बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अमेरिका र रुसबीचको पछिल्लो सम्बन्धबारे बोल्यो रुसी विदेश मन्त्रालय

बिहीबार, ०४ माघ २०७४, १५ : ०७
बिहीबार, ०४ माघ २०७४

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष उनको निर्वाचन अभियानको क्रममा अमेरिका र रुसबीचको सम्बन्धमा थप सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।  तर व्यवहारमा भने त्यस्तो हुन सकिरहेको छैन । उनले त्यसताका भनेजस्तै यी दुई देशको सम्बन्धमा सुधार हुन सकेको छैन । 

बरु त्यसको उल्टो यो एक वर्षमा यी दुई देशको सम्बन्ध शीतयुद्धकालीन रुपमा जस्तो भित्रभित्रै झनै नराम्रो हुँदै गएको विश्लेषण गर्न थालिएको छ ।  रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाकारोभाले बिहीबार रुसी राजधानी मस्कोमा सो धारणा राखेकी हुन् । उनले  भनेकी छन्, ट्रम्प राष्ट्रपति भएपछि जुन रुपमा सम्बन्ध सुधार होला भन्ने अपेक्षा गरिएको थियो त्यो रुपमा हुन सकिरहेको छैन । 

उनले भनिन्, हामीले त ट्रम्प सत्तामा आएपछि अमेरिकासँगको सम्बन्धमा सुधारका लागि निकै नै प्रयास गरिरहेका छौँ, तर खोइ किन किन त्यसो हुन सकिरहेको छैन ।  यी दुई देशको पछिल्लो समयमा विशेषगरी युक्रेन, सिरिया र इरानको विषयलाई लिएर असमझदारीहरु विकास भइरहेको छ, त्यसैले यसलाई अब आगामी दिनमा कमगर्ने उपायहरु अवलम्बन गर्नुपर्नेमा उनले जोड दिइन् । 

मस्कोमा बिहीबार आयोजित एक नियमित पत्रकार सम्मेलनका क्रममा उनले सो धारणा राखेकी हुन् ।  हिजोमात्र पनि अमेरिकी राष्ट्रपति ट्रम्पमाथि रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभ खनिएका थिए । उनले ट्रम्पकै कारण रुससँगको सम्बन्ध अहिले आएर झनै विग्रिएको बताएका थिए । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप