शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दुई नम्बर प्रदेशको सपथग्रहणमा भाषा विवाद (भिडियोसहित)

आइतबार, ०७ माघ २०७४, १६ : ०५
आइतबार, ०७ माघ २०७४

काठमाडौँ । भाषा विवादमा सधैँ रहँदै आएका दुई नम्बर प्रदेश आज पनि त्यसबाट अछुतो रहन सकेन । 

जनकपुरमा भएको शपथ ग्रहण कार्यक्रममा सो विवाद देखिएको हो । प्रदेश सांसदहरुले आ–आफ्नो मातृभाषामा सपथ लिने तयार भएपछि धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी दीलिपकुमार चापागाईले आ–आफ्नो मातृभाषामा सपथ लिए पनि रेकर्डका लागि नेपाली भाषाको शपथग्रहण पत्रमा हस्ताक्षर गर्नुपर्ने बताएका थिए ।

त्यसपछि प्रदेश सांसदले होहल्ला गरेका थिए । प्रमुख जिल्ला अधिकारको निर्णयलाई कोही स्वीकार गर्न तयार भएनन् । ‘रेकर्डमा मातृभाषाको सपथग्रहण राखिएन भने त्यो शपथग्रहण लिनुको केही अर्थ रहँदैन,’ भन्दै प्रदेश सांसदहरुले त्यसलाई अस्वीकार गरेको प्रदेश सांसद योगेन्द्र राय यादवले जानकारी गराए ।

विवादका कारण केहीबेर शपथग्रहण कार्यक्रम प्रभावित भएको थियो, त्यसपछि प्रदेश प्रमुख रत्नेश्वर कायस्थले सांसदहरुले आ–आफ्नो मातृभाषामा लिएका शपथग्रहणलाई नै रेकर्डमा राख्न निर्देशन दिएपछि मात्र सांसदहरुले शपथग्रहण गरेका थिए । 

एक सय ७ जना सांसदमध्ये ४७ जनाले मैथली, ११ जनाले हिन्दी, २५ जनाले भोजपुरी र २३ जनाले नेपाली भाषामा शपथग्रहण गरेको बताइएको छ । रौतहट, बारा, पर्साका सांसदहरुले भोजपुरी भाषामा शपथ लिएका थिए सर्लाहीदेखि सप्तरीसम्मका अधिकाँश सांसदले मैथली भाषामा लिएका थिए । पहाडी समुदायका सांसदले मात्र नेपाली भाषामा सपथ लिएको बताइएको छ । 

जेष्ठ सदस्य लगनलाल चौधरीले रत्नेश्वर लाल कायस्थबाट नेपाली भाषामा शपथ लिएपछि उनले अन्य सांसदलाई शपथग्रहण गराएका थिए । चौधरीले नेपालीमा शपथग्रहण गराउँदा अन्य सांसदले आ–आफ्नो मातृ भाषामा सपथ लिएका थिए । 

यद्यपि नेपाली भाषाबाहेक अन्य भाषामा शपथग्रहण गर्नुपर्दा प्रदेशसभा सचिवालयमा तीन दिन अघि नै जानकारी गराउनु पर्ने प्रदेशसभा निर्वाचनसम्बन्धी ऐनको दफा ७५ ९२० उल्लेख छ । तर, संसद नभएको हुनाले प्रदेश प्रमुख कायस्थले नै त्यसको निर्णय गरेर शपथ ग्रहण गराएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप