शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

क्षयरोगबाट दैनिक २० जनाको मृत्यु : ४५ प्रतिशत नेपाली क्षयरोग संक्रमणको जोखिममा

शुक्रबार, ०५ माघ २०७४, १५ : ०६
शुक्रबार, ०५ माघ २०७४

हेमराज ढकाल, भक्तपुर– नेपालमा दैनिक २० जनाको मृत्यु क्षयरोगबाट हुने गरेको छ । क्षयरोगको असर तराई र शहरी क्षेत्रमा बढि रहेको पाइएको छ । विश्व स्वास्थ्य संगठनको २ बर्षअघि गरेको तथ्यांकका आधारमा प्रत्येक दिन १ सय २० नयाँ रोगी भेटिने गरेको र प्रत्येक दिन २० जनाको मृत्यु हुनसक्ने अनुमान गरिएको छ ।

विश्वमा सबैभन्दा धेरै क्षयरोग लागेका मानिस चीन र दोस्रोमा भारत भएकाले नेपाल यी दुई देशको छिमेकी भएकाले पनि क्षयरोग संक्रमणको उच्च जोखिममा रहेको चिकित्सकहरुको भनाई छ । 

नेपालमा क्षयरोग निवारण गर्न विभिन्न प्रयास गरिएको भएपनि नेपालको जनसंख्याको ४५ प्रतिशत मानिसमा क्षयरोग संक्रमण जोखिमको सम्भावना रहेको पाइएको छ । 

दैनिक कामका सिलसिलामा शवासप्रश्वासका माध्यमबाट मानिसमा सर्ने क्षयरोग सम्बन्धिका संक्रमण देखिएपनि विश्व स्वस्थ्य संगठनले सन् २०१६ का लागि गरेको सर्वेक्षण अनुसार बर्षेनी करिब ४४ हजार क्षयरोगका रोगी रहेको अनुमानित तथ्यांक रहेको छ । 

जसमध्ये ३२ हजार बिरामी मात्र स्वास्थ्य परिक्षणका लागि सम्पर्कमा रहेको र १२ हजार बिरामी अझै सम्पर्कमा नआएको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ । यो तथ्यांक प्रत्येक बर्ष फरक पर्न सक्ने केन्द्रका कार्यकारी निर्देशक डाक्टर केदारनरसिंह केसीले जानकारी दिएका छन् । डट्स सेन्टरमा उपचारका लागि आउने सबै टिबीका रोगीहरुको उपचार निःशुल्क हुने गरेको छ । नेपालमा ४ हजारभन्दा बढि डट्स सेन्टर रहेको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ ।

सरकारले सन् २०३५ सम्ममा क्षयरोग निवारण गरिसक्ने लक्ष्य राखेको छ । यसका लागि मुलुकभरबाट खकारको नमुना संकलन गरि रोगको परिक्षण गर्ने, जनचेतना अभिबृद्धी गर्ने, स्थानीय तहसँग समन्वय गर्ने र आम नागरिकले बुझ्ने गरि क्षयरोगको प्रचारात्मक अभियान सञ्चालन गर्ने नीति लिईएको केन्द्रले जनाएको छ ।

१२ हजार क्षयरोगी सम्पर्क बाहिर

नेपालमा ४४ हजार क्षयरोगी रोगी रहेको अनुमानित तथ्यांक रहेपनि ३२ हजार बिरामी मात्र स्वास्थ्य परिक्षणका लागि सम्पर्कमा रहेको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ । क्षयरोगका बिरामीहरुको अवस्था पत्ता लगाउन डब्लुएचओले सन् २०१६ का लागि गरेको सर्वेक्षण अनुसार ४४ हजार विरामी हुनसक्ने अनुमान गरिएपनि १२ हजार बिरामी अझै सम्पर्कमा नआएको क्षयरोग केन्द्रले जानकारी दिएको छ । यो तथ्यांकमा प्रत्येक वर्ष थपघट हुने के्रन्द्रको भनाई छ ।

नेपालमा प्रत्येक दिन १ सय २० नयाँ रोगी भेटिने गरेको र प्रत्येक दिन २० जनाको मृत्यु हुनसक्ने अनुमान गरिएको छ । नेपालमा जटिल प्रकारको बहु औषधी प्रतिरोधी क्षयरोगीको संख्या मात्र पनि १ हजार १ सय रहेको अनुमान छ । जसमध्ये ३ सय ५२ जना मात्र सम्पर्कमा आएका छन् । ६ सय भन्दा धेरै बाहिर रहेको देखिन्छ । 

डट्स सेन्टरमा निशुल्क उपचार
डट्स सेन्टरमा उपचारका लागि आउने सबै टिबीका रोगीहरुको उपचार निःशुल्क हुने गरेको छ । नेपालमा ४ हजारभन्दा बढि डट्स सेन्टर रहेको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ । यो रोगका विरामीहरुको अवस्था अनुसार इन्टेन्सिफ चरण र कन्टिडियसन चरण गरि बिधि अनुसार उपचार गरिने डा. आशिष श्रेष्ठले बताए । इन्टेन्सिफ चरण अन्र्तगत नयाँ केसका बिरामीको २ महिनासम्म र कन्टिडियसन चरणका बिरामीका लागि ४ महिनासम्म उपचार गर्नुपर्ने उनले बताए ।

क्षयरोग फोक्सो र फोक्सो बाहेक शरिरका अन्य भागमा गरि दुई किसिमले लाग्ने गर्दछ । 

क्षयरोगको ‘छोटो अवधि उपचार विधि’ शुरु
राष्ट्रिय क्षयरोग केन्द्रले क्षयरोगको अत्याधुनिक उपचार विधि ‘छोटो अवधि उपचार विधि’ (एसटिआर) शुभारम्भ गरेको केही समय भएको छ । यसअघि बहुऔषधि प्रतिरोधी उपचार विधि अपनाउँदै आएको केन्द्रले पहिलो चरण चार महिना र दोस्रो चरण पाँच महिनाको हुने छ । डा केसीले पहिलो चरणमा सुईसहित छ प्रकारका औषधि र दोस्रो चरणमा चार प्रकारका औषधि प्रयोग गरिने बताउनुभयो । यो विधि हाललाई फोक्सोका क्षयरोगीलाई मात्र उपयोग गरिने जनाइएको छ । 

केन्द्रले नौमहिने छोटो अवधि उपचार विधि हाललाई मुलुकका काठमाडौँ, विराटनगर, बुटवल र नेपालगञ्जबाट शुरु गर्न लागेको छ । साविकमा क्षयरोगीलाई बहुऔषधि प्रतिरोधी उपचार विधि अपनाउँदै आएकामा धेरै औषधिको मिश्रण गरेर २० देखि २४ महिनासम्म उपचार गर्नुपर्दा औषधिको नकारात्मक प्रभाव, औषधिले उत्पन्न गर्ने विषाक्तता, बिरामीलाई उपचार केन्द्रसम्म आवतजावत गर्दा पर्न आउने कठिनाइसमेतलाई ध्यानमा राखेर एसटिआर विधि उपयोगमा ल्याइएको डा केसीको भनाई छ । 

यो विधि अपनाउने नेपाल विश्वको ३५औँ मुलुक हो । क्षयरोगलाई विश्वबाट सन् २०५०सम्ममा उन्मुलन गर्ने विभिन्न निकाएको तयारीमा सबै निकायले साथ दिनुपर्ने देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप