शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस केन्द्रीय समिति बैठक सुरू :  यस्ता छन् त्रिपक्षीय रणनीति

बिहीबार, ०४ माघ २०७४, ११ : ५०
बिहीबार, ०४ माघ २०७४

काठमाडौं–निर्वाचनमा अप्रत्याशित पराजय भोगेको नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएकाे छ। चुनावपछि पहिलो पटक पार्टी सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् ।  प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षमा तेश्रो स्थान खुम्चिएको काँग्रेसभित्र विगत डेढ महिनायता आन्तरिक तिक्तता बढेको बेला बोलाइएको केन्द्रीय समिति बैठकलाई चासोका साथ हेरिएको छ । 
निर्वाचनको परिणाम निस्कनासाथ युवा पुस्ताको प्रतिक्रिया सबैभन्दा पहिला वाहिर आयो ।  युवा पुस्तासँगै नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले पनि नेतृत्वको आलोचना गर्दै आफ्ना धारणा वाहिर ल्याए । अर्का नेता कृष्ण सिटौला समूहसहितका फरक धारले सभापति देउवालाई ‘तारो’ बनाएसँगै देउवा पक्षीय नेताहरु नेतृत्वको वचाउमा लागे । चुनापछि प्रष्ट  तीन गुटमा देखिएका नेताहरुले केन्द्रिय समितीको वैठकमा आफ्ना रणनीति तय गरेका छन् । 
केन्द्रिय समितीको वैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्ष आ–आफनो रणनीतिका साथ बैठकमा प्रस्तुत हुने बताइएको छ । 
 

पौडेल पक्षको यस्तो छ रणनीति
 रामचन्द्र पौडेल समूहले केन्द्रिय कार्य सम्पादन समिति र संसदीय समितिको विघटनको मुद्दालाई प्रमुख रुपमा उठाउने संकेत दिएको छ  । 
प्रदेश तथा प्रतिनिधि सभा सदस्यमा निर्वाचनमा काँग्रेसको पराजयको मुख्य कारण सभापति देउवाको विधान विपरितको  कार्यशैली भएको पौडेल पक्षको आरोप छ । 
पौडेल पक्षका नेताहरु निर्वाचन पराजयको विषयलाई केन्द्रिय समिती वैठकमा तोडतोडका साथ उठाउने पक्षमा देखिएका छन् । काँग्रेस केन्द्रिय समिति सदस्य नविन्द्रराज जोशीले राष्ट्रिय सभाको निर्वाचनका विषयमा बैठक बस्ने जानकारी पाएको बताउँदै भने ‘दुई दिन बैठक रोकिएर पुनः डाकियोस् तर निष्कर्षमा पुर्याएर टुङ्याउनुपर्छ ।’ महाधिवेशन पश्चात सभापतिले विधान विपरित गठन  गरेका समितिहरु तत्काल  भंग गर्नुपर्ने माग  उठाइने पनि जोशीले वताए । 

गत चैतमा सभापति देउवाले २९ सदस्यीय केन्द्रिय कार्य सम्पादन समिति बनाएका थिए । काँग्रेसको विधानमा २५ सदस्यीय केन्द्रिय कार्य सम्पादन समिति हुनुपर्ने उल्लेख छ । 
११ सदस्यीय संसदीय सदस्यहरु हुनुपर्नेमा  विधान विपरित १७ सदस्यीय संसदीय समिति पनि बनाएका थिए । ‘सभापतिले आफुखुसी बनाएको समितिलाई भंग गर्नुृपर्छ,’ जोशीले भने , ‘हरेक वर्ष बोलाउनुपर्ने महासमिति बैठक महाधिवेसन सकिएको दुई वर्षसम्म बोलाइएको छैन । महाधिवेशन सकिएको  दुई महिनामा गठन भइसक्नुपर्ने विभागहरु पनि गठन हुन सकेको छैन । ’
यस्तै युवा पुस्ताले केन्द्रिय समितिको बैठक हँुदै महासमिति र विशेष महाधिवेसनमा माग गरेपनि पौडेल पक्ष भने तत्काल विशेष महाधिवेसनको पक्षमा देखिएको छैन । पुष २३ गते बालुवाटारमा बसेको पौडेल पक्षका नेताहरुको बैठकले तत्काल केन्द्रिय कार्यसमितिको बैठक बोलाउन माग गरेको थियो । त्यसलगत्तै रामचन्द्र पौडेल, कृष्ण सिटौला र अर्जुनरसिंह केसी बीच भएको बैठकले पनि केन्द्रिय समिति र देउवाले गठन गरेका दुई समिति भंग गर्न माग गरेको थियो । 

माघ १ मा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र कृष्णप्रसाद सिटौलाले बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेर केन्द्रिय कार्यसमिती बैठकका लागि दबाब दिए । साथै बैठकमा तीन नेताले विधान विपरित गठन गरिएका संसदीय समिती र कार्य सम्पादन समिती विघटन गर्न माग गरेका थिए । कोइराला परिवारका महामन्त्री शंशाक कोइराला, शेखर कोइराला र सुजाता कोइरालाले माघ २ मा वैठक वसेर पराजित बन्नुमा पार्टी संस्थागत ढंगले  नचल्नु र नेतृत्व कमजोर बन्नुको निश्कर्ष निकालेका थिए । 
निर्वाचनमा पराजयलाई पौडेल पक्षीय नेताहरुले देउवाकोे कार्यशैली र कार्यक्षमतामा प्रश्न उठाएका छन् । ‘इतिहास बोकेको नेपाली काँग्रेस पराजयको गम्भीर समिक्षा हुनुपर्दछ ,’ जोशीले भने, ‘अन्तर्घात छ भने केन्द्रिय समितिले टुङ्गो लगाओस् । केन्द्रिय समितीको वैठक झारा टार्ने मात्रै हुनुहुँदैन ।’

सिटौला पक्षको आमूल परिर्वतनको एजेण्डा 
निर्वाचनको परिणाम प्रकाशित भएपछि  काँग्रेसमा निर्वाचनको विषयमा प्रारम्भिक प्रतिक्रिया सिटौला पक्षका युवा नेताहरुबाट आएको थियो । मूल नेतृत्वका कारण नै पराजय भोग्न परेको उनीहरुको दावी छ । बाम गठबन्धन र अन्तर्घातको कारण देखाएर नेतृत्व उम्कन नसक्ने सिटौला पक्षको ठहर छ । 
केन्द्रिय समितीको वैठकमा हारलाई प्रमुख विषय बनाउने सो समूहको तयारी  छ । काँग्रेस युवा नेता प्रदीप पौडेलले निर्वाचनको समिक्षासँगै काँग्रेसको आमुल परिवर्तनको माग उठाउने वताए । संगठनात्मक स्वरुपमा परिवर्तनको माग पनि सिटौला पक्षले उठाउने भएको छ । 
पौडेल र सिटौला समुहमा एजेण्डामा समानता 
विधान विपरित पार्टी  सन्चालन भएकोमा दुइ पक्ष नै एकमत छ । कार्य सम्पादन र संसदीय समिति भंगको लागि दुई पक्षले माग गर्दै आएका छन् । कार्यसमिति बैठकमा दुई पक्षले यस विषयलाई उठाउने भएका छन् । 
विधानतः प्रत्येक वर्षमा डाकिनुपर्ने महासमितिको वैठक नबोलाइएको प्रति दुबै पक्ष रुष्ट छन् । महासमिती बैठकका लागि पनि दुबै समूहले सभापतिलाई दबाब दिने रणनीति बनाएका छन् । 
कार्यसम्पादन र संसदीय समिति विघटनको मागलाई देउवासँग माघ १ मा पौडेलसँगै सिटौलाले पनि उठाएका कारण दुई समुहको एकमत देखिएको छ । सिटौला पक्षका युवा नेताहरुले विशेष महाधिवेसनको पनि माग उठाउने बताउँदै आएपनि पौडेल पक्षले भने हाललाई विशेष महाधिवेशनको मागप्रति रुचि देखाएको छैन । विशेष महाधिवेशनका पक्षमा भने पौडेल र सिटौला पक्षको मागमा असमनता देखिएको छ । 
देउवा पक्षबाट सत्तामा साझेदारी गर्ने विषयहरु कहिलकाहीं वाहिर आइरहँदा पौडेल र सिटौला पक्षले भने त्यस विषयमा चासो नदिने संकेत दिएका छन् । 
 

देउवा पक्ष बैठक छिटो टुङ्ग्याउने रणनीतिमा 
राष्ट्रिय सभा निर्वाचनका विषयमा छलफल गर्ने गरि बोलाइएको बैठकमा निर्वाचन समिक्षाबारेको सबालले बिहिबार  प्रारम्भिकरुपमा मात्रै प्रवेश पाउने  देउवा पक्षीय नेताहरुको बताएका छन् । प्रवक्ता विश्व प्रकाश शर्माले तत्काल राष्ट्रिय सभा निर्वाचनमा केन्द्रित हुने र त्यसपछि निर्वाचन पराजयको समिक्षा हुने जनाएका छन् । 

देउवा समूह पौडेल समूह र सिटौला समूहको प्रतिवादमा पनि बैठकमा जुट्ने छ । यता  असन्तुष्ट समूहले भनेजस्तो देउवा समूह  विशेष महाधिवेसनको मागमा प्रवेश नै गर्न नचाहेको देखिएको छ । राष्ट्रिय सभा निर्वाचनको लागि दलको तर्फबाट गर्ने तयारीका विषयमा वैठक डाकिएको हुँदा बिहिवार राष्ट्रिय सभा निर्वाचनमा केन्द्रित हुने काँग्रेस नेता वालकृष्ण खाँणले जानकारी गराए । उम्मेदवारहरुको छनौट निर्वाचन प्रणाली अनुसार तय गर्ने खाँणले बताए । 

यता पौडेल र सिटौला पक्षले उठाँउदै आएको कार्यसम्पादन र संसदीय समिती विघटनको  मागलाई  देउवा पक्षले पुर्नगठन गर्न सकिने संकेत गरेको छ ।

 ‘दलको मेरुदण्डको रुपमा रहेका समितिहरुलाई परिष्कृत गर्न सकिन्छ’ –खाँणले भने । देउवा सकेसम्म बैठक नलम्ब्याउने पक्षमा छन् । यसबारे खाँडले बिहिवारको अवस्था हेरेर बैठक लम्व्याउने वा छोट्याउने भन्ने टुंगो लाग्ने बताए ।  बैठकका उठेका विषय अनुसार नै वैठक पुनः वस्ने वा टुगिने भन्नेमा निर्भर रहने उनको भनाई छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप