शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गर्भवती छिन् यी प्रधानमन्त्री

शनिबार, ०६ माघ २०७४, ०९ : ५७
शनिबार, ०६ माघ २०७४

कुनै पनि देशका प्रधानमन्त्रीको समाचारले सञ्चारमाध्यममा सनसनी मच्चाउनु नयाँ कुरा होइन । त्यसमाथि पनि विकसित राष्ट्रका विशिष्ट व्यक्तिको समाचारले मिडियामा प्रचारबाजी पाउनु सामान्य नै हो । तर, शुक्रबार सञ्चारमाध्यममा आएका समाचार सामान्य नै भए पनि यसको अर्थ भने अलि बेग्लै छ । समाचारसँगै जोडिएका दृष्टिगत विचार विषयगत हुन सक्छन् । व्यक्तिपिच्छे फरक पर्ने विषयगत आकलन र अवधारणाभन्दा वस्तुस्थितितर्फ जानु मनासिब होला ।

समाचार हो, अस्ट्रेलियासँगै जोडिएको राष्ट्र न्युजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डेनको । सामाजिक सञ्जालमा निकै सक्रिय रहेकी प्रधानमन्त्री आर्डेनले आफ्नो समाचारको विषय प्रस्तुति गर्न अपनाएको शैलीले सबैलाई चकित बनाएको छ । उनले आफ्नो कुरा गोप्य कुरा खोल्न फेसबुक पेज प्रयोग गरिन् । उनले फेसबुकमार्फत आफू गर्भवती भएको जानकारी दिइन् ।

‘हामीलाई सन् २०१७ निकै महान् भएको लागेको छ । हाम्रो टिम दुईबाट विस्तार भएर तीनमा पुग्ने भएकाले क्लार्क (मेरा श्रीमान्) र म निकै उत्साहित भएका छौँ । अनि हामी पनि धेरै बुबाआमाजस्तै दुईवटा जिम्मेवारी बहन गर्ने समूहमा सामेल हुन लागेका छौँ । म प्रधानमन्त्री र आमा बन्नेछु । क्लार्क बच्चा सम्हाल्ने पहिलो व्यक्ति बन्नेछन् । मलाई थाहा छ, यस विषयमा धेरै प्रश्न उठ्नेछन् अनि हामीले ती सबै प्रश्नको उत्तर दिनुपर्नेछ । म तपाईंलाई आश्वस्त पार्न चाहन्छु कि हामीले सबै तयारी गरेर नै योजना बनाएका छौँ । तर, अहिले सन् २०१८ लाई नै पर्खौं,’ फेसबुक पेजमा प्रधानमन्त्री ज्यासिन्डा आर्डेनले लेखेकी छन् ।

करिब दुई लाख लाइक रहेको उनको फेसबुक पेजमा त्यसकै हाराहारीमा फलोअर छन् । यो सामग्री तयार गर्दासम्म ४५ हजारभन्दा बढी लाइक पाएको उनको सो स्टाटस चार हजार पाँच सयभन्दा बढीपटक सेयर भएर निकै लोकप्रिय बनेको देखिएको छ ।

को हुन् ज्यासिन्डा आर्डेन ?
सन् १९८० जुलाई २६ मा जन्मिएकी ज्यासिन्डा न्युजिल्यान्डकी चालीसौँ प्रधानमन्त्री हुन् । सन् २०१७ अगस्ट २६ मा प्रधानमन्त्रीको कार्यभार सम्हालेकी आर्डेन लेबर पार्टीबाट राजनीति गर्छिन् । उनीभन्दा पहिले न्युजिल्यान्डबाट दुईजना महिलाले प्रधानमन्त्रीको कार्यभार सम्हालिसकेका छन्।

सन् २००८ मा भएको निर्वाचनमा उनी पहिलोपटक सांसद निर्वाचित भएकी थिइन् । उनी संसारकै सबैभन्दा कम उमेरकी महिला सरकार प्रमुख हुन् । युनिभर्सिटी अफ वाकिकातोबाट सन् २००१ मा ग्य्राजुएसन गरेकी आर्डेनले त्यसपछि भने अनुसन्धाताका रूपमा काम गरिन् ।

देशको सर्वोच्च पदमा आसीन भएर गर्भवती हुने सौभाग्य पाउने ज्यासिन्डा पहिलोपटक आमा बन्न लागेकी हुन् । लेबर पार्टीकी नेता ज्यासिन्डा प्रेमी क्लार्क गेफोर्डसँगको सम्बन्धबाट आमा बन्ने निश्चित भएको छ । उनले सुत्केरी हुने समय उल्लेख भने गरेकी छैनन् । तर, विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उनले आगामी जुन महिनामा सन्तानको मुहार हेर्ने अवसर प्राप्त गर्ने उल्लेख गरेका छन् । केही हप्तापहिले आफू गर्भवती भएको उनले निश्चित गरेको बताइएको छ ।

जुन महिनामा आमा बन्ने अपेक्षा गरेकी आर्डेन न्युजिल्यान्डकी तेस्री महिला प्रधानमन्त्री हुन् । सन् २०१७ को अक्टोबर महिनामा कार्यभार सम्हालेकी उनलाई सो वर्ष निकै फापेको देखिन्छ ।

३७ वर्षीया प्रधानमन्त्री आर्डेनले आफने युगल जोडीका लागि यो समाचार निकै नै विशेष भएको प्रतिक्रिया दिएकी छिन् । सबैको सहयोगविना आफूहरू बच्चा हुर्काउन सक्षम नरहने पनि उनले बताएकी छिन् । भनिन्छ, आमा बनेपछि महिला पूर्ण हुन्छिन् । महिलाहरूलाई यो समाचारले निकै खुसी तुल्याउँछ । प्रधानमन्त्री आर्डेनले पनि आमा बन्न लागेकोमा औधी खुसी प्रकट गरेकी छन् । ‘हामी दुवैजना धेरै खुसी छौँ । हामी परिवार होस् भन्ने चाहन्थ्यौँ, तर भइरहेको थिएन । हामीलाई पत्यार लागिरहको थिएन । यति चाँडै होला भनेर हामीले अपेक्षा गरेका थिएनौँ, तर हामी उत्साहित छौँ,’ उनले भनेकी छिन् ।

क्लार्क गेफोर्ड प्रधानमन्त्री आर्डेनका ब्वाइपे्रmन्ड हुन् । उनी रेडियो र टेलिभिजनका कार्यक्रम प्रस्तोता हुन् । गेफोर्डले स्थानीय टेलिभिजनमा ‘फिस अफ द डे’ नामक ‘फिसिङ सो’ सञ्चालन गर्दै आएका छन् । उनको यही सोलाई लक्षित गर्दै आर्डेनले पनि फेसबुक स्टाटसमा आफ्ना प्रेमीलाई ‘फस्र्ट म्यान अफ फिसिङ’ हुने उल्लेख गरेकी छन् । यो समाचारले प्रेमी गेफोर्डलाई पनि आफूलाई जत्तिकै खुसी बनाएको बताएकी छिन् ।

प्रधानमन्त्री आर्डेन गर्भवती भएसँगै न्युजिल्यान्डको सरकार प्रमुखको काम कसले गर्ने ? बच्चा जन्मिएपछि उनी कति समय बिदामा बस्लिन् जस्ता विषयमा पनि चर्चा उत्तिकै छ । यी प्रश्नको जवाफका लागि उनले एक वक्तव्य नै जारी गरेकी छन् । उपप्रधानमन्त्री विन्स्टन पिटर्सनलाई उनले कार्यवाहक प्रधानमन्त्रीको काम गर्न बिहीबार आग्रह गरेको उल्लेख गरेकी छन् । बच्चा जन्मिएको ६ हप्तासम्म प्रधानमन्त्रीको काम गर्न उनले पिटर्सनलाई आग्रह गरिसकेकी छिन् । सो अवधिमा पनि आफू तत्काल सम्पर्कमा रहने र जतिसुकै वेलासमेत काममा सहयोग गर्न उपलब्ध हुने उनको भनाइ छ ।

‘म पूर्ण रूपमा सम्पर्कमा नै रहनेछु र आवश्यक परेको जुनसुकै वेला पनि उपलब्ध हुनेछु,’ उनले भनेकी छिन्, ‘मेरा अन्य जिम्मेवारीका लागि पनि मैले उपयुक्त मन्त्रीहरूको व्यवस्थापन गर्नेछु ।’ तर संसद्का गतिविधिमा भने आफू सक्रिय नहुने उनले उल्लेख गरिसकेकी छन् । ६ हप्तापछि भने उनी प्रधानमन्त्रीको काममा फर्कनेछिन् । ‘म विदेशमा रहेका वेलाको जस्तै प्रसूति बिदाका समयमा पनि पिटर्सनले नै मेरो जिम्मेवारी सम्हाल्नेछन् । उनी र मबीच बारम्बार सम्पर्क भइरहनेछ,’ उनले भनेकी छन् । उनले आफूहरूको बच्चाको केयरगिभरका रूपमा प्रेमी क्लार्क घरमै बस्ने बताएकी छिन् ।

प्रधानमन्त्रीको निर्वाचन हुनुभन्दा करिब सात हप्ताअघि लेबर पार्टीको नेता रहेकै वेला पत्रकारहरूले उनलाई दुईपटकसम्म सन्ततिको योजनाका विषयमा प्रश्न सोधेका थिए । देशको सर्वोच्च पदमा रहेका व्यक्तिले प्रसूति बिदा लिनु कत्तिको स्वीकारयोग्य हुन्छ भनी मार्क रिचार्डसनले प्रश्न गरेका थिए । के धेरैजसो कम्पनीका मालिक आफ्ना कामदारको सन्तति योजनाबारे जानकार हुन चाहन्छन् भन्ने प्रश्न पनि उनले गरेका थिए ।

राजनीतिक जीवनमा पारिवारिक जीवन सुरु गर्न निकै कठिन हुने अनुभव सुनाएकी आर्डेनले यस्ता प्रश्नको उत्तर दिन आफूलाई निकै खुसी लाग्ने गरेको बताउँदै आएकी थिइन् । ‘राष्ट्रको सर्वोच्च पदमा आसीन भएर परिवारको योजना बनाउन अन्य महिलाका लागि सन् २०१७ मा पूर्ण रूपमा स्वीकार्य भएन । यो प्रश्नको उत्तर महिलाले दिनुपर्छ,’ उनले भनिन् ।

उनले दिएको उत्तरले धेरै मानिसलाई घचघच्याएको हुन सक्छ । केही मानिसले न्युजिल्यान्डको कानुनतर्फ औँला उठाएका छन् । त्यहाँको कानुनअनुसार गर्भावस्थाका आधारमा कुनै पनि विभेद गर्नु गैरकानूनी मानिन्छ ।

राष्ट्रको सर्वोच्च पदमा आसीन भएर गर्भवती बन्ने सौभाग्य निकै कम महिलाले मात्रै प्राप्त गरेका छन् । यसअघि पाकिस्तानकी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टो पनि सरकार प्रमुखको पदमा बहाल अवस्थामै गर्भवती भएकी थिइन् ।

-नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप