य छैन । ऊ सधैँ आफ्नो अग्राधिकार चाहन्छ । त्यसैकारण उसले विश्वभरि हस्तक्षेप गर्छ । आफूसमान हुन चाहने जुनसुकै देशलाई कुनै न कुनै बहानामा ध्वस्त पार्छ । ध्वस्त पार्न नसके अपराधी घोषित गर्छ । अमेरिकाको दृष्टिमा यसरी अपराधी देखिएका देशहरूमध्ये एउटा उत्तरकोरिया पनि हो । 

उत्तर कोरियाको अपराध के हो त ? उसको अपराध अमेरिकाको इच्छाविपरीत चल्नु हो, स्वाधीन भएर बाँच्न चाहनु हो, आत्मरक्षा गर्न सक्षम बन्नु हो र त्यसभन्दा पनि बढी कम्युनिस्ट देश बन्नु हो ।

दोस्रो विश्वयुद्धपछि कोरिया प्रायद्वीप दुई भागमा विभाजित भएको थियो र उत्तरी भागमा कम्युनिस्ट व्यवस्था भएको देश उत्तरकोरिया स्थापित भएको थियो भने दक्षिणी भागमा पुँजीवादी व्यवस्था भएको  देश दक्षिण कोरिया स्थापित भएको थियो । सन् १९५० मा ती दुई देशहरूको बीचमा युद्ध भयो र त्यसमा सोभियत सङ्घ र चीनले उत्तरकोरियालाई सघाएका थिए र संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा अमेरिकालगायत सबै पुँजीवादी देशहरूले दक्षिण कोरियालाई सघाएका थिए । 

त्यो युद्धमा अमेरिकाको लज्जास्पद पराजय भएको थियो र कम्युनिस्ट देश उत्तरकोरियाको नाम–निशाना मेटाएर पूरै कोरियामा आफ्नो इसारामा नाच्ने एउटा कठपुतली देश स्थापना गर्ने उसको सपना चकनाचुर भएको थियो । त्यसबेलादेखि अमेरिकाका लागि उत्तर कोरिया टाउको दुखाइको विषय भएको छ र उसले कुनै न कुनै बहाना निकालेर उत्तरकोरियामाथि हस्तक्षेप गर्ने प्रयत्न गरिरहेको छ ।

केही मानवअधिकारवादी संस्थाहरू छन् । तिनीहरू टर्च बालेर मानवअधिकार उल्लङ्घनका घटनाहरू खोज्दै हिँड्छन् तर दिनको उज्यालोमै देखिने अमेरिकी अपराधलाई हेर्दैनन् । त्यसकारण हामीले तिनीहरूलाई भन्नैपर्छ– ‘पहिले अमेरिकालाई दण्डित गर, त्यसपछि अरूको खोज !’

अमेरिकाको यही व्यवहारको कारण उत्तर कोरियाले परमाणु बमको विकास गरेर आफ्नो सुरक्षाको बलियो प्रबन्ध गर्नुपरेको हो । जस्तो कि संयुक्त राष्ट्रसङ्घका लागि उत्तर कोरियाका प्रतिनिधिले केही समय अगाडि साधारण सभालाई सम्बोधन गर्दै प्रष्ट पारेका थिए– ‘उत्तर कोरियालाई परमाणु शक्ति सम्पन्न हुनुपर्ने बाध्यता अमेरिकाले नै सिर्जना गरेको हो ।’

तर अमेरिका यो कुरा मान्न तयार छैन र उसले उत्तर कोरिया मानव सभ्यताकै लागि खतरा भएको दाबी गर्छ । यदि परमाणु बमको विकास गर्नु अपराध हो भने सबभन्दा ठूलो अपराधी त अमेरिका नै हुन्छ । किनभने सबभन्दा पहिले र सबभन्दा धेरै परमाणु बमको विकास त उसैले गरेको हो । त्यसैगरी परमाणु बम अरू देशहरूसँग पनि छ । रसियासँग छ, बेलायतसँग छ, फ्रान्ससँग छ, चीनसँग छ, भारतसँग छ, पाकिस्तानसँग छ र घोषित रूपमा इजरायलसँग पनि छ । तर तिनीहरू अपराधी मानिएका छैनन् । त्यसकारण अमेरिकाको निहित अर्थ अर्कै छ । 

निशस्त्रीकरण र मानवअधिकार नामका दुईवटा डण्डाहरू छन् । यी डण्डाहरूलाई अमेरिकाले आफ्नो निहित स्वार्थ सिद्ध गर्नका लागि प्रयोग गर्छ । निशस्त्रीकरणको अर्थ विश्वबाट सम्पूर्ण परमाणु अस्त्रको उन्मूलन गर्नु हो अर्थात् सम्पूर्ण विश्वलाई परमाणु अस्त्ररहित बनाउनु हो । तर अमेरिका निशस्त्रीकरण सन्धिको माध्यमबाट अरूको परमाणु अस्त्रलाई नष्ट गराएर आफ्नो चाहिँ सुरक्षित राख्न चाहन्छ । यसरी आफ्नो अस्त्रभण्डार सुरक्षित राखेर अरूलाई बनाउन पनि नदिने र राख्न पनि नदिने कुरा निशस्त्रीकरण होइन । यो त हस्तक्षेप हो, दमन हो र आफ्नो एकाधिकार कायम राख्ने षड्यन्त्र हो । 

त्यसैगरी मानवअधिकारको डण्डा पनि अमेरिकाले आफ्नो स्वार्थ सिद्ध गर्नकै लागि प्रयोग गरिरहेको छ । उसले ठूलो–ठूलो स्वरमा मानव अधिकारको वकालत गर्छ । यदि मानवअधिकारको उल्लङ्घन गरेको अपराध हेर्ने हो भने सबभन्दा बढी अमेरिकाले गरेको छ । अमेरिकाका लागि आफ्नो देशभित्र मानिसको कुरा छोडौँ, कुकुरको पनि बाँच्ने अधिकार हुन्छ तर आफ्नो देशबाहिर कुकुरको कुरा छोडौँ, मानिसको पनि बाँच्ने अधिकार हुँदैन । 

त्यसकारण उसले परमाणु बमको प्रयोग गरेर जापानमा लाखौँ मानिसहरूलाई खरानी बनायो । रासायनिक अस्त्रको प्रयोग गरेर भियतनाममा वन–जङ्गलसमेत सखाप पार्यो । दोस्रो विश्वयुद्धको भन्दा बढी बमको प्रयोग गरेर इराकलाई तहस–नहस पार्यो, युगोस्लाभिया, अफगानिस्तान र लिबियालाई ध्वस्त पार्यो र अहिले सिरिया जलिरहेको छ । यहाँ मानवताको मूल्य कहाँ छ ?

केही मानवअधिकारवादी संस्थाहरू छ । तिनीहरू टर्च बालेर मानवअधिकार उल्लङ्घनका घटनाहरू खोज्दै हिँड्छन् तर दिनको उज्यालोमै देखिने अमेरिकी अपराधलाई हेर्दैनन् । त्यसकारण हामीले तिनीहरूलाई भन्नैपर्छ– ‘पहिले अमेरिकालाई दण्डित गर, त्यसपछि अरूको खोज !’

अमेरिकाले उत्तर कोरियालाई बद्नाम गर्न कुनै कसर बाँकी राखेको छैन । उसले उत्तर कोरियालाई तानाशाह भन्छ । यदि तानाशाहको कुरा गर्ने नै हो भने त अमेरिका स्वयम् तानाशाह हो । उसले कतै आतङ्कवादको नाममा हस्तक्षेप गर्छ, कतै मानवअधिकारको नाममा हस्तक्षेप गर्छ र कतै आम विनाशकारी हतियार निर्माणको नाममा हस्तक्षेप गर्छ । कुन देशको व्यवस्था कस्तो हुने भन्ने कुरा उसले निर्धारण गर्नुपर्छ । 

मानवअधिकारको उल्लङ्घन गरेको अपराध हेर्ने हो भने सबभन्दा बढी अमेरिकाले गरेको छ । अमेरिकाका लागि आफ्नो देशभित्र मानिसको कुरा छोडौँ, कुकुरको पनि बाँच्ने अधिकार हुन्छ तर आफ्नो देशबाहिर कुकुरको कुरा छोडौँ, मानिसको पनि बाँच्ने अधिकार हुँदैन ।

संयुक्त राष्ट्रसङ्घमा बहुमतद्वारा पारित भएको कुनै प्रस्ताव अमेरिकाको लागि प्रतिकूल हुने भयो भने त्यसलाई उसले विशेषाधिकार (भिटो) प्रयोग गरेर रद्द गरिदिन्छ । एउटा प्रजातान्त्रिक देशले विशेषाधिकारको सट्टा बहुमतको कदर गर्नुपर्ने होइन र ? यो तानाशाही नभएर अरू के हो त ? त्यसकारण यदि उत्तर कोरिया तानाशाह नै हो भने पनि उसको तानाशाही स्वदेशभित्र सीमित छ तर अमेरिकाको तानाशाही त विश्वभरि फैलिएको छ । 

केही समयअगाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरकोरियालाई इङ्गित गर्दै भनेका थिए– ‘रकेटम्यानको देशमा मानिसहरू भोक–भोकै बस्छन्, कुपोषण भएर मर्छन् । तर हाम्रो देशमा सबै मानिसहरू सुखी छन् ।’ यदि त्यसो हो भने ट्रम्प महोदय, त्यसरी सबैलाई सुख–सुविधा, मान, सम्मान र स्थान मिल्ने तपाईंको देशमा त्यति आप्रबासीहरूको व्यवस्थापन किन हुनसकेन ? एउटा खुल्ला रूपमा सधैँ संसार लुट्ने देशका मानिसहरू सुखी हुनु र एउटा सधैँ नाकाबन्दीमा रहने देशका मानिसहरू कुपोषण भएर मर्नु कुनै आश्चर्यको कुरा हुन्छ र ?

अहिले अमेरिकासँग धन–दौलत छ, शक्ति छ र त्यसभन्दा पनि बढी डर छ, त्रास छ । कतै अमेरिकाले इराक बनाइदेला कि, अफगानिस्तान बनाइदेला कि, लिबिया बनाइदेला कि भन्ने चिन्ता छ । त्यसकारण अमेरिकाको एकछत्र शासन, वर्चस्व चलिरहेको छ । तर उत्तर कोरियासँग केवल सत्य छ, आफ्नो स्वाभिमानलाई बचाउने अदम्य साहस छ र आफ्नो अस्मितालाई जोगाउने दृढ सङ्कल्प छ ।

दुनियाँमा धेरै देशका मानिसहरूले थोरै मोज–मस्तीका लागि आफ्नो अस्मिता लुटाएका छन् । आफ्नो स्वाभिमान बेचेर दुई छाक खाना र एक शरीर कपडा लगाएर अर्थहीन जिन्दगी बाँचेका छन् । तर उत्तर कोरियाका मानिसहरू कुपोषण सहेर आफ्नो स्वाभिमानलाई बाचइरहेका छन् । के तिनीहरू प्रशंसाका पात्र होइनन् ? यदि होइनन् भने हामीले सहिदहरूलाई किन सम्मान गर्ने ? महामानवहरूलाई किन सम्झिने ? कुपोषण लाग्नु दुर्गतिको प्रमाण हो कि स्वाभिमानको प्रमाण हो ? आक्रमणकारी, हैकमवादी शक्तिको अगाडि झुक्नुभन्दा त कुपोषणलाई सहनु महान कुरा होइन र ?

यदि उत्तर कोरियाका मानिसहरू कुपोषण लागेर मर्छन् भने अमेरिकाका मानिसहरू (डोनाल्ड ट्रम्प¬) मानसिक रोग लागेर मर्छन् । यो कुनै आरोप होइन, अमेरिकामै प्रकाशित पुस्तक ‘फायर एन्ड फ्युरी’मा उल्लेख भएको कुरा हो । 

अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आप्रवासी ‘फोबिया’ भएको छ । उनी आप्रवासीहरूलाई ‘रद्दीको टोकरीमा फाल्नलायक मानिसहरू’ भन्छन् । तर इतिहासलाई हेर्ने हो भने अमेरिका स्वयम् आप्रवासीहरूबाट बनेको हो । युरोपबाट गएका आप्रवासीहरूले त्यहाँका आदिवासीहरूलाई धूलोमा मिलाएर अमेरिका नामको देश बनाएका थिए । त्यसैगरी अमेरिका समृद्ध, सम्पन्न र शक्तिशाली हुनुमा पनि आप्रवासीहरूको ठूलो योगदान छ । अल्बर्ट आइन्स्टाइन र एनरिको फर्मी जस्ता वैज्ञानिकहरू दोस्रो विश्वयुद्धको समयका आप्रवासीहरू थिए । यदि हिम्मत छ भने ट्रम्पले उनीहरूको योगदान (परमाणु बम) लाई पनि रद्दीको टोकरीमा फाल्ने आँट गरून् । त्यसपछि उनको देशमा के बाँकी रहँदोरहेछ, हेरौँ । 

संसारभरि ‘ब्रेन–ड्रेन’ गराएर, छानी–छानीकन उत्कृष्ट प्रतिभाहरूलाई अमेरिका भित्र्याएर देशनिर्माण गरुन्जेल स्वदेशी र आप्रवासीको भिन्नता देखिएन । अब आफू सम्पन्न, समृद्ध र शक्तिशाली भइसकेपछि आप्रवासीहरू रद्दीको टोकरीमा फाल्नलायक भए । यो कृतघ्नताको पराकाष्टा हो । 

त्यसैगरी ट्रम्पले अफ्रिकीहरूलाई ‘बेकामे’ भनेका छन् । तर तिनै अफ्रिकीहरूको कामले आज अमेरिका ‘अमेरिका’ भएको छ । ती अफ्रिकीहरू, जसलाई अफ्रिकाबाट जबर्जस्ती डुङ्गामा, पानीजहाजमा कोचेर अमेरिका ल्याइन्थ्यो । दिन–रात घोडाजस्तै, गोरुजस्तै काममा जोतिन्थे । तिनीहरूलाई मानवको व्यवहार गरिँदैनथ्यो, पशुहरूजस्तै बजारमा लगेर बेचिन्थ्यो । अब तिनीहरू बेकामे भए । यो पनि कृतघ्नताको अर्को पराकाष्टा हो । पुँजीवादी दुनियाँबाट योबाहेक अरू अपेक्षा नै के गर्न सकिन्छ र ?

अमेरिकालाई आफ्नो शक्तिमा ठूलो घमण्ड छ । केही समयअगाडि संयुक्त राष्ट्रसङ्घको साधारण सभालाई सम्बोधन गर्ने क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई ध्वस्त पार्ने धम्की दिएका थिए । त्यसको प्रतिउत्तरमा उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनले नयाँ वर्षको अवसरमा भनेका थिए– ‘परमाणु बमको बटन सधैँ मेरो टेबलमा रहन्छ । यो वास्तविकता हो, कुनै धम्की होइन ।’ त्यसको प्रतिक्रियास्वरूप ट्रम्पले ट्विटरमा लेखेका छन्– ‘तिम्रोभन्दा ठूलो परमाणु बटन हामीसँग छ र त्यो धेरै शक्तिशाली छ र त्यसले काम पनि गर्छ ।’

तर ट्रम्पले बुझ्नुपर्ने कुरा के हो भने परमाणु बमको बटन सानो हुनु र ठूलो हुनुको कुनै अर्थ छैन । किनभने दुवैले मानव सभ्यताको विनाश गर्ने हो । 

भनिन्छ, अमेरिकासँग चालीस पटक पृथ्वीलाई ध्वस्त पार्ने परमाणु शक्ति छ र उत्तर कोरियासँग एकपटक पृथ्वीलाई ध्वस्त पार्ने परमाणु शक्ति छ । तर यी दुई शक्तिहरू बराबर हुन् । किनभने एकपटक ध्वस्त पारेपछि पृथ्वी नै रहँदैन, बाँकी ४९ पटक कहाँको पृथ्वीलाई ध्वस्त पार्ने हो र ? त्यसकारण परमाणु शक्तिको कारण अब अमेरिका र उत्तर कोरिया बराबर भएका छन् । 

उत्तर कोरियाले परमाणु बमद्वारा अमेरिकालाई ध्वस्त पार्ने होइन, उसले त आफूसँगै सिङ्गो पृथ्वीलाई विनाश गर्ने हो । जसरी आत्मघाती योद्धाले आफूलाई सिध्याएर अरूलाई सिध्याउँछ, त्यसैगरी परमाणु अस्त्रको प्रयोग गर्नुको अर्थ सबैलाई सिद्ध्र्याउनु हो । त्यसकारण उत्तरकोरियाको सानो बटन परिणाममा सानो हुँदैन र अमेरिकाको ठूलो बटन परिणाममा ठूलो हुँदैन । त्यसो हँदाट्रम्पको ठूलो बटनको कुनै अर्थ छैन, त्यो त कागजी बाघ हो । 

त्यसैगरी उत्तर कोरियाले परमाणु बमको प्रयोग सिधै अमेरिकालाई मात्र ध्वस्त पार्नका लागि गर्ने होइन । उसले त एउटा सर्वभौमसत्ता सम्पन्न देशलाई स्वतन्त्रतापूर्वक बाँच्न नदिने अमेरिकाजस्तो देशद्वारा कलङ्कित यो मानव सभ्यतालाई नै समाप्त पार्न त्यसको प्रयोग गर्ने हो । ‘नरहे बाँस, नबजे बाँसुरी ।’ अर्थात् बाँसै नरहेपछि बाँसुरी पनि बज्दैन ।

अहिले अमेरिकाले क्षेप्यास्त्र प्रतिरोध–प्रणालीको विकास गरेर आफूलाई सुरक्षित बनाउने प्रयत्न गरिरहेको छ । यदि उसले त्यसरी सुरक्षित हुने सपना देख्छ भने त्यो सुतुरमुर्गले बालुवामा टाउको लुकाएर आफू सुुरक्षित छु भनेर सोचेजस्तै हो । मरुभूमिमा मुतुरमुर्ग नामको एउटा चरा हुन्छ । त्यो उड्न सक्दैन । त्यसकारण शत्रुले आक्रमण गर्दा त्यो दौडेर भाग्छ । त्यसरी भाग्दै जाँदा जब त्यो भाग्न नसक्ने हुन्छ, तब त्यसले आफ्नो टाउको बालुवाभित्र घुसारेर आफू सुरक्षित भएको महसुस गर्छ । क्षेप्यास्त्र कवचभित्र बसेर आफू सुरक्षित भएको ठान्ने अमेरिकाको अवस्था सुतुरमुर्गको भन्दा भिन्न हुनसक्दैन । के सम्पूर्ण मानव सभ्यता नै समाप्त हुने विध्वंशमा अमेरिका चाहिँ बाँच्न सक्ला र ?
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमेश सुनुवार
रमेश सुनुवार

रमेश सुनुवार माक्र्सवादी अध्येता हुन् ।
 

लेखकबाट थप