शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश राजधानी तोक्ने सरकारी निर्णयविरुद्ध धनकुटा र दाङ तनावग्रस्त : डोटी, कपिलबस्तु र वीरगञ्जमा पनि प्रदर्शन

बिहीबार, ०४ माघ २०७४, ११ : ००
बिहीबार, ०४ माघ २०७४

काठमाडौं– प्रदेशको अस्थायी राजधानी तोक्ने सरकारी निर्णय फिर्ता गर्न माग गर्दै विभिन्न जिल्लाका विभिन्न स्थनमा आज बिहानैबाट बन्द हड्ताल, प्रदर्शन र तोडफोड भएका छन् भने, सरकारी निर्णयको स्वागतमा जनकपुर, बुटवल र सुर्खेतमा दिपावली पनि भएका छन् । तर, धनुकटा, दाङ, डोटी, कपिलबस्तु, वीरगञ्ज लगायतका स्थानमा बन्दहड्ताल, प्रदर्शन र तोडफोड हुँदा ति जिल्लाको जनजीवन अस्तव्यस्त भएका छन् । 
धनकुटा बिहानैबाट तनावग्रस्त
प्रदेश नम्बर १ को राजधानी धनकुटा बनाउनुपर्ने माग गर्दै स्थानीयबासीले धनकुटामा आमहड्ताल र प्रदर्शनलाई निरन्तरता दिएका छन् । उनीहरुले बिहीबार बिहानै प्रधानमन्त्री शेरबहशादुर देउवाको पुतला दहन र शहर परिक्रमा गराएका छन् । 


आन्दोलनकारी बन्दको बेवास्ता गरेको भन्दै जिल्ला प्रहरी प्रमुखसहित तीनवटा नीजि सवारी साधन तोडफोड गरेका छन् । एसपी सुदिप राजभण्डारी सवार ना १ झ १३१४ नम्बरको गाडीमा तोडफोड भएपछि प्रदर्शनकारी र प्रहरीबीच ठाउँठाउँमा झडप भइरहेको धनकुटाका पत्रकार रविन कट्टेलले जानकारी दिएका छन् । आन्दोलनकारीको समुह अहिले क्षेत्रिय प्रशासन कार्यलयतर्फ अघि बढेको छ । त्याहा तैनाथ सुरक्षाकर्मीले प्रशासन कार्यलयतर्फ जान रोक्ने प्रयास गरिरहेको छ । 


दाङमा पनि तनाव 
त्यस्तै, सरकारले प्रदेश नम्बर ५ को अस्थायी राजधानी बुटबललाई ताकेपछि उक्त निर्णयको विरोधमा दाङका विभिन्न स्थानमा अनिश्चितकालिन बन्द आब्हान गरिएको छ । बन्दकर्ताले निर्णय फिर्ता गर्नुपर्ने मागसहित अनिश्चितकालिन बन्द गरेको जनाएका छन् । बन्दका कारण त्यस क्षेत्रको जनजीवन पुर्णतया प्रभावित बनेको छ । 
आन्दोलन थप ससक्त बनाउन बुधबार बिहान दाङका सवै सरकारी कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रम रहेको प्रादेशिक राजधानी सरोकार समितिका सदस्यसचिव सविन प्रियासनले रातोपाटीलाई बताए । 
डोटीमा राति नै ढुङगामुढा
सरकारले ताकेको प्रदेश राजधानीप्रति प्रदेश नम्बर ७ को डोटीमा वपनि आक्रोश बढेको छ । प्रदेश सातको राजधानी धनगढी तोकिएपछि आक्रोशित बनेका डोटीको दिपायलका स्थानीयले गएराती अबेरसम्म ढुंगामुढा र तोडफोड गरेका थिए । सरकारी निर्णय बदलेर क्षनेत्रिय प्रशासन कार्यलय भएको दिपायललाई नै प्रदेश ७ को राजधानी बनाउनुपर्नेे उनीहरुको माग छ । निर्णय नसच्चाए आन्दोलन थप कडा बनाउने प्रदेश राजधानी आन्दोलन संयोजन समितिका संयोजक नरेन्द्र खड्काले बताएका छन् ।
कपिलवस्तुमा पनि राजधानी माग्दै बन्द 

अस्थायी राजधानी तोकेपछि कपिलवस्तुमा पनि बिरोध भएको  छ । सरकारले ५ नं प्रदेशको राजधानी रुपन्देही तोकेपछि कपिलवस्तु युवा संर्घष समितिको अगुवाइमा बिरोध गर्दै हिजो साझ ५ बजे बाट तीन दिन सम्म जिल्ला बन्द गर्ने निर्णय गरुेको छ । सरकारले प्राचिन कपिलवस्तुलाई हेला गरेको भन्दै राजधानीको विषयमा पुनबिचार गर्ने समितिले प्रेस बिज्ञप्तिमार्फत जनाएको छ । 

वीरगञ्जमा प्रदर्शन र तोडफोड
प्रदेश नम्बर २ अन्तर्गत वीरगन्जमा पनि विरोध प्रदर्शन भएको छ । स्थानीय, नेता कार्यकर्ता तथा अगुवाहरुले वीरगन्ज बन्द आह्वान गरेर विरोध सुरु गरेका हुन् । बिहीबार बिहानै बीरगञ्जका चोकमा जम्मा भएर स्थानीयले २ नम्बर प्रदेशको राजधनी वीरगन्ज बनाउनुपर्ने मागसहित प्रदर्शन गरेका हुन् ।
आक्रोशित आन्दोलनकारीले एउटा निजी कार तोडफोड गरेका छन् । २ नम्बर प्रदेशको अस्थायी राजधानी सरकारले जनकपुर तोकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप