बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

यी १० राजनीतिक घटनाक्रमको सङ्केत के ?

बुधबार, ०३ माघ २०७४, १४ : ५५
बुधबार, ०३ माघ २०७४

काठमाडौँ– ‘एमाले–माओवादी केन्द्रको एकता र सङ्कल्प तोड्ने अनि काङ्ग्रेसको संलग्नतामा नयाँ सरकार बनाउने खेलमा यो सरकार लाग्यो’ मङ्गलबार भक्तपुरमा भएको एक कार्यक्रममा एमाले उपाध्यक्ष वामदेव गौतमले भने, ‘तर कसैले भाँजो हाल्दैमा एकता प्रकृया रोकिँदैन ।’

गौतमकोे यो भनाइ र काङ्ग्रेसका महामन्त्री डा. शशांक कोइरालाले केही हप्ताअघि पोखरामा ‘वाम गठबन्धन टुटाउन प्रचण्डसँग कुराकानी भइरहेको छ’ भन्ने अभिव्यक्ति आएको केही दिनपछि आयो । यी आपसमा अन्तरसम्बन्धित जस्तो देखिन्छन् ।

यी दुई नेताका पछिल्ला अभिव्यक्ति र विकसित राजनीतिक घटनाक्रम सुन्दा मुलुकको राजनीति सरल रेखामा हिँडे जस्तो देखिँदैन ।

केही यस्ता राजनीतिक घटनाक्रमहरु सतहमा आएका छन्, जसले राजनीति केही पेचिलो बनेको देखाउँछ ।

उदारणका लागि केही घटनाक्रम हेरौँ :

१. निर्वाचन परिणाममा ढिलाइ
गत मङ्सिर १० र २१ गते सम्पन्न प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भयो । यो निर्वाचनमा परम्परागत शक्ति मानिएको काङ्ग्रेस नराम्ररोसँग पराजित भयो । वामगठबन्धनले सुविधाजनक बहुमतसहित सरकार गठन गर्ने अवस्थामा पुग्यो ।

तर, निर्वाचनअघि निर्वाचन सम्पन्न भएको एक साताभित्रै सबै परिणाम सार्वजनिक गर्ने बताएको आयोगले मतगणना सकिएको एक महिना बित्दा पनि औपचारिक रुपमा नतिजा सार्वजनिक गरेको छैन ।

निर्वाचन सम्पन्न भएको झण्डै १५ दिनभित्र मतगणना सकिए पनि सुरुमा काम नसकिएको बताएको आयोगले पछिल्लो पटक भने संवैधानिक एवं कानुनी जटिलता देखाएर नतिजा सार्वजनिक गर्न ढिलाइ गरेको छ ।

अहिलेसम्म आयोगले प्रतिनिधिसभा र प्रदेशतर्फको समानुपातिक तर्फको नतिजा सार्वजनिक गरिसकेकोे छैन । जब कि प्रतिनिधिसभाको समानुपातिक तर्फको नतिजा समयमै सार्वजनिक गरेको भए अहिले नयाँ जनादेशअनुसार केन्द्रीय सरकार बनिसकेको हुनेथियो ।

माघ २४ गतेका लागि आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचनको कार्यतालिका बनाएको छ । यदि यो कार्यतालिकामा हेरफेर भएन भने त्यसको केही सातापछि मात्र सरकार गठन बन्न सक्छ ।

समानुपातिक नतिजा ढिलाइलाई लिएर आयोगमाथि प्रश्न उठाउन थालिएको छ । यो ढिलाइमा कसैले संवैधानिक र कानुनी जटिलता मानेका छन् भने कसैले चाहिँ आयोगको नियतमाथि प्रश्न उठाएका छन् ।

२. पूर्वराजाको लखनउ भेट
आयोगले समानुपातिक तर्फको नतिजा सार्वजनिक नगरे पनि नतिजा वामगठबन्धनका पक्षमा गएको छ । यस्तोमा वामगठबन्धनको नेतृत्वमा सरकार गठन गर्ने चर्चा र तयारी दुवै हुनु स्वभाविक थियो ।

त्यहीबेला राष्ट्रियसभा निर्वाचन अध्यादेशबारे दलहरुबीचको विवाद पनि उत्कर्षमा पुगिरहेको थियो । राष्ट्रिय सभा निर्वाचन एकल सङ्क्रमणीय वा बहुमतीय प्रणालीबाट भनेर दलहरबीच विवाद कायमै रहेका बेला राष्ट्रपतिले एकल सङ्क्रमणीय आधारमा निर्वाचन हुने गरी अध्यादेश जारी गरिन् ।

त्यसपछि निर्वाचन आयोगको सहमतिमा सरकारले माघ २४ गते राष्ट्रियसभा निर्वाचनको मिति तोक्यो । यो बेला पूर्वराजा ज्ञानेन्द्र शाह सुदूरपश्चिमका जिल्ला भ्रमणमा थिए ।

यही बीचमा पूर्वराजा शाह र भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग माघ २४ गते भेटवार्ता गर्ने तय भएर माघ २३ गते नै लखनउ पुगे ।

माघ २४ गतेको भेटका लागि नयाँ दिल्लीमा रहेका आदित्य २३ गते नै लखनउ हानिए र २४ गते आदित्य र शाहबीच सामूहिक र ४५ मिनेट लामो (गोप्य) अर्थपूर्ण भेटवार्ता भयो ।

नेपालको राजनीतिक घटनाक्रम सिधा ढङ्गले नहिडिरहेका बेला मोदी, आदित्य र ज्ञानेन्द्रबीचको यो भेट संयोग मात्र मान्न सक्ने अवस्था छैन । जब कि मोदी र योगी दुवै नेपालमा हिन्दू राष्ट्र र राजसंस्था आवाश्यक रहेको बताउँदै आएका छन् ।

आदित्य भारतीय प्रधानमन्त्री मोदीका विश्वास पात्र हुन । 

३. ओलीको थाइल्यान्ड बसाइ लम्बियो
पूर्वराजा ज्ञानेन्द्र शाह, उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको भेटवार्ता भएको दोस्रो दिन एमाले अध्यक्ष एवं तथा भावी प्रधानमन्त्रीका रुपमा चर्चामा आएका केपी शर्मा ओली आफ्नो नियमति स्वास्थ्य उपचारका क्रममा थाइल्यान्ड गए । 

उनी नियमित चेकअपपछि माघ २ गते स्वदेश फर्कने कार्यतालिका थियो । तर, उनको बसाई दुई दिन लम्बियो । उनी बिहीबार मात्र काठमाडौं फर्कंदैछन् । 

स्वास्थ्य जाँच सकिएपछि पनि ओलीले आफ्नो भ्रमण २ दिन लम्ब्याएपछि स्वभाविक रुपमा प्रश्न उठ्यो– ‘देशमा राजनीतक सङ्क्रमण बढेका बेला भ्रमण छोट्याउनुपर्ने अवस्थामा किन लम्बियो ? 

भलै थाइल्यान्डमा ओलीले राजनीतिक एवं कूटनीतिक भेटघाट गरेका समाचार भने आइसकेका छैनन् । 

४ राजदूत पुरीको सक्रियता
जब–जब नेपालको राजनीति तरल हुन्छ तब नजिकको छिमेकी मुलुुक भारत र चीनको सक्रियता बढ्छ । अहिले पनि घटनाक्रमले पनि त्यहीँ देखाएको छ ।
पछिल्लो समय भारतीय राजदूत मन्जिवसिंह पुरी नेपाल र भारत बाक्लो ओहोर दोहोर गरिरहेका छन् । 

हिजै मात्र उनी उपराष्ट्रपति नन्दकिशोर पुनलाई उनकै कार्यालयमा गएर भेटेका छन् ।

उपराष्ट्रमा पुन पुनः दोहोरिने चर्चा चलिरहेको बेला यी दुईको बीचमा भएको भेटलाई अर्थपूर्ण रुपमा लिएको छ ।

नेपालको निर्वाचन परिणाम आउने क्रममा नयाँ दिल्ली पुगेका पुरी त्यस लगत्तै नेपाल फर्के । केही दिनपछि पुन भारत गए ।

पुरीभारत गएर ब्रिफ्रिङ गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नेताहरुलाई फोन गरेर निर्वाचन र परिणप्रति समेत चासो राख्दै बधाई र धन्यवाद दिए । 
त्यति मात्रै होइन, पुरीले पछिल्लो समय नेपालका शीर्ष राजनीतिक दलका नेतासँगको भेटवार्ता पनि बाक्लै बनाए ।

राष्ट्रपति उपराष्ट्रपतिदेखि प्रधानमन्त्री र एमाले माओवादी तथा राजपा र सङ्घीय समाजवादी फोरम सबै नेताहरुलाई भेटेर भलाकुसारी गरेका छन् । 

उनले निर्वाचन आयोगका प्रमुख आयुक्तसँग पनि भेट गरेका छन् ।

५–पार्टी एकतामा ढिलाइ 
एमाले र माओवादीबीच चुनावलगत्तै एकतामा जाने सहमति बने पनि यी दुई पार्टीबीच शक्ति बाँडफाँडको कुरा अझै टुङ्गिएको छैन । ती दुई पार्टी कार्यदल बनाएर राष्ट्रियसभा सदस्यको चुनावी तयारीको काम गरेका छन् ।

यसअघि वामगठबन्धन घोषणा हुँदा असोज १७ मा उनीहरुले चुनाव लगत्तै पार्टी एकता गर्ने बताएका थिए ।

पार्टी अध्यक्ष र प्रधानमन्त्री आलोपालोमा हुने वा एकै व्यक्तिले चलाउने भन्नेमा प्रमुख दुई दलबीच विवाद देखिएको छ । 

यद्यपि नेताहरुले शक्ति बाँडफाँड विवाद नभएको दावी गर्दै आएका छन् ।

६. काङ्ग्रेसको लगातार अफर
एमाल–माओवादी गठबन्धन तोड्न काङ्ग्रेसको प्रयास अहिले पनि जारी छ । माओवादीका केही नेताहरु अहिले पनि काङ्ग्रेसका केही नेताहरुसँग नियमति संवादमा छन् । काङ्ग्रेसले पाँच वर्षका लागि प्रधानमन्त्री बन्न प्रचण्डलाई अफर गरेको समाचार प्रकाशमा आएका छन् । मधेसवादी दलका नेताहरुले पनि प्रचण्ड प्रधानमन्त्री हुँदा मधेसको पक्षमा काम गर्न सजिलो हुने धारणा राख्दै आएका छन् ।

कतिपयले निर्वाचन परिणाम ढिलाइमा वामगठबन्धन तोड्न प्रयासका लागि थपिएको म्याद पनि मानेका छन् ।

७. राजपा नेपाल र फोरम नेपालबीच दूरी बढ्नु
प्रदेश दुईमा मधेस सरकार बनाउने घोषणा गरेका राजपा नेपाल र फोरम नेपालबीच हालसम्म कुनै संवाद सुरु भएको छैन ।

यी दुई दलले नै प्रदेश दुईमा सरकार निर्माण गरोस् भनी भारत चाहेका छन् । त्यसका लागि भारतीय राजदूत मन्जिम्भ सिंह पुरीले उनीहरुसँग छुट्टा छुट्टै छलफल पनि गरेका छन् । भारतीय विदेश मन्त्रालयको नर्थ डेस्क प्रमुख सुधाकर दलेल नेपाल आएर फर्केका छन् । पुस २१ गते भारत फर्किनुअघि उनले यहाँका प्रमुख राजनीतिक दलका नेता लगायत मधेसवादी दलका नेताहरुलाई समेत भेटेका थिए ।

८. हिमानी बैङ्ककमा
पूर्वयुवराज्ञी हिमानी शाह अहिले बैङ्ककमा छिन् । उनी पुस २१ गते त्यसतर्फ गएकी हुन् ।

उनी के उद्देश्यले त्यहाँ गएकी हुन् ? पूर्वराजाको सचिवालयले जनाएको छैन । 

राजनीतिवृत्तमा हिमानीको बैङ्कक यात्रालाई सामन्य रुपमा हेरिएको छैन । 

९. सीता दाहालको दिल्लीमा उपचार
पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी यही बेला उपचारकै क्रममा दिल्ली गएकी छन् । सीताको उपचारमा प्रायजसो प्रचण्ड आफै जान्थे । सीताको उपचार यसअघि बैङ्ककमा भएको थियो ।

यसपालि सीताको उपचार दिल्लीमा भइरहेको छ र प्रचण्ड आफू गएका छैनन् । सीता दुई छोरी रेणु र गङ्गाको साथमा दिल्ली गएकी छिन् ।

रेणु भरतपुर महानगर पालिकाकी मेयर हुन् । रेणुलाई प्रचण्डको उत्तराधिकारीका रुपमा पनि कतिपयले हेर्ने गरेका छन् । कतिपयले आमाको उपचारमा दिल्ली पुगेकी रेणुले केही राजनीतिक भेट गर्न सक्ने आशङ्का पनि गरेका छन् ।

१०. श्री श्री रविशङ्करको नेपाल भ्रमण
नेपालमा सरकार गठन अगाडि नै भारतीय योगी श्री श्री रविशङ्कर नेपाल आउँदैछन् । 

रविशङ्कर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र जस्तो मानिन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप