शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तीन कम्युनिष्ट पार्टीसँग एकता गर्न वैद्य माओवादीले बनायो वार्ता टोली

बुधबार, ०३ माघ २०७४, १३ : ३२
बुधबार, ०३ माघ २०७४

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले छरिएर रहेका कम्युनिष्ट घटकहरुसँग एकताको आधार तयार गर्न वार्ता टोली निर्माण गरेको छ । माघ २ र ३ गते राजधानीमा बसेको सो पार्टीको स्थायी समिति बैठकले उक्त निर्णय गरेको हो । 

बैठकले नेत्रविक्रम चन्द्र नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहनविक्र सिंह नेतृत्वको नेकपा (मसाल) र ऋषि कट्टेलद्वारा नेतृत्व गरिएको  नेपाल कम्युनिष्ट पार्टीसँग एकताको आधार तय गर्न ठोस पहल गर्ने निर्णय समेत गरेको छ । 

बैठकले राष्ट्रियता, जनतन्त्र र जनजिविका लगायतका ठोस विषयहरुमा कार्यगत एकता गरी संयुक्त संघर्षमा जाने निर्णय गर्दै लामो समयदेखि नेपाल–भारत सीमा क्षेत्रका सुस्ता, महेशपुर, कालापानी लगायत सीमा मिचिएको र भारतको सो कदमको भत्र्सना गर्दै यसबारे तुरुन्तै कदम चाल्न सरकारसँग आग्रह गरेको छ । 

प्रेस–वक्तव्य 
२०७४ माघ २ र ३ गते महासचिव कमरेड किरणको अध्यक्षतामा पार्टीको स्थायी समितिको बैठक बस्यो । बैठकमा पार्टी एकता र कार्यगत एकतालगायतका विषयका बारेमा लिइएका महत्वपूर्ण निर्णयहरुलाई यस प्रेसवक्तव्य मार्फत् सार्वजनिक गरिएको छ:

१– पश्चगामी राज्यसत्ता तथा व्यवस्थाको प्रभुत्व कायम रहिआएको र दक्षिणपन्थी संशोधनवादको हैकम बढ्दै गएको अवस्थामा नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद हुँदै साम्यवादतर्फ अगाडि बढ्ने नीति, कार्यक्रम तथा उद्देश्य अवलम्बन गरेका क्रान्तिकारी कम्युनिस्ट समूह तथा व्यक्तित्वहरुलाई एकताबद्ध गर्नु आजको ऐतिहासिक आवश्यकता हो । तसर्थ, यसबारे गम्भीर हुँदै क. विप्लवद्वारा नेतृत्व गरिएको नेपाल कम्युनिस्ट पार्टी, क. मोहनविक्रम सिंहद्वारा नेतृत्व गरिएको नेपाल कम्युनिस्ट पार्टी (मसाल) तथा क. ऋषि कट्टेलद्वारा नेतृत्व गरिएको नेपाल कम्युनिस्ट पार्टीसहितका संगठनहरु र विभिन्न ठाउँमा छितरिएर रहेका क्रान्तिकारी कम्युनिस्टहरुसित पार्टी एकताका लागि आधार तयार पार्न  वार्ता टोली बनाई ठोस पहल गर्ने निर्णय लिइएको छ । 

२– साथै, उक्त पार्टीहरुसित राष्ट्रियता, जनतन्त्र तथा जनजीविका लगायतका ठोस ठोस विषयमा कार्यगत एकता गरी संयुक्त रूपमा सङ्घर्षमा जानका लागि आवश्यक तयारी गर्ने निर्णय पनि लिइएको छ ।

३– लामो समयदेखि भारतीय शासक वर्गले सीमा क्षेत्रका सुस्ता, महेशपुर, कालापानी लगायत विभिन्न ठाउँमा विशाल मात्रामा नेपाली भूभाग मिच्दै आएको छ । लामो समयदेखि कैयौं ठाउँमा सिमास्तम्भ गायब पार्ने काम हुँदै आएको छ ।

हालै विरगञ्ज महानगरपालिकाको छपकैयामा ५० औं विघा जमिन मिचेर सिमास्तम्भ सारिएका समाचार प्रकाशमा आएका छन् । यस स्थितिमा पार्टी भारतीय विस्तारवादको सीमा अतिक्रमणकारी गतिविधिको घोर विरोध तथा भत्र्सना गर्दछ र यसबारे तुरुन्तै कदम चाल्न सरकारसित जोडदार माग गर्दछ ।  
                                                                                                     
                                                                                                    .............
                                                                                               मोहन वैद्य(किरण)
                                                                                                     महासचिव

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप