शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘सिटहोल’बाट बाहिर नेपाल कहिले निस्कने ?

बुधबार, ०३ माघ २०७४, १४ : २५
बुधबार, ०३ माघ २०७४

केही दिन यता नेपालीहरुलाई नमिठो लाग्ने शब्द विश्वकै शक्तिशाली मानिने देशका राष्ट्रपतिले प्रयोग गरे । उनले भने पनि, नभने पनि त्यो कुरा आफ्नो ठाउँमा छ । तथापि विविध कारणले मुलुक बाहिर बस्दै आएका नेपालीहरुका लागि त्यो शब्द कुनै नौँलो होइन । उनीहरु हरेक दिनजसो यस्ता शब्दलाई व्यवहारमा भोगिरहेका हुन्छन् । उनीहरु यस्ता शब्दबाट मुख लुकाएर भाग्न सक्दैनन् । 

जो विदेश बसी रहेका हुन्छन्, उनीहरुले अध्यागमन विभागको डेस्कमा आफ्नो नेपाली राहादानी दिएपछि उनले पाउने व्यवहार, विकसित मुलुकमा नेपालका नागरिक भनेपछि लेबरकै ‘ट्याग’ लगाएर हेर्ने गरिएको छ । यस्तो पीडाबाट कहाँ उम्कन सकिएको छ र ? यी सबै पीडाका कारक उनीहरु होइनन्, जसले यो भोगिरहेका छन् । यसको प्रमुख कारक तत्व भनेको मलाई लाग्छ, हाम्रो सत्ताको बागडोर सम्हाल्नेहरु नै हुन् अर्थात हाम्रो सत्ताको चरित्र । तथापि कतिपयले नेपालीलाई सोझो, इमानदार, लगनशील मान्छेका रुपमा परिभाषित गर्छन् । त्यो बेग्लै पाटो हो । मलाई लाग्छ, यो कुराको जरो विभिन्न विदेशी सेनामा बुट बजारी रहेका जनजातिसँग जोडिएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालीलाई यति तल्लो दर्जाको सोच्नु उनको गल्ती होइन, तथापि त्यसो भन्नु गल्ती भने हुन सक्छ । यो उनमा रहेको संस्कारको द्योतक हो । दातृ निकायसँग मागेर राष्ट्रको अर्थतन्त्र जोगाउन चाहनेहरुका लागि उनले यस्तो कुरा व्यक्त गरेको भने हुन सक्छ । मलाई लाग्छ, आफ्नो स्वमूल्याङ्कन गर्ने हो भने कुनै पनि नेपालीले ‘सिटहोल’ भन्दा बाहिर आफूलाई सोच्छ जस्तो लाग्दैन । 

आन्दोलनको रात–तापले ११ वर्षसम्म नमनाइएको पृथ्वी जयन्तीलाई फेरि राज्यद्वारा पर्वको रुपमा मनाउने निर्णय गर्नु अर्को ‘सिटहोल’ भन्दा कुनै कोणमा फरक छैन । वास्तवमा हिजो पनि राज्यको दमनकारी नीतिका कारणले नै हामीले पृथ्वी जयन्ती मनाउँदै आएका थियाँै । सत्ताले दशैँ जस्ता चाडहरुलाई पनि राज्यको शक्ति प्रयोग गरेर नै मनाउन लगाएको थियो । मानव सभ्यतासँग गहिरो सम्बन्ध राख्ने भाषा, संस्कार र संस्कृति जस्ता अति गहन विषयमा सत्तापक्षबाट विभिन्न खेल नभएका होइनन् । 

राज्यको सिमानाभित्र बसोबास गर्ने सबै, जाति, जातजाति, भाषा, संस्कृति, क्षेत्र, लिङ्गले राज्यबाट समान व्यवहार महसुस गर्न पाउँछन् कि पाउँदैनन् भन्ने कुराले नै देशको विकास र राजनीति निर्धारण गर्नेछ । राज्य व्यवस्थाको हिन्दूवादी सोच र संस्कारले गर्दा गाई काट्नेहरु सोझा जनतालाई जेल नेल लगाउने कुरा कुनै ‘सिटहोल’ भन्दा फरक छैन । 

तराईमा शीतलहरले, दुर्गममा झाडापखालाले जनताहरु मरिरहँदा, उपचारका लागि भन्दै नेताहरु निर्धक्क देशको ढुकुटीमा विदेश उपचार गर्न गइरहँदा यो देश कुनै ‘सिटहोल’भन्दा कम छैन् । बाठो त बाँदर पनि हुन्छ नेता बाटो भएर मात्र हुँदैन । उसले आफ्ना जनताका निम्ति गर्नुपर्ने त्याग र समर्पण ठूलो हुन आउँछ । उसमा राजनीतिक संस्कार हुनुपर्छ । तर हाम्रोमा त केपी ओली जस्ताको टुक्काले नै वाक्क लगाउँछ । अर्थमन्त्रीको जस्तापाताले दिक्क लगाउँछ । कुनै पनि हालतमा सत्तामा हुनैपर्ने विजय गच्छदारको चेतनाले हैरान पार्छ । 

नेपालको संविधानलाई विश्वकै उत्कृष्ट संविधान भनिरहँदा त्यसले जनतालाई समानताको महशुस गराउन नसक्दा त्यो अर्को कुनै ‘सिटहोल’भन्दा फरक छैन् । देशमा गणतन्त्र आयो तर यहाँका नेतृत्वको राजनीतिक संस्कार, चरित्र र शैली उनैले ल्याएको बुर्जुवा गणतन्त्रभन्दा पनि तल्लो स्तरको भइरहँदा त्यसलाई कसरी अर्को ‘सिटहोल’ भन्दा फरक छ भन्ने । 

हामीले हाम्रो समाजमा अभ्यास गरिरहेको वर्तमान अवस्थालाई नचिरेसम्म हामी यो ‘सिटहोल’बाट कसरी उम्कन सकौँला र ? त्यसैले हाम्रो सत्ताको चरित्र जनतामुखी नगराईकन हामीले यो अवस्थाबाट पार पाउने विश्वसा कसरी गर्ने ?
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

परिहास सुब्बा
परिहास सुब्बा
लेखकबाट थप