बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कृषिको यान्त्रिकीकरणमा जोड दिनुपर्छः कृषि राज्यमन्त्री प्रसाईं

शुक्रबार, ०५ माघ २०७४, १३ : ५७
शुक्रबार, ०५ माघ २०७४

भद्रपुर– कृषि विकास राज्यमन्त्री सरिता प्रसार्इंले कृषिको आधुनिकीकरण एवं यान्त्रिकीकरण गर्नमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सहयोग पुर्याएको बताएकी छन् ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपर जोन (धान) एकाइ बनियानी झापाद्वारा आज झापाको केचनाकवल गाउँपालिका वडा नं ४ स्थित फर्कागाछीमा आयोजित बोरो (हिउँदे) धान क्षेत्र विस्तार कार्यक्रमको शुभारम्भ गर्दै उनले सो कुरा बताएकी हुन् । 

राज्यमन्त्री प्रसार्इंले परम्परागत खेती प्रणालीलाई आधुनिकीकरणतर्फ लैजानुपर्ने अहिलेको आवश्यकता हो भन्दै अन्नमा आत्मनिर्भर बनाउन, उत्पादन बढाउन र लागत कम गराउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना निकै उपयोगी हुने बताइन् । 

कृषकको जागरुकताबाट नै कृषिमा आधुनिकीकरण आउने भएकाले यसतर्फ सबै किसानको ध्यान जानु आवश्यक छ, उनले भनिन्,  “कम लागतमा बढी उत्पादन लिन सक्नु नै यो परियोजनाको मुख्य उद्देश्य हो ।” 

प्रदेशसभा सदस्य वशन्त बानियाँले परम्परागत खेतीलाई आधुनिकीकरण नगरेसम्म अन्नमा आत्मनिर्भर बन्न नसकिने बताए ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालक समितिका अध्यक्ष नवराज भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा कृषि मन्त्रालयका वरिष्ठ अर्थ विज्ञ रामबाबु अधिकारी, सुपर जोन बनियानीका वरिष्ठ अधिकृत मेघनाथ तिमल्सेना र परियोजन सञ्चालक समितिका सहसंयोजक चिन्तामणि खरेलले कृषिमा आधुनिकीकरणका विविध पक्षमाथि प्रकाश पारे । 

कार्यक्रममा कृषि राज्यमन्त्री प्रसार्इंले धानको बीउ राख्ने मेशिन, धान छर्ने मेशिनको शुभारम्भ गर्नुका साथै हरित कृषक समूहद्वारा तयार पारिएको खेतमा बोरो धानको रोपाइँ पनि गरेकी थिइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप