शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भूकम्प पीडितमाथि शंखरापुरमा डोजर आतंक !

शनिबार, ०६ माघ २०७४, १३ : ३४
शनिबार, ०६ माघ २०७४

काठमाडौं–शुक्रबार बिहान काठमाडौं शंखरापुर नगरपालिका वडा नं. १ नाङ्लेभारेका डिल्ली प्रसाद दंगाल गहुँ खेतमा पानी लगाउन गएका थिए । बिहान साँढे ११ बजे घर आइपुगे र खाना खाए । खाना खाएर  १२ बजे घर बाहिर निस्किँदा उनको बारीमा एउटा डोजर देखियो । डोजरले भकाभक उनको बारी भत्काइरहेको थियो । डोजरसँगै देखिए वडा नं. १ का वडाध्यक्ष श्याममणि ढुङ्गाना र उनका सहयोगी केदार दाहाल, ध्रुब दाहाल, कञ्चन दाहाल, रामकृष्ण खतिवडा, घनश्याम दाहाल लगायत ।

आफ्नो बारीमा बिना अनुमति वडाध्यक्ष ढुङ्गाना सहितको टोलीले बाटो खनिरहेको देखेर उनी छक्क परे, निःशब्द भए । उनले अचानक यसरी डोजर आएर आफ्नो बारी भत्काउँछ भन्ने कल्पना समेत गरेका थिएनन् ।

उनलाई यसबारे न कुनै पूर्वसूचना गरिएको थियो न त जानकारी नै गराइएको थियो । 

उनले किन बारीमा डोजर चलाएको भनेर प्रश्न गरे, तर वडाध्यक्ष ढुङ्गानाले कुनै उत्तर दिएनन् र आफ्नो बाटो लागे । भीडको अगाडी आफ्नो केही नचल्ने बुझेर उनी निःशब्द भएर बाटो भत्काएको हेरिरहे । 
उनको बारी भत्काउदै गएको डोजर एकैछिनमा भूकम्प प्रभावित मोक्ष प्रसाद दंगालले घर बनाइरहेको ठाँउमा पुग्यो । उनको घरमा जग हालेर सम्पन्न हुने क्रममा थियो । त्यहाँ डोजर पुग्नेबित्तिकै केदार दाहालले उक्त घरको जग भत्काउन डोजर चालकलाई स्थानीय केदार दाहालले निर्देशन दिए । 

दाहालको निर्देशन अनुसार डोजरले बनाइरहेको घरको सम्पूर्ण जग भत्कायो । छेउमा राखिएका निर्माण सामग्री सबै पुरिदिएको उनले बताए । 

डोजर लानु अघि आफूसँग केदार दाहालले जम्मा पारेको समूहले गालीगलौज गर्दै घर बनाए दाहालको घरमा जाने निजी बाटोका लागि ठाँउ नपुग्ने भन्दै दुब्र्यवहार गरेको मोक्षप्रसाद दंगालले बताए । 

केदार दाहाल र रामकृष्ण खतिवडा घरमा बाटो लाने उदेश्यले वडाध्यक्ष ढुङ्गानाले अनाधिकृत रुपमा आफ्नो जग्गामा बिना छलफल डोजर लगाएको डिल्ली प्रसाद दंगाल बताँउछन् । मोक्ष प्रसाद दंगालको घर पछाडि र डिल्ली प्रसाद दंगालको जग्गाको बीचमा रहेको गोरेटो बाटोमा १२ फिटको सडक खोल्ने भन्दै पुस ६ गते शनिवार छलफल गर्ने वडाध्यक्ष ढुङ्गानाले बताएपनि एक दिन अगाडि नै केदार दाहाल, रामकृष्ण खतिवडा र वडाध्यक्ष्यले डोजर लगाएको उनले बताए । उनले भने, यहाँ नियम कानुन भन्ने चिज रहेनछ, निर्धाले बाँच्ने दिन गएछन् । 

अनाधिकृत रुपमा डोजर लगेर मोक्षप्रसाद दंगालको घरको जग पुरिदिएका छन् भने नवराज दंगाल, डिल्ली प्रसाद दंगालको बारीमा क्षति पुर्याएका छन् ।  मोक्षप्रसाद दंगालको बनाइरहेको घर पुर्दा झन्डै ४० हजारको  क्षति भएको छ । 

बिना कुनै योजना वडाध्यक्ष ढुङ्गानाले यसरी ब्यक्तिको घरबारी सिध्याउने उद्देश्यले डोजर लाने काम गैह्रकानुनी भएको माओवादी केन्द्रका स्थानीय नेता राजु दंगालले बताए । उनले भने–‘वडाध्यक्षले मुख्य सडकमा घर बनाइरहेको ब्यक्तिलाई पनि गोरेटो बाटोको सिफारिस गरेका छन्, यो गैह्रजिम्मेवारी काम हो ।’
बाटोको बिषयलाई लिएर स्थानीय कञ्चन दाहाल र रामकृष्ण खतिवडाले कुटपिट गर्ने धम्की दिएको पिडित डिल्लीप्रसाद दंगालले बताए । 

यस्तो छ ऐनमा वडाध्यक्षको काम कर्तब्य र जिम्मेवारी 
श्याममणी ढुङ्गानाले पहिलो पटक स्थानीय तहको जिम्मेवारी सम्हालेका होइनन् । उनले यसअघि २०४८ साल र २०५४ सालमा तत्कालीन नाङ्लेभारे गाबिसको अध्यक्षको जिम्मेवारी समेत सम्हालेका थिए ।

स्थानीय तहमा हुने विकास निमार्णको पद्धती र प्रक्रिया उनलाई थाहा नभएको होइन । तर उनले केही ब्यक्तिको घरमा मोटरबाटो पु¥याउन अनाधिकृत रुपमा डोजर चलाए त्यो उनको कार्यक्षेत्रभित्र पर्दैन् । 
स्थानीय सरकार संचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७४ ले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधीहरुले गर्ने काम, कर्तब्य र अधिकार निर्धारण गरेको छ । 

यस ऐनको दफा १६ को उपदफा ग मा वडा अध्यक्षको काम कर्तब्य र अधिकारको ब्यवस्था गरेको छ । यो ऐनको उपदफा ग मा वडाध्यक्षले आफ्नो वडाको बिकास योजना, बजेट तथा कार्यक्रम तयार गरी स्वीकृतिका लागि गाँउपालिका वा नगरपालिकामा पेश गर्ने ब्यवस्था छ । नगर वा गाँउपालिकाबाट स्वीकृत भएपछि  योजना कार्यान्वयन हुने ब्यवस्था छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप