बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

राजपाले गल्ती गर्दा एउटा दलित नेताको यसरी गुम्यो समानुपातिक पद

बिहीबार, ०४ माघ २०७४, १८ : २१
बिहीबार, ०४ माघ २०७४

काठमाडौँ । ‘मेरो ठूलो अपमान भयो, म कसैलाई मुख देखाउने अवस्थामा छैन । गाउँ जान सकेको छैन । साथी भाइलाई मुख देखाउन सकेको छैन । अब म के गरुँ थाह छैन ।’ 
यो पीडा हो राष्ट्रिय जनता पार्टी नेपालका दलित नेता रामप्रवेश बैठाको । 

राजपा नेपालको एउटा गल्तीका कारण नेता बैठा आज अपमानित महसुश गरिरहेका छन् । राजपा नेपालले प्राप्त गरेको प्रदेश सभाका १० जनाको समानुपातिक सूचीमा दलित कोटामा रामप्रवेश बैठाको नाम पठाएको थियो । तर, निर्वाचन आयोगले भन्यो, ‘बैठा दलित हो भनेर चिन्दैन ।’

यो पीडा बैठाको मात्र होइन, मुस्लिम कोटाबाट समानुपातिक सूचीमा परेकी लैला खातुनको पनि हो । पार्टीले उनको नाम पनि सूचीबाट हटाएको छ । 

सूची बुझाउँदा नै त्रुटी
राजपा नेपालले शुरुमा समानुपातिक उम्मेदवारको सूची बुझाउँदा समावेशी समूह (कलस्टर) मा न दलित छुट्याएको थियो न मुस्लिम न अन्य कुनै । सबैलाई मधेशी समूहमा नै राखिदिएको थियो । कलस्टरमा सबै मधेशी नै राखेपछि आयोगले सच्याउने समय पनि दिएको थियो । तर, राजपा नेपालले बुझाएको सूचीमा पनि फेरबदल गरेन ।

निर्वाचन सम्पन्न भएपछि आफ्नो भागमा परेको १० जना समानुपातिक सदस्यहरुको सूची पठाउँदा भने क्लस्टर (दलित, मधेशी, मुस्लिम) छुट्याएर पठायो । यो आयोगमा पठाएको उम्मेदवारहरुको सूचीसँग मेल खाएन । 

आयोगले सूचीलाई सबै मधेशी कलस्टरमा राखेर क्रमसंख्याका आधारमा सूची बुझाउन भन्यो । आयोगले क्रमसंख्याको आधारमा माथीबाट तीनजना पुरुष र सात जना महिलाको नाम बुझाउन राजपा नेपाललाई पत्र नै पठाएको थियो । 

आयोगले पठाएको पत्र अनुसार नै राजपा नेपालले नाम संशोधन गरि पठाउँदा बैठा र खातुनलगायत अन्य छजनाको नाम हट्यो र नयाँ छजनाको नाम क्रमसंख्याको आधारमा सूचीमा समावेश गरि आयोगलाई बुझायो ।
 

म अपमानित भएँ
बैठा भन्छन्, यदि पार्टीले समानुपातिक उम्मेदवारको सूची बुझाउने बेला नै दलितको अगाडि दलित, मुस्लिमको अगाडि मुस्लिम, जनजातिको अगाडि जनजाति लेखिदिएको भए आज यो समस्या आउने थिएन । पार्टीले गरेको एउटा भूलका कारण आज सिङ्गै दलित र मुस्लिम अपमानित महसुस गरिरहेका छन् ।’

यता, आयोग भने पार्टीले पठाएको सूची गलत हो कि सही सच्याउनका लागि आफूहरुले सबै दललाई समय दिए पनि सूची नसच्याएको कारण अहिलेको समस्या देखिएको बताउँछ । ‘सच्याएर नपठाएपछि यही होला भनेर हामीले सोही सूचीलाई ओके गरेका हौँ,’ आयोगका एक आयुक्तले भने ।

आयोगकै गल्ती : राजपा
तर, राजपा नेपालले भने यसमा आयोगकै गल्ती भएको बताएको छ । पार्टी महासचिव केशव झा भन्छन्, ‘ल, पार्टीले त मिस्टेक गर्यो । तर, आयोगले पनि कलस्टर मिलेको छैन । यसलाई सच्याउन किन भनेन ? खसलाई पनि मधेशीमा राखिएको छ । के त्यो कुरा पनि आयोगले देख्न सकेन ? महिलालाई पुरुष र पुरुषलाई महिला भएको छ, के त्यो पनि सच्याउन सकेन आयोगले ? यसमा राजपा नेपालको कुनै दोष छैन । पूरै दोष आयोगको हो । यत्रो संयन्त्र लिएर बसेका आयोगले हामीले बुझाएका डकुमेन्ट जाँच गर्नुपथ्र्यो ।’

वैठाले पार्टीले आफूमाथि अन्याय गरेको र अब पार्टीले नै यसको बारेमा विचार गर्नुपर्ने बताए । उनले पार्टीले समयमा बुद्धि नपुर्याएको कारण दलित, आदिवासी जनजाति, मुस्लिमहरु चिन्तित बनेको बताउँदै यसको क्षतिपूर्ति दिनुपर्ने माग गरे ।

‘दलित समूदायमा पनि एउटा राम्रो सन्देश गएको थियो । मलाई राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रबाट बधाई आइसकेको थियो,’ बैठाले भने, ‘तर पार्टीको भूलका कारण आज निकै अपमानित महसुस गरिरहेको छु ।’  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप