शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘दुश्मन’ देशका दाजुभाई : रोनाल्डिन्हो र मेसी

आइतबार, ०७ माघ २०७४, १५ : १६
आइतबार, ०७ माघ २०७४

‘फुटबल इतिहासकै महान् खेलाडीमध्येका एक रोनाल्डिन्होले ३७ वर्षको उमेरमा यसै साता सन्यास घोषणा गरेका छन् । ’

‘हामी २० करोड जर्मनहरुको देश हौँ,’ आयोजक देश ब्राजिलका पत्रकार फर्नान्डो डुआर्टेले सन् २०१४ को विश्वकप फाइनल सुरु हुनअघि ट्वीटरमा लेखे । ब्राजिललाई नै ६–१ को हार चखाएर जर्मनी फाइनलमा पुगेको थियो । यस्तो पीडा वर्षौँसम्म बिर्सन सकिदैँन । तर ब्राजिलीहरुले भोलिपल्टै बिर्सनुको कारण थियो, फाइनलमा जर्मनीको प्रतिद्वन्द्वी रहेको अर्जेन्टिना । 

ब्राजिलले हारेको भोलिपल्ट नेदरल्याण्डलाई हराएर अर्जेन्टिनाले विश्वकप फाइनलमा जर्मनीसँगको भीडन्त पक्का गरेको थियो । ब्राजिलीहरुलाई जर्मनीसँगको हारले जति पीडा भयो  । त्योभन्दा धेरै पीडा छिमेकी अर्जेन्टिनाले फाइनल यात्रा गरेकोमा थियो । ‘अर्जेन्टिनाले जित्यो भने ब्राजिलीहरु दोस्रोपटक मर्नेछन्,’ ब्राजिलका स्टार फुटबलर रोनाल्डोले ट्वीटरमा लेखेका थिए । 

ब्राजिलले अहिलेसम्म ५ पटक तथा अर्जेन्टिनाले २ पटक विश्वकप जितेको छ । दक्षिण अमेरिकी प्रतियोगितामा भने ब्राजिलभन्दा अर्जेन्टिना अघि देखिन्छ । अर्जेन्टिनाले १५ पटक तथा ब्राजिलले ८ पटक कोपा अमेरिका जितेको छ । यी दुई टोलीबीच आजको मितिसम्म भएका भिडन्तमा ४० खेल ब्राजिल तथा ३८ खेल अर्जेन्टिनाले जितेको छ । २६ खेलमा दुबै बराबर छन् ।  

फुटबल मैदानमा भिड्दा दुश्मनीको भावना रहने गरे पनि ब्राजिल  र अर्जेन्टिनी जनताबीच मैदानबाहिर भने सौहाद्रदपूर्ण सम्बन्ध रहँदै आएको छ । अर्जेन्टिनाका केही चर्चित खेलाडीहरुले ब्राजिली लिगमा खेलेका छन् र दर्शकहरुको माया पाएका छन् । जस्तो कार्लोस टेभेज इङ्ल्यान्ड आउनुअघि ब्राजिलमा खेल्थे । अर्जेन्टिनीहरु छुट्टी मनाउन ब्राजिल जान्छन् र ब्राजिलीहरु अर्जेन्टिना आउँछन् । धेरैले एकअर्काको देशमा घरजम तथा  व्यापार गरेर पनि बस्ने गरेका छन् । ब्राजिलको परम्परागत साम्बा नृत्य तथा संगीत अर्जेन्टिनामा पनि उत्तिकै प्रसिद्ध छ । मित्रताका यी र यस्तै अनगिन्ती डोरीमा यी दुई देशका जनता जोडिएका छन् । फुटबलर उत्पादनका लागि कारखाना सरह मानिएका यी दुबै देशको अर्थतन्त्रमा विश्वभर छरिएका खेलाडीहरुले भित्र्याउने रेमिट्यान्सले ठूलो अर्थ राख्छ । त्यसैले जब फुटबलको कुरा आउँछ, उनीहरु विभाजित भइहाल्छन् । 

‘मेरो फुटबल जीवनमा रोनाल्डिन्होको प्रेरणा र सहयोग दुबै उत्तिकै महत्वपूर्ण छ,’ यसै साता रोनाल्डिन्होले सन्यास घोषणा गरेपछि उनको प्रशंशामा अर्जेन्टिनी कप्तान लियोनल मेसीले भने, ‘मलाई याद छ जतिबेला मेरो करियर सुरु हुँदै थियो । त्यतिबेला उनी टोलीका स्टार थिए । उनले मलाई सधैं भाईजस्तै माया गरे ।’

मेसी अर्जेन्टिनी मात्रै होइनन् । ब्राजिल फुटबलका लागि एउटा कालो रात पनि हुन् । उनको आगमनपछि ब्राजिलका स्टार खेलाडीहरु छायाँमा पर्न थाले । उनले ५ पटक फिफा वर्ष खेलाडीको अवार्ड जित्दाको पछिल्लो १ दशक कुनै ब्राजिली खेलाडीले यो अवार्ड जित्न  सकेनन् । तर के साँचो हो भने, विश्व फुटबलमा उनको आगमन हुनअघिको दशक ब्राजिली खेलाडीहरु चर्चामा थिए । अर्जेन्टिनीहरु छाँयामा थिए । रोमारियो, रोनाल्डो (३ पटक) , रिभाल्डो, रोनाल्डिन्हो (२)र काकाले फिफा वर्ष खेलाडीको अवार्ड जित्दा अर्जेन्टिनाका खेलाडीहरु लामो समय रित्तै रहे । रोनाल्डिन्होले फिफा वर्ष खेलाडीको अवार्ड दुई पटक जिते । सन् २००६ को विश्वकपअघि उनी फिफा वर्ष खेलाडी थिए । त्यसैले उनलाई ब्राजिल र दक्षिण अमेरिकाकै सबैभन्दा ठूला स्टार मानिएको थियो । यी खेलाडीले लामो समय विश्व फुटबलमा तहल्का पिट्ने अनुमान थियो । फ्रान्ससँग पराजित भएपछि ब्राजिल क्वाटरफाइनलबाटै बाहिरियो । रोनाल्डिन्होको वास्तविक खेल यस विश्वकपमा देख्न पाइएन । 

यो विश्वकप मेसीका लागि पहिलो विश्वकप अनुभव थियो । केवल १८ वर्षका मेसीले यस विश्वकपमा सर्बिया विरुद्धको खेलमा एक उत्कृष्ट गोल गर्दै आफ्नो उपस्थिति देखाए । यो, त्यसबेलाको समय थियो । जतिबेला बार्सिलोनाको क्याम्प नोउ मैदानमा रोनाल्डिन्हो हिरो थिए । मेसी भर्खरै आफ्नो छाप छाड्ने कोसिसमा थिए । 

मेसीलाई जसले नजिकबाट चिन्थे । उनीहरुलाई  २ वर्षअघि नै थाहा थियो  । यी खेलाडी एकदिन महान् बन्नेछन्  । तर धेरैलाई शंका थियो । उनीहरुलाई लाग्थ्यो, ‘होचो कद र कलिलो उमेरमा यी खेलाडी ठूला म्याचमा नर्भस हुनेछन् ।’

सन् २००३ को नोभेम्बरमा पोर्टो विरुद्धको मैत्रिपूर्ण खेलमार्फत मेसीले बार्सिलोनाको पहिलो टोलीबाट खेल्न थालेका थिए  । अघिल्लो दिन एल पार्ट एयरपोर्टमा फोटोग्राफर तथा पत्रकारहरुको भीड थियो । उनीहरु ब्राजिलका लागि अन्तर्राष्ट्रिय खेल खेलेर फर्कदैँ गरेका रोनाल्डिन्होको प्रतिक्षामा थिए । लामो कपाल पालेका मेसीलाई यतिबेलासम्म कसैले मार्क गरेको थिएन । 

फुटबलको वायुमण्डलमा रोनाल्डिन्हो र मेसी परस्पर विरोधी नाम हुन् । तर, उनीहरुबीच अत्यन्तै राम्रो सम्बन्ध छ । त्यसैले त मेसीले रोनाल्डिन्होको सन्यास घोषणालगत्तै उनको फुटबल करियर धेरैका लागि प्रेरणादायी हुने विश्वास व्यक्त गरेका छन् । 

हराएको खुसी फर्काउने श्रेय 
‘बार्सिलोनामा आएको परिवर्तनको श्रेय रोनाल्डिन्होलाई जान्छ । त्यो खराब समय थियो र जब रोनाल्डिन्हो आए त्यसपछि चमत्कार भयो,’ मेसीले भनेका छन् । 
सन् २००३ मा पेरिस सेन्ट जर्मेनबाट बार्सिलोना आएका रोनाल्डिन्हो ‘हराएको खुसी फिर्ता गराउने व्यक्ति’ भनेर चिनिन्छन् । उनी आउनुअघि बार्सिलोनाले ला–लिगाको छैटौँ स्थानमा रहेर लिग टुंग्याएको थियो । उपाधि विजेता रियल म्याड्रिडभन्दा बार्सिलोना २२ अंकले पछि थियो । 

रोनाल्डिन्हो क्लब आएको छोटो समयमै घाइते भए त्यसपछि सन् २००३–०४  मा पनि बार्सिलोनाले राम्रो सुरुवात गर्न सकेन । सिजनको पहिलो चरणका खेल सकिदाँ बार्सिलोना लिगको १२ औं स्थानमा थियो । तर बिस्तारै रोनाल्डिन्हो चम्किए । बार्सिलोनाले दोस्रो स्थानमा रहेर लिग टुङ्ग्यायो । रोनाल्डिन्होले १५ गोल गरे । बार्सिलोनाले लिग जित्न नसकेपनि रोनाल्डिन्हो फिफा वर्ष खेलाडीको अवार्डबाट पुरस्कृत भए । 

अर्को सिजन (२००४–०५)  कथा फेरियो । बार्सिलोनाले सन् १९९९ पछि पहिलोपटक लिग जित्यो । त्यसक्रममा दुबै खेलमा चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई हरायो । रोनाल्डिन्हो दोस्रो पटक फिफा वर्ष खेलाडी चुनिए । रोनाल्डिन्होले नै उत्कृष्ट प्रदर्शन गर्दा बार्सिलोनाले अर्को वर्ष पनि उपाधि रक्षा गर्यो । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल च्याम्पियन्स लिग समेत जित्यो । 

हुनतः जित्नुपर्ने धेरै उपाधि उनले बार्सिलोना आउनु अगावै जितिसकेका थिए । सन् १९९९ को कन्फेडेरेशन कपमा उनी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । त्यही वर्ष उनले दक्षिण अमेरिकाको सर्वोच्च फुटबल प्रतियोगिता कोपा अमेरिका जिते । सन् २००२ मा ब्राजिलले विश्वकप जित्दा मिडफिल्डबाट चमत्कार गर्ने खेलाडी रोनाल्डिन्हो नै थिए । इङल्यान्ड विरुद्धको महत्वपूर्ण मानिएको क्वाटरफाइनल खेलमा उनले गरेको प्रदर्शनलाई धेरैले सन् १९८६ को विश्वकपमा म्याराडोनाले गरेको प्रदशर्नसँग दाँजेर हेर्छन्  । म्याराडोनाले अर्जेन्टिनाको जितमा निर्णायक २ गोल गरेका थिए । रोनाल्डिन्होले ब्राजिलको जित निकाल्दा २ गोलमै निर्णायक भूमिका खेले । उनले सेन्टरबाट छलाउँदै दिएको आकर्षक पासमा रिभाल्डोले गोल गर्दै खेल बराबरी गरे । त्यसपछि पहिलो हाफअघि उनले ३५ यार्ड परदेखि फ्रिकिकबाटै सुन्दर गोल गरे । यही खेलमा उनले रातो कार्ड पनि खाए । सबैभन्दा धेरै प्रसिद्धी यसै खेलबाट कमाए । १–० ले पछि परेको ब्राजिललाई विश्वविजेता बनाउने आधार खडा गरे । 

बार्सिलोना आएपछि उनले यस्तै खेल क्लब फुटबलमा देखाए । तर, अन्तर्राष्ट्रियय फुटबलमा आफ्नो पुरानो छवि फर्काउन सकेनन्  । सन् २००६ को विश्वकपमा राम्रो खेल्न नसकेका रोनाल्डिन्होलाई बाहिरै राखेर डुंगाले सन् २०१० को टोली बनाए । सन् २०१४ सम्म आइपुग्दा ब्राजिलमा धेरै युवा खेलाडीहरु जन्मिसकेका थिए । त्यसैले रोनाल्डिन्होले अवसर पाएनन् । 

रोनाल्डिन्हो त्यस्ता खेलाडी थिए । जसले मात्र ३ अंक, उपाधि वा महान् बन्नका लागि खेलेनन् । कुनै निश्चिैत पोजिसनबाट पनि खेलेनन् । सधैँ हँसिलो देखिने उनी फुटबलका प्रचलित मान्यता तोडेर खेल्थे । ठीक, त्यस्तैगरी जसरी कुनै समय म्याराडोनाले खेले । 

विपक्षी टोलीका खेलाडीहरुलाई खेल अवधिभर त्राहीत्राही बनाएर पनि खेलपछि उनीहरुसँगै हाँसेर ठट्टा गर्न रुचाउने स्वभाव रोनाल्डिन्होको थियो । उनी त्यस्ता खेलाडी हन्, जसले रातो कार्ड खाँदा पनि हाँसेरै मैदान छाड्थे । धेरैभन्दा धेरै जिस्कन्थे ।  

ठीक उल्टो, मेसी निकै कम बोल्छन् । ‘सुरुमा हामीलाई मेसी लाटो छ जस्तो लागेको थियो । एक महिनासम्म उनले हामीसँग कुरै गरेनन् ,’ बार्सिलोनाको एकेडेमी ला–मेसियामा मेसीसँगै हुर्किएका जेरार्ड पिकेले ठट्टा गर्दै भनेका थिए । 

फरक देश  र फरक व्यक्तित्वका दुई खेलाडीको बलप्रतिको प्यासन भने उस्तै छ । रोनाल्डिन्होले जस्तै मेसी पनि नियम तोडेरै खेल्न रुचाउँछन् । उनको पनि कुनै निश्चित पोजिसन छैन । मेसी ९० मिनेटसम्म एक शब्द पनि नबोली बलकै सहायताले धेरैभन्दा धेरै आवाज निकाल्छन् । 

मेसीको आगमनमा रोनाल्डिन्होको साथ

पोर्टोविरुद्ध सन् २००३ मा डेब्यु खेलमा मेसीले प्रभावशाली प्रदर्शन गरेका थिए । तर उनले फेरि पहिलो टोलीबाट खेल्न झन्डै एक वर्ष कुर्नुपर्यो । प्रशिक्षक फ्रयाङ राइकार्ड र सहायक प्रशिक्षक हेन्क टेन केटलाई मेसी कति राम्रो खेल्छन् भन्ने थाहा थियो, तर यति हुँदा हुँदै पनि उनका लागि पहिलो टोलीको ढोका खुलिसकेको थिएन । ‘मलाई कहिलेकाँही अचम्म लाग्थ्यो । किन मलाई टोलीमा बोलाइएन । मलाई हतारो थियो,’ सन् २०१३ मा बार्सा टिभीलाई दिएको अन्तर्वार्तामा मेसीले भनेका थिए, ‘अहिले बल्ल मैले अनुभव गरेको छु । राइकार्ड मलाई हतारोमा ल्याएर दबाब दिन चाहन्नथे । उनले उचित समयमा मलाई ल्याउनेबारे सोचेका थिए ।’

बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाको नयाँ महत्वाकांक्षी प्रोजेक्ट जसअन्तर्गत उपाधि जित्ने उद्देश्यले स्यामुयल इटो, रोनाल्डिन्हो, डेको लगायत खेलाडीहरुलाई भित्र्याइएको थियो । यस परियोजनामा मेसी नयाँ सनसनी थिए । गिलिम बालगुको पुस्तक मेसीमा उल्लेख भए अनुसार यी अर्जेन्टिनीले पहिलो दिन गरेको प्रशिक्षणबाटै रोनाल्डिन्हो प्रभावित बनेका थिए । उनले पत्रकार तथा नजिककी साथी क्रिष्ट्रिना कुवेरोलाई बोलाएर त्यतिबेलै भने, ‘मैले भर्खरै त्यस्तो केटासँग प्रशिक्षण गरेँ । जो चाडैँ मभन्दा उत्कृष्ट हुँदैछ ।’ 

रोनाल्डिन्होले प्रशिक्षणका दौरान मेसीको ड्रिब्लिङ र उनको गोल गर्ने कला मात्रै हेरेनन्  । उनलाई केही समय प्रशिक्षण समेत दिएका थिए । मेसीजस्तै कला बोकेर रोनाल्डिन्हो पनि कुनै समय यसरी नै युरोपेली फुटबलमा होमिएका थिए । तर त्योभन्दा बढी उनी अरुका उपलब्धिमा खुसी हुनसक्ने व्यक्ति हुन् । प्रसिद्ध कवि ओस्कार वाइल्डेले भनेजस्तो, ‘साथीको पीडामा सहानुभूति प्रकट गर्ने धेरै हुन्छन् । तर साथीको उपलब्धिमा खुसी हुनका लागि निकै राम्रो स्वभाव चाहिन्छ ।’

यतिबेलासम्म मेसी उनका साथी भइसकेका थिएनन्  । तर उनले के बुझे भने मेसी साँच्चै उत्कृष्ट छन् । एउटा महान् खेलाडीले भविष्यको महान् खेलाडीलाई चिनेको दिन थियो यो । यसपछि मेसी र रोल्नाडिन्हो निकै नजिक भए । अभ्यासका क्रममा ब्राजिली खेलाडीहरु डेको, सिल्भिन्हो, इडमिल्सन र थिएगो मोटा एउटै टेबुलमा हुन्थे । आफ्ना सामानसँगै राख्थे ।  अभ्यासपछि जम्मा भएर हल्ला खल्ला गर्थे । खेल र राजनीतिका कुरा गर्थे ।  अब यहाँ मेसीका लागि  पनि एउटा कुर्सी सधैँ रहने भयो । 

तर मेसी शान्त हुन्थे । रोनाल्डिन्होले पनि उनले मज्जाले कुराकानी गर्छन् भनेर कहिल्यै अपेक्षा गरेका थिएनन् । ‘उनी बस्थे । हेर्थे र लाज मान्दै बेला–बेलामा हाँस्थे । सामानहरु चाडैँ लिएर गइहाल्थे । अरुजस्तो गफ गरेर बस्नो बानी थिएन,’ सिल्भिन्हो स्मरण गर्छन् । 

टोलीका सिनियर खेलाडीहरुको सम्बन्ध फुटबल मैदानभित्र मात्रै सिमित थिएन । ब्राजिली खेलाडीहरु कम्तिमा पनि महिनामा एकपटक एकसाथ डिनरका लागि जान्थे । मेसी पनि यस समूहमा नियमित बने । उनको अर्जेन्टिनी टोन र अन्य विभिन्न विषयलाई लिएर ब्राजिलीहरुले बेला–बेलामा उनलाई जिक्स्याउँथे । यो त्यस्तो समय थियो, जतिबेला रोनाल्डिन्हो उनलाई मैदानबाहिरको जीवन देखाउन चाहन्थे । 

सन् २००४ मा जब बार्सिलोना सन् १९९९ पछि पहिलोपटक उपाधि जित्ने अवस्थामा थियो । लिगको ३४ औँ खेलमा अल्बाकेटले घरेलु मैदानमै बार्सालाई ठूलो चुनौती दियो । १–० ले अघि रहेको बार्साले लिग जित्न्का लिग अंक गुमाउन हुन्थेन । तर रेलिगेसनबाट बच्न संघर्षरत अल्बाकेटले खेलमा फर्कन निकै प्रयास गरिरहेको थियो ।  अल्बाकेटको चुनौती त्यतिबेलासम्म रह्यो । जतिबेलासम्म मेसीले मैदान छिरेनन् । ८८ मिनेटमा मैदान छिरेका मेसीले एक मिनेटमै गोल गरे । रोनाल्डिन्होले विपक्षी खेलाडीहरुलाई छलाएर उपलब्ध गराएको सुन्दर पासमा मेसी गरेको गोल अफसाइड थियो । रेफ्रीले झन्डा देखाइदिएपछि अल्बाकोटका गोलकिपर राहुल भल्बुयनाले फुच्चे मेसीको कपाल सुम्सुम्याएर जिस्क्याएका थिए । 

तर, लगत्तै मेसीले यही खेलमा गोल गरे । त्यो पनि रोनाल्डिन्होकै पासमा । मैदानमा उपस्थित ८० हजार बढी फ्यानहरु चिच्चयाउन थाले । रोनाल्डिन्होले मेसीलाई आफ्नो ढाडमा बोकेर खुसीयाली मनाए । ‘नयाँ संसारमा तिमीलाई स्वागत छ,’ समर्थकहरु मेसीलाई यस्तै यस्तै नारा दिएर हौस्याइरहेका थिए । 

यस सिजन बार्सिलोनाले लिग जित्यो । अर्को सिजन विदेशी खेलाडीको कोटा प्याक भएकाले मेसीले केही समय लिग खेल्न प्रतिक्षा गर्नुपर्यो  । सेप्टेम्बर २००५ मा स्पेनिस नागरिकता लिएपछि मात्रै मेसीले नियमित खेल्न पाए । यसबीच ला–लिगा खेल्न नपाएपनि च्याम्पियन्स लिगमा मेसीले उत्कृष्ट खेले । 

नोभेम्बर २००५ मा भने मेसी र रोनाल्डिन्होको जोडीले धमाका पिट्यो । उनीहरुले उत्कृष्ट खेलेको खेलमा रियल म्याड्रिड उसैको घरेलु मैदानमा ३–० ले पराजित भयो । रियलका समर्थकहरु समेत सिटबाट उठेर ताली बजाउँदै रोनाल्डिन्होको सम्मानमा झुके । यो त्यस्तो क्षण थियो, जतिबेला रोनाल्डिन्हो विश्वकै सर्वोत्कृष्ट खेलाडी थिए । मेसी उनलाई पछ्याउँदै थिए । 

यस सिजन च्याम्पियन्स लिगमा पनि मेसीले उत्कृष्ट खेलेका थिए । तर दुर्भाग्यवस मेसीले चोटका कारण फाइनल गुमाए । उनी स्वास्थ्यलाभ गर्ने कोसिसमा थिए । तर जब सहायक प्रशिक्षक टेन टेकले फाइनलमा उनी टोलीमा पर्दैनन् भनेर जानकारी दिए, त्यतिबेला मेसी निकै रोएका थिए । 

पेरिसमा भएको फाइनलमा आर्सनललाई हराएर बार्सिलोनाले सन् १९९२ पछि पहिलोपटक उपाधि जित्यो । मेसी एक्लै दुखित भएर ड्रेसिङ रुममा बसेका थिए । खेल सकिएपछि रोनाल्डिन्हो, थिएगो मोटा र डेको उनलाई खोज्दै आइपुगे । उनीहरुले ट्रफी ल्याएर मेसीलाई दिए । त्यसपछि उनको खुसी फर्कियो । 

यतिबेलासम्म रोनाल्डिन्हो जीवनकै सर्वोच्च शिखरमा थिए । तर सधैं यस्तो रहेन । सन् २००७/०८ को सिजन बार्सिलोनाले केही जित्न सकेन । प्रशिक्षक फ्रयाङ्क राईकार्डले टोली छाडे । रोनाल्डिन्होमाथि रातभर पार्टी गर्ने र अभ्यासमा ध्यान नदिने गरेको आरोप लाग्न थाल्यो । नयाँ प्रशिक्षक पेप गार्डिओलाले रोनाल्डिन्होको सट्टा मेसीलाई केन्द्रमा राखेर टोली निर्माण गर्ने योजना ल्याए । क्लबका अध्यक्ष जोआन लापोर्टा गह्रो

मन र झन्डै रोकिन लागेको सास बोकेर रोनाल्डिन्होको घर गए । त्यहाँ उनले रोनाल्डिन्होलाई एसी मिलान बेच्न लागिएको खबर सुनाए । 

लगत्तै उनी मेसीको घर आए । रोनाल्डिन्होलाई बेच्ने विषयमा मेसीलाई पनि जानकारी गराए । ‘अब नम्बर १० को जर्सी तिम्रो हुनेछ ,’ उनले मेसीलाई भने । 

मेसीलाई थाहा थियो । उनले अब नयाँ अध्याय सुरु गर्नुपर्नेछ । रोनाल्डिन्हो त्यहाँ हुने छैनन् र यो समय अगाडि बढ्नका लागि हो । यसपछि अहिलेको बार्सिलोना बन्यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप