शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालका पूर्व प्रशिक्षकको आत्मकथा : ‘दिल्ली टु डेन’

बिहीबार, ०४ माघ २०७४, १० : १०
बिहीबार, ०४ माघ २०७४

स्टेफेन कोन्सटानटाइनप्रति फुटबल समर्थकहरुको बेग्लै सहानुभूति छ । विश्वका धेरै देशलाई प्रशिक्षण दिने इंग्लिस प्रशिक्षकको सूचीमा उनी पहिलो स्थानमा छन् । यसरी, विश्वसकै योग्य प्रशिक्षकहरुमध्ये एक भएर पनि उनले आफ्नै देशमा प्रशिक्षण दिन पाएनन् । पर्याप्त प्रयास नगरेका भने होइनन् । 

लण्डनमा जन्मिएका कोन्सटानटाइनको खास घर भने साइप्रस हो । तर उनी, विश्वका धेरै ठाउँमा फुटबल सिकाउनमै केन्द्रीत रहे । नेपाल, भारत, मालावी, सुडान, कंगो लगायत देशमा युवाहरुलाई फुटबलप्रति आकर्षित गर्न उनले महत्वपूर्ण भूमिका खेलेका छन् । फुटबल प्रशिक्षण दिँदाका रोचक घटनाक्रमहरु समेटेर उनले प्रकाशनमा ल्याएको आत्मकथा ‘दिल्ली टु डेन’ पढेपछि कोन्सटानटाइनबारे धेरै थाहा पाइन्छ । 
काठमाडौंमा तत्कालिन राजकुमार दीपेन्द्रले अंगालो हालेकोदेखि सुडानमा आफ्नै सुरक्षाका लागि म्याच छोड्न चेतावनी आएका घटना उनले इमानदारीका साथ आत्मकथामा लेखेका छन् । 

सुरुवाती दिनमा बायोडाटा बोकेर प्रशिक्षणका लागि आवेदन दिन इङ्ग्ल्याण्डका स–साना क्लब धाएको विषय उनको आत्मकथामा उल्लेख छ । उनले आफूभन्दा कम व्यवसायीक मानिएका स्टिभ क्लारिज्ड, किम ग्रान्ट र मार्टिन एलनले केन्टस्थित गेलिङह्याममा प्रशिक्षण गराउने अवसर पाएको  विषय पनि उल्लेख गरेका छन् । यी प्रशिक्षकहरुले कालान्तरमा इंग्लिस प्रिमियर लिगमै प्रशिक्षण गराएका थिए ।

६ वटा देशको राष्ट्रिय टोली सम्हालिसकेका कोन्सटानटाइनको परिचय नेपालमै प्रशिक्षण गराएपछि फराकिलो भएको थियो । चोटका कारण २५ वर्षकै उमेरमा फुटबल जीवन टुंग्याएका यी प्रशिक्षक त्यसपछि विभिन्नन देशका घरेलु क्लबमा आबद्ध भए । करियरको सुरुवाती समय यही थियो, जतिबेला उनी झोलामा बायोडाटा बोकेर इङल्यान्डका स–साना क्लबमा आवेदन दिँदै हिँड्थे । युईएफए प्रो लाइसेन्स हासिल गरेर फिफा इन्स्ट्रक्टरका रुपमा कार्यरत यी प्रशिक्षक सन् १९९९ मा दक्षिण एशियाली खेलअघि नेपाल आएका थिए । त्यतिबेला उनको उमेर ३८ वर्षमात्रै थियो । यी प्रशिक्षककै नेतृत्वमा नेपालले दक्षिण एशियाली खेलकुदमा फुटबलतर्फ रजत पदक जित्यो । उनले प्रबल गोर्खा दक्षिणबाहु प्राप्त गरे । नेपाल बसाइँका क्रममा राजकुमार दीपेन्द्र आफुसँग निकै प्रभावित भएको विषय उनले आत्मकथामा लेखेका छन् ।  फुटबल चलिरहँदा दौरा सुरुवाल लगाएर टचलाइनमा बस्दाको उनको अनुभव पनि आत्मकथामा समावेश छ । 

सन् २००१ मा कोन्सटानटाइनले नेपाल छाडे । २००२ देखि २००५ सम्म भारतमा प्रशिक्षण गराए । त्यहाँ पनि उनी सफल रहे ।  त्यसपछि उनको सपना ठूला इंग्लिस क्लबमा प्रशिक्षण गराउने थियो । दोस्रो डिभिजनको मिलवाल रोभर्समार्फत उनले इंङल्यान्डमा प्रशिक्षण यात्रा सुरु गरे । मिलवालकै घरेलु मैदान हो, ‘डेन’ जसको नाम उनले आत्मकथाको शीर्षकमै उल्लेख गरेका छन् । 

तर इङल्यान्डमा उनले सोचेजस्तो भएन । मिलवाल सम्हालेको छोटो समयमै उनी बर्खास्तीमा परे । व्यवस्थापन पक्षको सहयोग नपाउँदा मिलवालमा राम्रो गर्न नसकेको उनको गुनासो छ । ‘मैले केही खेलमात्रै के हारेको थिएँ । क्लबले मलाई बर्खास्त गर्यो,’ उनले लेखेका छन्,  ‘म इङ्ग्ल्याण्डमा प्रमाणित गर्न चाहन्थे । तर समय मिलेन ।’ 

प्राविधिक रुपमा दक्ष भएर पनि उनले इङ्ग्ल्याण्डमा सोचेजस्तो राम्रो क्लबमा जागिर पाएनन् । ठूला इंग्लिस क्लबलाई प्रशिक्षण गराउने सपना अधुरो रह्यो । 

मलावी, सुडान र रुवान्डापछि उनी सन् २०१५ मा फेरि भारत फर्किए । सन् २०१६ मा उनकै प्रशिक्षणमा भारतले साफ च्याम्पियनसिपको उपाधि जित्यो । ५५ वर्षका यी प्रशिक्षक ‘घुमन्ते प्रशिक्षक’ भनेर पनि चिनिन्छन् । 

चोटका कारण फुटबलबाट टाढिनुपर्ने अवस्था आइपुग्दा समेत यही खेलमा प्रतिबद्ध भएर लागेका कोन्सटानटाइन इंङ्ल्यान्डका ठूला क्लबमा प्रशिक्षण गराउन नपाएपनि  अहिले  विश्वकै दोस्रो ठूलो जनसंख्याको भारतमा लोकप्रिय छन्  । के स्पष्ट छ भने उनको सासमा फुटबल नै छ ।  उनको आत्मकथा पढेपछि पाठकहरु यति उत्कृष्ट प्रशिक्षकले किन प्रिमियर लिग वा च्याम्पियनसिपमा मौका पाएनन् भनेर एकपटक अचम्मित हुनेछन् । अवश्य पनि कोन्सटानटाइनसँग उच्च डिभिजनको प्रशिक्षक बन्नका लागि सबै योग्यता छन् । ५५ वर्ष पुगिसक्दा पनि उनलाई अझै अवसरकै आवश्यकता छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप