शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लैंगिक हिंसा प्रभावितद्वारा बनाइएका सामग्रीमा आकर्षण

शनिबार, ०६ माघ २०७४, १३ : ०८
शनिबार, ०६ माघ २०७४

–नारायण ढुंगाना 
 

चितवन- चितवनका अधिवक्ता राजकुमार श्रेष्ठले लैंगिक हिंसा र मानव बेचबिखनविरुद्ध चलाइएको अभियानमा हस्ताक्षर गरेर ऐक्यबद्धता जनाउनुभयो । 

उहाँसँगै रत्ननगर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष गोपाल कर्माचार्य पनि हस्ताक्षर गर्दै हुनुहुन्थ्यो । “यो अभियानले साँच्चै नै सकारात्मक सन्देश दिन्छ, अधिवक्ता श्रेष्ठले भन्नुभयो, अझ मेला महोत्सवमा हस्ताक्षर अभियान चलाउँदा गाउँगाउँमा समेत चेतना पुग्छ ।” 

चितवनको रत्ननगर महोत्सवको मूल गेटमै ‘मानव बेचबिखन तथा लैंगिक हिंसाविरुद्धको अभियान, हामी सदैव अग्रसर रहने प्रतिबद्धता जनाऔँ’ भनेर लेखिएको ठूलो बोर्ड छ । मानव बेचबिखन तथा हिंसाविरुद्धको अभियानमा लागेका र यस्ता प्रभावितलाई उद्धार गर्दै आएको संस्था केआई नेपालले यसरी उक्त अभियान चलाएको हो । एक हप्तादेखि यहाँ अभियान जारी छ । 

महोत्सव हेरेर फर्कन लागेका दर्शकलाई बोलाउँदै अभियानबारे जानकारी दिने र हस्ताक्षर गर्न लगाउने काममा पूर्णिमा श्रेष्ठ र जमुना न्यौपाने खटिरहनुभएको छ । 

सचेतनामूलक पर्चा वितरण अभियान पनि एकसाथ छ । एकै छिनमा एक हुल युवायुवती आएर हस्ताक्षर गर्न थाले । “यस्तो राम्रो क्याम्पियनमा हामी छुट्नु हुन्न” एकजनाले भने । त्यसपछि सबैले हस्ताक्षर गर्नु थाले । 

मुख्य गरी महोत्सवमा धेरै क्षेत्रका मान्छे आउँछन् भनेर नै हामीले चेतना फैलाउन हस्ताक्षर अभियान थालेर प्रतिबद्धता जनाउने काम गरेको केआई नेपाल चितवनका प्रमुख केमिका घिमिरेले बताउनुभयो । 

संस्थाले हिंसा प्रभावित र बेचिएका चेलीको उद्धार गरेर संरक्षण गर्ने काम गर्छ भने विभिन्न ठाउँमा सचेतना अभियान समेत चलाउँछ । प्रभावित महिला, किशोरी तथा बालिकालाई संरक्षण गर्ने, सिप सिकाउने, आत्मनिर्भर गराउने र सम्भव भएसम्म परिवारमा पुनःस्थापितसमेत गराउँदै आएको छ । 

यस्ता घटना शुरुमै रोक्न चेतना अभियानअन्तर्गत हस्ताक्षर शुरु गरिएको संस्थाकी लेखा सहायक पूर्णिमा श्रेष्ठ बताउनुहुन्छ । 

हिंसा प्रभावितले बनाएको सामग्रीमा आकर्षण 

रत्ननगर महोत्सवको ९ नम्बर स्टलमा केआई नेपालले हिंसा प्रभावित किशोरीको सिपबाट निर्माण भएका सामग्रीको प्रदर्शन गरेको छ । कुशन, डल, पेटिकोट, बच्चाका कपडा, खादा, ब्याग, चप्पललगायत सामग्री प्रदर्शन र बिक्रीका लागिसमेत राखिएको छ । यहाँबाट आएको आम्दानी यस्तै हिंसा प्रभावितको उद्धारमा खर्च गर्ने श्रेष्ठ बताउनुहुन्छ । 

स्टलमा सामान बिक्रीमा सपना थापा, अनिता लामा खटिनुभएको छ । दैनिक रु १५ हजारसम्मको बिक्री हुने गरेको छ । संस्थाका अनुसार अहिले पुनःस्थापन गृहमा रहेका २४ जनामध्ये कतिपय सिलाइकटाइ, बुटिक बनाउने, फेसन डिजाइन, डल, कुशन बनाउने काम सिकिरहेका छन् भने कतिपय ११÷१२ मा अध्ययनरत समेत छन् । 

सामान खरिद गरिरहनुभएका सपना शर्माले भनिन्– “हिंसा प्रभावितहरुको पौरखको सम्मान गर्दै अन्य यस्तै प्रभावितका लागि सहयोग पुग्ने भएकाले पनि केही न केही सामग्री खरिद गर्नुपर्ने बताउनुहुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप