शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टीमा महत्वपूर्ण योगदान दिएकालाई राष्ट्रियसभाको उम्मेदवार बनाउने काँग्रेसको निर्णय

शुक्रबार, ०५ माघ २०७४, २२ : १९
शुक्रबार, ०५ माघ २०७४

काठमाडौँ- नेपाली काँग्रेसले राष्ट्रियसभा निर्वाचनको उम्मेदवार चयनका लागि केन्द्रीय कार्य समितिमा आएका सुझावलाई ध्यानमा राखी पार्टीमा महत्वपूर्ण योगदान दिएकालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

पार्टीको केन्द्रीय कार्य समितिको आज सम्पन्न बैठकले आगामी केन्द्रीय कार्य समितिको निर्वाचन समीक्षा बैठकमा प्रस्तुत गर्न पार्टीका गाउँ, नगर, क्षेत्र, जिल्ला कार्य समितिले सम्बन्धित तहको बैठकमा भएको समीक्षा तथा निर्णयसहित र प्रदेशसभा र प्रतिनिधिसभाका प्रत्यक्ष तर्फका पार्टीका उम्मेदवारलाई एक महिनाभित्र केन्द्रमा लिखित प्रतिवेदन पेश गर्नका लागि निर्देशन दिने निर्णय गरेको छ । 

दुई दिनदेखि जारी बैठकले दशकौँसम्मको अथक संघर्ष प्राप्त उपलब्धिलाई जगैदेखि संस्थागत र सुदृढ गर्ने अवसर स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनबाट प्राप्त भएको ठहर गरेको बैठकपछि पार्टी सचिव डा प्रदीप पराजुलीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

सम्पन्न निर्वाचनले नेपालको नयाँ संविधानलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने बाटोमा लगेको उल्लेख गर्दै समावेशी लोकतन्त्र, सम्प्रभु जनताको गणतन्त्र एवं समता र सामाजिक न्यायमा आधारित लोकतान्त्रिक समाजवाद र समृद्ध नेपाल निर्माणको बलियो आधारशिला खडा गर्ने काम भएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । 

संविधानको सफल कार्यान्वयनबाट जनतालाई सुशासन र आर्थिक समृद्धि प्रत्याभूत गर्न एवं मुलुकलाई स्वाधीन, स्वाभिमानी र समुन्नत बनाउँदै लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक एवं समृद्ध नेपाल बनाउन तीनै तहको निर्वाचन कोशेढुंगा साबित भएको उल्लेख छ । 

बैठकले अत्यन्त उत्साह, संयम र धैर्यताका साथ आफ्नो मत दिनुहुने मतदाताको साथ, सहयोग र समर्थनले नेपाली काँग्रेसलाई थप प्रेरणा मिलेको निष्कर्ष निकालेको छ । 

बैठकले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण जिम्मेवारी पूरा गरी संविधान कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गरेकामा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारलाई धन्यवाद दिएको छ । 

राष्ट्रिय जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने निर्वाचन आयोग, निर्वाचन सफल बनाउनमा अहोरात्र खटी उल्लेखनीय सहयोग पु¥याउनुहुने राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, पत्रकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकलगायत उत्साहजनक सहभागिता जनाई मतदानलाई पनि धन्यवाद दिएको छ । 

बैठकले संविधान निर्माणपछि तराई–मधेशमा उत्पन्न समस्यालाई समाधान गरी सबै पक्षलाई सहभागी गराउन सक्नु काँग्रेस नेतृत्वको सरकार र सिंगो पार्टीको सफलता भएको ठहर गरेको छ । 
प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरवहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा काँग्रेसको नेतृत्वमा निर्माण भएको संविधान कार्यान्वयनको एउटा महत्वपूर्ण चरण नेपाली काँग्रेसकै नेतृत्वमा पूरा भएको उल्लेख छ । 

बैठकमा पार्टी सभापति देउवाले बैठकमा लामो संक्रमणकाल अन्त्य गर्न प्राप्त सफलताका लागि प्रधानमन्त्री एवं पार्टी सभापतिको हैसियतले पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र साथीहरुमा बधाई ज्ञापन गरेका थिए  । 

उनले निर्वाचनमा पार्टीले आशातीत सफलता प्राप्त गर्न नसकेको भन्दै उक्त विषयमा व्यापक रुपले गम्भीर समीक्षा÷छलफल एवं अन्तरक्रिया गर्न जरुरी बताएका थिए  । 

सभापति देउवाले खुला ढंगले समीक्षामा सहभागी हुन आग्रह गर्दै निकट भविष्यमा पार्टीको महासमितिको वैठक बताउनुभएको विज्ञप्तिमा उल्लेख छ । उहाँले राज्यको नयाँ संरचनाअनुसार पार्टीको विधानमा संशोधनका साथै नयाँ रक्त सञ्चार हुने गरी पार्टीको आगामी रणनीति तय गर्न उक्त महासमितिले नीतिगत र वैधानिक दिशा निर्देश गर्ने विश्वास व्यक्त गरेका थिए  । 

सभापति देउवाले यही माघ २४ गतेका लागि निर्धारित निर्वाचनका लागि उम्मेदवारी चयन र चुनावको तयारीमा केन्द्रित हुनुपर्ने भन्दै केही दिनमै केन्द्रीय कार्य समितिको फेरि अर्को बैठक बोलाई पुनः छलफल र बहस गरिने बताएका थिए  । 

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, चित्रलेखा यादव, पूर्णबहादुर खड्का, डा रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, प्रदीप गिरी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, डा मीनेन्द्र रिजाल र डा प्रकाशशरण महतसहित विशेष आमन्त्रित सदस्य विजयकुमार गच्छदारको उपस्थिति थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप