मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

लगानीमैत्री वातावरणका लागि सार्वजनिक निजी साझेदारी उपयुक्त

शुक्रबार, ०५ माघ २०७४, १८ : ४६
शुक्रबार, ०५ माघ २०७४

चितवन । राष्ट्रिय योजना आयोगका सदस्य डा. सुनिलबाबु श्रेष्ठले विकासका लागि लगानीमैत्री वातावरण बनाउन सार्वजनिक निजी साझेदारी (सानिसा) अवधारणा उपयुक्त हुने बताउनु भएको छ । आयोगले आयोजना गरेको सानिसा सम्बन्धी दुईदिने कार्यशाला गोष्ठीको उद्घाटन सत्रलाई शुक्रबार नारायणगढमा सम्बोधन गर्दै डा. श्रेष्ठले यस्तो बताएका हुन् ।

एसियाका अन्य मुलुकले सानिसा अन्तर्गत नै विकासको फड्को मारेको जानकारी दिँदै डा. श्रेष्ठले भने, ‘सरकार र निजी क्षेत्रको सोचाईमा परिवर्तन ल्याएर सानिसा अन्तर्गत जनचाहना बमोजिम विकास परियोजना कार्यान्वयन गर्न सकिन्छ । सानिसाबारे सरोकारवालाबीच साझा बुझाई हुनुपर्छ ।’

सानिसा कार्यान्वयनका लागि क्षमता अभिवृद्धि, लगानीमैत्री वातावरण, वित्तीय व्यवस्थापन, इमानदारीपूर्वक कार्यान्वयन र जवाफदेहिता आवश्यक पर्ने उनको भनाइ थियो । सानिसा अन्तर्गत कृषि, जलस्रोत, पूर्वाधार, पर्यटन र शहरी विकासलाई प्राथमिकताका पाँच क्षेत्र बनाउनु पर्ने उनको सुझाव छ । 

कार्यशाला गोष्ठीको अध्यक्षता गरेकी भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले निजी क्षेत्रलाई अलग्याएर विकास गर्न नसकिने बताइन् । उनले सानिसाबारे साझा धारणा बनाएर विकास निर्माणका काम गर्नको लागि कार्यशालामा वडाध्यक्ष, कर्मचारी, नगर सभासद, व्यवसायी, उद्योगीलाई सहभागी गराइएको जानकारी दिइन् ।

‘नारायणी नदीमा पुल, महानगरमा रिङरोड, सिटी हल, रंगशाला निर्माण, खानेपानी र फोहोर व्यवस्थापनका परियोजनामा निजी क्षेत्रसँग मिलेर काम गर्न चाहन्छौँ’ महानगर प्रमुख दाहालले भनिन्, ‘भारतमा भौतिक पूर्वाधार निर्माणका ठूला परियोजनाहरु सानिसा अवधारणाबाटै सफल भएका छन् । हामी पनि सानिसा अवधारणाबाट विकासका काम गर्न सक्छौँ ।’

जिल्ला समन्वय समिति चितवनका संयोजक कृष्णकुमार डल्लाकोटीले राष्ट्रको समृद्धिका लागि निजी क्षेत्रलाई पनि सँगै लैजानुपर्ने बताए । 

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले मुलुक अब आर्थिक समृद्धिका लागि जुर्मुराइरहेको बताए । 

भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरीले विकासका धेरै सम्भावना बोकेको भरतपुर महानगरपालिकालाई सानिसामा आधारित भएर समृद्ध बनाउनु पर्ने विचार व्यक्त गरिन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप