बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

देउवा प्रधानमन्त्री हुँदा काँग्रेसलाई किन फाप्दैन ?

मङ्गलबार, ०९ माघ २०७४, १० : ५७
मङ्गलबार, ०९ माघ २०७४

काठमाडौँ । दबाबबीच डाकिएको काङ्ग्रेसको केन्द्रीय कार्यसमिति वैठक गत बिहीबार र शुक्रबार बस्यो ।

केन्द्रीय कार्यसमितिको वैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाका लागि ‘अप्रिय’ तर, काङ्ग्रेसका लागि दीर्घकालीन महत्वको विषयमा बोले ।
 
सभापति देउवा जति पटक प्रधानमन्त्री बने त्यति नै पटक काङ्ग्रेसले क्षति बेहोरिरहेको पौडलको तर्क थियो  । काङ्ग्रेसीजनमा पौडेलको बोलीले अर्थ राख्छ ।
 
के पौडेलले भनेजस्तै देउवा प्रधानमन्त्री हुँदा काङ्ग्रेसलाई नफापेकै हो त ?
 
घटनाहरुले देउवाले सरकारको नेतृत्व गरेको समयमा काङ्ग्रेस ओरालो लागेको देखाउँछ ।

केही घटनाहरु हेरौँ ।

देउवा प्रधानमन्त्री हुँदा
–शेरबहादुर देउवा प्रधानमन्त्री रहेकै समय ०५२ फागुन १ देखि  तत्कालीन नेकपा माओवादीले ‘जनयुद्ध’ सुरु गरेको थियो । ०५९ सालमा देउवा प्रधानमन्त्री पदमा थिए । माओवादी जनयुद्ध उत्कर्षमा भएको बेला पार्टी सभापति गिरिजाप्रसाद कोइराला थिए ।
 
–जनयुद्धलाई निस्तेज पार्न लगाइएको सङ्कटकालको अवधि लम्ब्याउने वा हटाउने विषयमा काङ्ग्रेसभित्र मतभेद देखियो । आफ्नै दलको समर्थन जुट्ने अवस्था भएन । सङ्कटकालको अवधि नबढाउने अवस्था देखेपछि देउवाले ०५९ ज्येष्ठ ८ मा प्रतिनिधिसभा विघटन गरे । ०५९ कात्तिक २७ मा प्रतिनिधिसभा सदस्यका लागि निर्वाचनको मिति घोषणा गरे ।


 
–देउवाले लम्ब्याएको सङ्कटकालले माओवादी जनयुद्ध निस्तेज भएन । बरु अझ फैलिँदै गयो र देउवाले घोषणा गरेको निर्वाचन पनि हुने अवस्था देखिएन । काङ्ग्रेसको आलोचना सुरु भयो ।
 
–०५९ असोज १८ मा तत्कालीन राजा ज्ञानेन्द्रले देउवालाई ‘असक्षम’ प्रधानमन्त्री घोषणा गरे । अनि पदबाट अपदस्त गरे । देउवाले प्रतिगमनलाई साथ दिएको भन्दै काङ्ग्रेसमा विवाद चर्कियो । विवाद बढ्दै गएपछि काङ्ग्रेस फुट्यो । देउवाले काङ्ग्रेस प्रजातान्त्रिक गठन गरे । असक्षम भन्दै हटाएका तत्कालीन राजा शाहले देउवालाई ०६१ मा पुनः प्रधानमन्त्री बनाए ।
 
–०६२÷०६३ को जनआन्दोलन अघि  काङ्ग्रेसलाई फुटाएका देउवाले उनको दल काङ्ग्रेस प्रजातान्त्रिकलाई पनि आन्दोलनमा सहभागी बनाए । ०६४ मा काङ्ग्रेस एकीकरण भयो ।
 
–०७४ मा देउवा चौथो पटक प्रधानमन्त्री बने । देउवाको नेतृत्वको काङ्ग्रेसले लाजमर्दो हार बेहोर्यो । एक सय ६५ स्थानको प्रत्यक्ष निर्वाचनमा काङ्ग्रेस तेस्रो स्थानमा खुम्चियो, २३ सिटसहित । इतिहासमै ‘लज्जास्पद’ हारपछि काङ्ग्रेसमा देउवाको प्रधानमन्त्रीकाल काङ्ग्रेसलाई ‘दुर्भाग्य’को रुपमा अथ्र्याउन थालिएको छ ।


 
–देउवा सभापति तथा प्रधानमन्त्री भएको समय  काङ्ग्रेसमा आन्तरिक लोकतन्त्र कमजोर भएको विषय जोडतोडले उठ्न थालेको छ । घात अन्तर्घातको इतिहास रहेको काङ्ग्रेसमा वर्तमान समयमा ‘प्रतिघातको अवस्था अझ झाँगिएको’ छ ।
 
–देउवा प्रधानमन्त्री भएकै समयमा काङ्ग्रेसमा गुटहरु अझ बलियो हुँदै गएको तथा काङ्ग्रेस कमजोर हुँदै गएको काङ्ग्रेसवृत्तबाट उठेको छ  ।
 
काङ्ग्रेसमा देउवा प्रधानमन्त्री भएको काल (०५२) मा पजेरो संस्कृतिको विकास भएको थियो । देउवाको प्रधानमन्त्री कालमा सबैभन्दा बढी मन्त्रीहरु नियुक्तिका कारण उनि विवादित रहिरहे । यसको मार पनि राजनीतिक इतिहासमा काङ्ग्रेसले बेहरिरहेको छ ।
 
विश्लेषकको मत
काङ्ग्रेसलाई नजिकबाट नियालिरहेका राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको भनाइ यथार्थपरक टिप्पणी भएको बताए । देउवाकै कालमा लोकतान्त्रिक पद्धतिमा उपहास भएको जनाउँदै वाग्लेले संसद विघटन गर्दा दलहरु कमजोर भएको औँल्याए ।

पूर्वराजा मार्फत मनोनित प्रधानमन्त्री भएका देउवाले दलहरुलाई कमजोर बनाएको वाग्लेको टिप्पणी छ ।


 
तर, देउवापक्षको तर्क छ
देउवा निकट मानिने वाणिज्य मन्त्री मिन विश्वकर्मा भने वरिष्ठ नेता पौडेलको भनाइ प्रति पुरै विमती राख्छन् ।

देउवा प्रधानमन्त्री भएको समयमा काङ्ग्रेसलाई क्षति नभएको विश्वकर्माको ठहर छ । ‘सुशील कोइरालाको समय (०७०) मा काङ्ग्रेसले २९ प्रतिशत मत ल्याएको थियो । हाल ३४ प्रतिशत मत आएको छ, कसरी काङ्ग्रेस पराजित ?’ उनले प्रतिप्रश्न गरे । उम्मेदवारले हारेका हुन् । दलले हारेको छैन ।’
 
०५९ मा २४ घण्टे अल्टिमेटम दिएर स्पष्टीकरण सोधिएकाले बाध्य भएर दल फुटाउनु परेको कारण देखाउँदै विश्वकर्माले देउवाको बचाउ गरे । 
 
०५४ मा स्थानीय चुनाव गराउन संसदीय दलको नेता हुँदै प्रधानमन्त्री हुन खोज्दा दुई सांसदलाई विदेश शयर गराएर देउवालाई हराइएको विश्वकर्माले नजिर देखाए ।

के हुन् देउवाका कमजोरी ?

–काङ्ग्रेस नेताहरुका अनुसार आन्तरिक लोकतन्त्रमा देउवा कमजोर देखिए । आफ्नो पक्षका नेताहरुलाई काखी च्याप्ने उनको मनोवृत्ति भएको काङ्ग्रेसकै अर्कोपक्षका नेताको भनाइ छ ।

–निर्णय क्षमतामा कमजोर रहेको पनि देउवामाथि आरोप लाग्छ । रणनीति तय गर्ने मामलामा उनका कमजोरी देखिने गरेको काङ्ग्रेस नेताहरु बताउँछन् । केन्द्रीय सदस्य प्रदीप पौडेल वामघटकसँग पराजित हुनु देउवाको रणनीति बनाउने पक्षमा रहेको कमजोरी ठान्छन् ।
 
–विपक्षीको क्षमता आँकलन गर्न देउवा समय समयमा चुक्ने गरेको पनि आरोप लाग्छ । देउवाले वाम गठबन्धनको शक्ति आँकलन गर्न नसकेका कारण पनि निर्वाचनमा पराजय बेहारेको पौडेल बताए ।

–देउवाले अस्वाभविक रुपमा विपक्षसँग साँठगाँठ गर्ने गरेको र यो पनि उनको कमजोरी मान्ने गरिन्छ काङ्ग्रेसभित्र । स्थानीय निर्वाचनमा काङ्ग्रेसले जित्ने स्थानमा माओवादीलाई छाडेर देउवाले कमजारी देखाएको काँगेसभित्र चर्चा हुने गर्छ । केन्द्रीय सदस्य चन्द्र भण्डारीले अहिले लोकतान्त्रिक गठबन्धन औचित्यहीन हुनुमा पनि नेतृत्व नै जिम्मेवार रहेको बताए ।
 
–विधानलाई आफूखुसी सञ्चालन गर्नु देउवाको अर्को महत्वपूर्ण कमजारी रहेको काङ्ग्रेस नेता–कार्यकर्ताको बुभाइ छ । देउवाले आफू अनुकूलका व्यक्तिहरु छनौट गरी काङ्ग्रेसका समितिहरुमा नियुक्ति गर्ने गरेको आरोप लाग्दै आएको छ । केन्द्रीय सदस्य शेखर कोइरालाले विधान विपरीत गठन गरिएको समितिमा आफू नबस्ने घोषणा केन्द्रीय समितिको वैठकमै गरेका थिए । कोइरालाले संसदीय बोर्डको प्रसङ्ग उठाएर यस्तो घोषणा गरेका थिए । विधान विपरीत कार्यसम्पादन समिति र संसदीय बोर्ड बनाएको भन्दै देउवाको आलोचना भएको थियो ।
 
–पार्टीका आन्तरिक निर्णय क्षमतामा पनि देउवा कमजोर देखिए । महाधिवेशन सकिएको २२ महिना वितिसक्दा पनि पार्टीका विभाग गठन भएका छैनन् ।
 
देउवाको राजनीतिक विगत
विसं. २०२८ मा देउवा काङ्ग्रेस निकट नेपाल विद्यार्थी सङ्घको सभापतिमा चुनिएका थिए ।

०४८, ०५१ र ०५६ को संसदीय निर्वाचनमा देउवा डडेल्धुराबाट विजयी भएका थिए ।

०६४ र ०७० मा कञ्चनपुर र कैलालीबाट संविधान सभाका लागि चुनिएका थिए ।

गत निर्वाचनमा देउवा आफ्नो गृह जिल्लाबाट पुनः निर्वाचित भए ।

देउवा ०४८ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हँुदा गृहमन्त्री भएका थिए ।

देउवा ०५२, २०५९, २०६१ र ०७४ मा गरी चार पटक देशको मुख्य कार्यकारी पदमा पुगेका छन् ।

छ पटक प्रतिनिधिसभा तथा सभासदमा  निर्वाचित भएका प्रधानमन्त्री तथा काङ्ग्रेसका सभापति पटक पटक सरकारको नेतृत्वमा पुगेका छन् । साथै दलको मुख्य जिम्मेवारी पनि सम्हाल्ने अवसर पाएका छन् । काङ्ग्रेसको  सुदूरपश्चिम क्षेत्रका सर्वाधिक शक्तिशाली नेता देउवा हाल काङ्ग्रेसको मियो हुन् ।

काङ्ग्रेसको १३औँ महाधिवेशन (२०७२ फागुन २० देखि २४) बाट देउवाले उनका प्रतिस्पर्धी रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई पराजित गरी सभापतिमा निर्वाचित भएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप