शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मधेश आन्दोलनको ११ वर्षः अब सुनसान छ मधेश !

शुक्रबार, ०५ माघ २०७४, १४ : ३५
शुक्रबार, ०५ माघ २०७४

 
काठमाडौं–पहिलो मधेश आन्दोलनको आज ११ वर्ष भयो ।

आन्दोलन जति पुराने हुँदै गयो, आन्दोलनको विरासत पनि कमजोर हुँदै गयो ।

मधेश आन्दोलनको शुरु–शुरुका बर्षमा आजको दिनलाई मधेशवादी दलले ‘बलिदानी दिवस’को रुपमा मनाउथे ।

यस्तो थियो कि, केही वर्ष पहिलासम्म यो दिवस मनाउन उनीहरुबीच प्रतिस्पर्धा हुन्थ्यो ।

तर, अहिले मधेशमा ‘बलिदानी दिवस’ मनाउन कुनै प्रतिस्पर्धा छैन । मानौँ, मधेशमा आन्दोलन नै भएको थिएन ।

प्रदेश र प्रतिनिधिसभाको चुनावमा चाहीँ मधेश आन्दोलनमो मुद्दा खुवै उठाइएको थियो । र, यसले केही न केही काम पनि गर्यो । संघीय समाजवादी फोरम र राजपाले राम्रो जित निकाले ।

देशमा संघीयता, पहिचान, धर्मनिरपेक्षता, समावेशी–समानुपातिक मुद्दा स्थापित गराउन मधेश आन्दोलनको पनि भूमिका छ ।

नागरिकता विषय राष्ट्रिय मुद्दा बनेको छ । तर, मधेशवादी दलले आजको दिनको महत्व भुल्दै गएको आरोप लाग्न थालेको छ ।

मधेश मामलाका जानकार मधेशवादी दलले आन्दोलनको ‘ब्याज’ खाईरहेको बताउँछन् ।

मधेश राजनीतिका जानकार चन्द्रकिशोर भन्छन्, ‘मधेशी राजनीति यस्तो वीमा जस्तो भयो जसको प्रिमियर तिर्नु पर्दैन । एकपटक दिएपछि निरन्तन वोनस पाइरहन्छ । अर्थात मधेशवादी दलका नेताले एकपटक आन्दोलन गरेपछि, अहिले त्यसको वोनस खाइरहेका छन् ।’

माघ ५ गते मधेशका लागि साँच्चै महत्वपूर्ण दिन हो । तर, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाललाई त्यसको बारेमा कुरा गर्न समेत फूर्सद छैन । नेता पार्टीको आन्तरिक बैठकमा व्यस्त देखिन्छन् ।

राष्ट्रियसभाको चुनाव नजिक आइसकेको छ । उम्मेदवार चयनदेखि लिएर अन्य कुरामा छलफल गर्न नेता व्यस्त छन् । मधेश आन्दोलनमा जोडिएका भन्छन्, ‘नेतालाई सहिदलाई सम्झने फूर्सद समेत छैन ।’

पूर्वराजदूत एवं अधिकारकर्मी विजयकान्त कर्ण भन्छन्, ‘आजको दिन मधेशका लागि विशेष दिन हुनुपर्ने हो । मधेशमा उत्सव हुनुपर्ने हो । तर, नेतालाई चासो छैन । यसमा दुख लागेको छ ।’

लहानको बीच चोकमा रमेश महतोलगायत अन्य सहिदको सालिक छ । त्यसमा मल्यार्पण गर्नका लागि मधेशवादी दलमा प्रतिस्पर्धा नै हुन्थ्यो त्यतिबेला । शक्ति प्रदर्शन गर्दै त्यहाँ पुगेकाबीच पहिला कसले मल्यार्पण गर्ने भनेर लछारपछार नै हुन्थ्यो ।

कहिलेकाहीँ यहीँ बहनामा झडप पनि हुन्थ्यो । सुरक्षा व्यवस्था बलियो बनाउन प्रहरीलाई हम्मे–हम्मे पथ्र्यो । तर, यसपटक त्यहाँ त्यस्तो केही देखिएन ।

सम्झानाका लागि फोरम नेपाल र राजपा नेपालले संयुक्त रुपमा कार्यक्रम राखे । मल्यार्पण गरि सभालाई सम्बोधन गर्ने कार्यक्रम भयो । नत्र अरु बेला आजको दिन सुरक्षाकर्मीदेखि लिएर अरु सरोकारबालाको उपस्थिति बाक्लै हुन्थ्यो त्यहाँ । तर, यसपटक यस्तो देखिएन ।

राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव अनुसार सभामा सहिद परिवारलाई सम्मान कार्यक्रम थियो ।

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव आफै पनि लहान जाने तयारीमा थिए । तर, पार्टीको कार्यसम्पादनको बैठक बसेको कारण उनी जान पाएनन् ।

यता बबरमहलस्थित पार्टी कार्यालयमा पनि राजपा नेपालका नेता बैठकमै व्यस्त देखिन्छन् । कतिपय नेतालाई आज बलिदानी दिवसको औपचारिक कार्यक्रमवारे पनि चासो राख्दैनन् ।

राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादव आफ्नो गृह जिल्लामा छन् । तर, उनलाई बलिदानी दिवस मनाउने कार्यक्रममा गएनन् ।

उनी भन्छन्, ‘लहानको कार्यक्रममा हाम्रो पार्टीबाट राजकिशोर यादव जानु भएको छ । यहाँ जिल्लामा परिषद्को बैठक भएको कारणले म जान पाइनँ ।’

सिरहाको लहान राजकिशोर यादवको गृह जिल्ला हो । उनी केही दिनदेखि जिल्लामा भएको कारणले त्यहाँको कार्यक्रममा सहभागि भएका हुन् । उनी भन्छन्, ‘आजको दिनलाई विशेष दिनको रुपमा मनाउनुपर्ने थियो । तर, पार्टीको आन्तरिक बैठकमा नेता व्यस्त भएको कारण यता आउन सक्नुभएन ।’

बलिदानी दिवस स्वतस्फूर्त रुपमा मनाउन अहिले पनि जनताको मनस्थिति तयार नभएको उनी बताउँछन् । तर पहिला भन्दा अहिले केही परिवर्तन भएको कुरा आफूले महसुस गरेको उनले बताए ।

राजकिशोर यादव्, ‘पहिला–पहिला बलिदानी दिवसको कार्यक्रम गर्दा गाउँ गाउँमा गाडी पठाएर नेता–कार्यकर्ता र जनतालाई ल्याउनुपथ्र्यो । तर, अहिले जनताले आफै चासो लिन थालेका छन् । तर, अझै त्यसमा परिवर्तन हुन आवश्यक छ । यसलाई मधेशमा विशेष पर्वको रुपमा मनाउनुपर्ने आवयश्यकता छ ।’

मधेश राजनीतिकका जानकार एवं प्रध्यापक विजय मिश्रले बलिदानी दिवस औपचारिकतामा मात्र सिमित भएको बताए । हल्का फुल्का कार्यक्रम गरि सहिदको सालिकमा मल्यार्पण गर्ने काम नेताले गरेपनि धुमधामका साथ मनाउनुपर्ने आवश्यकता रहेको उनले बताए ।

‘मधेशी जनताले बलिदानी दिएका छन् । यसलाई वर्षमा एकपटक धुमधामका साथ मनाउनु पर्ने थियो । ’ उनले भने ।

नेताले बलिदानीलाई विर्सेपनि मधेशी जनता अझै पनि बलिदानी दिन तयार रहेको चन्द्रकिशोर बताउँछन् ।

‘मधेशी जनता अझै आन्दोलन गर्न तयार छ’ उनले भने, ‘मधेशको नाममा मधेशी जनता जहिले पनि संघर्ष गर्न र बलिदान दिन तयार हुन्छ । यो समान्य कुरा भइसक्यो । तर, यसलाई मधेशी नेताले व्यवस्थापन गर्न चुके ।’

चन्द्रकिशोर मधेश आन्दोलनको उपलब्धीवारे थप्छन्, ‘मधेश आन्दोलनबाट केही प्राप्त नभएको पनि होइन । संघीयता, जनसँख्याको आधारमा प्रतिनिधित्वको सवाल, नागरिकता, पहिचान गायतका कुरा त्यहीँ आन्दोलनबाट प्राप्त भएका हुन् । तर, आन्दोलनको अझै टुगों लागेको छैन । राज्यको चरित्र मधेशप्रति दमनात्मक छ । आन्दोलनलाई सेटलमेन्ट गर्नुको सट्टा झन् उत्तेजित बनाउने काम सरकारबाट भइरहेको छ ।’

विजयकान्त कर्ण भन्छन्, ‘पहिलो मधेश आन्दोलन राज्य विरुद्धको आन्दालन थियो । त्यो आन्दोलनलाई समाप्त कसरी गर्न सकिन्छ भनेर राज्यले सोच्यो । तर, मधेशले त्यसको प्रतिरोध गरिरह्यो । अहिले पनि राज्य र मधेशबीच त्यसैका लागि लडाई भइरहेको छ । पछिल्लो आन्दोलन त्यसैको उपज हो ।’

पहिलो मधेश आन्दोलनले मधेशीलाई पहिचान दिलाएको बताउँदै अधिकारकर्मी कर्णले संघीयता र गणतन्त्र त्यहीँ आन्दोलनबाट स्थापित भएको बताए ।

राजपा नेपालका वरिष्ठ उपाध्यक्ष एवं प्रदेश सभा सांसद नवलकिशोर साहले बलिदानी दिवस विशेष रुपमा मनाउनु पर्ने भएपनि अहिलेको राजनीतिक दौडधुपका कारण चाहेर पनि सम्भव नभएको बताए ।

उनले ५ गतेको कार्यक्रममा सहभागी नभएपनि सप्तरीको भारदह आन्दोलनमा मृत्यु भएका पाँचजनाको परिवारको घरमा गएर न्यानो कपडा दिएको बताए । अन्य नेता व्यस्तताका कारण कार्यक्रममा सहभागि हुन नसकेको उनले बताए ।

मधेश आन्दोलनको क्रममा रमेश महतो, विजय सहनी, प्रमोद सदाय, अनिस अन्सारी र वेचन यादवले सिरहामा सहादत दिएका थिए । त्यसकै सम्झानामा मधेशवादी दलले प्रत्येक माघ ५ गते बलिदानी दिवस मनाउँदै आएका छन् ।

आन्दोलनमा सक्रिय रहेका कृष्णबहादुर यादव भन्छन्, ‘मधेश आन्दोलनको उपलब्धी कम र आन्दोलनको चेक भजाएर नेता मोटाउने काम बढी भयो । मधेश आन्दोलनको उद्गमस्थल लहानलाई उपेक्षा गरेकै कारण स्थानीय तह, संघ र प्रदेशको निर्वाचनमा लहानले चुनावी परिणाम मधेशवादी दलको पक्षमा देखिएन ।’

दुई नम्बर प्रदेशको राजधानी लहान बनाउन मधेशवादी दलहरुले चुनावी घोषणा पत्रमा समेटन नसक्नु कमजोरी भएको उनले बताए । बलिदानी सभामा आफूलाई नबोलाएकोमा गुनासो गरे । उनी अहिले काँग्रेस पार्टीमा प्रवेश गरिसकेका छन् । मधेश आन्दोलनको समय फोरम नेपालमा थिए ।

बदिलानी दिवसको अवसरमा सखुवानन्कारकटी गाँउपालिका ३ मिर्जापूरमा सहिद प्रमोद साहको शालिक अनावरण गर्ने कार्यक्रम रहेको संघिय समाजवादी फोरमका केन्द्रिय सदस्य राजलाल यादवले बताए ।

उनी सहिद रमेश महतो ट्रस्ट अध्यक्ष पनि हुन् । उनले भने, ‘म पहिलो सविधानसभाको समय मन्त्री हुँदा सहिदको मन्त्री भन्थेँ मलाई, किनभने मैले सहिदको लागि थुप्रै काम गरेको थिएँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप