शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश सांसदको शपथ ग्रहणको तयारी पूरा

शनिबार, ०६ माघ २०७४, २० : ४१
शनिबार, ०६ माघ २०७४

बुटवल - सरकारले रुपन्देहीलाई ५ नं प्रदेशको अस्थायी केन्द्र तोकेपछि प्रदेशसभाका सांसदहरुलाई भोलि आइतबार शपथ ग्रहण बुटवलमा गराउने तयारी पूरा भएको छ । 

निर्वाचन आयोगले प्रदेशसभाका लागि समानुपातिकबाट निर्वाचित सांसदहरूलाई शुक्रबार प्रमाणपत्र प्रदान गरेपछि र सातवटै प्रदेशका प्रदेश प्रमुखले राष्ट्रपतिसमक्ष शपथ ग्रहण गरेसँगै सांसदहरुको शपथ ग्रहण कार्यक्रम तय भएको हो । 

आइतबार बिहान ११ बजे बुटवल ५ नं प्रदेशका प्रदेश सांसदहरुलाई उद्योग वाणिज्य संघको सभाहलमा शपथ ग्रहण कार्यक्रम तय भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जानकारी दिए । 

उक्त शपथ ग्रहण कार्यक्रम तथा आफ्नो प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्न आज प्रदेश प्रमुख उमाकान्त झा बुटवल आएका छन्  । उनले आइतबार बिहान १० बजे रुपन्देही व्यापार संघको सचिवालयमा तय गरिएको प्रदेश प्रमुखको सचिवालयमा पदभार ग्रहण गर्ने कार्यक्रम छ । 

पदभारपछि बुटवल उद्योग वाणिज्य संघको सचिवालयमा रहेको सभाहलमा प्रदेशसभाका लागि प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदहरूलाई शपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको छ । ५ नं प्रदेशमा प्रत्यक्ष निर्वाचित ५२ जना र समानुपातिकतर्फ ३५ गरी जम्मा ८७ जना सांसद निर्वाचित भएका छन् । 

प्रदेश प्रमुख उमाकान्त झा बुटवल आउने शपथ ग्रहण गर्ने तथा कार्यक्रमलाई रुपन्देहीको सुरक्षा व्यवस्था कडा गरिएको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम ज्ञवालीले बताए । उनले शपथ ग्रहणस्थल बुटवल उद्योग वाणिज्य संघको सचिवालयमा छुट्टै सुरक्षा युनिट खडा गर्ने बताए । 

रुपन्देहीलाई अस्थायी केन्द्र तोकेपछि यहाँ प्रदेशसभा सञ्चालनका लागि पूर्वाधार तयार पार्न थालिएको छ । 

प्रदेश प्रमुखको सचिवालय, सभास्थल र प्रदेश प्रमुख निवासका लागि व्यवस्थापन भइरहेका भवन डिभिजन प्रमुख सुुरेश ठाकुरले बताए । उपयुक्त पार्किङस्थल रहेको स्थानलाई सभास्थलका रुपमा राखिने भएको छ । प्रदेश प्रमुख निवासका लागि रामनगरमा रहेको सीप विकास केन्द्रको भवन प्रयोग गर्ने तयारी भइरहेको छ । 

प्रदेश प्रमुखको कार्यालय तत्काल व्यवस्थापन गरी अन्य कार्यालयका लागि भवन व्यवस्थापन गर्ने तयारी स्थानीय प्रशासनको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली बताए  । उनले  आफूहरुलाई अहिले समन्वय गर्न मात्र भनेकाले थप काम प्रदेश प्रमुखको कार्यालयका कर्मचारी आएपछि हुने बताए  । 

प्रदेश प्रमुखको सचिवालय र निजी निवाससहित बैठकस्थल निर्माणपछि मुख्यमन्त्रीको सचिवालय र मन्त्रालय राख्ने भवन व्यवस्थापन हुनेछन् । बुटवलका संघसंस्थाले पनि प्रदेशसभा कार्यालयका लागि सचिवालय दिन तयार रहेको बताएका छन् । 

इलाका वन कार्यालय भवनलाई प्रदेश प्रमुखको सचिवालय, निवासका लागि सीप विकास केन्द्र, मुख्यमन्त्रीको कार्यालयका लागि राजश्व अनुसन्धान कार्यालय, सभामुख र उपसभामुख निवासका लागि गहुँबाली अनुसन्धान कार्यालय, मन्त्री निवासका लागि भैरहवा लुम्बिनी भूमिगत जल परियोजनाका भवनहरू प्रस्ताव गरिएको थियो । 

यातायात व्यवस्था कार्यालय, इलाका प्रशासन कार्यालय, आन्तरिक राजश्व कार्यालय, राजश्व अनुसन्धान कार्यालय, नापतौल तथा गुणस्तर कार्यालय, भूमिगत जलस्रोत कार्यालय, श्रम कार्यालय, हाल बन्द अवस्थामा रहेको बुटवल धागो कारखानाका भवन, बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही व्यापार संघलगायतका भवन मन्त्रालयका लागि उपयुक्त हुने टोलीले सिफारिस गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप