शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जान्नुहोस् टाउको दुखाइका ३ अवस्था

बुधबार, ०३ माघ २०७४, १५ : १०
बुधबार, ०३ माघ २०७४

टाउको दुखाइ प्रायः मानिसलाई हुने समस्या हो । धेरैले यसलाई सामान्य रूपमा पनि लिन्छन् । तर, यो समस्याले एक–दुई दिनदेखि वर्षौंसम्म पनि दुःख दिन सक्छ । लामो समयदेखि टाउको दुखिरहेको छ र औषधि खाने वेलामा मात्र निको हुने समस्या भए राम्रैसँग जाँच गराउन जरुरी हुन्छ । यी हुन् टाउको दुखाइका कारणः

डा. प्रदीप पाण्डे , न्युरोलोजिस्ट
तनावको दुखाइ

वर्षौंदेखि टाउको दुखिरहेको, टाउको कुन भागमा दुख्छ भन्ने ठेगन नहुने, भारी भएजस्तो वा थिचेजस्तो महसुस हुने खालको दुखाइ तनावको कारणले हुन्छ । टाउको गह्रुँगो, पोलेजस्तो, किरा हिँडेजस्तो महसुस हुने र चक्कर आउने गर्छ भने पनि त्यसको कारक तनाव हुन सक्छ । तनावले दिनभरिजसो दुखिरहन्छ र जुनसुकै काम गर्न पनि बाधा उत्पन्न हुन्छ । सामान्य औषधि खाएमा निको हुन्छ । तर, पुनः उस्तै रूप लिन्छ भने यो मानसिक समस्यासँग पनि जोडिएको हुन सक्छ । यस्तो समस्या तनावको अवस्था, निद्रामा गडबडीजस्ता कारणले हुन सक्छ ।

माइग्रेन
टाउको दुखाइको अर्को प्रकृति भनेको माइग्रेन हो । दुख्दा टाउको बल्किने, लगातार चार घन्टादेखि दुई दिनसम्म दुख्न सक्ने, बमिट हुने, सामान्य औषधिले नछुने समस्या भनेको माइग्रेन हो । यस्तो समस्या भएमा दुखाइ कम गर्नका लागि कडा औषधि र इन्जेक्सनको प्रयोग गर्नुपर्ने हुन्छ । माइग्रेनको समस्या भएकालाई घाम, बाह्य आवाजलगायतले पनि टाउको दुख्न सक्छ । कतिपयलाई त हिँडडुल गर्दा पनि अत्यधिक टाउको दुखाइ हुन्छ । जसका कारण उनीहरू घरभित्रै बस्न रुचाउँछन् । माइग्रेनको समस्या भएकालाई टाउकोको एउटा पाटो मात्र दुख्ने पनि गर्छ ।

जटिल अवस्था
पहिले बिस्तारै दुख्छ र दुखाइको मात्रा जोडजोडसँग बढ्दै जान्छ । यसको जाँच गर्दा न्युरोलोजिकल सिमटम्स समस्या देखिन्छ । ज्वरो आएमा, टाउको दुखेपछि उल्टी भएमा, टाउको दुख्नाले निद्रा बिग्रेमा या उठ्नेबित्तिकै दुखेमा टाउको दुखाइको जटिल समस्या हुन सक्छ । ५५ वर्षभन्दा बढी उमेरका मानिसलाई यस्तो समस्याले सताउने गर्छ । त्यसैले समयमै जाँच गराउन आवश्यक हुन्छ ।

नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप