मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हुस्सुले आन्तरिक उडान प्रभावित

बिहीबार, ०४ माघ २०७४, १८ : ५७
बिहीबार, ०४ माघ २०७४

काठमाडौँ– तराई क्षेत्रमा निरन्तर लागेको बाक्लो हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने विभिन्न गन्तव्यका कतिपय आन्तरिक उडान प्रभावित भएको छ ।  हुस्सुका कारण केही दिनयता भद्रपुर, विराटनगर, जनकपुरलगायत गन्तव्यको उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । 

लामो समयदेखि हुस्सु लागेका कारण सिमरा, भैरहवा र धनगढीको उडानमा समेत पटक–पटक अवरोध हुँदै आएको छ ।  मुख्य गन्तव्यमा नियमित उडान नहुँदा कामकाजी सर्वसाधारण मर्कामा परेका छन् । निर्माणाधीन नारायणघाट–मुग्लिन सडकका कारण यात्रुलाई कठिनाइ भएपछि आफ्नो गन्तव्यमा पुग्न यात्रुलाई केही सातादेखि विमानस्थलमा उडान नहुँदा झनै सास्ती भएको छ । 

विमान नउड्ने भएपछि यात्रुहरु लामो र जोखिमपूर्ण यात्रा भए पनि सडक मार्ग हुँदै राजधानी काठमाडौँ आवतजावत गर्ने गरेका छन् ।  विमानस्थलबाट आन्तरिकतर्फ दैनिक करिब पाँच हजार यात्रु आवतजावत गर्ने गरेका छन् । आन्तरिकतर्फ हेलिकप्टरसहित ९नेपाल वायुसेवा निगम, बुद्ध, यतिलगायत० १८ वटा वायुसेवा कम्पनीले उडान भर्दै आएका छन् । 

अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको विमानस्थलले जनाएको छ । हाल ३० वटा वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप