केन्द्रीय संस्करण

ओशो : मृत्यु र रहस्य ?

person access_timeमाघ ५, २०७४ chat_bubble_outline0

बीबीसी– संसारभर आफ्नो चामत्कारिक छविका कारण ओशो जति चर्चित रहे त्यति नै उनको जीवन रहस्यमयी रहेको विश्वास गरिन्छ । यहाँसम्म कि उनको जीवन जति रहस्यमय थियो त्यति नै मृत्यु पनि । उनको मृत्यु भएको आज २७ वर्ष पुग्यो । सन् १९९० मा उनले प्राण त्याग गरेका थिए । 

ओशोको प्रारम्भिक जीवन
११ डिसेम्बर १९३१ मा मध्यप्रदेशको कुचवाडामा जन्मिएका ओशोको वास्तविक नाम चन्द्रमोहन जैन थियो । बाल्यकालदेखि नै उनमा दर्शनशास्त्रप्रति विशेष रुचि पैदा भयो । यो कुरा उनले आफ्नो पुस्तक– ‘ग्लिप्सेन्स आफर्ड माई गोल्डन चाइल्डहुड’मा लेखेका छन् । 

उनले आफ्नो पढाइ जबलपुर विश्वविद्यालयबाट पूरा गरेर त्यहीँ प्रध्यापकका रुपमा काम गर्न थाले । त्यसपछि उनले विभिन्न धर्म र विचारधाराहरुमाथि प्रवचन दिन थाले । उनको व्यक्तित्व सबैलाई लोभ्याउने खालको थियो । त्यसैले उनले भटेका जति मानिस उनको प्रभावमा परि नै हाल्थे । 

देशभरी प्रवचन दिने क्रमसँगै उनले शिविर स्थापना गरी ‘ध्यान शिविर’को आयोजना गर्न थाले । प्रारम्भिक चरणमा उनलाई आचार्य रजनीशका रुपमा चिन्ने गरिन्थ्यो तर जागिर छोडेपछि उनले ‘नवसन्न्यास आन्दोलन’को थालनी गरी उनले आफूलाई ओशो भन्न थाले ।  

अमेरिका प्रवास
सन् १९८१ देखि १९८५ सम्म उनी अमेरिका प्रवासमा गए । त्यसपछि उनले अमेरिकाको ओरेगन प्रान्तमै एउटा आश्रमको स्थापना गरे, जुन ६५ हजार एकडमा फैलिएको थियो । ओशोको अमेरिका प्रवासको कालखण्ड निकै विवादित रह्यो । सधँै चर्चा र विवादमा रहनुको कारणमा उनले प्रयोग गर्ने महँगो घडी, रोल्स रोयल कार तथा महँगो कपडा थियो । 

ओरेगनमा रहेको ओशो आश्रमको नामबाट सहरको नाम नै रजनीशपुरम दर्ता गर्ने प्रयास थालेसँगै स्थानीयले त्यसको विरोध गरे । त्यसपछि उनी सन् १९८५ मा भारत फर्के । उनको भारत फर्किनुको मूल कारण उनको आश्रममा बस्ने र स्थानीयबीचको विवाद नै मूल कारण थियो । कहाँसम्म भनिन्छ भने विवाद बढ्दै जाँदा ओशोलाई अमेरिकी सरकारले देश निकाला गरिदिएको थियो । 

ओशोको मृत्यु

भारत फर्केपछि उनी पुणेको कोरेगाँव पार्क क्षेत्रस्थित आश्रममा फर्के । उनको मृत्यु १९ जनवरी १९९० मा भयो । उनको मृत्युपछि पुणे आश्रमको नियन्त्रण ओशोका नजिकका शिष्यहरुले आफ्नो मातहत लिए । आश्रमको सम्पत्ति करोडौँ रहेको अनुमान गरिन्छ । यसै कुरालाई लिएर उनका शिष्यहरुका बीच विवाद पनि छ । 

ओशोका शिष्य रहेका योगेश ठक्करले भने– ‘ओशोको साहित्य सबैका लागि उपलब्ध हुनुपर्छ भनेरै मैले उनको नामसारी पत्रलाई लिएर मुम्बई हाईकोर्टमा एउटा मुद्दा दायर गरेको छु ।’ ओशोको मृत्यु प्रमाणपत्र जारी गर्ने डाक्टर गोकुल गोकाणी लामो समयसम्म उनको मृत्युका बारे मौन बसे । 

तर उनैले लामो समयको मौनता अन्त्य गर्दै मृत्यु प्रमाण पत्रमा उनलाई गलत जानकारी दिएर हस्ताक्षर गराइएको बताए । अहिले तिनै डाक्टर गोकुल गोकाणीले योगेश ठक्करको मुद्दामा आफ्नो पनि शपथपत्र दर्ता गराएका छन् । उनका अनुसार ओशोको मृत्युको यतिका वर्षपछि पनि मृत्युलाई लिएर कयौँ प्रश्नहरु छन्, जसको उचित उत्तर पाइएको छैन, त्यसैले उनको मृत्यु बारे अझै रहस्य पैदा भइरहेको छ । 

मृत्युको दिन के भयो 
ओशोको मृत्युलाई लिएर ‘हु किल्ड ओशो’ पुस्तक लेख्ने अभय वैद्य भन्छन्– ‘१९ जनवरी १९९० मा ओशो आश्रमबाट डाक्टर गोकुल गोकाणीलाई फोन आयो । फोनमा डाक्टर गोकाणीलाई आफ्नो लेटर हेड र आपातकालीन किट (उपचार बक्स) लिएर आउन भनिएको थियो ।’ 

डाक्टर गोकाणीले आफ्नो स्टेटमेन्टमा भनेका छन्– ‘म त्यहाँ झण्डै २ बजे पुगेँ । उनका शिष्यहरुले ओशोले देह त्याग गर्दै गरेको बताउँदै उहाँलाई जोगाउन आग्रह गरे । तर मलाई उहाँसँग जान दिइएन । कैयौँ घण्टासम्म आश्रममा यता–उता हिँडेपछि मलाई उहाँको मृत्युको सूचना दिइयो र मलाई डेथ सर्टिफिकेट जारी गर्न भनियो ।’

डाक्टर गोकाणी उनको मृत्युको समयलाई लिएर पनि प्रश्न खडा गरेका छन् । डाक्टरले ओशोको मृत्युको कारण हृदयघात भएको भन्दै उनका शिष्यहरुले उनलाई डेथ सर्टिफिकेटमा त्यही लेख्न दबाब दिएको समेत दाबी गरेका छन् । तीनताका ओशो आश्रममा कुनै पनि सन्न्यासीको मृत्युलाई उत्सवझैँ मनाउने चलन रहेको थियो । 

तर जब ओशोको मृत्यु भयो, त्यसको घोषणा गरिएको एक घण्टाभित्र नै उनको अन्तिम संस्कार गरियो र उनको निर्वाणको उत्सव पनि सङ्क्षिप्त नै लेखियो । ओशोकी आमा पनि त्यही आश्रममा बस्ने गर्थिन् । ओशोकी सचिव रहेकी नीलमले पछि एउटा अन्तरवार्तामा उनको मृत्युसँग जोडिएको रहस्यको बारेमा केही कुरा खोलेकी थिइन् । 

उनका अनुसार ओशोको मृत्युको सूचना उनको आमालाई पनि निकै ढिला गरेर दिइएको थियो । उनले के समेत दाबी गरेकी छन् भने, ओशोकी आमाले उनलाई लामो समयसम्म आफ्नो छोरालाई उनीहरुले मारेको भन्दै आइरहेकी थिइन् । 

ओशोको बकसपत्र 
योगेश ठक्करका अनुसार उनको आश्रमको सम्पत्ति हजारौँ करोडको छ र पुस्तकसहित अन्य कुराको झण्डै एक सय करोडको रोयल्टी पाइन्छ । ओशोको बकसपत्रमा ओशो इन्टरनेसनलको नियन्त्रण छ । ओशो इन्टरनेसनलका अनुसार उनीहरुलाई यो अधिकार ओशोको बकसपत्रबाटै पाइएको हो । 

योगेश ठक्करको दाबीलाई आधार मान्ने हो भने, ओशो इन्टरनेसनलले जुन बकसपत्रलाई उद्धृत गर्नेगर्छ, त्यो नै नक्कली हो । तर पनि ओशो इन्टरनेसनलमा लागेका आरोपहरु ओशोकी शिष्य अमृत साधना अस्वीकार गर्छिन् । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ