शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश राजधानी तोक्ने सरकारको कदमलाई एमाले नेताले नै गरे समर्थन

शुक्रबार, ०५ माघ २०७४, १८ : १०
शुक्रबार, ०५ माघ २०७४

काठमाडौं– नेकपा एमालेका नेता केशब बडालले सरकारले पर्याप्त विचार पुर्याएर नै प्रदेशको अस्थायी राजधानी तोकेकोेले अहिलेको ढाँचामा विरोध गर्नुको कुनै अर्थ नहुने  बताएका छन् । नेकपा एमालेको नेतृत्वले सरकारको कदमको विरोध गरिरहेका बेला सोही पार्टीका नेता बडालले सो धारणा व्यक्त गरेका हुन् ।

आज राजधानीमा रिपोर्टस क्लब नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘विधिको शासन मान्नुपर्छ, तर सरकारले निर्णय गर्दा सार्वजनिक रुपमा जनतासँग भन्नुुपर्दथ्यो, यो कारणले हामीले यो प्रदेशको राजधानी यहाँ तोक्यौं भनेर भनिदिएको भए अहिले देखिएको जस्तो आन्दोलन हुँदैनथ्यो ।’

नेता बडालले प्रदेशको स्थायी राजधानी प्रदेशसभाका सदस्यहरुको दुई तिहाईले तोक्ने संवैधानिक व्यवस्था भएको उल्लेख गर्दै भने, ‘अहिले आन्दोलन गर्नुभन्दा पनि अब दुई तिहाई पुर्याउनको लागि मेहनत गर्नुपर्छ ।’ आफूले एक वर्ष पहिल्यै नै लेख लेखेर कुन प्रदेशको राजधानी कहाँ हुनुपर्छ भनेर वैज्ञानिक र वस्तुगत आधारनै पेश गरेको उल्लेख गर्दै उनले भने, ‘मैले त एक वर्ष पहिले (यद्धपि यो मेरो व्यक्तिगत विचार हो) नै लेखेको थिएँ, १ नम्बरको ईटहरी +विराटनगर, २ नम्बर प्रदेशको जनकपुर + ढल्केवर, ३ नम्बर प्रदेशको भक्तपुर, ४ नम्बर प्रदेशको पोखरा, ५ नम्बर प्रदेशको दाङ(त्यसमा पनि लमही), ६ नम्बर प्रदेशको सुर्खेत, र ७ नम्बर प्रदेशको धनगढी अत्तरिया हुनुपर्छ भनेको थिएँ ।’

उनले कि त सरकारले कार्यदलको आधारमा प्रदेशको अस्थायी राजधानी तोक्नुपर्दथ्यो वा पूनरावेदन अदालत भएको ठाउँ हेरेर गर्नुपर्दथ्यो भन्ने अभिव्यक्ति राख्दै भने,‘सरकारले जे निर्णय गरेको छ, यसमा पर्याप्त ध्यान दिएकै होला नि, अझ बढी ध्यान दिएको भए राम्रो हुन्थ्यो ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप