शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपथ्यको तीन सहरको टुर भैरहवामा समापन

शुक्रबार, ०५ माघ २०७४, ११ : ०२
शुक्रबार, ०५ माघ २०७४

भैरहवा । मुलुकभरिबाट सोनाम ल्होसार मनाउने भक्तजनको भीँड छेवैको लुम्विनीमा लागेकै साँझ भैरहवा पनि लोक भाकामा आधारित रक संगीतमा डुब्यो । 

स्थापनाको पच्चीस वर्ष मनाउँदै यात्रामा निस्केको सांगीतिक टोली नेपथ्यले बिहीबार यहाँस्थित पक्लिहवा हाइस्कुलको प्राङ्गणमा आफूलाई प्रस्तुत गरेको छ । 

निर्धारित समय अनुसारै बेलुकीको ठीक छ बजे कन्सर्ट सुरुभएको थियो । 

अन्यत्रझैँ यहाँ पनि प्रारम्भ म्युजिक भिडियोहरु ‘सा कर्णाली’ र ‘सम्झिराख’ देखाएर गरिएको थियो । 

त्यसको लगत्तै नेपथ्य टोली मञ्चमा प्रवेश गरेको थियो । ब्याण्डले स्टेजमा सबैभन्दा पहिले नयाँ गीत ‘कुरुप अनुहार हो’ प्रस्तुतगरेको थियो । साढे तीन दसकअघि विश्वविद्यालय पढ्न कीर्तिपुर पुगेका दुइ पोखरेली तन्नेरीहरु सरुभक्तको रचना र विक्रम गुरुङको संगीतमा यो गीत तयार भएको हो । पछिल्लो समय नेपथ्यले गाउन थालेपछि चर्चित बनेको यो गीत ब्याण्डको दसौं अल्बममा समावेश छ ।

त्यसपछि सोनाम ल्होसारको मुडलाई अवाज दिँदै ‘भेँडाको ऊनजस्तो’ सुनाउँदा मैदानभरिका तन्नेरीहरु उफ्रिरहेका देखिन्थे। 

तराइमा यतिखेर जारी शितलहरले गर्दा बेलुकी पक्लिहवा स्कुलको मैदान पनि हुस्सु र कुहिरोले ढपक्कै ढाकेको थियो । यसरी हुस्सु र कुहिरोले ढाकेको अन्धकारमा बत्तीहरुको प्रभावले गर्दा स्टेजदेखि मैदानसम्मै माहोल मोहक पाराले धमिलो देखिएको थियो ।

‘अरुबेला हामीले स्टेजमा यस्तो प्रभाव ल्याउन खर्चगरेर कृतिम धुवाँ प्रयोग गर्नुपथ्र्यो,’ ब्याण्डका ब्यवस्थापक किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘भैरहवामा भने प्रकृतिले नै त्यस्तो वातावरण बनाइदियो ।’

यसरी सिंगो मैदानलाई हुस्सु र कुहिरोले छेकिरहेको त्यो वातावरणमा त्यसपछिको गीत नेपथ्यको सर्वकालिक हिट ‘छेक्यो छेक्यो’ नै थियो । 

‘आँगनैभरि’ गाउने बेलामा भने गायक अमृत गुरुङ र श्रोतादर्शक दुवै ब्याण्ड स्थापनाका क्षण सम्झेर भावुक भएका थिए। 

ब्याण्डको पहिलो गीतका रुपमा औपचारिक घोषणा गरिएको यस गीतलाई प्रस्तुत गर्ने बेलामा पृष्ठभूमिमा स्थापनाकालीन सदस्यहरुका सम्झनारुपी तस्बिर देखाइएको थियो ।

‘यो गीत मैले तयारपार्ने बेलामा तपाइँहरु धेरैजना त जन्मनु पनि भएको थिएन,’ दर्शक घेरामा रहेका अधिकांश तन्नेरीहरुसँग ठट्टागर्दै गायक अमृतले भने, ‘यतिबेला गाइरहँदा मलाई तपाइकै उमेरको त्यो क्षणमा पुगेको महशुस भइरहेको छ ।’

त्यसपछि अमृतले एकपछि अर्कोगर्दै झण्डै बराबर मात्रामा नयाँ र पुराना अल्बमका गीतहरु सुनाए । 

अन्त्यमा ‘रातो र चन्द्रसूर्जे’ सुनाएर कार्यक्रमको बिट मारिएको थियो ।

सँधैजस्तै मुख्य गायक अमृतलाई यसपटक पनि ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, लिड गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए । 
भैरहवाको कार्यक्रमलाई स्थानीय ‘पर्फेक्ट इभेन्ट स्क्वाड’ले आयोजना गरेको थियो ।

यो कन्सर्टसँगै पूर्वी कुना झापाबाट सुरुभएको यसपटकको नेपथ्य यात्रा पश्चिमको अनुभवका साथ विश्राम लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप