मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता : तामाङ दिदीभाईलाई उपाधि

शनिबार, ०६ माघ २०७४, २१ : ११
शनिबार, ०६ माघ २०७४

भीमदत्तनगर- त्रिभुवन आर्मी क्लबका तामाङ दिदीभाई रत्नजित तामाङ र नङ्शलदेवी तामाङले राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिपअन्तर्गत ३९औँ ब्याडमिन्टन प्रतियोगिताको एकलतर्फको उपाधि जितेका छन् । 

कञ्चनपुरको भीमदत्तनगरमा आज भएको फाइनल खेलमा रत्नजितले एपिएफका दिपेश धामीलाई तथा नङ्शलदेवीले एपिएफकी शिक्षा श्रेष्ठलाई पराजित गर्दै उपाधी हात पारेका हुन् । 

पुरुष एकलमा पहिलो सेटमा एफिएफका धामीले रत्नलाई २१–१९ अंकले पछि पारे भने दोस्रो र तेस्रो सेटमा रत्नले क्रमशः २१–६ र २१–१२ अंकले पछि पार्दै उपाधि जितेका हुन् । योसँगै रत्नले चौथो पटक उपाधि हात पारेका छन् । 

त्यसैगरी, महिला एकलतर्फ एपिएफकी श्रेष्ठलाई २१–१३ र २१–१४ को सोझो सेटमा हराउँदै आर्मीकी नङ्शलदेवीले उपाधि जितीन । उनले लगातार तेस्रो पटक उपाधि जितेकी हुन् । दुबैजना सहोदर दिदी–भाइ हुन् । 

त्यसैगरी, पुरुष डबल्सतर्फ त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र नवीन श्रेष्ठले एपिएफका दिपेश धामी र विजित थापामगरलाई पराजित गरे । तामाङ र श्रेष्ठको जोडीले धामी र थापामगरको जोडीलाई २१–१९ र २१–१४ अंकको सोझो सेटमा पराजित गरे । महिला डबल्सतर्फ पनि त्रिभुवन आर्मी क्लबकै नङ्शलदेवी तामाङ र अनुमाया राईको जोडीले एपिएफका पूजा श्रेष्ठ र शिक्षा श्रेष्ठको जोडीलाई २१–१९ र २१–१५ अंकको सोझो सेटले पराजित गरे । 

त्यसैगरी, मिक्स डबल्सतर्फको पनि उपाधि त्रिभुवन आर्मी क्लबले नै जितेको छ । रत्नजित तामाङ र नङ्शलदेवी तामाङको जोडीले एपिएफका विजित थापामगर र शोभा गौचनको जोडीलाई हराए । पुरुष टिम ईभेन्ट्सतर्फ एपिएफ तथा महिला टिम इभेन्ट्सतर्फ त्रिभुवन आर्मी क्लबले उपाधि जित्यो । 

विजयी खेलाडीलाई कञ्चनपुर क्षेत्र नं ३, प्रतिनिधिसभाका सांसद डा दीपकप्रकाश भट्ट, सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक राजेन्द्र शाक्य, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए । 

प्रतियोगितामा पुरुष÷महिला एकल तथा डबल्स, मिक्स डबल्स र पुरुष÷महिला टिम इभेन्टस् गरी सातवटा स्वर्ण पदकका लागि पाँच विकास क्षेत्र र तीन विभागीय टोलीका ५६ पुरुष र ३५ महिला खेलाडीको सहभागिता रहेको आयोजक कञ्चनपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष लक्ष्मीदत्त पाण्डेले जानकारी दिनुभयो । चार दिनसम्म सञ्चालन भएको सो प्रतियोगिताको सातमध्ये छ वटा स्वर्ण त्रिभुवन आर्मी क्लबले जितेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप