शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लोकतान्त्रिक गठबन्धन  व्यूँत्याउने कसरत

आइतबार, ०७ माघ २०७४, १६ : २३
आइतबार, ०७ माघ २०७४

काठमाडौ–काँग्रेस नेतृत्वमा फेरि लोकतान्त्रिक गठबन्धन  व्यूँत्याउने कसरत शुरु भएको छ । त्यसका लागि काँग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाल गृहकार्यमा जुटेका छन् । 
राष्ट्रियसभा चुनावमा तालमेल गर्ने भन्दै यी दलका नेताहरु लोकतान्त्रिक गठबन्धनलाई व्युत्याउन लागिपरेका हुन् । 

प्रदेश तथा प्रतिनिधि सभा चुनावको समयमा यसैगरि चुनावी तालमेलका लागि भन्दै लोकतान्त्रिक गठबन्धन बनाउने प्रयास भएको थियो ।

त्यसका लागि  मधेशवादी दल, काँग्रेस, रापप्रपा, राप्रपा (प्रजातान्त्रिक) र तत्कालिन लोकतान्त्रिक फोरम (अहिले कांग्रेसमा बिलय भएको) बीच बालुवाटारमा पटक पटक छलफल भएको थियो । तर, सीट बाँडफाँडमा कुरा नमिलेपछि मधेशवादी दल लोकतान्त्रिक गठबन्धनमा सहभागि भएका थिएनन् । 

चुनावमा राप्रपा, राप्रपा प्रजातान्त्रि र काँग्रेसबीच मात्र गठबन्धनको आधारमा तालमेल भएको थियो । मधेशवादी दल गठबन्धनमा नभएपनि काँग्रेससँग केही सीटमा तालमेल भएको थियो । 

औपचारिक रुपमा उनीहरुको बीचमा गठबन्धन नभएपनि सहकार्य शुरुदेखि नै थियो । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले लोकतान्त्रिक गठबन्धनसँग शुरुदेखि नै सहकार्य हुँदै आएकाको भन्दै पुन  गठबन्धन पुनः बन्न सक्ने बताए । तर  सो विषयमा बृदत छलफल हुन नसकेको उनको भनाई छ । 

संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले तीन दलको बीचमा राष्ट्रिय सभा चुनावका लागि छलफल भएपनि गठबन्धन  व्यूँत्याउने खालको कुनै छलफल नभएको दावी गरे । 
उनले भने, ‘गठबन्धनको आवश्यकता त छ ।  तर त्यो भन्दैमा बन्ने कुरा होइन, गठबन्धन बनाउनका लागि धेरै कुरामा विचार गर्नुपर्ने हुन्छ ।’

यता लोकतान्त्रिक गठबन्धन बनाएर चुनाव जाने कि त्यतिकै चुनावमा जाने भन्ने विषयमा राजपा नेपालले राजनीतिक समितिको बैठक बोलाएर छलफल सुरु गरेको छ । बबरमहलस्थित पार्टी कार्यालयमा राजनीतिक समितिको बैठक बसिरहेको हो । 

यस्तै  फोरम नेपालको पनि अनौपचारिक छलफल चलिरहेको छ । यी दुई दलको बैठक सकिएपछि तीन दलको बैठक बस्ने बताइएको छ । 

वाम गठबन्धनले सरकार बनाउने घोषणा गरेपछि लोकतान्त्रिक गठबन्धन सक्रिय भएको हो । मधेशवादी दल स्पष्ट रुपमा लोकतान्त्रिक गठबन्धनतिर लागिसकेको छ । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्यहरु शरतसिंह भण्डारी र अनिल झाले सार्वजनिक रुपमै एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनु भन्दा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड हुनु ठीक हुने बताइसकेका छन् । 
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई लोकतान्त्रिक गठबन्धनको सहयोगमा प्रधानमन्त्री बनाउनु पर्ने बुझेर नै उनीहरुले त्यस्तो अभिव्यक्ति दिएको बताइन्छ । 

मधेशवादी दल र काँग्रेसले लोकतान्त्रिक गठबन्धन ब्युत्याउन लागेको कुरा पछिल्लो राजनीतिक गतिविधिले पनि संकेत गर्छ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख नियुक्त गर्दा त्यसमा दुई जना मधेशवादी दलबाट पनि राखेका छन् । फोरम नेपालले प्रस्ताव गरेका रत्नेश्वर कायस्थ र राजपा नेपालले प्रस्ताव गरेको उमाकन्त झालाई देउवाले प्रदेश प्रमुखमा नियुक्त गरेका हुन् । 
   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप