शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शोकधून

शनिबार, ०६ माघ २०७४, ११ : ५८
शनिबार, ०६ माघ २०७४

टाढा कतै केही धून बजिरहेको छ । पहाडको उकालो चढेर त्यो धुनले सुस्तरीसुस्तरी मरो हृदयमा झन्कार दिइरहेको छ ।

अस्ताउँदै गरेको घामले प्रकृतिमा सुन्दरताको अजिब कोलाज बनाएको छ । मेलम्ची जाने बाटो, वरपरका गाउँ, धान काटेर बाँझो भएका फाँटहरुमा मलिन किरण पोखिएको छ । बिस्तारैबिस्तारै किरणको दायरा साँघुरिँदै छ, छायाँको आयतन बढ्दै जाँदै छ । यता शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जको वनमा पनि छायाँले अस्ताउँदो घामलाई विस्थापन गर्दै छ । तर, उसलाई न कुनै हतार छ, न आफ्नो गतिलाई रोक्ने प्रयास नै गरिरहेको छ । आफ्नो नियमित गतिमा छ ऊ ।

मलाई कुनै अपरिभाषित पीडाले सताउँछ । जति–जति त्यो धून सघन हुँदै जान्छ, त्यति नै पीडाको आयतन तन्किँदै गइरहेको छ । धर्तीमा घामका सुनौला किरणको आयतन घट्दै गइरहेको छ । कफीको कपबाट बाफ र एस्ट्रेको डीलमा अडिएको चुरोटबाट उडेको धूवाँ समानान्तर आकाशमा बिलाइरहेका छन् । मन अधिर छ । 

काठामाडौं खाल्टोको धूलोले वाक्कदिक्क बनाउँछ । गुम्सिएजस्तो लाग्छ । त्यसैले, थोरै फूर्सत मिल्ने बित्तिकै म वरपरका डाँडाकाँडा उक्लिन रुचाउँछु । काठमाडौंको यस्तै बेचैनीबाट भागेर चैन खोज्न आएको छु, चिसापानी डाँडामा । सुन्दरीजलभन्दा ठीक माथि । सिन्धुपाल्चोक, नुवाकोट र काठमाडौंको सीमानामा पर्ने यो डाँडो लाङटाङ जाने पदयात्रीको एउटा बासस्थल हो । यहाँबाट देखिने हिमश्रृंखलाको लम्बेतान दृश्य, पहाडहरूको भ¥याङ, गाउँबस्ती र खेतहरुको दृश्यले असिम आनन्द दिन्छ । आज यही स्वर्गमा पनि बेचैन भइरहेको छु ।

धून सघन हुँदै गएपछि म त्यसको दिशा पहिल्याउन खोज्छु । पहाडको तलबाट एउटा मानव लस्कर बिस्तारै बिस्तारै डाँडातिर उक्लिरहेको देख्छु । पन्ध्र–बीस जनाको लस्करमा केही लामाहरु छन् । बीचमा हिडिरहेका चारपाँच जना मानिसले काँधमा केही बोकीरहेका छन् । त्यो के हो ? ठम्याउन मलाई समय लाग्दैन । यो मलामीको लश्कर हो ।

बौद्ध धर्मावलम्बीहरुले बजाउने त्यो बाजाबारे मलाई कुनै ज्ञान छैन् । तिनका कस्ता धूनले कस्तो समय वा उत्सव जनाउँछन, म छुट्याउन सक्दिनँ । अहिले यति बुझ्दै छु, त्यो धून मानिसको मनसम्म सजिलै पुग्ने गरी सिर्जना गरिएको रहेछ । नभए, त्यो धुनको अर्थ नबुझ्दै, मलामीको दृश्य नदेख्दै किन मेरो मनमा यति पीडाबोध भएर आउँछ ?

ती लामाहरू कस्तो गीत गाइरहेका छन् ? कुन भाषामा बोलिरहेका छन् ? उनीहरुको गीतमा के अर्थ र रहस्य छ ?

म एकटक लाएर साँझको त्यो धमिलो दृश्य हेरिरहन्छु । ती शवबाहकहरु, ती लामाहरु, ती मलामीको लस्कर । एउटा मुर्त दृश्य तर एउटा अमुर्त चित्र । जसको एउटा साधारण अर्थ छ । अर्थहीन पनि छ, त्यसैले त्यसका हजार अर्थहरु छन् । अर्थ र जवाफ गुमनाम बस्न रुचाउँछन् । भुमिगत भइबस्छन् । तिनीहरुलाई जान्न प्रश्नको हतियार चलाउनु पर्छ । प्रश्न असाध्यै गह्रुंगा हुन्छन्, उचाल्न र चलाउनै नसकिने । ज्ञानको शक्तिले यी प्रश्नहरु चलाउन सक्ने बनाउने हो । ज्ञानले नै प्रश्न गर्न सक्ने बनाउँछ, प्रश्नले नै ज्ञान आर्जनको बाटो खोल्छ । जसलाई जति धेरै अर्थ थाहा हुन्छ, उसँग त्यति नै धेरै प्रश्न हुन्छन् । त्यसैले भनेका हुनसक्छन् आइरिस कवि विलियम बटलर यीट्सले– ‘संसारको समस्या के हो भने विद्वानहरु दुविधाग्रस्त हुन्छन् तर मुर्खहरु आत्मविश्वले पूर्ण हुन्छन् ।’ प्रश्न नसोध्नु, अर्थ थाहा पाउन नखोज्नु सबैभन्दा बुद्धिमानी हो, सबैभन्दा मुर्खता पनि । प्रश्न नसोध्दा कष्ट हुँदैन, अँध्यारोमा रमाउन सकिन्छ । तर, अँध्यारोमा छु भन्ने थाहा पनि हुँदैन । प्रश्न नसोध्नेहरु प्लेटोको कथा ’अल्लेगोरीअफ दि केभ’का ती कैदीहरु हुन, जसलाई गुफाबाहिर उज्यालो संसार पनि छ भन्ने थाहा हुँदैन । तिनलाई उज्यालो नै भ्रम लाग्छ ।

होटलमा भएका अरुको पनि ध्यान त्यतै गइरहेको छ । छतमा अरु पनि मानिस उक्लिएका छन् । केही विदेशी पर्यटक बडो चाख मानेर यो दृश्य हेरिरहेका छन् । लस्कर निकै नै नजिक आइसकेको छ । शवको पछि–पछि हिडिरहेका दुई महिला निकै विह्वल छन् । एक निकै उमेर ढल्किएकी छिन् । अर्की नौजवान महिला, ज्याकेट र जिन्स पाइन्ट लागाएकी । उनको खुला कपाल हावामा उडिरहेको छ, जति उनी रोदनसँगै उकालो उक्लिरहेकी छिन् । उनको नजिकै एक जवानले सानी बच्चीलाई डोहोर्याेइरहेका छन् । 

यो चित्रको अर्थ बुझ्न खास कसरत जरुरी छैन् । तपाईंलाई थाहा भइसकेको हुनुपर्छ, यो कुनै नौजवानको शव यात्रा हो । ती बृद्धा मृतककी आमा हुन्, ती युवती उनकी श्रीमती हुन् । ती बच्ची उनकी छोरी । कस्तो हृदयविदारक ! म चुरोट लगातार तानिरहन्छु, नसकिएसम्म । अनि बाँकी रहेको ठुटो स्ट्रेमा कच्याककुचुक पार्छु । चुरोटको धूवाँ फूर्तिसाथ वायुमण्डलमा प्रवेश गर्छ, र अनन्त हावामा विलय हुन्छ ? के यो मानव जीवनको कुनै विम्ब हो ?

वर्षेनी ११ सय जति काठका बाकस त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्छन् । दिनको ३ वटाको दरले । दैनिक १६ सय हाराहारीमा युवा विदेशिन्छन् । हाम्रा सञ्चारमाध्यमले यो तथ्यांक कम्तीमा केही हजार पटक लेखिसके । तर खास प्रश्न सञ्चारमाध्यमले गर्न सकिरहेका छैनन्, यी युवाको मृत्युमा को जिम्मेवार छ ?

नजिकै उभिइरहेका होटल साहुजीलाई एउटा चुरोटको आग्रह गर्छु, उनी वेटरलाई अह्राउँछन् । चुरोटले कुराकानीको बाटो खोलिदिएको छ ।

’भर्खरको मान्छे मरेको हो र ?’ म सोध्छु ।

‘२५ वर्षको,’ उनी यसरी जवाफ दिन्छन्, मानौं उनलाई कुनै मतलब नै छैन् । साँच्चै मतलब नभएर होइन, उनको बोल्ने शैली हो ।

म सोध्न छोड्दिनँ, ‘ए, २५ मै है, के भ’को रै’छ दाइ ?’

‘खै ! विदेशमा मरेको भन्थ्यो ! तीन वर्ष भा’को थ्यो कतार गा’को ।’

छोटो–छोटो जवाफ दिने होटल साहुजीसँग निकै लामो सोधपुछ गरेपछि थोरै भए पनि जानकारी हात लागेको छ । यी तामाङ युवकका बाबु बेपत्ता छन्, सानो छोरो छोडेर भारत गएका फर्केर आएनन् । थोरै जमिन भए पनि ढुक्कैले खान लाउन पुग्ने परिवार होइन । आमाले हुर्काइन्, पढाइन् । एसएलसी दिए, दुईपटक । पास हुन सकेनन् । गाउँकै युवतीसँग मायाप्रेम थियो, भगाए । एक वर्षमा छोरी जन्मिइन् । छोरी जन्मिँदा उनी यहाँ थिएनन्, कतार पुगिसकेका थिए । एउटी बहिनी छिन्, उनको भन्दा पहिले नै बिहे गरिन् । वर्षौं पुरानो घर भुइँचालोले भत्काएको छ । बनाउन सकेका छैनन् अझै । तीन वर्ष पुरा भएपछि आएर घर बनाउने भन्दै थिए रे ।

हामी नजिकैको घुम्तीबाट मलामीहरुको लस्कर ओझेल पर्छ, ठीक यहीँबाट घामको किरण पनि ओझेल पर्छ । तलबाट चिसो सिरेटोले बेस्कन हान्छ । छतका मानिसहरू ओर्लिन थाल्छन् । म सानो भाँडोमा एक भाँडो (स्मल पट) चिया मगाउँछु । म शोकधुन सुनिरहन्छु । यो धुनको के अर्थ होला ?

एउटा २५ वर्षको युवकको मृत्य यति साधारण कसरी हुनसक्छ ? त्यो पनि अरबको तातो मरुभूमिमा ? एउटा नेपाली युवकले अकालै मर्नुपरे पनि आफ्नी श्रीमतीको काखमा मर्न किन पाउँदैन ?

मलाई दौलतबिक्रम विष्टको उपन्यास ’चपाइएका अनुहार’को एउटा वाक्यले घोच्छ, भित्रैसम्म पीडा दिने गरी । पुस्तकमा कतै उनको पात्र अनन्त भन्छ, ‘हामी नेपाली केवल तोपका आहारा न हौँ ।’ अहिले तोपका नयाँ नयाँ स्वरुप छन्... साउदीको मरुभूमी, मलेसियाका उद्योगहरु, कतारमा विश्वकप फुटबलको तयारीमा बन्दै गरेका संरचना । अफगानिस्तान, इराकका युद्ध । के हामी नेपाली स्वभावैले तोपका आहारा मात्रै हौँ ? कि कसैले हामीलाई तोपको आहारा बनाइरहेको छ ? विष्टले यसबारे लेखेका छैनन् ।

मलाई तथ्यांक थाहा छ, वर्षेनी ११ सय जति काठका बाकस त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्छन् । दिनको ३ वटाको दरले । यही विमानस्थलबाट दैनिक १६ सय हाराहारीमा युवा विदेशिन्छन् । हाम्रा सञ्चारमाध्यमले यो तथ्यांक कम्तीमा केही हजार पटक लेखिसके । अझै कति हजार वा कति लाख पटक लेख्न पर्ने हो कुन्नि ? तर खास प्रश्न सञ्चारमाध्यमले गर्न सकिरहेका छैनन्, यी युवाको मृत्युमा को जिम्मेवार छ ? जब एउटा २२ वर्षको ठीटो रोजगारी खोज्न बाध्य भएर विदेशिन्छ, अनि २५ वर्षको उमेरमा काठको बाकसमा फर्कन्छ भने यसका लागि कोही किन जिम्मेवार ठहरिन्न ? एउटी अबोध छोरीले देख्दै नदेखी आफ्नो बाबु किन गुमाउनु पर्छ ? एउटी २१–२२ वर्षकी युवती किन विधुवा हुन अभिसप्त छे ?

मेलम्चीको पानी काठमाडौंबासीलाई जिस्क्याउन सबैभन्दा उपयुक्त शब्द हो । उनीहरु मतदातालाई यसैगरी जिस्क्याइरहेका छन् । कुनै घोषणापत्रमा लेखिएको छैन, के कारणले मेलम्ची खानेपानी आयोजनाको काम २० वर्षमा पनि सकिँदैन । राष्ट्रिय गौरव भनिएका कुनै पनि आयोजना किन समयमा पुरा हुँदैनन् ? समस्या कहाँ छ ? न प्रश्न कसैले सोध्छ, न जवाफ कसैलाई चाहिएको छ । 

विदेशमा हाम्रा दुतावास छन् र त्यहाँ ‘माननीय’ राजदुत छन् । दैनिक नेपाली मरिरहेको देशमा गएका वा ती देश हेर्ने राजदुतहरु के गरेर दिन काट्छन् ? नेपाली कामदारको मानवअधिकारको, श्रमिक अधिकारको अवस्था कस्तो छ भनेर चिहाउने हिम्मत उनीहर राख्छन् कि राख्दैनन् ? एक जना नागरिकको मृत्यु आफ्नो कार्यक्षेत्रको देशमा हुँदा तिनलाई अलिकति ग्लानी हुन्छ कि हुँदैन ? कि तिनी त्यहाँ सरकारलाई उपहार चढाउने र विदेशी रक्सी उपहार थाप्ने मात्रै गर्छन् ? किन विदेशीएको कुनै नेपालीलाई लाग्दैन कि त्यहाँ आफ्नो देशको दुतावास छ ? त्यो दुतावासले भनेको कुरा त्यहाँको सरकारले मान्छ ?
यतिबेला सिन्धुपाल्चोकमा भर्खरै मात्र चुनाव भइसकेको छ । नुवाकोट र काठमाडौंमा अर्को साता मतदान हुँदैछ । यस्तो बेलामा म यहाँ, एउटा होटलको छतमा बसेर यी प्रश्नहरु मनमा खेलाइरहेको छु । प्रश्नहरु खालि मनमा खेलाउनका लागि मात्रै हुन् कि ? यी कसैलाई सोधेर जवाफ खोज्ने हो ? जो भोट माग्न आउँछन्, तिनीहरुसँग यी प्रश्नको जवाफ छ कि छैन ? जवाफ छैन भने जवाफ खोज्ने जुनुन छ कि छैन ? छैन भने यो रुखो पहाडमा उनीहरु भ्रमको खेती मात्रै गरिहेका छन्, कुनै राजनीति गरिरहेका छैनन् ।

राजनीति गर्नेहरुले हर कुरा थाहा पाउने प्रयत्न गरिरहेको हुनुपर्ने हो, कमिसन र ठेक्कापट्टामात्रै थाहा पाएर हुन्न । तर, यहाँ त राजनीतिको नाममा छलनीति छ, झुटनीति व्याप्त भएझै लाग्छ ।
यही पहाडको फेदीबाट मेलम्ची खानेपानी आयोजनातिर जाने सडक जान्छ । आयोजना सुरु भएको २० वर्षपछि पनि दलहरुले घोषणपत्रमा लेखिरहेका छन्, ‘मेलम्चीको पानी काठमाडौं ल्याइने छ ।’ मानौँ मेलम्चीको पानी काठमाडौंबासीलाई जिस्क्याउन सबैभन्दा उपयुक्त शब्द हो । उनीहरु मतदातालाई यसैगरी जिस्क्याइरहेका छन् । कुनै घोषणापत्रमा लेखिएको छैन, के कारणले मेलम्ची खानेपानी आयोजनाको काम २० वर्षमा पनि सकिँदैन । राष्ट्रिय गौरव भनिएका कुनै पनि आयोजना किन समयमा पुरा हुँदैनन् ? समस्या कहाँ छ ? न प्रश्न कसैले सोध्छ, न जवाफ कसैलाई चाहिएको छ ।

हामी आफूले सोध्नु पर्ने प्रश्नहरु बिर्सन्छौँ । अनि फेरि भोट हाल्न लामबद्ध भएर उभिन्छौँ । यस्तो लाग्छ, हामी नेपाली जीवनमा तीन काम गर्छौं, जन्मिन्छौं, भोट हाल्छौं र मर्छौँ । तर, हामी प्रश्न सोध्दैनौँ । आमजनता मात्रै होइन, सञ्चारमाध्यम प्रश्न सोधिरहेका छैनन् । बौद्धिकहरू प्रश्न सोधिरहेका छैनन् । 


हामी जनता, एक थान संविधान पाएका छौँ, भोट हाल्न पाएका छौँ । पासपोर्ट बनाएर सजिलै विदेश जान पाएका छौँ । केही दलालहरु छन्, जो नेताको नजिक बस्छन्, नीति निर्माण गर्ने र कार्यान्वयन गर्ने राज्यका अंगहरुलाई प्रभावित बनाउँछन्, म्यानपावर चलाउँछन् । केही नेताहरु छन्, यिनै आयोजनाको नामको गाडी चढ्छन्, मोटरमा पेट्रोल भर्छन्, तिनै दलालको सेवा गर्छन र भोट माग्न आउँछन् । हामी आफूले सोध्नु पर्ने प्रश्नहरु बिर्सन्छौँ । अनि फेरि भोट हाल्न लामबद्ध भएर उभिन्छौँ । यस्तो लाग्छ, हामी नेपाली जीवनमा तीन काम गर्छौं, जन्मिन्छौं, भोट हाल्छौं र मर्छौँ । तर, हामी प्रश्न सोध्दैनौँ ।
आमजनता मात्रै होइन, सञ्चारमाध्यम प्रश्न सोधिरहेका छैनन् । बौद्धिकहरू प्रश्न सोधिरहेका छैनन् । उनीहरु सोधिरहेका छैनन्, ‘यी युवा २५ वर्षको उमेरमा कतारमा किन मरे ?’

मेरै उमेरको एउटा युवा किन खाडीको मरुभूमिमा ज्यान गुमाउन अभिशप्त छ ? म चिन्तनको ऐनामा आफ्नो अनुहार हेर्न खोज्छु । पत्रकारिता आज प्रश्न कम, चाकडी बढी भएको छ । हामीसँग आफ्नो स्रोतहरुसँग जोरी खोज्ने न उत्प्रेरणा छ, न ऊर्जा छ । हामी स्रोतलाई खुशी पार्न चाहन्छौं, उनीहरुको सेवा गर्न तत्पर छौँ । बदलामा सानातिना लाभ, पुरस्कार वा सम्मानमा खुशी हुन्छौँ । हामी खुशी हुन जानेका छौँ । प्लेटोले उल्लेख गरेका गुफाका कैदीहरु एकदमै खुशी थिए । उनीहरुसँग प्रश्न थिएन । जिज्ञासा थिएन । मुक्तिको सपना थिएन । केवल आनन्दै आनन्द थियो । पीडा त त्यसलाई भयो, जसलाई गुफा बाहिर निकालियो । जसले जान्यो कि मेरो जुनी त अन्धकारमा बितिरहेको रहेछ । यस्तो उज्यालो संसार पनि रहेछ । सुर्य पनि रहेछ । लाग्छ, हामीलाई यो दुःख अस्वीकार्य छ । गुफाको परमानन्दमा हामी लीन भइरहन तयार छौँ ।


छ बजे झमक्कै रात परिसक्छ । चिसो सिरेटोले मेरो एकाग्रता तोडिदिन्छ । कलीलो जुनको चिसो उज्यालोमा धमिलो धर्ती देखिन्छ । आकासमा जुनसँगै ताराहरु देखिन्छन् । म फेरि अघिको शोकधुन सम्भ्किन्छु, के त्यो शोकधून प्रश्नहरुको मृत्युमा बजिरहेको शोकधुन हो ? ती मलामी तमाम प्रश्नहरुका मलामी हुन् ? के म स्वयं एउटा मलामी हुँ, प्रश्नहरुको ? हर दिन केही नगरी साँझसाँझ उमेरको उकालो चढिरहेको प्रश्नहरुको मलामी हौँ ?

प्रश्नहरुको शोकधून कहिलेसम्म बजिरहने हो हाम्रो समाजमा ? मलाई व्युँझन मन छ । तर, व्युँझन सकिरहेको छैन् । ऐँठनमा छु म ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहेज खतिवडा
रोहेज खतिवडा

खतिवडा पत्रकार हुन् ।

लेखकबाट थप