बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मेयर कप क्रिकेटः बाराकोट विजयी

शुक्रबार, ०५ माघ २०७४, १८ : १४
शुक्रबार, ०५ माघ २०७४

बैतडी– यहाँ जारी प्रथम मेयरकप क्रिकेट प्रतियोगिता–२०७४ अन्तर्गत आज भएको समूह ‘बी’को पहिलो खेलमा बाराकोटले विजयी शुरुआत गरेको छ ।  बाराकोटले गुरुखोलालाई ६३ रनले पराजित गरेको हो । बुड्डा बाजे क्रिकेट मैदान रातामाटामा भएको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्ता पाएको बाराकोटले राहुल चन्द र प्रकाश बुडालका ३०/३० रनको मद्दतमा १९ दशमलव १ ओभरमा १४७ बनायो ।

गुरुखोलाका राम भाट र अमर टेरले दुई दुई विकेट हात पारे । एक सय ४८ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको गुरुखोला १४ दशमलव ३ ओभरमा ८४ रनमा अलआउट भयो । गुरुखोलाका प्रकाश टेरले सर्वाधिक २७ रन बनाए । बाराकोटका लागि हिमांशुविक्रम चन्दले ह्याट्रिकसहित ४ विकेट हात पारे भने प्रकाश बुडालले ३ विकेट झारे । 

उक्त प्रतियोगितामा दशरथचन्द नगरपालिका–१ गुरुखोला समूह चरणबाटै बाहिरिएको छ । आज सम्पन्न भएका समूह चरणका दुईवटै खेलमा गुरुखोला पराजित भएको थियो । गुरुखोला, दशरथचन्द नगरपालिका–४ खलंगासँग ६५ रनले पराजित भएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको खलंगाले मोहित भण्डारीको अर्धशतकीय ५४ रनको मद्दतमा १९९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । दुई सय रनको विजय लक्ष्यका साथ मैदान उत्रेको गुरुखोलाले ९ विकेटको क्षतिमा १३४ रन मात्रै बनाउन सक्यो । उसका लागि जय टेरले नटआउट ५० रनको अर्धशतकीय पारी खेले पनि हार टार्न सकेन ।

खलंगाका मोहित भण्डारीले २ विकेट हात पारे भने उनी ‘म्यान अफ दी म्याच’ समेत घोषित भए ।  यसअघि बिहीबार सम्पन्न समूह ‘ए’को अन्तिम खेलमा दशरथचन्द नगरपालिका–८ त्रिपुरालाई ६ विकेटले पाखा लगाउँदै वडा नं २ देहिमाडौँले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । 

शनिबार हुने बाराकोट र खलंगामध्ये विजयी टोली सेमिफाइनल प्रवेश गर्नेछ । उक्त खेल बिहान ९ बजेदेखि शुरु हुने जनाइएको छ । शनिबार नै हुने अर्को खेलमा मध्याह्न १२ बजेपछि नगरपालिका–७ दुर्गास्थान र वडा नं ५ दशरथचन्दबीच प्रतिष्पर्धा हुने भएको छ ।

शहीद दिवसका अवसरमा नगरपालिकाको आयोजना र बैतडी जिल्ला क्रिकेट संघ, नगर क्रिकेट समितिको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन भइरहेको हो । टी ट्वान्टी फरम्याटमा भइरहेको प्रतियोगितामा प्रथम पुरस्कार रु ५० हजार, द्वितीय पुरस्कार रु ३० हजार र ‘म्यान अफ द सिरिज’ एक जनालाई रु पाँच हजार, ट्रफी र प्रमाणपत्र राखिएको छ । माघ ३ गतेदेखि शुरु भई माघ १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दशरथचन्द नगरपालिकाका ११ टोलीको सहभागिता छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप