शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

साञ्जेन र रसुवागढीको सेयर निष्कासन समय सर्‍यो

शनिबार, ०६ माघ २०७४, ०६ : ५९
शनिबार, ०६ माघ २०७४

काठमाडौं - साञ्जेन र रसुवागढी जलविद्युत् कम्पनीको साधारण सेयर (आइपिओ) बिक्री गर्ने समय एक महिना पर धकेलिएको छ । रसुवागढी हाइड्रोपावर लिमिटेडका प्रमुख माधव कोइरालाले कम्पनी रजिस्ट्रार कार्यालयलाई केही कागजात बुझाइएको र केही कागजात बुझाउन बाँकी रहेको जानकारी दिए । आजको नयाँ पत्रिकामा खबर छ ।

कम्पनीले केही दिनपहिले वार्षिक साधारणसभा सम्पन्न गरेर आइपिओ जारी गर्ने प्रस्ताव पारितसमेत गरिसकेको छ । फागुनको पहिलो साता आइपिओ जारी हुने उनले बताए । उनका अनुसार नियमानुसार आइपिओ जारी गर्नुभन्दा २१ दिनपहिले आह्वानपत्र सार्वजनिक गर्नुपर्ने भएकाले पनि केही समय लागेको हो ।

रसुवागढीले १ अर्ब ६४ करोड २१ लाख ४ हजारबराबरको १ करोड ६४ लाख २१ हजार कित्ता र साञ्जेनले ८७ करोड ६० लाखबराबरको ८७ लाख ६० हजार कित्ता सीमित आइपिओ निष्कासन गर्न लागेको हो । धितोपत्र बोर्डले साञ्जेनलाई २६ मंसिर र रसुवागढीलाई २० पुसमा आइपिओ निष्कासनको अनुमति दिएको थियो ।

दुवै कम्पनीले पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी लिमिटेड र रसुवा जिल्लाका स्थानीय निकायका कर्मचारीलाई २ अर्ब ५१ करोड ८१ लाखबराबरको २ करोड ५१ लाख ८१ हजार कित्ता आइपिओ बिक्री गर्ने तयारी गरेको छ ।

रसुवागढी हाइड्रोको साधारण सेयर निष्कासनको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । यस्तै सहायक बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड, सिद्धार्थ क्यापिटल लिमिटेड र एनआइबिएल क्यापिटल लिमिटेड रहेका छन् । साञ्जेनको भने बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप