शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्व.ढकाललाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’

बिहीबार, ०४ माघ २०७४, १९ : ३५
बिहीबार, ०४ माघ २०७४

सुरुङ्गा– पूर्वाञ्चल राष्ट्रिय दैनिकका पूर्वप्रधान सम्पादक स्वर्गीय मदन ढकाललाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ ।  पूर्वाञ्चल दैनिकको २३ औं वार्षिक उत्सवको अवसर पारेर स्वर्गीय ढकाललाई आज ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको हो । 

रु २१ हजार राशिको उक्त अवार्ड नेपाल पत्रकार महासंघ झापाका संस्थापक महासचिव चन्द्र भण्डारी, पूर्वाञ्चल दैनिकका प्रकाशक भरतलाल गिरी र नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाले संयुक्त रुपमा स्वर्गीय ढकालकी श्रीमती सावित्रा ढकाललाई प्रदान गरिन् । 

चार दशकसम्म निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशील रही पत्रकारिताको श्रीवृद्धिमा स्वर्गीय ढकालले पुर्याएको योगदान सदैव स्मरणीय रहने चर्चा गर्दै उनलाई सो अवार्ड प्रदान गरिएको पूर्वाञ्चल दैनिकका सम्पादक एकराज गिरीले जानकारी दिए । पत्रकार ढकालको गत वर्ष निधन भएको थियो । 

त्यस्तै, स्वार्गीय पत्रकार ढकालको स्मृतिमा स्थापित ‘मदन ढकाल स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार गोविन्दचन्द क्षेत्रीलाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु १५ हजार छ ।  त्यस्तै, राष्ट्रिय समाचार समिति (रासस) का झापा समाचारदाता सुरेन्द्र भण्डारीलाई उत्कृष्ट पत्रकार सम्मान प्रदान गरिएको छ । पत्रिकाले उत्कृष्ट लेखक एवम् स्तम्भकार सम्मान अग्रज पत्रकार नकुल काजीलाई प्रदान गरेको छ भने उत्कृष्ट समाचारदाता सम्मान पत्रकार नरेन्द्र ढकालाई प्रदान गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप