शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रशासनिक भवन र सभाहलसहितको अतिथि गृह शिलान्यास

आइतबार, ०७ माघ २०७४, २० : ४४
आइतबार, ०७ माघ २०७४

बुटवल - रुपन्देहीको तिलोत्तमा नगरपालिकाले बनाउन लागेको प्रमुख प्रशासनिक भवन र सभाहलसहितको अतिथि गृहको आज शिलान्यास गरिएको छ । 

वडा नं ६, कुञ्जलापुरमा निर्माण हुने प्रशासनिक भवनको पूर्वअर्थमन्त्री एवं प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले शिलान्यास गर्नु भएको हो । यस्तै वडा नं ७ र ९ को केउलानीमा निर्माण हुने सभाहलसहितको अतिथि गृहको प्रतिनिधिसभा सदस्य घनश्याम भुसालले उद्घाटन गर्नु भएको छ । 

कार्यालय भवन र अतिथि गृह एवं सभाहलकोे निर्माण एकैसाथ सम्पन्न गर्ने लक्ष्य नगरपालिकाले राखेको छ । नगर कार्यपालिकाको गत बुधबारको बैठकले प्रशासनिक भवन र सभाहलसहितको अतिथि गृह निर्माण स्थलको सर्वसम्मत निर्णय गरेको थियो । नौ बिघा क्षेत्रफलमा बनाइने प्रशासनिक भवनका लागि तिलोत्तमा नगरपालिकाले चालू आवमा रु दुई करोड विनियोजन गरेको छ । 

अतिथि गृहमा २० कोठाका साथै एक हजार मानिस अट्ने सभाहल र उद्यानसमेत निर्माण गरिने नगरपालिकाले जनाएको छ । प्रशासनिक भवनको शिलान्यास गर्दै पूर्व अर्थमन्त्री एवं प्रतिनिधिसभा सदस्य पौडेलले निकट भविष्यमै बुटवल, तिलोत्तमा, सिद्धार्थनगर र आसपासका गाउँपालिका समेटेर महानगरपालिका बन्ने भएकाले महानगरको आवश्यकतालाई पूरा गर्नेगरी प्रशासनिक भवन बनाउन आग्रह गर्नुभयो । 

यस्तै सभाहलसहितको अतिथिगृह शिलान्यास गर्दै प्रतिनिधिसभा सदस्य घनश्याम भुसालले एक हजार अट्ने सभाहल र अतिथिगृहको निर्माणले तिलोत्तमा नगरमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो । 

सो अवसरमा नगर प्रमुख वासुदेव घिमिरेले शिलान्यास गरिएका दुवै भौतिक संरचनाहरुलाई अत्याधुनिक र सुविधासम्पन्न बनाइने बताउँदै सार्वजनिक जग्गालाई संरक्षण गरेर राख्ने सबैलाई धन्यवाद दिनुभयो । उहाँले दुवै भौतिक संरचना निर्माणमा सबैको रचनात्मक सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप