डडेल्धुरा जिल्लामा बार्षिक २० मेट्रिकटन मह उत्पादन
डडेल्धुरा– पहाडी जिल्ला डडेल्धुरामा वार्षिक २० मेट्रिक टन मह उत्पादन हुने गरेको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार, जिल्लामा सरदर १५ देखि २० मेट्रिक टन मह उत्पादन हुने गरेको हो ।
पहिलेदेखि नै मौरीपालनतर्फ कृषक लागिरहे पनि पछिल्लो समय मौरीका चरना क्षेत्र विस्तार भएको र मौरीलाई आवश्यक पर्ने चरन क्षेत्र पर्याप्त भएकाले मह उत्पादन बढ्दै गएको अमरगढी कृषि शाखा अधिकृत टेकबहादुर बिष्टले बताए ।
“यस जिल्लामा मौरीपालनको सम्भावना व्यापक रूपमा रहेको छ, उत्पादित महले सजिलै बजार पाउने र आम्दानी राम्रो हुने भएकाले कृषक पनि यसतर्फ आकर्षित भइरहेका छन,” अधिकृत बिष्टले भने । जिल्लामा अहिले करिब १० हजार घारमा मह उत्पादन हुने गरेको छ ।
त्यसमध्ये, ६० प्रतिशत पुराना घार र ४० प्रतिशतमात्रै आधुनिक घारमा मौरीपालन हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । स्थानीय मह उत्पादन गर्दा बजार सजिलै पाउने भएकाले मौरीपालन व्यवसाय सञ्चालन गर्न सहज र आम्दानी राम्रो हुने गरेको अजयमेरु गाउँपालिका–१ खानीका मौरीपालक कृषक लक्ष्मी पाठकले बताए ।
अहिले जिल्लामा करिब ४ सय कृषक मौरीपालन व्यवसायमा आबद्ध छन् । मौरीपालनलाई व्यावसायिक बनाउन कार्यालयले पकेट क्षेत्र तोकेर मौरीपालनका लागि आवश्यक पर्ने घार र तथा युवाहरुलाई २ लाख बराबरको अनुदान र अन्य औजारलाई २५ देखि ५० प्रतिशतसम्मको अनुदानमा कृषकलाई उपलब्ध गराउँदै आएको अधिकृत बिष्टले जानकारी दिए ।
जिल्लाको अमरगढी नगरपालिका परशुराम नगरपालिका,आलिताल गाउँपालिका लालिताल र गांखेत ,नवदुर्गा को चमा, चौड ,अजयमेरु को समैजी, गन्यापधुरा भागेश्वर बगरकोट लगायतका क्षेत्र मह उत्पादनमा पकेट मानिन्छन् । यहाँका कृषकले स्थानीय एपी सेरेना जातको मौरीपालन गर्दै आएका छन् ।
डडेल्धुरामा पछिल्लो समय माहुरीपालन व्यवसाय फस्टाउँदै गएको छ । माहुरीपालनबाटै डडेल्धुराका व्यवसायीले बर्सेनि करोडौँ आम्दानी गर्न सफल भएका छन् । डडेल्धुराका विभिन्न गाउँपालिका र नगरक्षेत्रमा बढ्दै गइरहेको माहुरीपालनका कारण जीवनस्तरमा राम्रो परिर्वतन आएको छ ।
व्यावसायिक मौरीपालनले स्थानीयस्तरमा रोजगारी सिर्जना भएको छ भने मह तथा घार निर्यातका लागि डडेल्धुरा प्रसिद्ध बन्दै गएको छ ।
डडेल्धुरामा आधुनिक र खोपे घारमा मह उत्पादन भइरहेकोे कृषि विकास कार्यालयको तथ्याङ्क छ । मौरीपालक किसानको समूहगत आम्दानी बर्सेनि दसौँ करोड रूपैँया रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । मौरीपालनबाट छोटो समयमै फेरिएको जीवनप्रति यहाँका किसान दङ्ग छन् ।
मौरीपालनप्रतिको आकर्षणलाई ध्यानमा राखी सीप विकास, बजार र चरन प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको सो कार्यालयले जनाएको छ । सिँचाइ सुविधा नचाहिने र कम लगानीमै व्यवसाय गर्न सकिने तथा उच्च बजार सम्भावना भएकाले मौरीपालन व्यवसायमा आकर्षण बढिरहेको कृषि कार्यालयले जनाएको छ ।