शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रसुवागढी र साञ्जेनको आइपीओमा किन हुँदैछ विभेद ?

आइतबार, ०७ माघ २०७४, ११ : ३०
आइतबार, ०७ माघ २०७४


काठमाडौं । रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीको साधारण शेयरमा कर्मचारी सञ्चय कोषका कर्मचारी र अरु सञ्चयकर्ताकाबीचमा विभेद हुने भएको छ ।  

कर्मचारी सञ्चय कोषका कर्मचारीलाई पचास प्रतिशत भन्दा बढी शेयर आवेदन दिने व्यवस्था गरेर अरु सञ्चयकर्तालाई मारमा पार्न लागिएको तथ्य सार्वजनिक भएको  छ ।

कोषका सञ्चयकर्ता, नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी, रसुवा जिल्ला समन्वय समिति र गाँउपालिकाका कर्मचारीले शेयरमा आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।  

कोषका कर्मचारीहरुले न्यूनत्तम ५० कित्ता तथा सो भन्दा माथि १० ले भाग जाने गरी अधिकत्तम ५०० कित्ता शेयरमा आवेदन दिन सक्ने व्यवस्था छ । तर कोषका कर्मचारीले भने न्यूनत्तम ५० कित्ता तथा सो भन्दा माथि १० ले भाग जाने गरी अधिकत्तम १ हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

कोष र सम्बन्धित जलविद्युत् कम्पनीले लुकाउँदै आएको तथ्य आज सार्वजनिक भएको हो । शेयर बिक्रीका बारेमा आज सिद्धार्थ बैंकले डिम्याट खाता खोल्ने सम्बन्धमा जारी गरेको सूचनामा कोषका कर्मचारीले भन्दा अरु सञ्चयकर्ताले पचास प्रतिशत कम शेयरमा आवेदन दिन पाउने व्यवस्था रहेको खुलासा भएको छ ।

कोषका कर्मचारीले एक हजार कित्ता शेयर आवेदन दिन पाउनेछन् । अरु सञ्चयकर्ताले भने उनीहरुको तुलनामा ५० प्रतिशत मात्रै साधारण शेयरमा आवेदन दिन पाउने गरी व्यवस्था गरिएको उक्त सूचनामा नै उल्लेख छ ।

कोषका कर्मचारीले एक हजार कित्ता साधारण शेयर आवेदन दिन पाउने र अरुले भने बढीमा ५०० कित्तामा मात्रै आवेदन दिन पाउने भएपछि चर्को विभेद गर्न खोजिएको प्रष्ट भएको हो ।

रसुवागढी हाइड्रोपावर लिमिटेडका प्रमुख माधव कोइराला पनि सो बारेमा बोल्न चाहँदैनन् । कोषका कुनै पनि अधिकारीले प्रतिक्रिया दिन चाहेनन् ।

ऋण दिएकै आधारमा कोषका कर्मचारीलाई बढी शेयर दिइनु शतप्रतिशत गलत देखिएको भएपनि त्यसको कही कतै कुनै सुनुवाई गरिएको छैन ।

कोषका कर्मचारीले यसअघि पनि चिलिमे जलविद्युत् कम्पनीमा अरु सञ्चयकर्ताको भन्दा बढी शेयर लिएका थिए । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा पनि कोषका कर्मचारी नै हावी भएका थिए ।

कोषका कर्मचारी र अरु सञ्चयकर्तालाई विभेद गरिएपनि सो बारेमा कोही कसैले पनि चासो राखेको देखिदैन ।

नियमानुसार २०६८ साल मंसिर २२ गतेसम्म बहाल रहेका र विवरणपत्र स्वीकृत मिति २०७४ पुस २० सम्म थप भएकाले साधारण शेयरमा आवेदन दिन पाउनेछन् ।

रसुवागढी हाइड्रो पावर कम्पनीले १०० अंकित दरको १ करोड ६४ लाख २१ हजार ४० कित्ता साधारण शेयर जारी गर्न लागेको छ । यस्तै साञ्जेन जलविद्युत् कम्पनीले ८७ लाख ६० हजार कित्ता साधारण शेयर जारी गर्न लागेको छ । केही समयभित्रै ती साधारण शेयरको बिक्री खुल्ला गर्ने तयारी गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप