मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

यस्तो छ अहिले धनकुटाको पछिल्लो स्थिति, दुई पक्षीय वार्ता निश्कर्षविहिन

शुक्रबार, ०५ माघ २०७४, १८ : २९
शुक्रबार, ०५ माघ २०७४

धनकुटा । प्रदेशको अस्थायी मुकाम नतोकेको बिरोधमा भएको प्रदर्शन हिंसात्मक बनेपछि धनकुटा बजार क्षेत्रमा प्रशासनले हिजोबाट लगाएको निषेधाज्ञा आज पनि जारी छ । आक्रोशित प्रदर्शनकारी आगजनी र तोडफोडमा उत्रिएर पटक–पटक झडप हुन थालेपछि हिजो बिहान साँढे ११ बजेबाट अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको हो । प्रदर्शनकारीले दुई सरकारी कार्यालय र एउटा मोटरसाईकलमा आगजनी गर्नुका साथै दर्जन बढी सवारी साधन तोडफोड गरेका थिए । दोहोरो झडपमा ६ प्रदर्शनकारी र ३ प्रहरी घाइते भएका छन् ।

स्थिति नियन्त्रणमा लिन धनकुटा बजारको जिरोप्वइन्ट, श्रीवानी, बिहीबारे हटिया, देव्रेवास र सल्लेरीसम्मको भागमा निषेधित क्षेत्र घोषणा गरिएको छ । निषेधित क्षेत्रमा ५ जनाभन्दा बढीको समुहमा हिँडडुल गर्न नपाईने प्रशासनले जनाएको छ । तर, अत्यावश्यक कामका लागि एक्लै हिड्दा पनि प्रहरीले कुटपिट गरेर प्रहरी ज्यादती बढेको भन्दै बजारबासीले बिरोध जनाएका छन् । यसैबीच निषेधाज्ञा उल्लंघन गर्दै आन्दोलनकारीले मदनचोकमा टायर बालेर सरकारी निर्णयविरुद्ध प्रदर्शन गरेका छन् ।

यता,तीन दिनदेखिको अनिश्चितकालीन आमहड्तालले धनकुटाको जनजीवन अस्तब्यस्त बनेको छ । सवारी साधन ठप्प छन् भने बजार–पसल, उद्योगधन्दा, शिक्षणसंस्था लगायत पनि बन्द हुँदा जनजीवन अस्तब्यस्त बनेको हो । कोशी राजमार्गमा सवारी साधन नचल्दा भोजपुर, तेह्रथुम र संखुवासभाको जनजीवन पनि प्रभावित बनेको छ । १ नम्बर प्रदेशको अस्थायी मुकाम विराटनगर तोक्ने सरकारी निर्णय फिर्ता नभएसम्म हड्ताल जारी राख्ने आन्दोलन परिचालन समितिले जनाएको छ ।

यसैबीच सुरुमा बन्द हड्ताल फिर्ता लिने कि निषेधाज्ञा हटाउने भन्ने बिषयमा दुई पक्षबीच कुरा नमिलेपछि धनकुटामा आज अपरान्ह बसेको आन्दोलनरत पक्ष र प्रशासनवीचको बार्ता निष्कर्ष विहिन भएको छ । वार्तामा सहभागी आन्दोलन परिचालन समिति संयोजक सुन्दरबाबु श्रेष्ठका अनुसार बन्द फिर्ता लिएपछि निषेधाज्ञा खोल्न प्रशासन तयार भएकाले यो विषयमा आन्दोलन परिचालन समितिको बैठक बसेर मात्र निर्णय लिइने भएको छ । उता, प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले निषेधाज्ञा फिर्ता नभएपनि आज साँझबाट निषेधाज्ञालाई खुकुलो बनाएर सर्वसाधरणलाई हिँडडुल गर्नमा अवरोध नगर्ने जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप