बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बच्चा जन्माएपछि परिवार नियोजनका कुन अस्थायी साधन प्रयोग गर्ने ?

शनिबार, ०६ माघ २०७४, ११ : ४३
शनिबार, ०६ माघ २०७४

डा. ज्ञानेन्द्रमानसिंह कार्की
स्त्रीरोग विशेषज्ञ

आइयुसिडी
यो महिलाको पाठेघरमा राख्ने साधन हो । यसलाई महिला प्रसूति भएपछि साल निस्कनासाथ १० मिनेटभित्र राख्नुपर्छ । नभ्याएमा बच्चा जन्मेको ४८ घन्टाभित्र, शल्यक्रिया गरिएको समयमा, सुत्केरी भएको चार हप्तापछि पनि पाठेघरमा राख्न सकिन्छ । एकपटक राखेपछि यसले १२ वर्षसम्म काम गर्छ । आइयुसिडी ९९ प्रतिशत प्रभावकारी मानिन्छ । यदि महिलालाई पुनः गर्भधारण गर्न मन लागेमा तालिमप्राप्त स्वास्थ्यकर्मीमार्फत सहज रूपमा निकाल्न सकिन्छ । बच्चाको स्तनपानमा यसले कुनै पनि असर गर्दैन ।

इम्प्लान्ट
इम्प्लान्ट महिलाको पाखुरामा दक्ष चिकित्सकबाट राख्ने गरिन्छ । स्तनपान गराइरहेका महिलाले बच्चा जन्माएको ६ हप्तापछि इम्प्लान्ट प्रयोग गर्न सक्छन् । इम्प्लान्ट एकपटक राखेपछि पाँच वर्षसम्म काम गर्न सक्छ । यो पनि प्रभावकारी हुने र आवश्यक परे पुनः गर्भधारण गर्न सकिने हुन्छ । यसको प्रयोगले बच्चामा स्तनपानको असर पर्दैन ।

स्तनपान
बच्चा जन्माएको ६ महिनासम्म पूर्ण स्तनपान मात्र गराए पनि गर्भधारण हुनबाट बचाउँछ । यो विधि प्रभावकारी बनाउन बच्चालाई पूर्ण रूपमा स्तनपान मात्रै गराउनुपर्दछ । बच्चालाई अन्य खाना वा झोल खुवाउनु हुँदैन । बच्चा ६ महिनाभन्दा कम उमेरको हुनुपर्छ । गर्भधारण नहुनका लागि यो समयमा महिलाको महिनावारी फर्केको हुनु हुँदैन । यी सबै अवस्था पूरा भए गर्भ नरहने सम्भावना ९८ प्रतिशत हुन्छ । यीमध्ये कुनै एउटा प्रभावकारी भएन भनेचाहिँ गर्भ रहन सक्छ ।

तीनमहिने सुई
गर्भ रोक्न महिलाले प्रत्येक तीन–तीन महिनामा सुई लगाउनुपर्छ । स्तनपान गराइरहेका महिलाले बच्चा जन्मिएको ६ हप्तापछिबाट मात्रै यो सुई लगाउन मिल्छ । यसको प्रभावकारिता पनि अरूको जस्तै हुन्छ ।

पिल्स
यो प्रत्येक दिन एउटै समयमा एक चक्की खानुपर्छ । बच्चालाई स्तनपान नगराउने महिलाले मात्रै पिल्स प्रयोग गर्नुपर्छ । सामान्य प्रयोगकर्ताहरूमा ९२ प्रतिशत प्रभावकारी हुन्छ । यसमा भएको औषधिले आमाको दूधको मात्रा घटाउने गर्छ । त्यसैले स्तनपान गराउने महिलाले प्रयोग गर्नु हुँदैन।

कन्डम
कन्डम पुरुषले प्रयोग गर्ने अस्थायी साधन हो । यो कुनै पनि समयमा प्रयोग गर्न सकिन्छ । सामान्य प्रयोगकर्तामा यसको प्रभावकारिता ८५ प्रतिशत रहेको पाइन्छ । यसको प्रयोगले स्तनपानमा कुनै समस्या पार्दैन । कन्डम प्रयोगले एचआइभी एड्सबाट समेत बचाउँछ ।

नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप